महानगरपालिकामा नेतृत्व पायौँ भने एक वर्षभित्रमा सडकमा एउटा प्लाष्टिकको टुक्रासमेत नपाइने बनाउँछौँ : विजय सुवेदी

०६४ सालमा पनि मलाई चितवनबासीले सांसद बनाउन चाहनुभएको थियो। तर, त्यहाँ पनि धाँधली भएको थियो, जसकारण उहाँहरुको चाहना पूरा हुन सकेन। यसपालि उहाँहरुको छेउमा नै बसेर सेवा गर्ने मौका पाउँछु भन्ने कुरामा ढुक्क छु।

महानगरपालिकामा नेतृत्व पायौँ भने एक वर्षभित्रमा सडकमा एउटा प्लाष्टिकको टुक्रासमेत नपाइने बनाउँछौँ : विजय सुवेदी

बागमती प्रदेशसभा सदस्य हुन्- विजय सुवेदी। उनलाई नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसम्मत सिफारिस गरेको छ। गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवाली भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार रेनु दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक पनि उनै रेनुसँग सुवेदीले प्रतिस्पर्धा गर्दैछन्।

एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको र गठबन्धनको उम्मेदवारमा नेपाली कांग्रेसको स्थानीय कमिटीको असन्तुष्टि रहेको अवस्थामा दाहालसँग सुवेदीको चुनावी भिडन्त रोचक हुने देखिन्छ। प्रदेशसभामा स्पष्ट रुपमा आफ्नो कुरा राख्न सक्ने सांसदको परिचय बनाएका सुवेदीसँग भरतपुरका लागि रहेका योजना, गठबन्धनको चुनौतीलगायत विषयमा केन्द्रित रहेर नेपालभ्यूजका लागि सम्झना रिजालले गरेको कुराकानी :

प्रदेश सांसद हुँदाहुँदै भरतपुर महानगरको मेयरमा तपाईंको उम्मेदवारी किन ?

मुख्य रुपमा अहिले हाम्रो नेपालमा तीन तहको सरकार छ। स्थानीय सरकारल जनतासँग दैनिक रुपमा जोडिएको,जनताको दुःख सुखसँग जोडिएको आधारभूत विकास निमार्ण र सबै कुराहरु उपलब्ध गराउने महत्वपूर्ण निकाय हो। त्यसकारण स्थानीय विकास नगरी हामी राष्ट्रिय विकासमा जान सक्दैनौँ। त्यसैले तल्लो तहबाट नै बलियो बनाउँदै माथि जानु आवश्यक छ। स्थानीय सरकारलाई अहिले बलियो बनाउनु पर्ने आवश्यकता छ। स्थानीय सरकारलाई बलियो बनाउन मेरो उम्मेदवारी हो।

दोश्रो कुरा सम्बन्धित पालिकालाई दीर्घकालीन रुपमा मार्ग निर्देश गर्नको लागि पनि मेरो योजना छन्। सिलसिला मिलाएर काम गर्न सकियो भने विकासमा धेरै योगदान पुग्छ। हुन त म योभन्दा अघिल्लो पटक पनि भरतपुर महानगरपालिकाको प्रमुख बन्न चाहन्थेँ।

पार्टीसँग कुरा पनि भएको थियो। बरु मलाई वडा नै दिए पनि हुन्छ भनेको थिएँ। मेरो सांसद हुने इच्छा थिएन। त्यहाँ भाषण मात्र हुन्छ। मलाई काम गर्न मन पर्छ। त्यति बेला मेरो परम् मित्र देवी जी आउने हुनुभएपछि मैले मेयर छोडेँ।

त्यति बेलासम्म वडामा अर्को साथीको भइसकेको थियो। त्यतिबेला मेरो इच्छा पूरा हुन सकेन। पाँच वर्ष यत्तिकै रहनुभन्दा प्रदेशमा जान्छु भनेर गएँ। प्रदेशमा सांसद नै हुँदा पनि मलाई बारम्बार हामी जस्तो मान्छे स्थानीय तहमा नै जानुपर्छ भन्ने लागिरह्यो। अहिले मलाई देवी जीले पनि तपाई नै उम्मेदवार बन्नु पर्छ भन्नुभयो। पार्टीले पनि मेरो नाम सिफारिस गरेको छ।

भनेपछि, तपाई प्रदेशबाट निराश भएर स्थानीय तहमा आउनुभएको हो ?

निराश भएर भन्दा पनि स्थानीय तहबाट नै प्रदेशलाई सघाउन सकिन्छ भनेर म महानगरमा आएको हुँ। माथिल्लो पदभन्दा पनि काम गर्ने तीव्र इच्छाले यता आएको छु।

एमालेबाट तपाई सिफारिस भएपछि देवी ज्ञवालीलाई चितवनको राजनीतिमा पीडित बनाइयो भन्ने पनि छ नि ?

तपाईंले जे सोच्नु भयो मैले पनि त्यही सोचेको थिएँ। देवीजी तपाई उठ्नु भयो तर विभिन्न कारणले तपाईंलाई हराइयो अब फेरि तपाईं नै उठ्न पर्छ भनेर मैले उहाँलाई भनेको थिए। उहाँले मलाई भन्ने मैले उहाँलाई भन्ने गरेका थियौँ। अन्तिमसम्म पनि मैले उहाँलाई उठ्न पर्छ भने। उहाँले मलाई नै उठ्न भन्नुभयो। पार्टीले पनि मलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।

हाम्रो सहमतिमै म उठेको हुँ। पार्टीमा माथिल्लो तहमा रहेर काम गरिरहेकाले उहाँले माथि नै रहेर मलाई जिताउने रहर गर्नुभयो। एउटै चुनावमा दुई पटक म आउँदिन, मैले एक पटक जितिसकेँ भन्नुभयो। जस्ले जिते पनि हामी सबै जना मिलेर काम गर्ने हो। महानगरपालिकालाई बनाउने हो।

सत्ता गठबन्धनको उम्मेदवारसँग चुनाव लड्दै हुनुहुन्छ, कत्तिको चुनौती महशुस गर्नुभएको छ ?

यस विषयमा म खासै चुनौती देख्दिनँ। चितवनका सार्वभौमसत्ता सम्पन्न नागरिकहरु हुन्। हामी मिलेर आएका छौँ भनेर भोट बढ्ने र हामी मिल्या छैनौँ भन्दा नहाल्न पर्ने छैन। हामीलाई स्थानीयले मत दिनुहुने हो। उहाँहरु आफूलाइ मन परेको मान्छेलाई मतदान गर्न स्वतन्त्र हुनुहुन्छ। कसैले कसैलाई बाध्य पार्ने होइन।

महानगरपालिकालाई सुन्दर बनाउन कस्को नेतृत्व चाहिन्छ भन्ने कुरा भरतपुरबासीलाई थाहा छ। हामी खुल्ला किताब हौँ। हामी सबैजनाको नजिक छौँ। ०६४ सालमा पनि मलाई चितवनबासीले सांसद बनाउन चाहनुभएको थियो। तर, त्यहाँ पनि धाँधली भएको थियो, जसकारण उहाँहरुको चाहना पूरा हुन सकेन। यसपालि उहाँहरुको छेउमा नै बसेर सेवा गर्ने मौका पाउँछु भन्ने कुरामा ढुक्क छु।

तपाईंले कल्पना गर्नुभएको भरतपुर कस्तो हो ? योजना के-के छन् ?

भरतपुर महानगरपालिका देशकै नमूना बनाउने हाम्रो योजना हो। सेवा सुविधा लिन आउनुभएका सेवाग्राहीलाई एक छिन पनि रोक्न नपरोस् भन्ने चाहना हो। प्रमुखसम्म सबैको पँहुच पुगोस् भन्ने हाम्रो चाहना हो। स्वच्छ महानगरपालिका हाम्रो सबैभन्दा प्रमुख योजना हो। हामीले महानगरपालिकामा नेतृत्व पायौँ भने एक वर्षभित्रमा सडकमा एउटा प्लाष्टिकको टुक्रासमेत नपाउने बनाउँछौँ।

म अहिले उम्मेदवार हुँ। मेरो चाहना छ, सरकारी कार्यालयमा कोही जानै नपरोस्। अनलाइनबाट नै सबै काम होस्। जानै परे पनि सहज तरिकाले काम होस्। म जनताको लागि सहज तरिकाले काम गर्नको लागि सधैँ तयार हुनेछु।

अनलाइन प्रणालीबाट काम गर्ने व्यवस्था गर्छौँ, हाम्रो महानगरपालिका हरित शहर बन्ने छ। साइकल लेन बन्ने छ। पानीको निकास दिनेछौँ। अन्तर्राष्ट्रिय स्तरको नमूना शहर बनाउँछौँ। विश्वभरमा रहेका भरतपुरबासीको तथ्यांक हामी राख्छौँ। भरतपुरमा कसैलाई भोको रहन दिँदैनौँ। युवाहरुलाई स्वारोजगार बनाउछौँ। बजार बिस्तारमा ध्यान दिनेछौँ। सरकारको महशुस गराउने छौँ। कृषि क्षेत्रमा पनि नयाँ फड्को मार्नेछौँ। प्रशासनलाई जनमुखी, व्यवसायलाई उद्यममुखी बनाउने हाम्रो योजना हो।

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पनि गठबन्धनमा छ, यस्तो अवस्थामा तपाईले जित्ने आधार के–के हुन् ?

सांगठित रुपमा पार्टी विभाजन भएको मैले मानेको छैन। उहाँहरुको पार्टी परिवर्तन भए पनि विचार उही छ। मलाई नै सबै जनाले भोट हाल्नु हुन्छ। सबैको माया र साथ मलाई छ। अहिलेसम्म मैले धेरै काम गरेको छु।

म भरतपुर महानगरलाई कसरी राम्रो बनाउने भन्ने कुरामा निरन्तर संघर्षरत छु। त्यसैले कुनै दल, राजनीतिक आस्थाभन्दा पनि मसँग केही सम्भावना देखेर मत सबैले दिनुहुनेछ। म नेतृत्वमा आइसकेपछि सधँै महानगरपालिकाको ढोका खुल्ला हुनेछ। सबै जनाको पँहुचमा हुनेछु। सबै दलको लागि म साझा हुनेछु।

अहिलेको मेयर सबैको बन्न सक्नुभएन भन्न खोज्नुभएको हो ?

यस विषयमा अहिले म केही पनि बोल्न चाहन्नँ। सबै जना भरतपुरबासीहरुले महशुस गरिरहनु भएको छ। र, निर्वाचनमा उहाँहरुको भावना देखिनेछ। मैले के गर्छु भनेर म भन्छु, म अरुको आलोचना गर्न चाहन्नँ।

म अहिले उम्मेदवार हुँ। मेरो चाहना छ, सरकारी कार्यालयमा कोही जानै नपरोस्। अनलाइनबाट नै सबै काम होस्। जानै परे पनि सहज तरिकाले काम होस्। म जनताको लागि सहज तरिकाले काम गर्नको लागि सधैँ तयार हुनेछु। कर्मचारीले पनि आएका कामलाई विनम्रताको साथ काम गर्नुपर्छ। सबै मान्छेको आफ्नो समय उत्तिकै महत्वपूर्ण हुन्छ।

भविष्यको योजनाबारे अलि धेरै महत्वकांक्षी हुनुभएन ? पहिलेका उम्मेदवारले जस्तै भ्रम मात्र छर्ने हो कि भन्ने आम मानिसमा चिन्ता छ नि ?

थोरै समय लाग्ला तर काम हुन्छ। जाने बित्तिकै सबै एकैपटक हुँदैन। म महानगरपालिका जाने बित्तिकै सबैभन्दा पहिला कर्मचारीहरुसँग सल्लाह गर्छु। यसअघि गरेका कामभन्दा फरक तरिकाले काम गर्नको लागि हामी तयार हुन्छौँ। अबको दिनमा पाँच वर्षभित्र महानगरपालिकालाई यस्तो बनाउनु छ, तयार रहनुहोला भनेर भन्ने छु। सबै जनालाई महानगरपालिका राम्रो बनाउने तीव्र इच्छा छ। अहिलेसम्म नेतृत्वको कमजोरीका कारण काम हुन नसकेको हो। कर्मचारीको यसमा केही दोष छैन।

भिजन भएको नेतृत्व पुगेपछि काम गर्न समस्या हुँदैन। सम्पूर्ण महानगरबासीको जिम्मा हामी लिन्छौँ। सबै दलले हामीलाई साथ दिनुहुनेछ। महानगरबासीले पनि साथ दिनुहुनेछ। सबैको साथ भएपछि नसकिने के छ र ? अहिलेको अवस्था देखेर मलाई एकदमै दुःख लाग्छ। पार्टी पार्टीबीच किन झगडा गरेका होलान् ? किन फुटेका होलान् जस्तो लाग्छ। सबै जनाको सपना त आखिर महानगर बनाउने त हो। हातेमालो गरेर जान सके कति राम्रो हुने थियो। पद भनेको दिगो छैन। पदमै नभए पनि सबैको हितमा काम गर्नेछु। राजनीतिमा दाउपेचहरुको कारण म त आजित हुन्छु। आफ्नो काम खुरुखुरु गर्छु, कसैको आलोचना गर्दिनँ। किन अरुको आलोचना गर्नु ?

एमालेले पनि राप्रपा नेपालसंँग भरतपुरमा तालमेल गरेर जाने चर्चा छ नि ?

अहिलेसम्म यस्तो छैन। अब पछि पार्टीको निर्णय के आउँछ थाहा छैन। छलफल केही भएको छैन। बाहिर चाहिँ बरु अरु मिलेर आउने भन्ने सुनेका छौँ। राप्रपा मात्र होइन भरतपुरका सबैले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ।

यो पनि,

प्रचण्डको गृहजिल्ला भएकाले हामीले भरतपुर नछाडेका हौँ : रेनु दाहाल (अन्तर्वार्ता)

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved