इलाम–२ र बझाङ १ (क) मा मतदान सुरु 

नेपालभ्युज

इलाम–२ र बझाङ १ (क) मा मतदान सुरु 

काठमाडौं । इलाम–२ र बझाङ १ को ‘क’ मा भएको उपनिर्वाचन अन्तरगत मतदान सुरु भएको छ । बिहान ७ बजेबाट अधिकांश मतदान स्थलमा मतदान सुरु भएको हो ।

बिहानै भएकाले लाइनमा धेरै मानिस छैनन् । बिस्तारै आउने क्रम  छ । इलाममा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र  छन् । त्यहाँ  ७४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन भएको छ ।

इलाम २  मा  दलका १२ र स्वतन्त्र सात गरी १९ उम्मेदवार  छन् । एक लाख १६ हजार ८८९ मतदाता छन् ।

बझाङ (१) मा १२ जना उम्मेदवार छन् । ६१ हजार ७४८ मतदाता छन् । ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छन् ।  मतदानस्थल र केन्द्रमा ६५१ कर्मचारी र १२ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

दुवै क्षेत्रमा मतदान हुने क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

राष्ट्रिय राजनीतिको ध्यान आकर्षित गरेको इलाममा सुवास नेम्वाङको अवसानपछि रिक्त हुन गएको स्थानमा हुन लागेको हो ।

सत्ता गठबन्धनका सत्ता साझेदारहरू फेरेर तेस्रोपटक विश्वासको मत लिएपछि हुन लागेको यो निर्वाचनले २०८४ को आम निर्वाचनका लागि आफ्नो भाष्य खडा गर्नका लागि प्रमुख तीन दलले आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

यो उपनिर्वाचनले संसद्को सत्तागणितमा खास फरक नपरे पनि बाँकी तीन वर्षको लागि यो परिणामले दलको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको भूमिकाबारे नयाँ मनोविज्ञानका लागि माहौल खडा गर्नेछ ।

यसमा पहिचानको राजनीतिले कोशी प्रदेशको नामकरणपछि नयाँ कोल्टे फेरेको पहिचान पक्षधरको पनि उत्साहजनक उपस्थितिले उपनिर्वाचनको सरगर्मी अझ रोचक बनेको छ ।

इलाममा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू मूख्य प्रतिस्पर्धी मानिएका छन् । इलाम–२ र बझाङ–१ मा चुनाव भए पनि धेरैको ध्यान इलाममै केन्द्रित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved