नेपालमा भित्रिन थाल्यो वैदेशिक लगानी, उद्योग विभागमार्फत ९ अर्ब १३ करोड स्वीकृत

विदेशी लगानीकर्ताहरूको भनाइ र उत्सुकता देखेर नेपाली व्यवसायीहरू पनि उत्साहित भएका छन् । सम्मेलनमा ठुला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ ।

नेपालभ्युज

नेपालमा भित्रिन थाल्यो वैदेशिक लगानी, उद्योग विभागमार्फत ९ अर्ब १३ करोड स्वीकृत

काठमाडौं । सरकारले नेपाली परियोजनाहरूमा विदेशी लगानी ल्याउने उद्देश्य स्वरूप आयोजना गरेको लगानी सम्मेलनको आज दोस्रो अर्थात् अन्तिम दिन । काठमाडौंको सोल्टी होटेलमा आयोजना गरिएको उक्त सम्मेलनले नेपाली परियोजनाहरूमा उत्साह छाउने देखिएको छ ।

विदेशी लगानीकर्ताहरूको भनाइ र उत्सुकता देखेर नेपाली व्यवसायीहरू पनि उत्साहित भएका छन् । सम्मेलनमा ठुला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ ।

यसै क्रममा धेरै नेपाली परियोजनाहरूमा विदेशी साझेदारहरूको सम्झौता पनि भइसकेको छ । लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् ।

त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एक थलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उनीहरूलाई ठुला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ ।

लगानी सम्मेलनको उपलब्धि

डाटा सेन्टर निर्माण

सम्मेलनको उद्घाटन सत्रकै क्रममा पहिलो दिनमै भएका मुख्य दुई वटा सम्झौताले सुरुआतमा नै सम्मेलन फलदायी रहने सन्देश प्रवाह भइसकेको धेरैको बुझाइ छ ।

पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टाका डाटा सर्भिसेस् भारतबिच सम्झौता भएको थियो । सो सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।

बीएलसी ग्रुप र भारतको योट्टाबीच डाटा सेन्टर स्थापनाको लागि समझदारी

व्यापार र लगानी प्रवर्धन

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो ।

यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाइले हस्ताक्षर गरेका थिए ।

लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुई वटा सम्झौता

रारामा लक्जरी रिसोर्ट बन्ने

लगानी सम्मेलनको दोस्रो दिन मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको छ ।
लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबर लगानी गरिने शाहले जानकारी दिए ।उक्त रिसोर्ट करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ ।

रारामा लक्जरी रिसोर्ट निर्माण गर्न भित्रियो अस्ट्रेलियन लगानी 

व्यापार र पर्यटन क्षेत्रमा सहकार्य

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको चेम्बरले जनाएको छ ।

सम्मेलनमा चेम्बरले जलविद्युत्, होटेललगायत क्षेत्रका एक दर्जन योजना ‘सो–केस’मा राखेको छ । सो अवसरमा चेम्बर अफ कमर्स र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटोलगायत विषयमा छलफल भएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिएका छन् ।

लगानी, व्यापार र उद्योगमा सहकार्य

नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका छन् ।

नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्द्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासङ्घका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए । दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्य गरी व्यापारका क्षेत्रमा सहरीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन

लगानी सहजीकरण

नेपाल उद्योग व्यापार महासङ्घले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहरीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब रुपैयाँ, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि तीन अर्ब रुपैयाँ, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटेल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ ।

विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ ।

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।

तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको छ । विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् ।

सूचना प्रविधिमा आधारित उद्योगहरूका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ ।

आर्थिक आँखाबाट तेस्रो लगानी सम्मेलनलाई नियाल्दा, कस्तो रह्यो पहिलो दिन ? 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved