आर्थिक आँखाबाट तेस्रो लगानी सम्मेलनलाई नियाल्दा, कस्तो रह्यो पहिलो दिन ? 

नेपालभ्युज

आर्थिक आँखाबाट तेस्रो लगानी सम्मेलनलाई नियाल्दा, कस्तो रह्यो पहिलो दिन ? 

काठमाडौं । नेपाल सरकारको आयोजनामा आजबाट दुई दिने तेस्रो लगानी सम्मेलन काठमाडौंको सोल्टी होटेलमा भइरहेको छ । विशेषतः यस सम्मेलनमा नेपालका सम्भावित विविध क्षेत्रमध्ये १५१ वटा परियोजनालाई प्रस्तुत गरिएको छ ।

उक्त परियोजनाहरूमध्ये पनि प्राथमिकतामा हाइड्रोपावर क्षेत्रलाई राखिएको छ । नेपाल लगानी बोर्डका अनुसार दुई दिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताहरूले सहभागिता जनाएका छन् । भने, नेपाली व्यवसायी र उच्च पदस्थ व्यक्तिहरूको सहभागितालाई पनि उल्लेख्य रूपमा देख्न सकिन्थ्यो ।

सहभागीमध्ये कसले के भने ?

नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न र आफ्नो लगानीको प्रतिफलको चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरूले अपिल गरेका छन् ।

आजबाट सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो मुख्य सत्रका वक्ताहरूले नेपालमा लगानीको अवसर खोजिरहेका लगानीकर्तालाई यहाँको वातावरणको अवस्थाबारे जानकारी दिँदै उच्च मनोबलका साथ काम गर्न सुझाए ।

‘नेपालमा लगानी अवसरको खोजी’ विषयक पहिलो मुख्य सत्रको अध्यक्षता गरेका अर्थमन्त्री वर्षमान पुनले अध्यादेशमार्फत कानुन संशोधनलाई लगानी वातावरण सुधारप्रतिको सरकारको प्रतिबद्धताको प्रमाणका रूपमा बुझ्नुपर्ने बताए ।

कानुन संशोधनका लागि निजी क्षेत्रसँग पर्याप्त छलफल भएको र निजी क्षेत्रको सुझावका आधारमै कानुन संशोधन प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

मन्त्री पुनका अनुसार सरकारले करसम्बन्धी कानुनलाई थप लगानीमैत्री बनाउँदैछ । अध्यादेशमार्फत ल्याइएको केही नेपाल ऐन संशोधमार्फत् सरकारले विश्व भन्सार सङ्गठन र विश्व व्यापार सङ्गठनको सिद्धान्त तथा अभ्यास अनुरूप नयाँ भन्सार विधेयक पनि संसदमा पेस गरेको उल्लेख गरे ।

त्यस्तै, पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. प्रकाश शरण महतले नेपालको विकास तथा समृद्धिका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नभएका कारण प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने निष्कर्ष गरेको र यहाँ लगानीका लागि क्षेत्रगत प्राथमिकतासमेत निर्धारण गरिएको बताए ।

त्यस्तै, अर्का पूर्व अर्थमन्त्री डा। युवराज खतिवडाले सहज प्रवेश, सहज निकास र प्रतिफल सुनिश्चितताको अवस्था सिर्जना गरिनुपर्ने बताए । पहिलो सत्रमा आफ्नो भनाई राख्दै अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीकर्तालाई नेपालमा सहजीकरण गर्नका लागि कानुनी रूपमा खुकुलो वातावरण सँगै कुनै विवाद वा समस्या देखिएको अवस्थामा मध्यस्थताका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो कर मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै विषयमा प्रोत्साहन दिने घोषणा गरेको बताए ।

निजी क्षेत्र

यसअघिका सन् २०१७ र २०१९ का लगानी सम्मेलन केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद नरहेको टिप्पणी आएका बेला यस पटकको सम्मेलनले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न नयाँ अवसर सिर्जना गर्ने निजी क्षेत्रका प्रतिनिधिको भनाइ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य डा रामशरण थपलियाले लगानीका क्षेत्र (दायरा) बढाउन र लगानीकर्ताको लगानीलाई शान्ति सुरक्षा दिन सबल कानुनको आवश्यकता औँल्याउँदै आज जारी भएको लगानी सहजीकरणसम्बन्धी अध्यादेशले केही हदसम्म सम्बोधन गरेको प्रतिक्रिया दिए ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले लगानी सम्मेलन हुनु राम्रो अभ्यास भए पनि यसको तयारी पर्याप्त नभएको जनाउँदै लगानीमैत्री कानुनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले पनि लगानी सहजीकरण सम्बन्धी अध्यादेशलाई आपसी छलफल र गृहकार्य गरे अलि अगाडि ल्याउन सकिएको भए अझ राम्रो हुने बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे ।

उद्घाटनसत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विकास साझेदारका रूपमा रहेका विभिन्न क्षेत्रको पारस्परिक साथ र सहयोगले नेपालको आर्थिक विकासको आकाङ्क्षालाई पूरा गर्नसक्नेमा जोड दिएका थिए ।

त्यस्तै निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने उनले बताए ।

उनले उपस्थित सबै देशका लगानीकर्ताहरूलाई नेपालका पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको जानकारी दिए ।

उपलब्धि : पहिलो दिन

तेस्रो लगानी सम्मेलनको पहिलो दिन निजी क्षेत्रबीच दुई वटा सम्झौता भएका छन् । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरेका छन् । त्यसै गरी, डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ ।

डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved