‘झोलेन्दो’ शब्द सामाजिक सञ्जालमा तैरिरहेको एक फोटोबाट लिइएको हो । उक्त फोटो कुनै एक पत्रिकाको कार्टुनको थियो । उक्त कार्टुनमा राजनीतिक दलका कार्यकर्ताको मनोदशाप्रति व्यङ्ग्य गरिएको थियो ।
पङ्क्तिकारले ‘दलालीः एक सांस्कृतिक पागलपन’ विषयमा केही वर्षदेखि अध्ययन, अनुसन्धान तथा लेखनको काम गरिरहेको छ । दलाल संस्कृतिको अध्ययनमा झोलेलाई एक उपवर्ग अथवा ‘सबभेरिएन्ट’ मानिन्छ । त्यसकारण पनि हुनसक्छ, त्यो कार्टुनले आकर्षित गर्यो । यही शब्दको प्रयोग गरी झोलेमा देखिएको मानसिक समस्यालाई वर्गीकरण/व्याख्या गर्न यो लेख लेखिएको हो ।
झोलेन्दो रतन्धोबाट उत्प्रेरित भएर आएको हुनसक्छ । रतन्धो भएको व्यक्तिले साँझ, रातिमा आँखा नदेख्ने समस्या हुन्छ । यो दृष्टिविहीन अवस्था हो । झोलेन्दोको समस्या हुँदा पनि दृष्टिको अभाव हुन्छ । तर, त्यो आँखा नदेख्ने नभएर दृष्टिकोण नहुने हो । अर्थात्, चेतको प्रयोग नहुने अवस्था हो । यो भनेको सिर्जनशीलता तथा आलोचनात्मक क्षमता कमजोर हुनु हो । वास्तवमा यो एक अस्वस्थ मानसिक अवस्था हो ।
विडम्बना, मानसिक रोगलाई लाल्छनाका रूपमा हेरेर, यसलाई लुकाउने जुन हाम्रो गलत प्रवृत्ति छ त्यो झोलेन्दो समाधानका लागि बाधा बनेको छ । वास्तवमा झोलेन्दोको समस्या विकराल भएको छ । यसले सामाजिक चेतानामा गम्भीर आघात पुर्याएको छ । देशको राजनीतिलाई त पूर्णतः सङ्क्रमित गरेको छ । अब यसलाई लाल्छनाका रूपमा मात्रै हेरेर लुकाउने अवस्था छैन/हुँदैन ।
झोलेन्दोको समाधानका लागि झोलेप्रति करुणा भाव चाहिन्छ । कुनै दलमा लागेको मान्छे हो भन्दैमा उसलाई ठगी खाने हो, झुठ बोल्ने हो, जागिरसागिर नगर्ने अनि नदेखिने कमाइमा बाँच्ने लफङ्गो हो भन्ने दृष्टिकोणले मात्रै हेर्नु हुँदैन । हो, झोलेमा गफ गर्ने, काम नगर्ने, समस्याको समाधान गर्नेभन्दा पनि त्यही समस्यालाई बल्झाएर आफ्नो जीविका चलाउने प्रवृत्ति हुन्छ । सानो कुरामा समेत लोभ गर्ने, चाकडी गर्ने र लतमा लाग्ने जस्ता चारित्रिक समस्या उब्जन्छन् । यद्यपि, के बुझ्न जरुरी छ भने यी समस्या देखिनुमा समाज जिम्मेवार छ; व्यक्ति होइन ।
झट्ट हेर्दा झोलेको कामै नभए जस्तो देखिन्छ । तर, उसका अनेकन् काम हुन्छन् । तीमध्ये फर्जी डकुमेन्ट बनाउने, मुद्दामामिला मिलाउने, भनसुन गर्ने, घुस मिलाइदिने वा अन्य अपराधमा मध्यस्थता गर्ने जस्ता बढी हुन्छन् । ती प्रायः कानून मिच्ने काम हुन् । त्यसकारण सार्वजानिक रूपमा झोलेले आफ्ना कामप्रति गर्व गर्न सक्दैन । पर्दा सबै उसँग आउँछन् तर, उसको विडम्बना सबैलाई एकै ठाउँमा राखेर आफ्नो कामबारे भन्न सक्दैन । जस लिन सक्दैन ।
झोले निराश हुन्छ । उसले सबै मान्छेको ‘नैतिकता’ देख्छ । अरुले पनि उसको । एकअर्कालाई हेर्दा देशमा परिवर्तन होला जस्तो लाग्दैन । सबै खराब देखिन्छन् । यद्यपि, उनीहरूबीच खुल्ला भएर एकअर्काका कथित नैतिकताबारे छलफलचाहिँ हुँदैन । सबैले आफ्ना काम लुकाउँछन् । यस्तो परिस्थितिमा कसैले कसैलाई विश्वास गर्दैन । झोलेन्दो ग्रस्त मानसिकता त झनै कुरूप बन्दछ । त्यो कतै देश सुध्रिने हो कि भन्ने त्रासमा हुन्छ । बिग्रेको देशमा उसको जीवन चलेको छ । यही सजिलो भएको छ । देश सही दिशामा गयो भने ऊ बेरोजगार मात्रै हुँदैन, उसका अपराध पनि बाहिरिन्छन् ।
झोलेन्दोको मुहान राजनीतिक दल हुन् । तर, झोलेन्दोको समस्या व्यापार, कृषि, शिक्षण वा जागिरलगायत लगभग सबै जसो क्षेत्रमा फैलिएको छ । परिस्थिति कस्तो छ भने दलका बलिया सिण्डिकेट/गिरोहका अगाडि व्यक्ति निरीह छ । एक न एक दलमा हुन बाध्य हुन्छ । अन्यथा व्यक्तिले राज्यबाट प्राप्त हुने सरुवा, बढुवा, अनुदानलगायतका अन्य सामान्य सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने हुन्छ । त्यसका साथसाथै अनावश्यक झमला हुने र त्यसबाट मुक्त हुन घुस खुवाउनुपर्ने हुन्छ ।
देशमा वास्तविक नागरिक भेट्न गाह्रो छ । अवस्था कस्तो भने जन्मेपछि नाम राख्नुपर्छ भनेझैँ व्यक्ति कुनै न कुनै दलको भनेर ‘डामिनै’पर्छ । दलका कार्यकर्ता स्कूल-कलेज, सङ्घ-संस्था, निकाय-विभाग, अन्य सबैजसो तहतप्का जताततै भरिएका छन् । निजी क्षेत्र होस् वा सार्वजानिक दलका कार्यकताबाहेक अरुले अवसर पाउन मुस्किल छ । अर्थात् सबै क्षेत्रमा झोले छन् । यद्यपि, यो लेखमा चाहिँ राजनीतिक झोलेका बारेमा चर्चा गरिनेछ ।
माथि भनिएझैँ प्रत्येक घरका मान्छे कुनै न कुनै दलमा आबद्ध छन् । अझ भनौँ मान्छे त्यसरी आबद्ध हुन बाध्य छन् । तर दलचाहिँ निश्चित व्यक्तिको स्वार्थमा सञ्चालित छन् । यी दल नभएर दलालका गिरोहमा बदलिएका छन् । गिरोह सञ्चालनका लागि दलाली जम्मा गर्नुपर्छ । त्यसैका लागि यी विभिन्न अपराधमा संलग्न भएर विवादमा मुछिइरहन्छछन् । ती गिरोहमा झोलेको जीवन निर्भर हुने हुँदा उसलाई अपराधको प्रतिरक्षा गर्नुपर्ने हुन्छ । यस्तो परिस्थितिमा व्यक्तिको चेतनामा गम्भीर आघात पुग्दछ । व्यक्तित्व तथा क्षमता विकास गर्नसक्ने सम्भावना नष्ट हुन्छ । यसरी सिर्जना होइन, विकृतिहरू जन्मिने अस्वस्थ मानसिकता निर्माण हुन्छ वा झोलेन्दो जन्मिन्छ ।
झोलेन्दो हुनुको अर्को कारण राजनीतिमा दलालीको व्यापक प्रयोग हो । झोलेसँग दलालीको अभाव हुन्छ । तर, राजनीतिमा अगाडि बढ्न दलाली चाहिन्छ । मोटो दलाली नभइ गिरोहको नेताले टिकट दिँदैन । त्यसका लागि झोलेसँग अपराध गर्नुबाहेक अन्य उपाय हुँदैन । त्यसो गर्न नसके राजनीति सकिन्छ । त्यसैमाथि पैसाको अधिक महत्त्व भएको समाजमा उसको आफ्नो आम्दानी हुँदैन । जागिर, पेशा, व्यवसाय केही हुँदैन । दलाली जम्मा गर्नुपर्ने उक्त मानसिक दबाबले पनि झोलेन्दोका लागि वातावरण तयार गर्छ ।
झोलेन्दो भनेको व्यक्तिले चेतनालाई गिरोहको स्वार्थसँग अनुकूल गर्ने प्रवृत्ति हो । यो प्रवृत्ति भएको व्यक्तिले आफ्नो स्वार्थलाई केन्द्रमा त राख्छ नै तर, एक्लै त्यो पूरा गर्न सक्दैन । उसले दलालले जस्तो आफ्नो छुट्टै गिरोह बनाउन सक्दैन । आफूजस्तै निहीत स्वार्थका लागि काम गर्ने गिरोह खोज्छ । त्यसको सदस्य बन्छ । उसको गिरोहलाई फाइदा भयो भने मात्रै केही पाउने आशा हुन्छ । त्यसकारण झोले गिरोहको स्वार्थलाई हेर्न बाध्य भएको हो ।
यथार्थमा झोले आशामा बस्न विवश हुन्छ । अर्थात् झोलेन्दो लागेको व्यक्तिले आशाको खेती गर्छ । यस्तो आशाको खेतीमा धेरैको जीवन बर्बाद भएको छ । उनीहरूको अध्ययन, सीप तथा नेतृत्व विकाससँगै व्यक्तित्व विकास नै अबरुद्ध भएको छ । सामान्य जागिर गर्न, विवाह गर्न तथा समाजमा सम्मानका साथ बाँच्न गाह्रो छ । समाजले उनीहरूलाई भ्रष्ट भएकोमा लाञ्छना लगाउँछ । झोलेका कारण परिवारमा पनि झमेला भइरहेका हुन्छन् । उसको घरमै आलोचना हुन्छ । सन्तानले हेप्छन् । यसरी आत्मसम्मान बर्बाद भएका व्यक्तिलाई झोलेन्दोको समस्या हुन्छ । वा, झोलेन्दो लागेको व्यक्तिको आत्मसम्मान यसरी स्खलित हुन्छ ।
लेखको सुरुमा भनिएझैँ झोले दलाल सामाजिक व्यवस्थाको उपज हो । वास्तवमा दल र समाज मिलेर झोलेको उत्पादन गर्छन् । यो व्यवस्थाका लागि झोले यति महत्त्वपूर्ण छ कि ऊ नभइ राजनीति चल्दैन । विरोधाभास कस्तो भने झोलेको सम्मान न पार्टीमा हुन्छ, न त समाजमा । तर, पार्टीलाई पनि ऊ चाहिन्छ र समाजलाई पनि । भन्नुको मतलब झोलेन्दो हुनुमा झोलेको दोष छैन । उसले देशका लागि केही गर्ने भनेरै लागेको हुन्छ । दलाल सामाजिक तथा राजनीतिक व्यवस्थाको उपज उसलाई झोलेन्दो लाग्छ । बिमारी हुन्छ । उजस्तै राजनीतिमा लागेका धेरै बिमार हुँदा देशै रोगी हुन पुगेको छ ।
झोलेलाई डाक्टर, ईञ्जिनियर, शिक्षक, व्यवसायी सबैभन्दा म नै जान्ने छु भन्ने भ्रम हुन्छ । त्यसका साथै उसमा उत्पन्न हुने ईर्ष्याले गर्दा अरुको क्षमतालाई सम्मान गर्न सक्दैन । वास्तवमा ऊ आफू कुनै काम राम्रोसँग गर्न सक्दैन । उसका गफ पनि विरोधाभासी, विषाक्त र दूराग्रहपूर्ण हुन पुग्छन् । झोले गिरोहका अपराधलाई लुकाउँदा, स्वीकार गर्दा, सही ठहराउँदा र प्रतिरक्षा गर्दागर्दै सही र गलत छुट्टाउन नसक्ने बन्छ । अर्थात्, झोलेन्दो लाग्छ ।
झोलेन्दोको दुष्प्रभावलाई बुझ्न राष्ट्रिय राजनीतिका केही ताजा घटना हेरौँ ।
यही बैशाख १५ गते इलाम २ मा उपनिर्वाचन भयो । अघिल्लो उपनिर्वाचनमा रवि लामिछानेको रास्वापले राम्रो प्रर्दशन गरेकाले सबैका आँखा इलाममा के हुन्छ भन्नेमा थिए । केपी ओलीको एमालेले सुवास नेवाङका छोरालाई टिकट दिएको थियो भने शेरबहादुर देउवाको कांग्रेसले पहिला पराजितलाई नै टिकट दिएको थियो । प्रचण्डले चाहिँ एमालेका उम्मेदवारलाई समर्थन गरे ।
निर्वाचनको अवधिमा सबै पार्टीका झोलेले आ-आफ्नो तरिकाले प्रतिक्रिया जनाए । रोचक के भने सुदूरपूर्वमा चुनाव हुँदैछ । सुदूरपश्चिमको एक झोले उक्त चुनावका उम्मेदवारको प्रचार गरिरहेको हुन्थ्यो । सम्भवतः ऊ जीवनमा कहिल्यै इलाम गएको छैन । उसको फेसबूकमा इलामको केही छैन पनि होला । तर, उसले प्रचार गर्छ । त्यो किनभने उसको एउटा मात्रै उद्देश्य गिरोहप्रति बफदारिता देखाउने हो । त्यसका लागि चुनाव सही अवसर थियो ।
कांग्रेसमा टिकट दिने बेलामा दुई गिरोहबीच विवाद थियो । तर, शेरबहादुरको गिरोह बलियो भएकाले उनले चाहेझैँ टिकट दिइयो । माथि नेताको प्रतिस्पर्धा जे-जस्तो भएपनि देशभरका कांग्रेस झोलेहरू चाहन्थे पार्टीले जितोस् । यद्यपि, चुनाव परिणामपछि उनीहरूको प्रतिक्रिया भने दयनीय थियो । ती कांग्रेस उम्मेदवार पहिलाभन्दा खराब तरिकाले हारेकोमा दुखी थिएनन्, बरु रास्वपाले नजितेकोमा सन्तुष्ट देखिन्थे । उनीहरूलाई केपी ओलीको अधिनायकवादले जित्ला भन्नेभन्दा पनि आफ्नो भोट बैंक जान्छ कि भन्ने चिन्ता थियो ।
एमाले र माओवादीको कम्युनिष्ट ‘भोट बैंक’का लागि प्रतिस्पर्धा भएजस्तै कांग्रेस र रास्वपाको ‘उदारवादी भोट बैंक’ का लागि भएको देखिन्छ । जति ठूलो रास्वपा बन्छ त्यति नै कांग्रेस खुम्चिने निश्चित छ । यही मनोवैज्ञानिक कारण हुनसक्छ, कांग्रेसले रवि लामिछाने संलग्न भनिएको सहकारी ठगीको मुद्दालाई चर्काएको छ । भ्रष्टाचारी सांसदलाई रोष्टम घेर्न लगाएर संसदीय छानबिनको माग गरिरहेको छ । हिजो कांग्रेसले के गर्यो ? कति भ्रष्टाचारका काण्ड घटायो ? र,उही चरित्रको कांग्रेस भोलि सत्तामा गएपछि कस्तो रवैया देखाउला ? त्यो सबैलाई थाहा छ । जे भएपनि अहिलेचाहिँ कांग्रेस झोलेका लागि रास्वपा सभापति, उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीमा मुछिनु खुसी मनाउने अवसर बनेको छ । उनीहरूमा पतन भएको देशको राजनीतिप्रति चिन्ता देखिँदैन । बरु लामिछानेको नैतिक स्खलनबाट आनन्द लिइरहेका देखिन्छन् ।
उक्त विकृत मानसिकता कम्युनिष्ट कार्यकर्तामा पनि छ । तर, अहिले सत्ता स्वार्थका कारण यी चुप देखिन्छन् । लामिछानेको नाम सहकारी ठगीमा आएको छ । उनीमाथि छानबिन हुनुपर्ने यथेष्ठ आधार छन् । मिडिया तथा नागरिकले छानबिन हुनुपर्छ भनेका छन् । तर, लामिछानेका कारण यो सरकार टिकेकाले केपी ओली र प्रचण्ड उनको बचाउमा लागेका छन् । यहाँ कथित कम्युनिष्ट झोलेको विडम्बना के हो भने नेताहरू आफ्नो सत्ता स्वार्थका लागि जे पनि बोल्छन् भन्ने थाहा छ । तर, पनि ठगीको छानबिन हुनुपर्छ भन्दा गिरोहको स्वार्थविपरीत हुने हुँदा चुप लाग्न बाध्य छन् ।
पछि जे होला तर, अहिलेलाई ओली र लामिछाने एकअर्काका भ्रष्टाचारलाई लुकाउन मिलेका छन् । ओली प्रधानमन्त्री हुँदा गिरीबन्धु टी स्टेटको जग्गा साटफेरको नाममा नीतिगत भ्रष्टाचार गर्न खोजेको अदालतको फैसलाले पुष्टि गरेको छ । तर, उनकै भरमा सहकारी ठगीको आरोप लागेका लामिछाने गृहमन्त्री भएपछि ओलीलाई हाइसन्चो भएको छ । लामिछानेको नाममा सहकारीका ठग आफ्ना कार्यकर्तालाई पनि बचाउन सहज हुने भएपछि ओली खुसी नै भएको हुनुपर्छ । यद्यपि, दुखद् कुरा के हो भने ठगी र भ्रष्टाचारका सप्रमाण देखिँदा पनि एमाले, रास्वपा र माओवादीका कार्यकर्ता चुप छन् । जब भोलि सत्ताको स्वार्थ नमिलेपछि नेताहरू एकअर्कालाई गाली गर्न थाल्छन्, झोलेहरू पनि त्यही गर्नेछन् ।
सहकारी काण्ड ठूलो ठगी काण्ड हो । यसका कारण गाउँ-शहर जताततै लाखौँ मानिस प्रत्यक्ष रूपमा पीडित भएका छन् । कैयन् सहकारीका सञ्चालक भागेका छन् । रवि लामिछानेसम्म आइपुग्दा त सहकारी ठगीको आरोप लागेका व्यक्ति नै उपप्रधान तथा गृहमन्त्री भए । छानबिन गरी यो सङ्कटबाट देशलाई बचाउँदै सहकारीलाई व्यवस्थित गर्न अति जरुरी छ । तर, गिरोहहरूको ध्यान सत्तामा मात्रै छ । उनीहरूलाई आफ्ना अपराध ढाकछोप गर्नका लागि पनि सत्ता जरुरी छ । यही सत्ताको लडाइँले गर्दा सहकारी सङ्कट राजनीतिक सङ्कटमा बदलिएको छ । यसका लागि जति दलाल नेता जिम्मेवार छन्, त्यत्तिकै झोले कार्यकर्ता । यी बोल्न मात्रै सक्ने भए परिस्थिति बदलिन समय लाग्दैन्थ्यो ।
सत्तामा जाँदा होस् वा बाहिँरिदा; विरोध गर्दा होस् वा समर्थन गर्दा कुनै पनि निणर्य लिँदा छलफल गरेर, नेता तथा कार्यकर्ताको कुरा सुनेर निणर्य लिने दलहरूको संस्कार छैन । त्यस्ता सबैजसो निणर्यहरू रातारात गिरोहका नेताको मिलेमतोमा हुने गर्छन् । कम्युनिष्ट पार्टीको एकता होस् वा पछिल्लो चरणमा केपी, प्रचण्ड र रवि मिलेर बनाएको सत्ता गठबन्धनको निणर्य गर्दा होस्, उनीहरू गोप्य बसे । सत्ताको दलाली गरे । दलमा लागेका अरु सबैले ताली बजाए । वास्तवमा दलका कार्यकर्तालाई झोलेन्दो हुनुको प्रमुख कारण आन्तरिक लोकतन्त्रको अभाव हो । उनीहरूलाई छलफल र निणर्य प्रक्रियाबारे अँध्यारोमा राखिनु हो ।
कार्यकर्ताको क्षमता विकासका कुरा छाडौँ, क्षमता भएको व्यक्ति दलमा भयो भने बाधा उत्पन्न हुन्छ । त्यहाँ हुन नेताको आदेश मान्नुबाहेक अर्को विकल्प छैन । यही सहकारीको काण्डमा कम्युनिष्ट तथा रास्वपाका धेरैलाई रविमाथि छानबिन हुनुपर्छ भन्ने लागेको छ । तर, उनीहरूका लागि त्यो भन्ने साहस, ठाउँ र स्वतन्त्रता केही छैन । भन्यो भने उल्टो दलको सदस्यता जाला भन्ने चिन्ता हुन्छ । त्यसका पछिल्ला उदाहरण रमेश खरेल हुन् । उनले असहमति राख्दा रास्वपाबाट निक्लनुपर्यो ।
माथि नै भनिएझैँ आफ्नो दृष्टिकोण बनाउने क्षमता नभएका कार्यकर्तालाई झोले भनिन्छ । यदि कांग्रेस कार्यकर्तामा झोलेन्दो लागेको हुँदैन्थ्यो भने चुनावमा पराजय हुनुको कारण खोज्थे । बझाङ्गमा कांग्रेसको सिट गुम्यो । त्यसको जवाफदेहिता माग्थे । त्यस्तैगरी रवि लामिछानेको काण्डमा मात्रै नबोलेर सबै भ्रष्टाचारको विरोध गर्थे । आफ्नो भ्रष्ट नेतालाई कारबाहीका लागि आवाज उठाउँथे । पार्टीका भ्रष्टाचारीलाई अधिवेशन तथा चुनावमा जिताएर पठाउँदैनथे ।
त्यस्तैगरी कम्युनिष्ट कार्यकर्तामा झोलेन्दो नलागेको भए दुईतिहाइको दुरूपयोग गरी संसद् भङ्ग गर्ने केपी ओलीलाई कम्तिमा अदालतको आदेशपछि अध्यक्षबाट हटाउँथे । काण्डैकाण्डमा मुछिएका ओली र उनका आसेपासेका बारेमा पार्टीमा छलफल गर्थे । आलोचनात्मक चेत राख्ने नेताहरूको राजनीति खत्तम गरियो । पार्टीमा दशकौं दुःख गरेका नेता कार्यकर्ताको अपमान हुने कैयन् घटना भए । पार्टी फुट्यो । यी विषय उठाउँथे । तर दुःखको कुरा पार्टी पूर्णतः ओलीको स्वार्थपूर्ति गर्ने औजार बनेको छ भने झोले कार्यकर्ता उनको स्वार्थको खेलमा प्यादा हुन तयार देखिन्छन् । स्कूलिङ्गका कारण हुनसक्छ, कम्युनिष्ट झोलेमा झोलेन्दोको समस्या झनै दमित, विकृत र जड देखिन्छ ।
रास्वपाका नयाँ झोलेहरूको समस्या पनि उस्तै छ । राजनीति सुधार गर्छौँ भनेर आएको व्यक्तिलाई प्रमाणसहित ठगीको आरोप लाग्दा ती बोल्न सक्दैनन् । बैठक बसेर छलफल गर्दैनन् । सार्वजानिक ठाउँमा प्रायः चुप देखिन्छन् । बोल्नेहरू ‘अरुका पनि काण्ड छन् । ती किन छानबिन नगरेको ?’ भन्दै तर्कन खोज्छन् । कोही अन्य असम्बन्धित कुरा गरेर रवि माथि आक्रमण भएको तर्क गर्छन् । आफ्ना सभापति तथा गृहमन्त्री लामिछानेको प्रतिरक्षा गर्न रास्वपा सांसद मनिष झाले कांग्रेस पदाधिकारीको पनि छानबिन हुनुपर्ने कुरा गर्नु त्यस्तै मिथ्याकरण गर्ने एक चालबाजी हो । यही प्रवृत्तिका कारण रास्वपालाई उपलब्ध सुध्रिने अवसरसमेत गुम्ने देखिएको छ । वास्तवमा रास्वपाको स्थिति खराब भएको छ । सभापति नै ठगी काण्डमा मुछिएसँगै पार्टी बर्बादीको छेऊमा पुगेको छ ।
अन्त्यमा,
झोलेन्दोले नागरिकको चेतनालाई बन्धक बनाएको छ । अर्थात्, झोलेन्दो लागेका कारण नागरिक नागरिक बन्न सकिरहेका छनैनन् । यो समस्याका कारण राजनीतिमा गिरोहलाई हाबी हुन सजिलो भएको छ भने दलाललाई आफ्नो अपराधबाट बच्दै थप अपराध अगाडि बढाउन सजिलो भएको छ । देशमा दलीय गिरोहका कारण भ्रष्टाचार मौलाउँदा बहुदलीय लोकतन्त्रप्रति निराश बढेको छ । झोलेन्दोको समस्या राजनीतिक संस्कारसँग जोडिएको गम्भीर विषय भएकाले अबको राजनीतिक सुधारको आन्दोलनमा यसको समाधानलाई प्रमुख मुद्दा बनाउन अत्यन्तै जरुरी भएको छ ।
Facebook Comment
Comment