काठमाडौं । चरम असन्तुष्टि र आमनिराशा छाएको समाजमा अनेक उटपट्याङ भइरहन्छन् । भ्रष्ट, अवसरवादी र असफल नेतृत्वले सिर्जना गर्ने विश्वासको आम संकटबाट उत्पन्न दिशाहीनताको कुनै सीमा हुँदैन । जोडले हावा चलेको बेला हल्लिएका केराका पात पनि तलबारझैँ देखिन्छन् । निराशा, वितृष्णा, आवेग र उत्तेजनाको राजनीतिले जन्माउने ‘जोकर’ पनि मान्छेलाई ‘मसिहा’ वा ‘मुक्तिदाता’ जस्तो लाग्न सक्दछ ।
निश्चित कार्यदिशा र सही मार्गदर्शन गुमाएको राष्ट्रमा हुनुपर्ने कुरा बिरलै र नहुनु पर्ने कुरा अक्सर भइरहेका हुन्छन् । कम्पासबिनाको क्याप्टेनले सामुद्रिक आँधीहुरीमा चलाइरहेको जहाजका यात्रुबीच कोकोहोलो हुनु कुनै आश्चर्य र अनौठो हैन ।
त्यस्ता यात्रुहरूले मनमनै कुनै नयाँ क्याप्टेनको छनोट गरी श्रीपेच लगाइदिए भने तिनको स्वैरकल्पनाको अधिकार कसैले खोस्न सक्दैन ।
उत्तेजना र क्षणिक आवेगका छालहरूले कुनै परिणाम दिएको इतिहास संसारमा छैन । कतिखेर कुन जोकर नाटकको मञ्चमा आउला र ताली बजाउला भनेर पर्खिबसेको सामाजिक हिस्साले परिणामको चिन्ता कहिल्यै गर्दैन पनि । पानी कहाँनेर धमिलिएको छ भनेर खोज्दै मात्रै हिँड्छ ।
देशको स्थिति आज ठीक यस्तै छ । र, यो धमिलो पानीमा माछा मार्न निस्केका छन्– दुर्गा प्रसाईं नामका एक व्यक्ति ।
गहन सार्वजनिक विमर्शको रिक्ततालाई उपयोग गरेर उनी चियाको कपका आँधी ल्याएको भ्रममा दौडिरहेका छन् । कतिपयलाई त्यही चियाको कपको आँधी समुद्रको सुनामीजस्तो लागिरहेको छ ।
यिनै व्यक्ति कुनै बेला ‘मार्सी भात’ नामले चर्चामा थिए । कहिले ‘मेडिकल माफिया’ कहलिन्थे । कहिले नक्कली सुनको छडी देखाएर जादु गरिरहेका हुन्थे ।
झन्डै दुईतिहाइ बहुमत ल्याएको, दक्षिण एसियाकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टी भनिएको, जेट विमानका दुई क्याप्टेन ठानिएका नेकपा (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एउटै टेबलको वरिपरि राखेर मार्सी भात खुवाउनु सार्वजनिक चर्चामा आउने प्रसाईंको सबैभन्दा ठूलो क्षमता र संयोग थियो ।
झन्डै दुईतिहाइ बहुमत ल्याएको, दक्षिण एसियाकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टी भनिएको, जेट विमानका दुई क्याप्टेन ठानिएका नेकपा (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एउटै टेबलको वरिपरि राखेर मार्सी भात खुवाउनु सार्वजनिक चर्चामा आउने प्रसाईंको सबैभन्दा ठूलो क्षमता र संयोग थियो ।
छोरा प्रकाश दाहालको आकस्मिक निधन भएको रात प्रचण्ड बिर्तामोडमा यिनै प्रसाईंले दिएको आश्रयमा सुतिरहेका थिए । प्रसाईंको दाबी छ कि प्रचण्डको आन्दोलन, पार्टी, राजनीति र क्रियाकलापमा उनले कुनै बेला करोडौंको लगानी गरे । प्रसाईंंले प्रचण्डको ‘माओवाद’ लाई लगानी गरेर गणतन्त्रलाई सहयोग गरेका थिए । संकटकालमा उनी केही महिना सैनिक हिरासतमा समेत बसेको दाबी गर्दै हिँड्छन् ।
माओवादी आन्दोलन, प्रचण्डपथ र गणतन्त्रका लागि प्रसाईं सैनिक हिरासतमा बस्दा सायद यो देशमा ज्ञानेन्द्र शाहकै शासन थियो । यदि ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन आइसकेको थिएन भने पनि सेना ‘नेपाली सेना’ भइसकेको थिएन, ‘शाही सेना’ नै थियो । त्यसको ‘परमाधिपति’ शाह नै थिए ।
तथाकथित शीर्ष नेतृत्वले नै सिद्धान्तहीन, अवैचारिक, चरम अवसरवादी र अनैतिक राजनीति गर्ने देशमा दुर्गा प्रसाईंजस्ता पात्रबाट कसैले वैचारिक र नैतिक राजनीतिको अपेक्षा गर्दैन । गर्न जरुरी पनि हुँदैन । हिजोको गणतन्त्रवादी, माओवादी वा प्रचण्डपन्थी प्रसाईं, जबजवादी, ओलीपन्थी, साम्यवादी हुँदै किन र कसरी राजावादी भए अरु देशमा भएको भए यो ठूलो प्रश्न हुन्थ्यो, नेपालको समकालीन राजनीतिक परिवेशमा भने यो कुनै प्रश्न नै हैन ।
जसले यस्तो प्रश्न उठाउला, त्यो आफैँ मुर्ख ठहरिएला । नाङ्गा बाबाहरूको अखडामा लुगा लगाउने मान्छे ‘अल्टर फिल’ भएजस्तो ।
प्रसाईंअस्ति भर्खरैसम्म ‘डबल लाल सलाम’ गर्दै थिए, कहिले प्रचण्डतिर फर्किएर, कहिले ओलीतिर फर्किएर । अब ‘लाल सलाम’ रातारात लात मारेर उनी ज्ञानेन्द्र शाहको टाउकोमा श्रीपेच राख्न निस्केका छन् । आफ्नै कुबुद्धिले २४० वर्षे श्रीपेचको विरासत गुमाएका ज्ञानेन्द्र शाहको सहारा अब प्रसाईं भएका छन्।
मार्सी भातले प्रसाईंलाई जति चर्चामा ल्यायो, त्योभन्दा ठूलो ‘स्टाटस’ उनले आफ्ना प्रिय हजुरबा एमाले अध्यक्ष ओलीबाट पाए । ओलीलाई ‘बा’ भन्ने छोराछोरीहरूको फूर्तीफार्तीकै कुनै कमी थिएन यो देशमा । अझ ‘हजुरबा’ भन्ने नाती प्रसाईंं त देशको सबैभन्दा धेरै भोट पाउने दलको केन्द्रीय सदस्य नै भए ।
झापा विद्रोह भनिने ‘नक्सलवादी आन्दोलन’ देखि त्यही एउटा केन्द्रीय सदस्यको घिडघिडो लिएर बाँचेका कयौं कमरेडहरू हेरेको हेर्यै भए, प्रसाईंले हजुरबाको आशीर्वाद सजिलै पड्काइदिए । ‘साउँभन्दा ब्याजको लोभ’ भन्ने उखान नै चलेको समाजमा बा भन्ने छोराछोरीको भन्दा हजुरबा भन्ने नातीनातिनाको फुर्तीफार्ती अझ धेरै हुनु अस्वाभाविक थिएन ।
प्रसाईं अस्ति भर्खरैसम्म ‘डबल लाल सलाम’ गर्दै थिए, कहिले प्रचण्डतिर फर्किएर, कहिले ओलीतिर फर्किएर । अब ‘लाल सलाम’ रातारात लात मारेर उनी ज्ञानेन्द्र शाहको टाउकोमा श्रीपेच राख्न निस्केका छन् । आफ्नै कुबुद्धिले २४० वर्षे श्रीपेचको विरासत गुमाएका ज्ञानेन्द्र शाहको सहारा अब प्रसाईं भएका छन्।
ज्ञानेन्द्र शाहको हात समातेर नागार्जुनबाट दौडाउँदै नारायणहिटी ल्याउने बढो ठूलो सपना छ उनको । नारायणहिटीलाई संग्राहलयबाट फेरि एकपटक दरबार बनाउने उडन्ते सपनाको नायकत्व अब ज्ञानेन्द्र शाह, पारस शाह, हृदयन्द्र शाह, कमल थापा, राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्रहरूबाट दुर्गा प्रसाईंले खोसेका छन् ।
पञ्चायतको ३४ वर्ष र राजतन्त्र समाप्त भएको १५ वर्षमा सधैँ ‘राजा राजा’ बर्बराएर मुस्किलले त्यो पनि आक्कलझुक्कल ५ प्रतिशत भोट कटाउने ‘राजावादी’ हरूका नयाँ मसिहा बनेका छन् दुर्गा प्रसाईं । २५ लाखको कालीको मूर्ति बनाएर पनि स्थापना गर्न नपाएको पीडाले आक्रान्त दुर्गाभक्त प्रसाईंं राजतन्त्र स्थापना र प्राणप्रतिष्ठाको कुरा गर्दैछन् ।
सर्पको खुट्टा सर्पले देख्छ । कुनै बेला ओली र प्रचण्डलाई एउटै टेबलमा मार्सी भात ज्यूनार गराउने क्षमता राख्ने प्रसाईंसँग पक्कै दुवै कम्युनिष्ट मुख्तियारका अनेक गुह्य र गोप्य सूचनाहरूको जानकारी हुनुपर्दछ । त्यसको पोल खोल्देलान भन्ने पीरले ओली र प्रचण्डलाई सताएको हुनुपर्दछ ।
९० प्रतिशत सर्वसाधारण र लोकतन्त्रवादी जनमतका लागि प्रसाईं एक उडन्ते गफ र तमासा हुन् । तर, माओवादी सुप्रिमो प्रचण्ड र एमाले मुखिया ओलीका लागि भने प्रसाईं ठूलो टाउको दुखाइको विषय बनेका छन् ।
त्यसको अरु कुनै कारण छैन । कारण त्यही एउटा हो कि सर्पको खुट्टा सर्पले देख्छ । कुनै बेला ओली र प्रचण्डलाई एउटै टेबलमा मार्सी भात ज्यूनार गराउने क्षमता राख्ने प्रसाईंसँग पक्कै दुवै कम्युनिष्ट मुख्तियारका अनेक गुह्य र गोप्य सूचनाहरूको जानकारी हुनुपर्दछ । त्यसको पोल खोल्देलान भन्ने पीरले ओली र प्रचण्डलाई सताएको हुनुपर्दछ । अन्यथा एमालेले प्रसाईंका पछाडि महेश बस्नेत र युवा संघलाई हात धोएर लगाउनुपर्ने कुनै काम थिएन । न त प्रचण्डले प्रसाईंलाई हिरो बनाउनेगरी निषेधाज्ञा जारी गर्न नै आवश्यक थियो । बस्नेत र प्रसाईंंको सम्भावित भिडन्त रमिताभन्दा बढी सायद केही हुने थिएन । तर, सरकारले आफैँ सस्तो रमितालाई अनावश्यक सनसनीको विषय बनाइ दिएको छ ।
जोकरहरूको कागजी तरबार–युद्ध नाटकको मञ्चमा हुने हो, पर्दा खस्नुअघि । त्यस्तो नाटक मञ्चन हुनै दिएको भए पनि केही फरक पर्ने थिएन । त्यो कुनै बहादुरहरूबीचको मल्ल–युद्ध अवश्य हैन, हुने थिएन । बस्नेत र प्रसाईंको ‘जोडा कमेडी’ बीच अनावश्यक प्रवेश गरेर ओली र प्रचण्डले त्यसको मुफतमा विज्ञापन गर्दिएका छन् । प्रसाईंको ‘ग्लामर’लाई बढाउन भूमिका गरेका छन् ।
राजनीति यति सस्तो र हल्का कहिल्यै भएको थिएन जति आज भएको छ । यसमा प्रचण्डको ‘नाटक’ र ओलीको ‘नौटंकी’ मात्र हैन, कांग्रेस सभापति शेरबहादुर देउवाको ‘मौन प्रहसन’ पनि उत्तिकै जिम्मेवार छ । जब राजनीतिले आफ्नो गरिमा, गौरव र गुरुत्व गुमाउँछ महेश बस्नेतजस्ता धरहराबाट हामफाल्न ओलीको आदेश कुरिबसेका बाहुबली र दुर्गा प्रसाईंंजस्ता उटपट्याङहरूले केन्द्रीय चर्चाको अवसर पाउँछन् । ओली, प्रचण्ड र देउवा तीन शीर्ष नेतृत्व युगको सबैभन्दा पछिल्लो उपलब्धि सायद यही हो ।
दुर्गा प्रसाईंले ज्ञानेन्द्र शाहको ताजपोशी गर्दिदैछन् भन्दा पत्याउने, हाहाहुहु गर्ने र ताली पिट्ने जमातको स्वैरकल्पनाको अधिकार कसैले खोस्न मिल्दैन । तर, सत्ता, सरकार, दल र शीर्ष नेता तिनैको प्रत्यक्ष, अप्रत्यक्ष ‘प्रोमोसन’ गर्न लाग्दछन् भने देश र लोकतन्त्रका लागि त्यो भन्दा ठूलो दूर्भाग्य के होला ?
यो पनि पढ्नुहोस :
दुर्गा प्रसाईं र युवासंघको ‘फोहोरी ब्याटल’, एकैदिन एकैठाउँमा गरिने कार्यक्रममा के होला ?
दुर्गा प्रसाईँको आन्दोलन बल्खुमा, युवा संघसँग झडपको सम्भावना घट्यो
दुर्गा प्रसाईंसँग किन यति धेरै भयभीत छन् कमरेड ओली ?
कहाँबाट सञ्चालित छ दुर्गा प्रसाईँको आन्दोलन ?
युवा संघको आन्दोलन: सरकारको विरोध कि प्रसाईँको प्रमोसन ?
Facebook Comment
Comment