हुनतः दुर्गा प्रसाईँ ‘मेनस्ट्रिम मिडिया’मा टिप्पणीका लागि ‘डिजर्भ’ गर्ने पात्र होइनन् ।
तर, अहिलेको ‘विकृत राजनीति र समाज’ले उनलाई ‘हट केक’ बनाएको छ । चिया चौतारीदेखि सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा समेत उनकै चर्चा छ ।
कतिपयले उनलाई बैंकको ऋण तिर्न नसकेर ‘मास सेन्टिमेन्ट’ बटुल्ल राजनीतिमा होमिएको आरोप लगाइरहेका छन् । कतिले भने पुराना दलले बिगारेको राजनीति सफा गर्न आएका चमत्कारिक पात्रका रुपमा व्यख्या गरिरहेका छन् ।
अर्थात्, कसैले उनलाई देवत्वकरण गरिरहेको छ त कसैले राक्षसीकरण । तर उनी ती दुवै होइनन् । हुन् त केवल– मेडिकल व्यवसायी, जो राजनीतिका अनेक आवरणमा आफ्नो व्यपार व्यवसाय चौपट हुनबाट जोगाउन सक्रिय छन् ।
प्रसाईँको विगतबारे धेरै नागरिक अपडेट छन् । त्यसैले खासै चर्चा गरिरहनुपर्ला जस्तो लाग्दैन । सारमा उनी युद्धकालदेखि नै माओवादीसित नजिक थिए । अझ भनौं, उनी प्रचण्डका प्रिय पात्र थिए, प्रचण्डका लागि सहयोगदाता थिए ।
माओवादीमै हुँदा पनि प्रसाईँ एमालेका नेताहरुसँग नजिक थिए । नेपालमा एकजना व्यपारीले दलका नेताहरुसँग नजिकको सम्बन्ध राख्नु नौलो कुरा भएन । तर क्रमशः प्रसाईँ यसरी हाबी हुँदै गए कि– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुरा गराउने पात्र भए ।
हुँदाहुँदा पानी बाराबार भएका प्रचण्ड र ओलीलाई आफ्नो घरमा ल्याएर भात खुवाउन प्रसाईँ सफल भए । अझ एमाले र माओवादीबीच एकता गराउनमा समेत उनको महत्वपूर्ण हात रहेको भनिन्छ ।
यसरी मामुली व्यापारीलाई यो हदको स्पेस दिएर प्रचण्ड–ओलीहरुले आफ्नो नालायकी पहिल्यै प्रष्ट पारिसकेका छन् ।
सत्तास्वार्थका लागि भएको एमाले र माओवादीको एकता टिकेन । सँगसँगै दुर्गा प्रसाईँ पनि माओवादीबाट उछिट्टिएर एमालेमै टाँसिए । किनकि, बिमएसीको सम्बन्धन लिनेदेखि ‘अनेक धन्दा’का लागि प्रसाइँलाई एमालेनै कम्फरटेबल थियो ।
एमालेमा सल्केपछि माओवादी र प्रचण्डको उछितो काड्न प्रसाईँले केही कसर बाँकी राखेनन् । प्रचण्डलाई ‘बा’ भनेरै भित्तामा पुर्याइरहे, एमाले कार्यकर्ताले ताली बजाइरहे । केन्द्रीय सदस्य बनाएर ओलीले प्रसाईँलाई थम्थम्याइरहे ।
एमाले अध्यक्ष ओलीलाई ‘हजुरबा’भनेर टाँसिएका प्रसाईँ त्यतिबेला चिढिए, जतिबेला उनले तत्कालीन चुनावमा झापा– ५ बाट सांसदको टिकट पाएनन् ।
‘हजुरबा’का लागि जे गरेर भए पनि एमालेबाट सांसदको टिकट लिने, चुनाव जित्ने, स्वास्थ्यमन्त्री हुने र आफ्नै मेडिकल व्यवसायलाई सफल बनाउने उनको चरम महत्वाकांक्षा थियो । टिकट नपाएसँगै उनी नराम्ररी स्खलित भए ।
त्यसपछि उनी क्रमशः एमालेविरुद्ध खनिन थाले । उनले पब्लिक सेन्टिमेन्टका लागि बैंकको ब्याज मिनाहाको मुद्दा उचाले ।
दलहरुबाट साथ नपाउने भएपछि उनले बैंकको ऋणका कारण डुबेको व्यवसाय उकास्न नयाँ ट्रिक अपनाए– हिन्दू राज्य र राजसंस्थाको मुद्दा उछाल्ने, माहोल भड्काउने ।
उनको उक्त ट्रिक अहिलेसम्म सफल भइरहेको छ । दलहरुको गतिविधिका कारण निरास नागरिकलाई प्रसाईँको हावादारी गफ नै प्रिय लाग्न थाल्यो । गणतन्त्रविरुद्ध षणतन्त्र गरिरहेकाहरुलाई पनि प्रसाईँ प्रिय नै भए ।
मूलतः दलहरुको अकर्मण्यताको परिणामस्वरुप ‘व्यवसायिक बेइमान’ प्रसाईँ सेलिब्रेटी नेता भइरहेका छन् ।
प्रसाईँको प्रमोसनमा युवासंघ
तिनै प्रसाईँले पर्सि ७ गते काठमाडौंमा बृहद् प्रदर्शनको घोषणा गरेका छन् । उनको उक्त घोषणाले सरकारदेखि गणतन्त्रवादी नेतासम्मको ‘मुटुमा ढ्याङ्ग्रो’ ठोक्यो ।
प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक नै डाकेर व्यवस्थामाथि खतरा बढेको ब्रिफिङ गरे । अरु दलहरुले उक्त शंकालाई अनुमोदन गरे । र, निष्कर्ष निकाले– व्यवस्थामाथि खतरा बढेकाले सबै दलहरु सचेत हुनुपर्छ ।
दलहरुले भनेको खतरा दुर्गा प्रसाईँवालाहरु नै हुन् ।
यसरी सरकारले प्रसाईँलाई उल्कै ठूलो मानेर व्यवस्थानै खतरामा परेको शंका गरिरहँदा राजावादीहरु भने हौसिरहेका थिए । अहिले त दलविराधी र राजावादीहरुलाई दुर्गा प्रसाईँ चमत्कारिक देवता जस्तै लागिरहेका छन् ।
अहिले खासगरी राजतन्त्र र हिन्दूराज्यको पक्षमा वकालत गर्नेहरु अधिकांशले प्रसाईँलाई समर्थन गरिरहेका छन् । जताततै सुनिन्छ– अब जे हुन्छ, ७ गतेपछि हुन्छ ।
यसरी एक औसत व्यापारीलाई सरकारसँगै पुराना र ठूला दलका नेताले नजानिँदो पाराले प्रमोसन गरिरहे । अचेल त दिन दुगुणा, रात चौगुणाका दरले ‘प्रसाईँ चर्चा’को ग्राफ बढिरहेको छ । जसकारण झन्पछि झन् हौसिरहेका छन्, उनी ।
व्यवसाय चौपट भएर पलायनोन्मुख भएका प्रसाईँको चम्काइ बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झन् ठूलो भूमिका खेलिरहेको छ । खासगरी एमालेका ‘अराजक नेता’को छवि बनाएका पोलिट्ब्युरो सदस्य महेश बस्नेत र प्रसाईँको व्यक्तिगत ‘वाकयुद्ध’ले राजनीतिक रुप ग्रहण गरिरहेको छ ।
अनेक आन्दोलनबारे अनावश्यक टिप्पणी गरेर एमालेले प्रसाईँको प्रमोसन गरिरह्यो । एमालेको भ्रातृ संगठन युवा संघले कालो मोसो दलिदिएर प्रसाईँको झन् धेरै भाउ बढाइदियो ।
त्यसको प्रतिरोधस्वरुप प्रसाईँका कार्यकर्ताले झापामा महेश बस्नेतको गाडीमा तोडफोड गरे । त्यसपछि बस्नेत र प्रसाईँबीच झन् वाकयुद्ध चर्कियो । स्थिति यस्तो भयो भने, प्रसाईँले ७ गते गर्ने भनेको प्रदर्शन नै एमालेविरुद्ध जस्तो भयो । एमालेका महेशभक्तहरु त्यसैगरी प्रस्तुत भए ।
प्रसाईँभक्त र महेशभक्तबीच सामाजिक सञ्जालमा चर्को मतभेद भइरहेकै बेलाबीच युवा संघले ७ गते नै प्रदर्शनको घोषणा गर्यो– एकै स्थान र समय पारेर ।
यसले प्रसाईँको आन्दोलनलाई झन् मलजल गरिरहेकै थियो, शनिबार एमालेको विशेष बैठकले युवा संघको आन्दोलनलाई अनुमोदन गरिदियो अर्थात् उक्त आन्दोलनको स्वामित्व नै पार्टीले लिने घोषणा गर्यो ।
त्यसपछि एमालेमाथि झन् धेरै शंका थपिएको छ । एउटा मामुली व्यापारीले आयोजना गरेको आन्दोलनलाई एमालेजत्तिको पार्टीले किन टक्कर दिन आवश्यक ठान्यो ?
एमालेले नजानेर वा नबुझेर हो ? होइन । प्रसाईँलाई कहाँ, कसरी, कति भाउ दिनु पर्छ भन्नेबारे एमाले जानकार छ । यसअर्थमा एमालेले नियोजितरुपमै प्रसाईँलाई टक्कर दिएको होइन, प्रसाईँको प्रमोसन गरेको हो ।
एमालेभित्र पटक–पटक संघीयता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेकै छ । एमाले अध्यक्ष ओलीको विश्वासपात्र मानिने बस्नेत र गोकुल बास्कोटाले नै पार्टीका औपचारिक बैठकहरुमा यी कुरा उठाइरहेका छन् । अहिले पनिप्रसाईँ–बस्नेत भिडेको जस्ता देखाएर व्यवस्थाविरुद्धको मुद्दालाई झन् पेचिलो बनाउन खोजिएको त होइन ?
प्रसाईँले बेलाबेलामा भनिरहेका हुन्छन्– मलाई हजुरबाले नै फलानो आन्दोलन गर्न लगाएका हुन्, हजुरबाको सल्लाहमा नै यसो गरेको हुँ, त्यसो गरेको हुँ ।
यसले पनि शंका बढाउँछ कि, कतै एमालेले प्रसाईँलाई घुमाउरो पारामा प्रयोग त गरिरहेको छैन ? नत्र किन प्रसाईँको प्रमोसनमा एमाले यतिधेरै सक्रिय भएर लागिपरिरहेको छ ?
Facebook Comment
Comment