काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
शनिबार बेलुका साढे ५ बजेका लागि बोलाइएको प्रदेश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव देवबहादुर बोगटीले नेपाल भ्युजलाई बताए।
शनिबारको बैठकमा मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने कार्यसूची थियो। उनले शुक्रबार बेलुका ५ बजे बस्ने बैठकमै विश्वासको मत लिने तयारी गरेका थिए। तर एमालेले यथास्थितिमा मत नदिने बताएपछि सरकारको आग्रहमा बैठक नै स्थगित गरिएको थियो।
शनिबार पनि एमालेको अडान कायमै छ। एमालेको साथ बिना विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश सभा बैठक स्थगित गरिएको हो।
सोडारी एमालेसमेतको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर उपनिर्वाचनमा एकीकृत समाजवादीको भूमिकालाई लिएर एमाले असन्तुष्ट छ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीको बहुमत सांसदले विश्वासको मत नदिने निर्णय गरेको छ। सो पक्षले विश्वासको मत नदिने ह्विप पनि जारी गरिसकेको छ।
Facebook Comment
Comment