महराको पतन र प्रचण्डमाथिका तीन प्रश्न

माओवादीले कस्तो क्रान्ति गर्न खोजेका थिए ? कस्तो राजनीतिक संस्कृति निर्माण गर्न खोजेका थिए ? कस्तो राज्य बनाउन खोजेका थिए ? आज उनीहरू कस्तो बने ? कहाँ पुगे ? किन भयो यस्तो ? निस्कन्ट करिब ४ दशक त्यो आन्दोलन र पार्टीको नेता बनेको व्यक्ति प्रचण्डले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?

महराको पतन र प्रचण्डमाथिका तीन प्रश्न

काठमाडौं । सुकेको खरबारीमा आगलागी भएझैँ गत चैत्र ५ गते देशभर समाचार फैलियो—सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई भारततिर भाग्दै गर्दा प्रहरीले पक्राउ गर्‍यो, भारततिर पलायन हुन उनी लुकीछिपी काठमाडौंबाट कपिलवस्तुको पकडी पुगेका थिए ।

यो समाचार त्यति धेरै अनपेक्षित भने थिएन । केही वर्षअघि महरा आफैँले ‘हामी भूरा माछा हौँ’ भन्दै परोक्षता सुन तस्करीमा संलग्नता स्वीकार गरेका थिए । त्यतिबेलै मान्छेले बुझिसकेका थिए— दालमे कूछ काला है !

उनका छोरा राहुल महरा हिरासतमै थिए । छोरा महरालाई प्रक्राउ गर्दा पिता महरालाई राजनीतिक संरक्षणमा उन्मुक्ति दिइएको आरोप लागेको थियो । तर, पनि समाचारले सनसनी मच्चायो ।

महराको आफ्नै लामो र कठोर राजनीतिक सङ्घर्षको इतिहास थियो । त्यति धेरै सङ्घर्षबाट आएको एक पात्र सामान्य अपराधीझैँ समातिँदा कसैमा सहानुभूतिको भावना देखिएन । बरु, अधिकांश मानिस उत्साहित भए । सामाजिक सञ्जालमा खुसीको लहर छायो । बल्ल ‘ठूलो माछा’ बल्छीमा परेको भन्दै व्यङ्ग्य गरिए ।

कतिपयले नयाँ गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिए । उनका समर्थकको थेगोमा ‘गूडलक रवि दाइ’ भने । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नैतिक सङ्कट आफ्नो ठाउँमा छँदैछ । त्यसको किनारा कसरी लाग्छ, अहिलेसम्म प्रष्ट छैन । तर, महरा पक्राउ प्रकरणमा भने नयाँ गृहमन्त्रीप्रति जनताले सन्तोष व्यक्त गरे । खुसी भए ।

प्रधानमन्त्री प्रचण्डप्रति भने उस्तै आशङ्का देखियो । सरकार भनेको खासमा प्रधानमन्त्री हुनुपर्ने हो । महरा प्रक्राउ पर्दा देश खुसी हुनुपर्ने र सरकारलाई धन्यवाद दिनुपर्ने हो । प्रधानमन्त्री प्रचण्डले त्यो ‘क्रेडिट’ पाउनुपर्ने हो । तर, त्यस्तो माहोल वा लहर बनेन ।

मान्छे उल्टै प्रचण्डले महरालाई बचाउन चाहेको तर, नसकेको आशङ्का गर्दै थिए । यो परिदृश्य आफैँमा अनौठो हो । प्रचण्ड प्रधानमन्त्री छन्, उनका अनन्य मित्र कृष्णबहादुर महरालाई सुन तस्करीको आरोपमा प्रहरीले पक्रिँदैछ र ‘हाई-हाई’ गृहमन्त्रीको भइरहेको छ, विचित्रको छैन त यो दृश्य ?

राज्य सञ्चालन र प्रशासनिक दृष्टिबाट यसलाई एक सामान्य घटना मान्दा हुने हो । सुन तस्करी काण्डहरूको छानबिन प्रतिवेदनमा महराको नाम जोडिएर आयो । उनी यस काण्डमा लामो समयदेखि सन्दिग्ध व्यक्ति थिए । उनी प्रक्राउ परे । अब उनीमाथि कानूनबमोजिमको कारबाही हुन्छ । कुरा सकियो । विधिको शासन भएको एक लोकतान्त्रिक राज्यमा हुनुपर्ने पनि त्यही हो ।

तर, समग्र परिवेश र घटनाक्रमको अन्तर्य यति सामान्य छैन । यस घटनाभित्र यस्ता थुप्रै प्रश्न जोडिएर आएका छन्, जसको उत्तर निकै कठोर र पीडादायी बन्न पुग्दछ । यो देशका राजनीतिक दल, नेतृत्ववृत्त, क्रान्तिकारी आन्दोलनमा के हुँदैछ, कता जाँदैछन् यी ? कसरी विसर्जन र पतन हुँदैछ यिनको ? राज्यको विश्वासनीयता कता जाँदैछ ? यतिका दिन महरालाई कसले, किन र कसरी राजनीतिक संरक्षण र उन्मुक्ति दिएको थियो ? यी सामान्य हैन, गम्भीर प्रश्न हुन् ।

महरा कुनै चानचुने व्यक्तित्व थिएनन् माओवादी आन्दोलनका लागि । र, माओवादी आन्दोलन कुनै सानो घटना थिएन यो देशको इतिहासमा । यति ठूलो आन्दोलनका एक मुर्धन्य व्यक्ति किन यति धेरै तल गिरे ? किन पतनको रसातलमा पुगे ? के यो महराको एकल नियति हो कि समग्र माओवादी आन्दोलनकै परिणति हो ? व्यक्ति महरा मात्र तस्कर भएका हुन् कि माओवादी आन्दोलन नै भ्रष्टीकृत भएको हो ?

बहुदलीय लोकतन्त्रपछि २०४८ सालमा भएको पहिलो आम चुनावमा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेर महरा एक महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वका रूपमा उदाएका थिए । तत्कालीन संयुक्त जनमोर्चाको संसदीय दलको नेता थिए उनी, जो देशको तेस्रो ठूलो दल थियो । माओवादी युद्धकालमा उनको राजनीतिक भूमिका पार्टी प्रवक्ता र वार्ताकारका रूपमा स्थापित थियो ।

शान्ति प्रक्रियामा आएयता गृहमन्त्रीदेखि सभामुखसम्म महराले पाएका पदहरूको लामै सूची बन्छ । उनी विगत दुई दशकयता राज्यका ठूला-ठूला पदमा लामो समय बस्ने राजनीतिकर्मीमध्ये एक हुन् ।

त्यस्तो व्यक्ति जब सुन तस्करीमा पर्दछ, उसले राज्यलाई कस्तो योगदान दियो, राज्यलाई स्खलित गर्‍यो कि बलियो बनायो ? राष्ट्रको शिर उठाए की निहुरायो ? कस्ता राजनीतिज्ञ जन्माएका छन् यो देशका दल, आन्दोलन र राजनीतिक स्कूलिङले ? के यी कम कठोर प्रश्न हुन् ?

माओवादी पार्टी र आन्दोलनभित्र महरा एक ‘आईकन’ वा गुरुजस्ता थिए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी धर्ती, नेत्रविक्रम चन्दजस्ता थुप्रै उच्च पदस्थ माओवादी नेता कार्यकर्ता उनैले जन्माएको भनिन्छ । रोल्पामा महरा शिक्षक हुँदा यी र यस्ता दर्जनौं माओवादी नेता, कार्यकर्ता महराका विद्यार्थी थिए रे !

जब गुरु नै यस्ता निस्किए भने चेला कस्ता होलान् भन्ने प्रश्न पनि उत्तिकै कठोर हुन्छ । नभन्दै हालत त्यही देखिएको छ । माओवादी आन्दोलनको उच्च तहमा रहेका थुप्रै नेता र उनीहरूको परिवार अवैधानिक आर्थिक चलखेल, भ्रष्टाचार, तस्करी, ठगी र कुकर्ममा जोडिएको देखिन्छ ।

रामबहादुर थापा ‘बादल’ र उनका छोरा प्रतीक थापा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू दिपेश र जितेन्द्र पुन, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी ;के यो संयोग मात्र हो ? कस्तो संयोग हो यो ?

यी यावत् घटनाक्रमका बीच माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड एक्लै ‘पानीमाथिको ओभानो’ हुन सक्दैनन् । उनीमाथि तीनवटा गम्भीर प्रश्न उठ्छन्, जसको उत्तर उनले मुखले नदिए पनि इतिहासले खोजिरहने छ ।

एक— कुनै क्रान्तिकारी आन्दोलनको शीर्ष नेतृत्वभित्रकै एक पङ्क्ति यति भ्रष्ट देखिनुमा के आन्दोलनकै शिक्षा, संस्कार र अभ्यास त दोषी थिएन ? कस्तो नतिजा हो यो माओवादी आन्दोलनको ? कस्तो क्रान्तिकारी स्कूलिङ र नैतिक शिक्षा पाए यिनले ? के कम्युनिष्ट आन्दोलनको नैतिक मापदण्ड यही हो ?

माओवादीले कस्तो क्रान्ति गर्न खोजेका थिए ? कस्तो राजनीतिक संस्कृति निर्माण गर्न खोजेका थिए ? कस्तो राज्य बनाउन खोजेका थिए ? आज उनीहरू कस्तो बने ? कहाँ पुगे ? किन भयो यस्तो ? के मार्क्सवाद, लेनिनवाद र माओवादले दिने शिक्षा र नैतिकता यही थियो ? साम्यवादीको नैतिक मापदण्ड यही थियो ? किन यति धेरै पतन भयो यो आन्दोलनको ?

निस्कन्ट करिब ४ दशक त्यो आन्दोलन र पार्टीको नेता बनेको व्यक्ति प्रचण्डले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?

दुई— के यी यावत् घटनाक्रम प्रचण्डबाट लुकेका, छिपेका, जानकारीमा नै नभएका हुन सम्भव थिए ? खुद महराका कर्म, नियति र दुर्नियति प्रचण्डबाट बिल्कुल छुपेका वा बेखबर थिए होलान् ? किन यतिका दिन लुकाइएका थिए यी घटना ?

यिनै मान्छे त थिए प्रचण्डका मुख्य राजनीतिक सहकर्मी र निटकस्थहरू । अझ पार्टीभित्र पनि प्रचण्ड गुटका मुख्य मान्छेहरू । यदि यिनीहरूको वृत्तलाई हटाइदिने हो भने प्रचण्डका सहकर्मी नै को रहन्छन् ? हिजोका सहकर्मी तथा आन्तरिक प्रतिस्पर्धी मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेललगायतले माओवादी पार्टी छोडेको दशकौं भइसक्यो । उनीहरूको बहिर्गमनपछि पार्टीमा प्रचण्ड गुटको एकल हालीमुहाली थियो, किन यस्तो भयो ?

जब प्रचण्डका यावत् सहकर्मी र राजनीतिक उत्पादनकै यस्तो हालत देखिन्छ भने स्वयम् उनीबारे देश र जनता कति विश्वस्त हुन सक्दछ ?

महराले पाएको राजनीतिक भूमिकाले के प्रष्ट हुन्छ भने उनी प्रचण्डका अत्यन्त निकट र विश्वासिला पात्र थिए । चुनौतीहीन र एकल नेतृत्व भएको पार्टीमा अध्यक्षको विश्वास र आशीर्वादबिना महराले त्यति ठूला-ठूला राजनीतिक अवसर प्राप्त गर्न सम्भव थिएन ।

जब माओवादी नेतृत्व वृत्तको एक उच्च पङ्क्तिका यस्ता कुकृत्यहरू प्रचण्डको जानकारीमा थिए भने उनले बेलैमा त्यसलाई रोक्न, नियन्त्रण गर्न वा कारबाही गर्न किन सकेनन् ? वा किन त्यसो गर्न चाहनेनन् ? महरालाई संसद् सचिवालयकी ‘महिला कर्मचारी काण्ड’ पछि पार्टी र राजनीतिमा किन पुनर्स्थापित गरे ?

त्यो भिन्नै कुरा हो कि उक्त काण्डमा अदालतले महरालाई सफाइ दियो । तर, अदालतको सफाइ त कानूनी विषय हो, राजनीतिक तथा नैतिक हैन । प्रमाणको अभावमा प्रहरी र अदालतबाट कैयन् हत्यारासमेत बचेका हुन्छन् । तर, के ती नैतिकरूपमा समाज र राज्यको नेतृत्व गर्न योग्य हुन्छन् ?

लोकतान्त्रिक राज्य र राजनीतिमा सबै चिज कानूनले निर्धारण गर्दैनन् । कतिपय कुरा राजनीतिक र नैतिक हुन्छन् । राजनीतिक तथा नैतिक विषयमा चुक्यो भने पनि मान्छे समाज, पार्टी र राज्यको नेतृत्व गर्न योग्य मानिँदैन । प्रचण्डले यो पाटोलाई किन ध्यान दिएनन् ?

तेस्रो— सरकार त हिजो पनि यही थियो, प्रधानमन्त्री प्रचण्ड नै थिए । गृहमन्त्री माओवादी पार्टीकै नारायणकाजी श्रेष्ठ थिए । के त्यतिखेर महरालाई उन्मुक्ति दिएको हो ? अहिले रवि लामिछाने गृहमन्त्रीमा आएपछि मात्र यो प्रक्रिया अघि बढेको हो ?

महरामाथिको कारबाही प्रधानमन्त्रीको अनिच्छा र नयाँ गृहमन्त्रीको इच्छाशक्ति हो कि सरकारकै प्रतिबद्धता हो ? के संसदीय व्यवस्था र मन्त्रिपरिषद् प्रणालीमा कुनै सानो दलको गठबन्धन साझेदार मन्त्रीले प्रधानमन्त्रीको सत्तामा टिकिरहने स्वार्थको मूल्यमा निजी ‘हिरोपन्थी’ गर्ने अधिकार राख्दछ ?

यदि हैन भने सहकारी ठगी प्रकरण के हुन्छ ? यो सबैले बुझेको छ कि रास्वपाको समर्थनबिना प्रचण्डको सरकार र गठबन्धन टिक्न सक्दैन । तर, के हिजो महराले जस्तै आज रवि लामिछानेले प्रचण्डको राजनीतिक रडारमा नैतिक उन्मुक्ति पाएका हुन् ?

यी तीनवटै प्रश्न यति गम्भीर हुन्, जसको उत्तर दिने दायित्वबाट प्रचण्डले कहिल्यै र किमार्थ उन्मुक्ति पाउन सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved