भूमि अधिकारका क्षेत्रमा लामो समयसम्म काम गरेका अध्येता जगत बस्नेतले हालै आफ्नो पुस्तक ‘भूश्रमिक’ पाठक माझ ल्याएका छन् । केही समय पहिले उनको पुस्तकको चर्चा-परिचर्चा कार्यक्रम पनि भएको थियो । प्रदीप ज्ञवाली, राम कार्की र पुष्पा भुसालले उक्त पुस्तकमाथि धारणा राखेका थिए । यसको अर्थ, राजनीतिक दलले पनि पुस्तक र यसले उठाएका विषयलाई महत्त्व दिएका थिए भन्ने लाग्छ ।
भूमि अधिकारका क्षेत्रमा काम गर्ने र मार्क्सेली विचारबाट प्रभावित जगत बस्नेतले यो पुस्तकमार्फत समकालीन नेपाली समाजको कृषि, भूमि र किसानसँग गाँसिएको राजनीतिक अर्थशास्त्रमाथि केही जिज्ञासा राखेका छन् । र, आफ्नै खालका उत्तर दिने प्रयास गरेका छन् ।
उनका जिज्ञासा र समस्याको कथनले नेपाली समाजको विद्रुप चित्र उतार्छन् । उनले बाजुरादेखि सिन्धुपाल्चोकसम्म र रसुवादेखि झापा, सप्तरी, महोत्तरी या बाँके दाङसम्म घुमेर आफूले भेटेका किसान, तिनले पाएका हण्डर र खाएका ठक्करका कथा समेटेका छन् ।
दलितका समस्या, कमैयाका समस्या, आइएनजीओ र एनजीओका उरन्ठेउला बतासे विकास अभ्यासको चिरफार गरेका छन् । आफैँ एउटा गैससका कार्यकारी प्रमुख भएर काम गरेका बस्नेतले अ-गैससको छलकपटको भण्डाफोर गरेका छन् ।
पुस्तक आत्मपरक शैलीमा लेखिएको छ । उनले आफूले प्रत्यक्ष भेटेका र देखेका नेपाली किसानका कथामार्फत अर्धरिपोर्ताज ढाँचाको पुस्तकलाई सुरुदेखि अन्तसम्म तन्काएका छन् । यो अनौपचारिक लेखन शैलीले पुस्तकलाई रुचिपूर्ण बनाएको छ ।
आत्मसमीक्षा शीर्षकमा बाजुराको एउटा गाउँमा भूकम्प प्रभावित परिवारमा राहत वितरण गर्न जाँदाका अनुभव छन् । घर भत्केर खोलाको बगरमा सामन्य पालमुनि जीवन बताएका र चिसोले बिरामी परेका विकल्पहीन मान्छेहरूका चित्कार छन् । भूकम्पले घरसँगै घर बनाउने भिरालो जमिन पनि हल्लाएर छाडेपछि आफ्नो जमिन नभएका कारण राहत पाउन, पाएको राहत उपयोग गर्न असमर्थ भूमिहीनहरूको निरीहता देखाएका छन् । स्थानीय तहका सरकारका सीमितता र गैससले गरेका बिब्ल्याँटाहरूका आँखोदेखा हाल लेखेका छन् ।
६० वर्ष कटेपछि कम्युनिष्टले मान्छे मार्छ भनेको सुनेर नागरिकतामा वर्ष ढाँटेका तर, अहिले त्यही कारणले वृद्धभत्ता नपाएका दलितहरू, दलित भएकाले नै चुनावका समयमा आफ्नो मत गाउँका साहुहरूले भनेकोभन्दा अलग उमेदवारलाई दिएबापत् दण्डित भएकाहरूका कथाका केही रोचक र पीडादायक सन्दर्भ छन् ।
बतासे विकास उद्योगका नखर्माउलो, राहत वितरणले फाइदाचाहिँ व्यापारीलाई पुगेको चिन्ता, गाउँमा रैथाने बालीले खान नपुगेर बजारबाट चाउचाउ र रक्सी पुगेका कुरा, जमिन नभएर गरिब भएका मान्छेका बाध्यताका कथाहरू छन् । विकासे संस्थाहरूले लाभग्राहीका नाममा कसरी बजार र शहरका होटलहरूलाई धनी बनाउने मात्र काम गरेका छन् भन्ने सन्दर्भहरू पनि छन् ।
जमिन्दारले जो सत्तामा जान्छ, उही दलका बन्दै गएपछि पार्टीहरूले बेवास्ता गरेका मोही र गरिब किसानका कथा पनि छन् । जसले नेपालको राजनीतिक नेतृत्व गरिबका नाममा राजनीति गर्दै उनैलाई लात हानेर जमिन्दारको बनेका अवसरवादी राजनीतिका सजीव सत्य भनेको छ ।
२०७२ को भूकम्पपछि दाताहरूले कसरी नेपाली वस्तीको मौलिकता लोप गराउने गरी घर बनाउन लगाए भन्ने कथा र दाताका सफलताका गीतमा लुकेको वास्तविकता पनि उल्लेख गरेका छन् । खासगरी भूकम्प गएपछि घर बनाउन सरकार र दाताहरूको सहकार्यमा तीनकोठे घर बनाउन दिइएको अनुदानले कसरी स्थानीय घरहरूसँग जोडिएको कृषि अर्थतन्त्रका आयामहरू खुम्चिए भन्ने कुरा उजागर गर्छ । बाढीले उठीबास लगाउनेका दुःख देखाउँछ । साथै उनले यहाँ परम्परागत घरहरूलाई सुविधाजनक र नेपाली संस्कृति मानेका छन् र सिमेण्ट लगाइएका घरहरूलाई रोगका मुहान मानेका छन् ।
किसान कसरी विस्थापित हुँदैछन्, तराइमा जमिन्दार, एनजीओ, बाढी, आरक्षका पशु र सरकार मिलेर कसरी दलित भूमिहीनहरूमाथि अत्याचार गर्छन्, उठीबास लगाउँछन् भनेर उदाहरणहरू दिएका छन् । साथै मुसहरहरूले पाएका अनेक भूक्तमानको कथा पनि लेखेका छन् ।
मध्यम र साना किसानले नै उत्पादन धान्छन्, परम्परागत घर, गोठ र करेसाबारीले जीवन सहज र अर्थ्यानिक बनाउँछ भन्ने मत जबर्जस्त राखेका छन् । उनलाई लिपपोत गर्नुपर्ने घरहरू, ढुङ्गा या खरले या जस्ताले छाएका घरगोठ, घरवरपर करेसाबारीमा तरकारी, घरमुनि बारी बारीमुनि खेत, गोठमा लैना भैंसी र मोही मकैको खाना नै नेपाली संस्कृति हो भन्ने लाग्दो रहेछ ।
सबैभन्दा ठूलो पक्ष भनेको उनले भूमि वितरणमा रहेको असमानता अहिलेको दुःखको कारण हो र जमिनमा पहुँच र परम्परागत खेतीपाति हाम्रो अर्थतन्त्र र संस्कृति बचाउने बढाउने हतियार हुन भन्ने कुरा उठाएका छन् ।
यो पुस्तक सर्सती पढ्दा नेपाली जनताले बेहोरेका संरचनागत विभेद, इतिहासदेखिका दलितमाथिका दलन, भूमिमाथि नियन्त्रण गर्ने समूहले मोही र किसानमाथि लादेको शोषणका व्यथाकथा देखिन्छन् । उनले आफ्नो कथ्यलाई सही देखाउन ठाउँ-ठाउँमा मार्क्सदेखि दुनियाँका अरु लेखक र समाचारलाई आधार बनाएका छन् ।
समग्रमा दुई बसाइमा पढेर सकिने सरल भाषामा लेखिएको र कतिपय ठाउँमा उस्तै प्रकृतिका घटना दोहोरिएर पाठकलाई अलि झर्कोलाग्ने बनाउने यो पुस्तक नेपाली समाज बुझ्न चाहनेका लागि एउटा सन्दर्भ सामाग्री हुनसक्छ ।
तर, यो पुस्तकमा जे-जति कच्चा पदार्थ बटुलेर जम्मा गरिएको छ, त्यसलाई सहज र स्वभावजन्य हिसाबले प्रशोधन गरिएको छैन । लेखक केही कुरा भन्न खोजेको जस्तो गर्छन् र अल्मलिन्छन् । उनमा एउटा तटस्थ पर्यवेक्षकका रूपमा समाजको चिरफार, समस्याको तिखो र खरो प्रस्तुति र समाधानको ठोस सङ्केत गर्ने साहस छैन ।
गाउँ जान्छन्, गाउँको नाम भन्न सक्दैनन् । मान्छे भेट्छन्, तिनको नाम वतन खुलाउन चाहन्नन् । यस्तो लाग्छ, उनी कुनै काल्पनिक प्लट तयार गरेर लेख्न बसेका छन् । केही ठाउँमा मात्र उनी खुलेका छन् । भावुक कविले जस्तो सबै कुरा उठाएको पनि र विलौना गरेर धर्धर्ती आँसु बगाइरहेको जस्तो लाग्छ उनको लेखन । अगैससहरूको कुरा गर्छन्, नाम लिन तर्किन्छन् । प्रवृत्ति लेख्छन्, पात्र खोल्न डराउँछन् । केही भन्नै परे अरु लेखकको सहारा लिन्छन्, आफूले बताउँदैनन् ।
लेखक मार्क्सलाई ठाउँ-ठाउँमा उद्धृत गर्छन् । मार्क्सवादबाट प्रभावित छन् । तर, ग्रामीण समाजको यो दुःख र शोषणको यो भयावह रूपको उत्तर वर्गसङ्घर्ष हो कि राज्यका कानूनी सुधार ? यसमा मौन छन् । उनले खोजेको सामान्य कानूनी सुधार या भएका कानूनको पालना भन्ने देखिन्छ । त्यो उदारवादी या सुधारवादी बाटो हो, जसले सामाजिक न्यायका लागि बजारको भूमिकालाई निर्णायक मान्छ । यसमा पनि लेखक प्रष्ट हुनुपर्ने देखिन्छ ।
लेखनको यो शैलीले उनको पुस्तकलाई बोझिलो र कतिपय सन्दर्भ दोहोरिएका तेहेरिएका देखिने गरी तन्काएको छ । उनले आफ्नो लेखन शैलीलाई सुधार्नुपर्ने देखिन्छ । पीएचडी गरिसकेका र भूमि अधिकार आन्दोलनमा कम्तिमा तीस वर्ष बिताइसकेका उनमा अनुसन्धानात्मक लेखन र भूमिका सवालमा आधिकारिक धारणा राख्ने नैतिक बल र आधार छ । तर, यसको प्रयोग सही ढङ्गले गरिएको छैन ।
असहमति
भूमि वितरणसम्बन्धी उनको धारणा नेपाली समाजको अर्थराजनीतिक पूनसंरचनाका लागि हुँदै आएका बहसहरूकै एउटा पाटोको निरन्तरता हो । भूमि वितरण गरेर आम किसान परिवारलाई उनीहरूको जीवन धान्न सक्नेगरी स्रोतमाथि स्वामित्व सुनिश्चित गर्ने कुरा सामाजिक न्याय र उत्पादकत्व वृद्धि अर्थात् उत्पादक शक्तिको विकासका दृष्टिले उपयुक्त मानिएको एउटा प्रयोग हो । कृषि भूमिको वितरणका दुईवटा प्रयोग छन् ।
एउटा सामन्तवादबाट पुँजीवादमा सङ्क्रमणका क्रममा सामन्ती शोषणमा परेर आफ्नो सारा श्रम र सीप सामन्तको सेवामा लगाउने गरेका जोताहा किसानलाई उसले जोतिरहेको खेतको मालिक बनाउने गरी गरिने भूमि सुधार । यस्तो सुधार सामन्ती भूमि सम्बन्ध रहेको देशमा गरिने पुँजीवादी सुधारको महत्त्वपूर्ण पक्ष रहिआएको छ ।
यो परम्परा खासगरी रुस र चीनजस्ता साम्यवादी क्रान्ति भएका देशमा र मेक्सीको, दक्षिण अफ्रिका, जिम्वाबेलगायतका देशहरूमा प्रयोग गरिएको थियो । साम्यवादी क्रान्ति भएका देशले किसानलाई वितरण गरिएको जमिन सामूहिक स्वामित्वमा लगे र उत्पादकत्व वृद्धिको चक्रलाई गोलमाल गरे । पछि त्यसमा परिवर्तन गरियो । अन्य देशमा यो आधा अधुरो नै छाडियो र यिनीहरू घिस्रिँदै पुँजीवादी उत्पादन पद्धतिमा गए ।
अर्को तरिका भनेको जमिनको वितरणलाई बजारको जिम्मामा छाड्नु या सक्ने पुँजीपति वर्गले जमिन ओगटेर मेशिनिकरण गर्ने र जमिनको अत्यधिक उपयोग गरी उत्पादकत्व वृद्धि गर्ने हो । यस्तो देशमा पनि जमिनबाट सामन्ती स्वामित्व समाप्त भयो । किसानहरू जमिनबाट बेदखल भए र औद्योगिक अर्थात अर्थतन्त्रको आधूनिक क्षेत्रमा प्रवेश गरे ।
दुवैले अन्तिममा गएको बाटो जमिनमा रहेको अतिरिक्त श्रमलाई आधुनिक क्षेत्रमा विस्थापित गरिदिने र थोरै श्रम र धेरै पुँजीप्रधान कृषि उत्पादन प्रणालीलाई अपनाउने बाटो नै हो ।
नेपालका हकमा भूमिसुधार सन् १९९० भन्दा पहिलेसम्म कृषकको अधिकार र जमिन्दारी शोषणको अन्त्यको महत्त्वपूर्ण पक्ष हुन सक्थ्यो । अब त्यो समय सकिएको छ । अब कृषि भूमिको पुर्नवितरणको अर्थ भएको जमिनको खण्डिकरण, निर्वाहमुखी र पिछडिएको कृषिमा जनशक्तिको दुरुपयोगको कुरा मात्र हुनजान्छ । नेपालको हकमा अब बजार नै कृषि भूमिको उपयोग र वितरणको मुख्य हतियार बन्दै गएको छ । समाजको सानो हिस्साका प्रतिनिधि कथाहरूका माध्यमबाट कृषि भूमि वितरणलाई न्यायोचित ठहर्याउन लेखकले गरेको प्रयासमा सहमत हुन सकिन्न ।
तर, भूमिसुधारका कानूनी व्यवस्थामा आधारित रहेर पुस्तौंदेखि मोहीका रूपमा काम गरिरहेका किसान परिवारलाई उनीहरूले पाउने भूमिको हिस्साको स्वामित्व हस्तान्तरणमा भएका जालझेल, शक्ति सम्बन्धहरूका खेलका विषयमा बस्नेतले उठाएका तर्कहरू जायज छन् । कमसेकम दर्तावाल मोहीले कानून बमोजिम जमिनमाथिको स्वामित्व पाउनुपर्छ, जमिन्दार, भूमिसुधार कार्यालय र अदालतले सिमान्त किसानमाथि गरिरहेको शोषण र विभेदका विपक्षमा आवाज उठाउनु भने जरुरी छ । यो काम लेखकले गरेका छन् ।
अहिले नेपालको आधुनिक क्षेत्र टाक्सिएको र शहर या औद्योगिक क्षेत्रको रोजगारी पर्याप्त नभएको समयमा सीमान्त किसानहरू जोसँग घर बनउने जमिन पनि छैन, तिनलाई सकेसम्म उनीहरूले भोगचलन गरेको ठाउँमा या अन्य बसोबासयोग्य ठाउँमा घडेरी उपलब्ध गराउनु उनीहरूको आवासको अधिकारको रक्षाको लागि एउटा विकल्प हो । त्यसका सन्दर्भमा बस्नेतका प्रस्तावहरूलाई समर्थन गर्न सकिन्छ ।
दोस्रो कुरा, अब नेपाल कुन बाटो हिँड्ने भन्ने प्रश्नसँग जोडिन्छ । के हामी अब हाम्रो स्रोत र जनशक्तिको वितरण या श्रम विभाजनको परम्परागत ढर्रामा फर्कन जोड दिने तर्कमा सहमत हुन सकिन्छ ? स-साना टुक्रामा खेती गरिरहेको निर्वाहमुखी किसान अर्थात् उत्पादनबाट हुने आम्दानीको तुलनामा उत्पादन लागत बढी भएर ऋणमा फसिरहेको किसान हामीले उत्पादन गर्ने हो ? कि समग्र कृषिलाई आधुनिक क्षेत्रमा लगेर ठूला फर्महरूमा बदल्ने, कृषि आधारित प्रशोधन उद्योगहरूको व्यापक विस्तार गर्ने र साना किसान परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने बाटोमा जाने हो ?
आफ्नो उत्पादनले जीविका गर्नसक्ने मध्यम र ठूला किसानको निजी फर्महरू या पारिवारिक खेतीपाति कायम रहन दिएर बाँकी जमिनको बृहत्तर उपयोगको नयाँ बाटो नहिँड्ने हो भने हाम्रो अर्थतन्त्र र हाम्रा किसान परिवारको भविष्य फेरि पनि अँध्यारोतिर धकेलिन्छ । स-साना किसानको पक्षमा देखिएका लेखकको मतसँग सहमत हुन गाह्रो छ । निर्वाहमुखी कृषिले भविष्य बन्दैन भन्ने कुरा त आफ्नै स्वामित्वमा जमिन भएका मध्यम र साना किसान र तिनका सन्ताले धमाधम कृषि पेशाबाट बाहिरिन गरिरहेको प्रयासले पुष्टि गरिसकेकै छ ।
लेखकको अर्को तर्कसँग पनि सहमत हुन सकिन्न, जहाँ उनी परम्परागत ढुङ्गा माटोका घर, सबै बसेर आगो ताप्न मिल्ने अँगेनो, घरवरपर गोठ रहेको परम्परागत ग्रामीण जीवनको पक्षमा बहस गरिरहेका छन् ।
ठीक हो, हाम्रा परम्परागत ढुङ्गा माटोका घर सिमेण्टका घरभन्दा न्यानो हुन्छन् । गर्मीमा शीतल पनि हुन्छन् । आगो ताप्दा न्यानो पनि हुन्छ । घरमै पाकेको फलफूल, तरकारी, आफ्नै गौवामा आफैँले दुहेको दूध, आफैँले ठेकीमा पारेको मोही र नौनी । अर्ग्यानिक पनि । मीठो पनि । ताजा पनि । कुरा गजबको हो । तर, अहिलेका हाम्रा घरहरू बनेको र लेखकको भाषामा नेपाली संस्कृतिको विम्ब बनेको कहिलेदेखि हो ?
मलाई थाहा छ, म हुर्कँदा हाम्रो गाउँमा तीन घरबाहेक सबै घुमाउने घर थिए । अहिले एउटा पनि घुमाउने घर छैन । घुमाउने घर न्यानो हुन्थ्यो । दुईपाखे घर कम न्यानो हुन्थ्यो । गाउँमा एउटा घरबाहेक सबै खरले छाएका थिए । ढुङ्गे घरभन्दा खरले छाएका घर शीतल या न्याना हुन्थे । अहिले एउटा घर पनि खरले छाएको छैन । एउटा घुमाउने घर पनि बाँकी छैन ।
सिकलेस नेपालको सबैभन्दा ठूलो गुरुङ गाउँ हो । सन् १९६५ तिर हर्क गुरुङले सिकलेस जाँदा अधिकांश घरहरू खरले छाएका स-साना झुपडी जस्ता थिए भनेर लेखेका छन् । त्यसको बीस वर्षपछि म जाँदा हर्कले देखेका घर थोरै मात्र बाँकी थिए । अरु सबै दुईपाखे र ढुङ्गाको छानो भएका थिए । अहिले गयो भने घरबाट ढुङ्गे छाना धमाधम फेरिँदैछन् र जस्ता लगाइएका छन् । नयाँ घरहरू सिमेण्टेड हुन थालेका छन् । अझ कतिपय त ढलान गरेका । किन फेरिए होलान् त घरहरू ? यो मानिसको प्राकृतिक गुण हो कि ऊ थप सुविधा चाहन्छ । चाहे त्यो घर होस्, चाहे काम । आयस्ता बढाउनु, त्यसअनुरूपको हुनसक्ने सुविधा खरिद गर्नु र जीवनलाई सहज बनाउनु ।
यो दुनियाँमा एक अर्काबाट सिक्ने, अर्को ठाउँकाले प्रयोग गरेका सीप, खेती प्रणाली, आवास, नाचगान, गीत, कपडा, खाद्य संस्कृति सबै एउटाबाट अर्कोले सिकेका हुन् । अहिले हाम्रो खाद्य संस्कृतिमा आलु र मकैको जुन योगदान छ, त्यो तीनसय वर्ष पनि भएको छैन नेपाल भित्रिएको ।
घडी लाउने संस्कृति कहिले बन्यो होला ? हाम्रा गाउँमा पहिले चल्ने भोटो कछाड, लङ्गौटी, घलेक, बुलाकी, ढुङ्ग्रीले किन अहिले विस्थापित हुनुपरेको होला ? महिलाले पनि कपाल काट्न किन थालेका होलान् ? चप्पल जुत्ता नलाउनेहरू किन चप्पल नभइ घरबाट ननिस्कने भएका होलान् ? घर-घरमा चिया खाने चलन चलेको कति भयो होला ? चिया आउनु पहिले घरमा आउनेलाई के दिएर स्वागत गरिँदो हो ? यी प्रश्नको उत्तर खोज्दा यो पुस्तकका लेखकको विगत मोह देखेर दिक्क लाग्छ ।
संस्कृति स्थिर र जड कुरा होइन, जीवन पद्धति स्थिर र जड हुँदैन । मान्छेको ज्ञान निरन्तर बढ्दै जान्छ । मान्छेले अरुबाट त सहजै सिक्छ आफैँ पनि नयाँ-नयाँ खोज गर्दै जान्छ । त्यसक्रममा हाम्रा परम्पराहरू बदलिन्छन् । हाम्रो संस्कृति बदलिन्छ । एकअर्कालाई गरिने सम्मान अपमानका तरिका बदलिन्छन् । बोलिने भाषा बदलिन्छ । नाचगान र पूजापाठ, जन्म-मृत्यु संस्कारजस्ता कुरा बदलिन्छन् । बदलिनु नै यसको चरित्र हो ।
म काठमाडौंमा बस्छु । मलाई पनि मोही पिउन मन लाग्छ । गाउँको न्यूरो, बाकान, सिप्लीगानको तरकारी खान मन लाग्छ । घर चिसो हुँदा आगो ताप्ने अँगेनो सम्झन्छु । तर, गाउँमा नै गए पनि आगो ताप्ने अँगेनो अब पहिले जस्तो छैन । ढुङ्गा-माटोको घरमा पनि अँगेनोमा आगो ताप्ने अवस्था छैन । भान्सा बदलिएका छन् ।
मुख्य कुरा त मान्छेले अहिले पर्याप्त कपडा लगाउँछन् । ओढ्ने पछ्यौरा या ब्ल्याङ्केट छन् । खाना खाएपछि भान्साबाट निस्केर टिभी हेर्ने भएका छन् । टिभी अँगेनो र धुँवा एकै ठाउँमा हुन्नन् ।
सबैलाई थाहा छ, अँगेनामा तापिने आगोले न्यानो मात्र दिँदैन। फोक्सोभरी धुँवा पनि पठाउँछ । रोगी बनाउँछ । माटोको घरहरू हाम्रा आमाहरूका लागि अभिशाप थिए । हरेक दिने चुलो पोत । दैलो पोत । माटोले थपिदिने कसिङ्गर बढार । त्यो ठाउँमा सिमेण्ट गरिदिए यस्तो दैनिक लिपपोतबाट आमाहरू मुक्त हुन्छन् । ढिकीमा कुटेको चामल राम्रो हो खानका लागि तर, मेसिनले दिएको सुविधा छाडेर ढिकी कुट्न निफन्न, केलाउन लगाउनु कति उचित हुन्छ ?
त्यसैले हाम्रो गाउँघर र हामीले हुर्केको समय सम्झेर, त्यतिबेलाको जीवनपद्धतिलाई संस्कृति मानेर विलाप गरिरहनु उचित हुन्न । त्यो अर्को भाषामा प्रतिगामी कुरा हो । अझ हामीजस्ता शहरमा बसेर शहरीया सुविधाअनुसार जीवन बिताउने र गाउँलेहरूलाई पहिलेको परम्परा धान भनेर अर्ति दिने कुरा कतै सुहाउने कुरै हैन । मेरा बाले एक साता लगाएर मार्फा या लेतेबाट र पछि ठोरी र नारायणगढबाट ढाकरमा नुन खेपेको कुरालाई अहिले सम्झेर ती दिन काइदाका थिए भन्नु कसरी ठीक हुन्छ र ?
अनि शहरभन्दा गाउँ राम्रो भन्ने कुरा पनि समयविपरीतको कुरा हो । राम्रो के हो ? मानिसले आफ्ना रहरहरू, आकाङ्क्षाहरू, सपनाहरू पूरा गर्ने अवसर जहाँ पाउँछ, त्यहीँ राम्रो हो । कुनै पनि नेपालीलाई पहिलोपटक अमेरिका या बेलायत बस्न जाँदा सहज हुँदैन । तर, ऊ जान पाएपछि फर्किँदैन किन ?
हामी गाउँबाट शहर झरेकाहरू फर्केर गाउमै बस्न जाँदैनौँ किन होला ? किनकि हाम्रो जीवनका लक्ष्यहरू पूरा गर्न शहरमा जति सहज छ, त्यो गाउँमा छैन । शहरभन्दा गाउँ राम्रो भन्नु भेज र ननभेजवाला बहस जस्तै हो । मान्छेलाई माछामासु खान मन पर्दैन भने ऊ भेज हुने हो । जसलाई मनपर्छ, उसले मासु मज्जाले खाने हो । यसमा कुन ठीक भन्ने बहस नै गलत हुन्छ ।
त्यस्तै सुख दिन्छ र जीवन शहरमा आधारित छ भने तपाईं शहरमै बस्नुहुन्छ । तपाईंले गाउँमा नै आफ्नो जीविकाको आधार बनाउनुभएको छ भने गाउँ बस्नुहुन्छ । बस्नु जता बसे पनि कति रहर र छनोट हुन कति भने बाध्यता हुन् । तर, शहरमा पाइने सबै सुविधा गाउँमा पाइन्नन् । सम्भव नै हुँदैन ।समस्या दुवैतिर हुन्छन् । सुविधा र खुसीका विषय पनि दुवैतिर हुन्छन् । तपाईंको छनोटको अधिकार भने तपाईंमा रहन्छ ।
पुस्तकको परिचय लेख्न पसेको म कता बरालिएर आफ्ना गन्थनमा पुगेछु । जगत बस्नेतको चिन्ता हाम्रो पनि चिन्ता हो । उनलाई पढौँ ।
Facebook Comment
Comment