प्रचण्डको गृहजिल्ला भएकाले हामीले भरतपुर नछाडेका हौँ : रेनु दाहाल (अन्तर्वार्ता)

हिजो म सांसद पनि भएको हो। अहिले पनि मलाई अवसरहरु धेरै हुन्थे। तर, पनि जनताको सेवा जनताकै नजिक बसेर गर्ने चाहना हो। जनतालाई सकेसम्म धेरै खुशी बनाउने प्रयास गरिरहेको छु। हिजोको दिनमा प्रचण्डको छोरी भन्ने थियो आजको दिनमा त्यस्तो छैन।

प्रचण्डको गृहजिल्ला भएकाले हामीले भरतपुर नछाडेका हौँ : रेनु दाहाल (अन्तर्वार्ता)

सत्ता गठबन्धनमा लामो रस्साकस्सीपछि भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ। र, फेरि पनि भरतपुरमा माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल उम्मेदवार बन्ने भएकी छन्।

काठमाडौं उपत्यकाका महानगरभन्दा बढी चर्चामा रहेको भरतपुर छाड्न स्थानीय कांग्रेस तयार नभएको, कांग्रेस नेतृत्वमाथि दबाब र असन्तुष्टि रहेको अवस्थामा पनि प्रचण्डको अडानले भरतपुर फेरि माओवादीले पायो।

तर, कांग्रेसभित्र स्थानीयस्तरको भावनाविपरीत टिकट पाएको माओवादीको जित कसरी सुनिश्चित हुन्छ ? दोस्रोपटक मेयरमा उठ्दै गर्दाका योजना/एजेण्डा के के हुन् ? यी प्रश्नहरु समेटेर भरतपुर महानगरपालिकाकी मेयर तथा आगामी चुनावमा पनि मेयर प्रत्यासी रेनु दाहालसँग नेपालभ्यूजका लागि सम्झना रिजालले गरेको कुराकानी :

तपाई आफ्नो पाँच वर्षीय कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

मेरो कार्यकाल एकदमै राम्रो रह्यो। सुखद् अनुभुति गरे।

भरतपुर महानगरपालिकाको मेयरको रुपमा तपाईंको कार्यकालमा भएका मुख्य उपलब्धि के-के हुन् ?

खास गरेर बाटो, सडकलाई नै लिएको छु। लगभग यो पाँच वर्षको अवधिमा हामीले ६१० किलोमिटरभन्दा बढी मुख्यसडक पिच गरेका छौँ। मुख्य राजमार्गदेखि सहायक सडकहरुमा पनि हामीले धेरै काम गरेका छौँ। हुलाकी सडक बिस्तार गरेका छौँ। गोन्द्राङ सडकको स्तरउन्नति, बाइपास सडकको विस्तार, भरतपुर-चनौली-मेघौली सडकको निर्माण स्तरोन्नति गरेका छौँ। यो सडक महानगरको एकदमै महत्वपूर्ण सडक हो। ८८ किलोमिटर रिङ्ग रोडमा ४४ किलोमिटरको काम सम्पन्न हुने चरणमा छ। ६१० किलोमिटर सडक पिच हुने उपलब्धि हाम्रो लागि ठूलो उपलब्धि हो। सडक पूर्वाधारलाई महत्वपूर्ण उपलब्धिको रुपमा मैले लिएको छु।

त्यसैगरी, हामीले शिक्षाको क्षेत्रमा पनि धेरै ठूलो फड्को मारेका छौँ। हाम्रा सरकारी विद्यालयहरुमा विद्यार्थी संख्या पाँच वर्षको अवधिमा सात हजार जना थप्न सफल भएका छौँ। शिक्षाको गुणस्तरमा पनि वृद्धि गरेका छौँ। विद्यालयका पूर्वाधारहरु, भवन निर्माणका कुराहरुमा धेरै ध्यान दिएका छौँ। विद्यालयमा बसहरुको व्यवस्था गरेका छौँ। विद्यालयमा पढ्ने छात्राहरुलाई साइकल वितरण, न्यानो कपडा वितरण लगायतका काम गरेका छौँं। त्रिभुवन विश्वविद्यालय अन्र्तगतको आंगिक कलेज यहीँ स्थापना गर्न हामी सफल भएका छौँ।

प्राविधिक शिक्षालयहरु बनेका छन्। प्रहरी स्कुल स्थापना भएको छ। शिक्षक अस्पताल बन्दै छ। स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै छ। एक वडा एक स्वास्थ्य केन्द्र बनेको छ। महानगरभित्र ४३ ओटा स्वास्थ्य केन्द्र हुने भएका छन्। एउटा वडामा दुई/तीन ओटासम्म बन्ने भएका छन्। भरतपुर यसै पनि मेडिकल सिटी हो। राष्ट्रिय स्तरको क्यान्सर अस्पताल छ। दर्जनौँ अस्पतालहरु छन्। समग्रमा हेर्दा शिक्षा,कृषि, स्वास्थ्य र सडक सबै हिसाबले भरतपुर अगाडि छ। भरतपुरमा भएन भन्ने केही छैन।

निजी क्षेत्रलाई समेत विकासमा सँगसँगै लिएर जाने जमर्को गरेका छौँ। पाँच वर्षको अवधिमा महानगरबासीले अपेक्षा गरेभन्दा धेरै काम भएको छ। म आफैले पनि यति धेरै काम गर्न सकिएला भनेर सोचेकी थिइनँ। गर्दै जाँदा भयो। कोभिडको चुनौतीकै बीच पनि यति धेरै हुनु भनेको धेरै हुनु हो। त्यसकारण म सन्तुष्ट छु।

घोषणा पत्रमा उल्लेख गरेअनुसार काम गर्न सक्नुभएन भन्ने आरोप पनि छ नि ?

घोषणा पत्रमा सानादेखि धेरै ठूलासम्म योजना हामीले उल्लेख गरेका थियौँ। पाँच वर्षअघि मैले भरतपुरलाई जे चिनेको थिएँ, पाँच वर्षको अवधिमा तल्लीन भएर कामगर्दा धेरै फरक आएको छ। त्यसबेला केही ठूला, केही मझौला र केही साना योजनाहरु थिए, ती कुराहरु हामीले घोषणा पत्रमा उल्लेख गरेका थियौँ। पाँच वर्षको अवधिमा हाम्रो सानातिना योजनामा ध्यान गएनन्। ठूलामा नै हामीले जोड गरेका छौँ। यति धेरै हामीले सोचेका पनि थिएनौँ। घोषणा पत्रमा पनि थिएन। हामीले अन्तर्राष्ट्रिय स्तरको सिटीहल बनाउछौँ भनेर घोषणापत्रमा उल्लेख गरेका थिएनौँ। क्रिकेट रंगशाला यही कार्यकालमा बन्छ भन्ने पनि हामीले सोचका थिएनौँ।

महानगरपालिकाको प्रशासनिक भवन झण्डै एक अर्ब लगानीमा बन्दै छ। शिल्यान्यास गरिसकेका छौँं। घोषणापत्रमा नभएका धेरै काम भएका छन्। यही कार्यकमलमा मैले अर्बौँको लगानीमा धेरै योजनाहरु अगाडि बढाइएको छु। खानेपानीमा मात्र पौने चार अर्ब रुपैयाँको योजना हाम्रै कार्यकालमा अगाडि बढेको छ। खानेपानिको ग्यारेन्टी भएको छ। गर्दै जानेछौँ भनेका थियौँ, तर हामीले गरीसकेका छौँ। भनेको भन्दा पनि धेरै कार्यक्रम महानगरपालिकामा छ। हुन सक्छ, केही साना योजना छुटेका हुन सक्छन्। घोषणापत्रमा भएका कुरा पनि धेरै भएका छन्।

भरतपुर महानगरपालिकाको प्रमुखमा फेरि पनि तपाईंको दाबी किन ?

ठूला ठूला यति धेरै परियोजना शुरु भएका छन्, गौरवको योजनाहरु अगाडि बढेका छन्। भरपुर महानगरपालिका निर्माणको चरणमा छ। तीव्र गतिमा काम भइरहेको छ। यहाँको सबै सडक निर्माणको चरणमा छ। भौतिक पूर्वाधारहरु सबै, क्रिकेट रंगशाला, फोहोर व्यवस्थापनको काम, सबै कुराहरु हुँदै छन्। आफूले शुरुआत गरेका कामहरुलाई आफैंले सम्पन्न गरौँ भन्ने मेरो चाहना हो। अब अरु आउनु हुँदा यी कामहरु उहाँहरुको प्राथमिकतामा पर्लान् वा नपर्लान् भन्ने कुराको चिन्ताले नै म दोहोरिन चाहेकी हुँ। यी योजनाहरु अलपत्र परे भने महानगरबासी जनताले दुःख पाउनुहुन्छ। धेरै काम गर्ने तीव्र इच्छा छ। सुख त छैन, धेरै दुःख छ तर पनि मलाई यहीँ रहेर काम गर्न मन छ। हुन त मलाई यहाँभन्दा धेरै ठूला अवसर अन्त पनि हुन सक्छ। म सांसद हुन्थेँ होला, मन्त्री हुन्थेँ होला तर पनि मलाई महानगरबासी जनतालाई कसरी खुशी बनाउने र अहिलेका कामहरुलाई कसरी पूरा गर्ने भन्ने चिन्ता छ। जिम्मेवारी बोधका साथ भन्छु- एक पटक मलाई अवसर दिनुस्। एक पटक मैले सही ढङगले काम गरिसकेको छु। अझै धेरै काम गर्ने तीव्र इच्छा छ। यो अन्र्तराष्ट्रिय प्रचलन पनि हो एक पटक राम्रो गर्नेलाई काम पूरा गर्न अर्को अवसर दिनु पर्छ। यही हिसाबले मैले भरतपुरमा दाबी गरेकी हुँ। थप बाँकी काम गर्नको लागि पनि यहाँ धेरै छ।

पहिले पहिले यहाँका स्थानीयले धेरै जनालाई हेरिसक्नु भएको छ। मैले आरोप लगाउन खोजेको त होइन, तर खासै काम गर्न सक्नुभएको छैन। पहँुचले पनि काम गर्न धेरै सहज हुने रहेछ। छातिमा हात राखेर सही मूल्यांकन गरौँ। यहाँ विकास यत्तिकै भएको हो त ? म चुप लागेर बसेको भए हुने थिएन। अहिले कार्यकालको अन्तिम चरण पनि म लागिरहेको छु। ३७ वर्षअघिको कच्ची भवनमा हाम्रो प्रशासनिक भवन छ। हामीले अब एक सय वर्षलाई हुनेगरी एक अर्बको लागानीमा अर्को भवन बनाउँदै छौँ। यत्रो बजेट महानगरको बजेट नलाग्ने गरी संघीय र प्रदेश सरकारबाट जुटाएका छौँं। पहिलो कुरा संकल्प हुनु पर्‍यो, अर्को कुरा पँहुच पनि हुन पर्यो, अनि मात्र काम हुन सक्छ। अब एक पटक म आउन पाएँ भने भरतपुरलाई देशकै नमूना शहर बनाउँछु। विकासको नमूना अरु स्थानले पनि भरतपुरबाट देख्ने गरी काम गर्छु।

प्रचण्डको छोरी भएकै कारण तपाईंले धेरै अवसर पाउनुभयो भन्ने आरोप लाग्छ नि ?

दुःख लाग्छ नि। हिजोदेखि आजसम्मको मेरो यात्रा हेर्नुस्, ३० वर्षदेखि म निरन्तर राजनीतिमा छु। हिजो एउटा कहालीलाग्दो अवस्था, संघर्षको अवस्थाबाट लड्दैपढ्दै यो स्थानमा आएको छु। मलाई बा (प्रचण्ड)को हिसाबले त्यसै टपक्कै टिपेर यहाँ ल्याएर राखिएको त होइन नि। मेरो विगतको इतिहास हेरौँ न त शुरुदेखि। म यही चितवनमा जन्मिएँ, यहीँ हुर्किएँ, म दश कक्षा पढेर युद्धमा हामीएको थिएँ। एसएलसीसमेत मैले पछि आएर मात्र पास गरेकी हुँ। चटक्कै कापी किताब छोडेर राजनीतिमा होमिएको थिएँ। त्यसबेलादेखि अहिलेसम्म म कहीँ पनि छुटेको छैन राजनीतिमा।

राष्ट्रको हितमा काम गरिरहेको छु। केही भूमिका निर्वाह नगरी यहाँ आएको होइन नि त। हिजो म सांसद पनि भएको हो। अहिले पनि मलाई अवसरहरु धेरै हुन्थे। तर, पनि जनताको सेवा जनताकै नजिक बसेर गर्ने चाहना हो। जनतालाई सकेसम्म धेरै खुशी बनाउने प्रयास गरिरहेको छु। हिजोको दिनमा प्रचण्डको छोरी भन्ने थियो आजको दिनमा त्यस्तो छैन। कतिपय नबुझ्नेहरुले भन्छन्। कतिपयले बुझेर पनि नबुझे जस्तै गर्छन्। त्यसमा मेरो भन्नु केही छैन।

माओवादीबाट भरतपुरमा अरुले मेयरमा दाबी किन गर्न नसकेको ? क्षमतावान् व्यक्ति नभएका हुन् ?

खासै कसैले पनि आकांक्षा गर्नुभएको छैन। पार्टीमा सबै जना एकसे एक हुनुहुन्छ। क्षमतावान् धेरै जना हुनुहुन्छ। तर, पनि यसपालि मलाई नै अगाडि बढाउने सबै जनाको इच्छा छ। मलाई सर्वसम्मत् रुपमा छान्नुभएको छ।

भरतपुरमा किन सँधै माओवादीको अडान ?

देशमा ६ ओटा महानगरपालिका छ। ६ ओटामध्ये एउटा महानगर माग्नु माओवादीको दोष हो र ? गठबन्धनको अर्थ नै भएन नि। यो त एकदम सामान्य कुरा हो। स्वभाविक दाबी हो। ठीकै छ, काठमाडौं हामीलाई दिनुस्, हामी भरतपुर छाड्छौँ त। तर जित्ने सुनिश्चित हुनुपर्‍यो। माओवादीको गुनलाई पनि गठबन्धनले भुल्नु भएन। आफूले जित्ने ठाउँ, प्रचण्डको गृहजिल्ला भएका कारणले हामीले यहाँ दाबी गरेका हौँ।

भरतपुरका कांग्रेसले माओवादीलाई भोट दिँदैनौ भनिरहेको अवस्था छ, जित्नु हुन्छ तपाईले ?
जित्छु, किन नजित्नु ? उहाँहरुले मलाई नै भोट दिनु हुन्छ। अवस्था पहिले जस्तो छैन। उहाँहरुले मेयरमा पहिले पनि हामी आएकाले कांग्रेसले पाउनुपर्छ भन्नु भएको कुरा पनि स्वभाविक हो। मैले अन्यथा लिएको छैन। हाम्रो साइडबाट हेर्दा पनि हामी त जम्मा एउटामा मात्रै त छौँ। अन्य स्थानीय तहमा हामीले पनि रुखमा भोट हाल्नुपर्ने त छँदैछ नि।

राष्ट्रियसभामा पनि हामीले उहाँहरुलाई भोट हालेकै हो। हिजोभन्दा सबै हिसाबले म स्थानीयको नजिक छु। मलाई मायाँ गर्ने धेरै हुनुहुन्छ। दाबेदार हुनेहरुमा त्यो छ, तर आम मानिसमा त्यस्तो छैन। पहिला म नयाँ थिएँ। अहिले मेरो कामको आधारमा पनि धेरै जनाले मायाँ गरिरहनुभएको छ। हामी यसमा अभ्यस्त भइसकेका छौँ।

यो पनि पढ्नुहोस्

प्रचण्डको गृहजिल्ला भएकाले हामीले भरतपुर नछाडेका हौँ : रेनु दाहाल (अन्तर्वार्ता)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved