आलेख

यस्ता छन् गरिब राष्ट्रले लेख्दै गरेका धनी बन्ने हाते किताब

यस्ता छन् गरिब राष्ट्रले लेख्दै गरेका धनी बन्ने हाते किताब

आधा शताब्दीभन्दा बढी समययता विकासशील देश कसरी धनी हुन सक्दछन् भन्ने विषयमा लेखिएका पुस्तकमा खासै परिर्वतन आएको छैन । तिनले भन्छन्— निर्वाहमुखी कृषकलाई उत्पादनमुखी रोजगारमा लैजानुस् र तिनले गरेको उत्पादन बाँकी विश्वलाई बेच्नुस् ।

यो नुस्खालाई हङकङ, सिंगापुर, दक्षिण कोरिया र ताइवानले आ-आफ्नो तरिकाले अनुकूलन गरेर फाइदा पनि उठाए । र, चीनले आर्थिक वृद्धिका लागि संसारले नै चिन्ने सबैभन्दा शक्तिशाली यन्त्र उत्पादन गर्‍यो ।

चिनियाँ आर्थिक विकासको यन्त्रले करोडौं मानिसलाई गरिबीबाट बाहिर निकाल्न, रोजगारी सृजना गर्न र जीवनस्तर उकास्न मद्दत गर्‍यो ।

एसियाली आर्थिक बाघहरू र चीन अन्तर्राष्ट्रिय ज्ञानविज्ञान, वित्तीय पहुँच र सस्तो श्रमशक्तिका पोखरीबीच कालामाजुदेखि क्वालालाम्पुरसम्म सम्बन्ध-सेतु संयोजन गर्न सफल भए ।

सरकारले विकासको मचान तयार गरे । सडक र विद्यालय बनाए । व्यवसायमैत्री नियम र प्रोहत्साहन प्रस्ताव गरे । सक्षम प्रशासनिक संस्था विकास गरे । प्रारम्भिक उद्योगको लालनपालन र संरक्षण गरे । तर, आज प्रविधि अझ अगाडि बढिरहेको छ । आपूर्ति श्रृङ्खलाले मोड लिँदैछन् । राजनीतिक तनावले व्यापारको ढाँचालाई पुनर्आकारित गरिरहेको छ ।

यो सँगसँगै औद्योगिकीकरणले हिजो एकपटक गर्न सकेजस्तै चमत्कारिक वृद्धि अझै दिन सक्दछ कि सक्दैन भन्ने विषयमा सन्देह उत्पन्न भएको छ । विकासशील देशहरू जहाँ विश्व जनसङ्ख्याको करिब ८५ प्रतिशत छ, करिब ६ अर्ब ८० करोड मान्छे छन्, तीमाथि यसको गहिरो प्रभाव पर्दछ ।

आज म्यानूफ्याक्चरिङको अनुपात विश्वको खाताबहीमा सानो भएको छ । त्यसको पनि एक तिहाइभन्दा बढी चीन एक्लैले गरिरहेको छ । ठीक यही समयमा उदीयमान आर्थिक शक्तिले सस्ता वस्तुहरू विश्वभर बेच्दैछन् । प्रतिस्पर्धा बढ्दो छ । त्यहाँ निचोर्न अब धेरै लाभ बाँकी छैनन् ।

सबै देश शुद्ध निर्यातक हुन सक्दैनन् । विश्वको सबैभन्दा कम ज्याला र अन्य खर्चको प्रस्ताव गर्न पनि सक्दैनन् । औद्योगिकीकरणले विगतमा गरेजस्तो अब ‘गेम-चेन्जर’ फाइदा सृजना गर्न सक्नेमा शङ्का छ ।

आजका कलकारखाना थोरै तालिमप्राप्त सस्ता कामदारबाट सञ्चालन हुनसक्ने स्वचालित प्रविधिमा आधारित छन् । हार्वडका प्रमुख विकास अर्थशास्त्री डेनी रोर्डिक भन्छन्— शिक्षित नभएका कामदारको विशाल सङ्ख्याका लागि अब रोजगार सृजना गर्न सकिँदैन ।

यो प्रक्रिया बङ्गलादेशमा राम्रोगरी देख्न सकिन्छ । बङ्गलादेशलाई विश्व बैंकका प्रबन्ध निर्देशकले गत वर्ष ‘विश्वको सबैभन्दा ठूला विकास कथामध्ये एक’ भनेका थिए । यो देशको सफलताको कथा किसानलाई तयारी पोशाक उद्योगको मजदुरमा परिणत गर्नु थियो ।

गत वर्ष मात्र यहाँ एक व्यापारिक घराना मोहम्मदी समूहको स्वामित्वमा रहेका तयारी पोशाक कारखानाले ३००० भन्दा बढी मजदुर स्वचालित यन्त्रद्वारा प्रतिस्थापन गर्‍यो । ती महिला मजदुरले अर्को कारखानामा काम पाए ।

रुविका हक बङ्गालादेश तयारी पोशाक निर्माता तथा निर्यात सङ्घकी अध्यक्ष पनि हुन्, उनी प्रश्न गर्दछिन्— जब ठूलो सङ्ख्यामा यस्तो प्रतिस्थापन हुन्छ, तब के होला ? त्यस्ता कामदारसँग पर्याप्त तालिम छैन । ती रातारात दक्ष कामदार बन्न सक्दैनन ।

हालैमा विश्वव्यापी घटनाक्रमले यस्तो संक्रमणलाई तीव्र बनाएको छ । कोभिड १९ प्रभाव, आपूर्ति श्रृङ्खला परिवर्तन, यूक्रेन-रुस युद्ध, त्यसपछिका आर्थिक प्रतिबन्धले इन्धन र खानाको मूल्य बढायो । अन्यत्रको आम्दानी र खर्च काटेर त्यसमा थप खर्च गर्नुपर्ने भयो । मुद्रास्फीति रोक्न भन्दै केन्द्रीय बैंकहरूले ब्याजदर बढाए । त्यसले सङ्कटको अर्को श्रृङ्खला सुरुवात गर्‍यो । विकासशील देशहरूको ऋण बेलुनजस्तै फुल्यो । तर, लगानीयोग्य पुँजी स्याप्पै सुक्यो ।

गतहप्ता मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषले कम वृद्धि र उच्च ऋणको हानिकारक जोडाबारे चेतावनी दिएको छ । उच्च भूमण्डलीकरण जसले उत्पादक कम्पनीहरूलाई धर्तीको जुनसुकै ठाउँमा निर्यात र बिक्रीको प्रोत्साहन दिइरहेको थियो, आज त्यो परिवर्तनको मोडमा छ ।

बढ्दो राजनीतिक तनाव, विशेषगरी अमेरिका र चीनको तनावले व्यापार, सरकारी लगानी र व्यापारिक स्थानलाई असर परिरहेको छ । उत्पादक कम्पनीहरू आपूर्ति श्रृङ्खला सुरक्षित र सस्तो होस् भन्ने चाहन्छन् । उनीहरू नयाँ समयका लगि त्यस्तो गर्न सक्ने छिमेकी तथा राजनीतिक साझेदार खोजिरहेका छन् । रोड्रिक भन्छन्— औद्योगिकीकरण मोडेलबाट विकसित भएका र त्यसैमा भर परेका देश अब दीगो र द्रुत आर्थिक वृद्धि उत्पन्न गर्न सक्षम हुँदैनन् ।

तर, यो पनि प्रष्ट छैन कि केले यसलाई प्रतिस्थापन गर्दछ । सेवा क्षेत्रको रोजगार भविष्यमा एउटा प्रतिस्थापन हुन सक्दछ । यो वैकल्पिक प्रारूपको एक उदाहरण भारत कर्नाटकको उच्च प्रविधि केन्द्र बैङ्लोर हो । गोल्डम्यान सस, भिक्टोरिया सेक्रेट र दी ईकोनोमिष्टजस्ता बहुराष्ट्रिय कम्पनी यहाँ आएका छन् । लेखा प्रणाली, वस्तु रुपाङ्कन, साईबर सुरक्षा, एआई र अन्य यस्ता धेरै क्षेत्र परिचालन गर्न विश्वव्यापी क्षमता केन्द्र भनेर चिनिने केन्द्र स्थापना गर्दैछन् ।

आउँदो २-३ वर्षभित्रै यस्ता केन्द्रले देशभर ५ लाखभन्दा बढी रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ । तिनमा टाटा परामर्श सेवा, विप्रो, ईन्सोसिस लिमिटेडजस्ता स्वदेशी ठूला कम्पनीलगायत सयौं बायोटेक, इन्जिनियरिङ र सूचनाप्रविधि कम्पनी सामेल हुँदैछन् ।

४ महिनाअघि मात्र अमेरिकी चिप कम्पनी एएमडीले त्यहाँ आफ्नो विश्वकै सबैभन्दा ठूलो डिजाईन केन्द्र अनावरण गर्‍यो । जेनेभा इन्टरनेशसन इन्स्टीच्युट फर म्यानेजमेन्ट डेभेलोपमेन्टका अर्थशास्त्री रिचार्ड वाल्डविन भन्छन्— अब हामी शास्त्रीय विकास चरणहरूको विचारबाट पर जानै पर्दछ । त्यो भनेको फार्मबाट कारखाना र कारखानाबाट कार्यालय जानु हो ।

अब विश्व उत्पादनको दुईतिहाइ सेवा क्षेत्रबाट प्राप्त भइरहेको छ । यसमा कुकुर डुलाउने सेवादेखि लघु क्यारियर, खाना बनाउने, क्लिनर, चालकका साथै उच्च प्रशिक्षित चिप डिजाईनर, ग्राफिक कलाकार, नर्स, इन्जिनियर र लेखापालसम्म समावेश छन् । यसले भारतलाई विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्न मद्दत गर्‍यो ।

बैंङ्लोरलाई सामान्यतया: मान्छे बैङ्लोर भनेर चिन्दछन् । यहाँ मध्यम वर्गीय जीवनयापनमा भएको सामान्य वद्धि धेरै व्यवसायी र सर्वसाधारणलाई आकर्षित गर्ने कारण बन्यो । फलतः यो एउटा चक्र जस्तो भयो । एकपछि अर्को चक्रमा झन् धेरै मानिस र व्यवसायी आकर्षित भए । कोभिड एउटा यस्तो सङ्क्रमणको तीव्रताको कारण थियो, जसले टाढा-टाढै फरक शहर, फरक नगर र फरक देशबाट काम गर्न सिकायो ।

विकासको यो नयाँ प्रारूपमा देशहरूले कुनै विशेष उद्योगको साटो वृद्धिलाई शहर वरिपरि केन्द्रित गर्न सक्दछन् । वाल्डविन भन्छन्— यसले सृजना गर्ने आर्थिक गतिविधि साँच्चै भिन्नाभिन्नै, विविध हुन्छन् । अब बैंङ्लोर मोडेलबारे सोचौँ, दक्षिण चीनबारे हैन ।

अझै पनि धेरै विकासशील राष्ट्रहरू समृद्धिका लागि निर्यातमुखी उत्पादन केन्द्र निर्माणमा केन्द्रित छन् । पेकिङ विश्वविद्यालय इन्स्टीच्युट अफ न्यू ईस्टक्चरल ईकोनमीका डिन जष्टिन ईफू लिन भन्छन्— शास्त्रीय विकास सुत्रबारेको निराशावाद विकास प्रक्रिया स्वचालित छ भन्ने भ्रमपूर्ण विश्वासबाट उत्तेजित थियो, त्यो हो— खुला बजार अर्थतन्त्रको बाटो खोल्नुस्, बाँकी काम त्यसले आफैँ गर्दछ ।

राष्ट्रहरू अमेरिका र अन्तर्राष्ट्रिय संस्थाहरूको खुला बजार र हात उठाउने सरकार शासन अङ्गाल्न दबाबमा थिए । तर, अफ्रिका र ल्याटिन अमेरिकामा यो नीतिले ठूलो हन्डर खायो । किनकि त्यहाँका सरकार आफ्ना निर्यातमुखी उद्योगलाई पर्याप्त संरक्षण र अनुदान दिन असफल रहे ।

विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री लिन भन्छन्— औद्योगिक नीति लामो समयदेखि गतिरोधमा थियो । तर, दक्षिण कोरिया र चीनले त्यसमा सफलताका कथा थपिदिए । खुला बजार असफलता हटाउन निजी क्षेत्रलाई राज्यले सहयोग गर्नु पर्दछ । यो आफैँमा पूर्ण हुँदैन । त्यसका लागि औद्योगिक नीति चाहिन्छ ।

सेवा होस् वा उत्पादनमूलक कारखाना, तीव्र प्रकारको वृद्धिका लागि फराकिलो, ठूलो आकारको र दीगो वृद्धि चाहिन्छ । सेवा क्षेत्रका व्यवसायमा रोजगार गुणात्मक दरले बढ्दैछन् । तर, धेरैजसो उच्च र मध्यम आयजस्तै वित्त, प्रविधिजस्ता क्षेत्रमा छन् । यस्ता कामको लागि विकासशील राष्ट्रका धेरैजसो जनतामा उन्नत सीप र उच्च शिक्षा हुनु पर्दछ ।

भारतमा करिब आधाजसो स्नातकसँग यस्ता सीप छैनन् । यस्तो बेमेल जताततै छ । विश्व आर्थिक मञ्चले प्रकाशित गरेको ‘रोजगारको भविष्य’ शीर्षक प्रतिवेदनअनुसार १० जनामा ६ जना श्रमिकलाई उच्च आय रोजगारका लागि थप दक्ष सीप चाहिएको छ । त्यो पनि दुईचार वर्षभित्र । तर, बहुमत सङ्ख्यासँग यस्तो पहुँच छैन । कतिपय सेवा क्षेत्रका रोजगार यस्ता छन्, जसको न तलब राम्रो छ न दीगोपन, न त ती सेवा निर्यातयोग्य नै छन् । जस्तो कि बैंङ्लोरको कुनै हजामले ब्रूकलिनको मान्छेको कपाल काट्न त सक्दैन । यसको अर्थ सेवा क्षेत्रको वृद्धि असमान हुनेछ ।

येल विश्वविद्यालयका अनुसन्धानकर्ताले यो भनेका छन् कि भारत र सव-साहारन अफ्रिकाका धेरै देशमा कृषि कामदारले उपभोक्ता सेवा बजारमा हाम फालेर आफ्नो उत्पादकत्व र आय दुवै बढाए । तर, त्यहाँ पनि एक सीमारेखा देखियो । लाभहरू अत्यन्त असमान र धनीलाई बढी फाइदा पुर्‍याउने खालका देखिए ।

समकालीन विश्व अर्थतन्त्र आफैँ कमजोर छ । यस्तो बेला विकासशील देशले आफ्नो अर्थतन्त्रको सबै कुनाबाट सक्दो वृद्धि गर्न आवश्यक हुन्छ । औद्योगिक नीति अत्यावश्यक छ । तर, त्यसले साना सेवा क्षेत्र संस्था र घरपरिवार केन्द्रित काममा ध्यान दिनु पर्दछ । किनकि अबको आर्थिक वृद्धिको स्रोत त्यहीँनेर छ ।

(द न्यूओर्क टाइम्सबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved