आलेख

जातीय नरसंहारको ३० वर्षपछि यस्तो छ रुवान्डाको हालचाल

रुवान्डाका नामी गुरिल्ला हेर्न पर्यटकको लाम लाग्दछ । अफ्रिकाका अरु देशबाट सरकारी अधिकारी यहाँ सुशासनको पाठ सिक्न आउँछन् । बिजुली बढो भरपर्दो छ । ट्राफिक प्रहरीले घुस माग्दैनन् । हिंसा दुर्लभ भइसकेको छ । यस आश्चर्यजनक रूपान्तरणका वास्तुकार राष्ट्रपति पौउल कागामे हुन् । यी उपलब्धि हासिल गर्न उनले कठोर विधि अपनाएका छन्, जसले अन्तर्राष्ट्रिय निन्दा आकर्षित गर्दछ ।

जातीय नरसंहारको ३० वर्षपछि यस्तो छ रुवान्डाको हालचाल

सन् १९९४ को अप्रिलको घटना थियो त्यो, रुवान्डाको राजधानी किगालीका सडकमा रगतको खोलो बग्यो । जब हुतु मिलिसियाले नरसंहार सुरु गरे, ८ लाख मानिस मारिए । यो बीसौं शताब्दीको उत्तरार्धतिरको विश्वकै सबैभन्दा डरलाग्दो घटना थियो ।

३० वर्षपछि आज किगाली अफ्रिकाको ईर्ष्या बनेको छ । चिल्ला सडक, बैंक, आरामदायी होटल र प्राविधिक स्टार्टअपका टावर भरिएका सुन्दर गल्ली हुँदै घुम्दछन् । त्यहाँ भक्सवागन कारको प्लान्ट र एमआरएनए भ्याक्सिन सुविधा छ ।

१० हजार दर्शक सिटको एरिना छ । जहाँ, अफ्रिकाको सबैभन्दा ठूलो बास्केटबल लिग हुन्छ । अमेरिकी र्‍यापर केन्ड्रिक लामरजस्ता स्टारले गत डिसेम्बरमा त्यहाँ भव्य कन्सर्ट गरेका थिए ।

रुवान्डाका नामी गुरिल्ला हेर्न पर्यटकको लाम लाग्दछ । अफ्रिकाका अरु देशबाट सरकारी अधिकारी यहाँ सुशासनको पाठ सिक्न आउँछन् । बिजुली बढो भरपर्दो छ । ट्राफिक प्रहरीले घुस माग्दैनन् । हिंसा दुर्लभ भइसकेको छ ।

यस आश्चर्यजनक रूपान्तरणका वास्तुकार राष्ट्रपति पौउल कागामे हुन् । यी उपलब्धि हासिल गर्न उनले कठोर विधि अपनाएका छन्, जसले अन्तर्राष्ट्रिय निन्दा आकर्षित गर्दछ ।

राजनीतिक विपक्षी जेलमा छन् । अभिव्यक्ति स्वतन्त्रता सीमित छ । आलोचना ओझलमा छन् । कतिपय आलोचक विदेशमा निर्वासित छन् । कागामेका सिपाहीमाथि छिमेकी देश कंगोमा लुटपाट मच्चाएको आरोप छ ।

दशकौंदेखि पश्चिमा नेता कागामेको दुर्व्यवहार टुलुटुलु हेरिरहेका छन् । कतिपय हुतु अतिवादी त्योबेला कागामेको तुत्सी जातीय समुदायमाथिको नरसंहार रोक्न नसकेकोमा पश्चाताप गर्दछन् । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले एकपटक भनेका थिए— रुवान्डाको दुखद् इतिहासले यसलाई अत्यन्त विशेष बनाउँछ ।

आइतबार यहाँ नरसंहारको ३०औं वार्षिकी मनाइँदैछ । सामूहिक चिहानमा माल्यार्पण गरिन्छ । बत्ती बालिन्छ । जीवन गुमाएकाको सम्झना गरिन्छ । र, भाषण दिइन्छ— फेरि यस्तो कहिल्यै नहोस् । कागामे अक्सर यही भन्ने गर्दछन् ।

तर, यो समारोह नरसंहारको वार्षिकी मात्र हैन, एक प्रकारले ६६ वर्षीय कागामे लामो समयदेखि सत्तामा रहेको सम्झना पनि हो । उनी पछिल्लो राष्ट्रपतीय निर्वाचनमा ९९ प्रतिशत भोट पाएर विजयी भएका थिए । अर्को चुनाव जुलाईमा हुँदैछ । र, नतिजा पूर्वनिर्धारित जस्तै छ । रुवान्डाको संविधानमुताबिक उनले अर्को एक दशक शासन गर्न सक्नेछन् ।

नरसंहारपछि कागामेका दमनकारी नीति स्थिरताका लागि आवश्यक ठानिएको थियो । तर, अहिले ती आलोचनाका कारण बन्दैछन् । नभन्दै त्यो कागामेका लागि फलामे शासन स्थापित गर्ने तरिकातिर बढ्दै गयो ।

राष्ट्रपति कागामेले देशलाई कता लैजाँदैछन् भन्ने प्रश्न अहिले पनि उठिरहेका छन् । यद्यपि उनको यो दाबी हुन्छ कि उनले नृजातीयतालाई प्रभावकारी बन्देज गरेका छन् । तर, कतै उनी अव्यक्त जातीयताबाट सञ्चालित त छैनन् ? जसले वास्तविक मेलमिलापलाई सधैँझैँ टाढाको सम्भावना बनाइ देओस् ?

मैले यो आलेखका लागि सोधेका यस्ता प्रश्नको रुवान्डा सरकारका प्रवक्ताले कुनै उत्तर दिएनन् । रुवान्डामा ८५ प्रतिशत जनसङ्ख्या हुतुको छ । तर, कागामे सरकारका अधिकांश उच्च अधिकारी तुत्सी छन् । सतहमा नदेखिए पनि रुवान्डामा शासनको आधार अहिले पनि जातीय नै छ ।

कागामेकी प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भिक्टोर इंगाबिरे उमुहोजाले किगालीबाट मलाई फोनमा भनिन्— कागामे शासनले देशमा राजनीतिक हिंसा निम्याउन सक्ने अवस्था सृजना गरिरहेको छ । लोकतन्त्र र विधिको शासनको अभाव, सामाजिक तथा राजनीतिक बहिष्करण पहिलेजस्तै समस्या बन्दै गइरहेको छ ।

इंगाबिरे हुतु हुन् । सन् २०१० मा कागामेसँग राष्ट्रपतिको निर्वाचन लड्न निर्वासनबाट देश फर्किएकी थिइन् । उनले चुनाव हारिन् । केही महिनापछि उनलाई षड्यन्त्र र आतङ्कवादको आरोपमा जेल हालियो । सन् २०१८ मा मात्र उनी जेलबाट छुटिन् । जुलाईको चुनाव उनले लड्न पाउने छैनन् । उनलाई देशभर यात्रा गर्नसमेत प्रतिबन्ध छ ।

उनी भन्छिन्— म यो मान्छु कि नरसंहारपछि हाम्रो देशलाई शासन व्यवस्थामा फर्काउन बलियो शासक चाहिएको थियो । तर, अब ३० वर्षपछि बलियो शासकभन्दा बलिया संस्था चाहिएको छ ।

कागामे सन् १९९४ मा तुत्सी बहुल रुवान्डान प्याट्रियोटिक फ्रन्टको नेताका रूपमा सत्तामा पुगेका थिए, जसले नरसंहार आयोजन गर्ने हुतु चरमपन्थीहरूलाई सत्ताबाट हटाएको थियो । त्यो बेला रुवान्डा एक ‘भूतको शहर’ जस्तो थियो ।

त्यो बेला किगालीमा रहेका एक सहायता संस्थाका कर्मचारी र्‍यान्डी स्ट्रास सम्झना गर्दछन्—  ग्यास स्टेशन थिएनन् । पसल थिएनन् । सञ्चार थिएनन् । छोडिएका सवारी साधन सडक किनारमा त्यतिकै अलपत्र थिए । ती गोलीले छेडिएका हुन्थे । रातभर बन्दुक चल्थ्यो, ग्रेनाइड पड्किन्थे । त्यो अर्कै खालको अवस्था थियो ।

उनी अगाडि भन्छन् कि कागामेको क्वार्टर छेउमा उनीहरूले आफ्नो टेन्ट लगाएका थिए । हुतु लडाकाले बारम्बार शिविरमा आक्रमण गरेका थिए । ती कागामेलाई मार्न चाहन्थे । तिनै स्ट्रसले दशकौंपछि वासिङ्गटनमा कागामेलाई भेटे । उनलाई लाग्यो कि कागामे आफ्ना जिम्मेवारीप्रति प्रष्ट, उत्तरदायी र विचारोत्तेजक छन् ।

ऐतिहासिक तथ्यहरूले भन्छन् कि सन् १९९४ मा कागामेको समूहले हुतु चरमपन्थीबाट धेरै निर्दोष मानिसलाई जोगाएको थियो । सत्तामा आएपछि भने कागामेको प्रतिष्ठा आर्थिक नीतिका कारणले बढ्यो । रुवान्डाको यो अवधिको सङ्क्रमण निकै प्रभावकारी रह्यो ।

औसत आयु ४० बाट ६६ वर्ष पुग्यो । कागामेको पहिलो काम यो थियो कि उनले नाममा हुतु वा तुत्सी पहिचान लेख्ने प्रचलन नै कार्डबाट हटाइदिए । हामी सबै रुवान्डावासी हौँ भन्ने राष्ट्रिय उद्देश्यलाई अघि बढाए । जातीय आधारमा हुने आपराधिक बहसलाई बन्देज गरे ।

जोसेफ सेभरेन्जी अहिले निर्वासनमा छन् । उनी सन् २००० सम्म रुवान्डाको संसद्को सभापति थिए । उनी भन्छन्— कागामेका नीतिले कुनै न कुनै तरिकाले जातीयताको नीतिलाई कायम राखेको छ । कार्डमा पहिचान लेख्न हटाए पनि वास्तविक जीवनमा त को के हो  सबैले जानी हाल्दछन् ।

बेल्जियन प्रोफेसर फिलिप रियन्टजेनको गत वर्ष प्रकाशित एक सर्वेक्षणअनुसार कागामे सरकारका १९९ उच्च पदस्थ अधिकारीमध्ये ८२ प्रतिशत तुत्सी छन् । कागामेको कार्यालयमा त शतप्रतिशत तुत्सी छन् । यो बिन्दुमा धेरैले कागामेको आलोचना गर्दछन् ।

सन् १९९४ को अप्रिलदेखि अगष्टसम्म कागामेको समूहले २५-४५ हजार मानिस मारेको थियो, तीमध्ये अधिकांश हुतु थिए । कागामेको समूले छनोटपूर्ण न्याय गरेको बुझाइ कतिपयमा छ । हुतुहरूलाई अहिले पनि कागामे एकपक्षीय जस्तो लाग्दछन् ।

जोसेफ सेभरेन्जी अगाडि भन्छन्— जसलाई रुवान्डाको बारेमा राम्रो जानकारी छैन, उसले सबै राम्रो छ भनेर सोच्न सक्दछ । मान्छे मिलेर काम गर्दैछन, सँगै चर्च जाँदैछन् । सँगै व्यवसाय गर्दैछन्, यो ठीक छ । तर, कार्पेटमुनि जातीय विभाजन अझै कायम छ ।

कागामेले हुतुहरूलाई सरकारको उच्च पदमा लिने प्रयत्न नगरेका हैनन् । सन् १९९४ पछि उनले हुतु समुदायबाट प्रधानमन्त्री र रक्षामन्त्रीसमेत बनाए । गुप्तचर विभागका एक पूर्वअधिकारी ओमर खाल्फान जो सन् २०१५ देखि अमेरिकामा निर्वासित छन्, भन्छन्— पदमा राखिए पनि उनीहरूसँग वास्तविक शक्ति हुँदैन । हुतु पदाधिकारीमाथि नजर राख्न तुत्सी वफादारिता भएका अधिकारी राखिन्छ । शासनले जातीय कुरा गर्न नदिनुको अर्थ सत्ता साझेदारी गर्नुपर्दछ भनेर पनि हो । कागमे त्यो चाहँदैनन् ।

पश्चिममा भने कागामेलाई खुबै मन पराइन्छ । उनी स्वीट्जल्याण्डको डाभोस आर्थिक मञ्चको विश्व सभ्रान्त भेलामा गएका थिए । जनवरीमा उनले यूक्रेनी राष्ट्रपति ब्लोदोमिर जेलेस्न्कीसँग भेटेका थिए । तर, देशभित्र भने उनलाई चुनौती दिनेले गिरफ्तारी, यातना र मृत्युको जोखिम उठाउन पर्दछ ।

कागामेको पहुँच अहिले विश्वभर फैलिएको छ । त्यसैगरी कागामेको शासनबाट प्रताडित पनि विश्वभरि निर्वासित छन् । क्यानडा, अष्ट्रेलिया, दक्षिण अफ्रिकालगायत दर्जनौं देशमा निर्वासित रुवान्डान पाइन्छन् ।

अमेरिका र संयुक्त राष्ट्रसङ्घले रुवान्डामाथि एम-२३ समूहको समर्थनमा सेना र क्षेप्यास्त्र पठाएको आरोप लगाएका छन् । यो कंगोमा रहेको एउटा यस्तो कुख्यात विद्रोही समूह हो, जसले यो क्षेत्रमै विस्थापनको पीडा व्यापक बनाएको छ । यसलाई कंगोमा रुवान्डाको प्रोक्सी फोर्सका रूपमा हेरिन्छ । कागामे सरकारले यो समूहमार्फत कंगोका जनता र दुर्लभ खनिज लुट्ने गरेको आरोप छ । तर, रुवान्डाले आरोप अस्वीकार गर्दै आएको छ ।

यो सङ्कटले कागामे सरकार र उसको सबैभन्दा ठूलो दाता राष्ट्र अमेरिकासँगको सम्बन्ध भने चिसिँदै गएको छ । हालै बाइडन प्रशासनका एक उच्च अधिकारीले रुवान्डा, कंगो र तान्जानियाको भ्रमण गरी यो सङ्कटको विस्तार र क्षेत्रीय युद्धको सम्भावनालाई रोक्ने प्रयत्न गरेका थिए । अगष्टमा अमेरिकाले एम-२३ समूहलाई सहयोग गरेको आरोपमा एक वरिष्ठ रुवान्डन सैन्य अधिकारीलाई यात्रा प्रतिबन्ध लगाइएको थियो ।

एक दशक अघिको कुरा हो । चमत्कारिक लोकप्रियता भएका गायक किजिटो मिहिगोले हुतु र तुत्सीबीच बृहत् मेलमिलापको आह्वान गर्दै एक गीत गाए । उनी नरसंहारमा अभिभावक गुमाएका तुत्सी थिए । उनी नरसंहारको विषयमा शोक, श्रद्धान्जली र मेलमिलापका गीत बनाएर गाइरहन्थे । उनी कागामेकी पत्नी जेनेटको नजिक थिए भनिन्छ ।

तर, मिहिगोको गीतबाट कागामे रिसाए । उनलाई माफी माग्न भनियो । देशद्रोहको आरोपमा उनले ४ वर्ष जेल बस्न पर्‍यो । त्यसपछि उनका गीत प्रतिबन्ध गरिएको थियो ।

ती गायक भन्थे कि ‘कागामे म मरोस्’ भन्ने चाहन्छन् । नभन्दै त्यस्तै भयो । सन् २०२० मा देशको सीमा पार गरेर बुरुन्डी भाग्न खोजेको आरोपमा उनलाई पक्राउ गरियो । त्यसको ४ दिनपछि एक प्रहरी चौकीमा उनी मृत फेला परे । सरकारले मिहिगोले आत्महत्या गरेको प्रष्टीकरण दियो । तर, थोरै जनताले मात्र विश्वास गरे ।

विपक्षी राजनीतिज्ञ इंगाबिरेले मिहिगोलाई जेलमै चिनेकी थिइन् । उनी भन्छिन्, “म यो विश्वास गर्न सक्दिनँ ।” अमेरिकी अधिकारी भन्छन् कि यस्ता कुराले कागामे र वरिष्ठ अमेरिकी अधिकारी बीचका बैठक यदाकदा तनावपूर्ण हुन्छन् । यस्तो स्थिति सामना गर्नेमा यूएसएडकी वरिष्ठ अधिकारी सामन्था पावर पनि छन् । पूर्वी कंगोमा रुवान्डाको भूमिकालाई लिएर सामन्थासँग कागामेको बैठक गर्माएको थियो ।

बैठकमा कागामे कंगोमा रुवान्डान सैन्य जत्था भएको अस्वीकार गर्दछन् । तर, अन्तर्वार्ताहरूमा उल्टो कुरा गर्दछन् । हालै जिउने अफ्रिक नामको एक पत्रिकासँगको अन्तर्वार्तामा उनले यो कुरा स्वीकार गरेका थिए । त्यसको औचित्य पुष्टि गर्न उनको तर्क हुन्छ कि उनी दोस्रो नरसंहार रोक्ने प्रयास गर्दैछन् । पूर्वी कंगोको तुत्सी जनसङ्ख्यामाथि त्यस्तो हुन सक्दछ ।

(न्यूओर्क टाइम्सबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved