माधव-झलनाथबीच बढ्दो दरार, अलमलमा नेता-कार्यकर्ता

उनीहरू अध्यक्ष माधवकुमार नेपाल र दोस्रो वरीयताका सम्मानित नेता झलनाथ खनालबीच मत नबाझियोस् भन्ने चाहन्छन् । तर, उनीहरू जे चाहिरहेका छन्, त्यहीचाहिँ भइरहेको छन् । त्यसैले उनीहरूले मूल नेतृत्वमा टकराव देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

माधव-झलनाथबीच बढ्दो दरार, अलमलमा नेता-कार्यकर्ता

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय, आलोकनगरमा जारी छ । भदौ ५ गते सुरू भएको बैठकको सुरूमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका थिए । बैठकमा त्यसमाथि केन्द्रीय कमिटी सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

धारणा राख्ने क्रममा प्राय: सदस्यहरूले नछुटाइ भन्ने गरेका छन्— मूल नेतृत्व एक हुनुपर्‍यो ।

अर्थात् उनीहरू अध्यक्ष माधवकुमार नेपाल र दोस्रो वरीयताका सम्मानित नेता झलनाथ खनालबीच मत नबाझियोस् भन्ने चाहन्छन् । तर, उनीहरू जे चाहिरहेका छन्, त्यहीचाहिँ भइरहेको छन् । त्यसैले उनीहरूले मूल नेतृत्वमा टकराव देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्य मेटमणि चौधरीकाअनुसार अधिकांश सदस्यहरूले मूल नेतृत्वलाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । “पार्टीमा विभिन्न विषयमा छलफल र बहसहरू भइरहन्छन् । त्यसमा कहीँ न कहीँ साथीहरूले फरक धारणा र मत राख्ने नै भए । त्यस्तो अवस्थामा मिलिँदैन, नमिलेको जस्तो देखिन्छ । तर, यो ठूलो विषय होइन, अन्तत: मिलेरै अगाडि बढ्नुपर्छ,” चौधरीले नेपालभ्यूजसँग भने ।

 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक। तस्वीर : नेपालभ्यूज

जसै पछिल्लो समय फेरि पनि माधव-झलनाथ आपसमा रिसिएका छन् । अहिले निर्माणताकाको जस्तै उत्साह पार्टीमा नभएको दुवैको साझा निष्कर्ष भएपनि अरु विषयहरूमा उनीहरूबीच मतैक्य छैन ।

माधव झलनाथ कमजोरी मात्रै देखाउन जान्ने तर, जिम्मेवारी लिन नजान्नेको रूपमा बुझ्छन् भने झलनाथ माधवकै कारण पार्टी कमजोर बन्दै गएको ठान्छन् ।

माधवले आफूनिकटका नेताहरूसँग ‘केही साथीहरू पार्टी सानो छ भनेर कमजोरी देखाउन मात्रै जान्ने तर, जिम्मेवारी लिन नजान्ने छन् । पार्टी गठन गरेर प्रत्यक्ष लाभ नभएको मात्रै बुझ्छन् तर, त्यसमा काम गर्दैनन्, नेतृत्व लिँदैनन्’ भनेर असन्तुष्ट मात्रै देखाउँछन् भनेर ब्रिफिङ्ग गर्ने गरेका छन् ।

सेनाबिनाका सेनापति माधव !

यता झलनाथले त सार्वजनिकरूपमै पार्टी र पार्टी नेतृत्व नेकपा (एमाले) भन्दा फरक हुन नसकेको प्रतिक्रिया दिने गरेका छन् । केन्द्रीय कमिटी बैठक सुरू हुनुपूर्व बसेको स्थायी कमिटी बैठकमा पेश गरेको १७ पृष्ठको ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ शीर्षकको प्रतिवेदनमा झलनाथले यो उल्लेख गरेका छन् ।

जुन पार्टीबाट विद्रोह गर्‍यो, त्यही पार्टीभन्दा फरक हुन नसक्नु सबैभन्दा दुखद् भएको उनको टिप्पणी छ । प्रतिवेदनमा उनले लेखेका छन्— हाम्रो पार्टी र विद्रोह गरिएको एमालेका सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ भनेर देखाउन सकिएको छैन । किन यस्तो भइरहेको छ ? हामीभित्र कहाँ कमजोरी छ ? कुन कमजोरीका कारणले यस्तो भइरहेको छ ? हामीले यी सम्पूर्ण कमजोरीहरूलाई क्रान्तिकारी वर्ग दृष्टिकोणबाट हेर्नुपर्छ । तर, हामी यहाँ चुकिरहेका छौँ ।

पछिल्लो समय माधव-झलनाथबीच धेरै विषयहरूमा मतभेद रहेको एकीकृत समाजवादीकै नेताहरू स्वीकार्छन् । “उहाँहरूबीच धेरै विषयमा मतभेद छन् । तर, फरक नै केही भइहाल्नेचाहिँ देखिँदैन,” एक नेताले नेपालभ्यूजसँग भने ।

उसो त माधव-झलनाथबीच प्राय: मतभेद रहि नै रहन्छ । यसअघि २०७९ पुसमा सरकार बन्दा पनि उनीहरूबीच एकमत थिएन । माधव सरकारमा जानुपर्ने पक्षमा उभिएका थिए भने झलनाथ तत्कालै सरकारमा जानुहुन्न भन्ने पक्षमा थिए । जनमतले पनि त्यस्तै प्रकारको पाएको भन्दै उनले विपक्षमा बस्न आग्रह गरेका थिए ।

तर, पछि पार्टी सरकारमा सहभागी भएपछि उनले त्यसलाई ‘खिचडी’ को संज्ञा दिएका थिए ।

त्योभन्दा अगाडि पुग्ने हो भने २०७८ फागुन १५ गते संसद्‌बाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सन्दर्भमा पनि उनीहरूको मत बाझिएको थियो । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न माधव तयार देखिए भने झलनाथ कुनै पनि तवरबाट पारित गर्न नहुने पक्षमा उभिए । अन्तत: एमसीसी संसद्‌बाट पारित भइछाड्यो । पारित भइसकेपछि पनि उनले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश नै पोखेका थिए ।

त्यसभन्दा अगाडि एकीकृत समाजवादी निर्माणकै क्रममा हुँदा पनि उनीहरूबीच मतभेद देखिएको थियो । खासगरी पार्टीको मार्गदर्शक सिद्धान्त केलाई मान्ने भन्ने विषयमा उनीहरूबीच मतैक्य थिएन ।

माधव जनताको बहुदलीय जनवाद (जबज) लाई मान्ने पक्षमा थिए भने झलनाथ त्यसमा सहमत हुन सकेका थिएनन् । त्यसो त माधवले आफ्नो सहितको सहभागिताबाट जनताको बहुदलीय जनवाद प्रतिपादन भएको दाबी गर्दै आएका छन् । हुन पनि उनले त्यसबेला मदन भण्डारीलाई सघाएका थिए तर, झलनाथ त्यसको विपक्षमा थिए ।

जसै माधव-झलनाथबीचको मतभेदको शृङ्खला नयाँ भने होइन । उनीहरूबीच जत्तिबेला सहकार्य सुरू भयो, त्यत्तिबेलैदेखि कुनै न कुनै किसिमको मतभेद देखिँदै नै आएको हो ।

२०३२ सालमा कोअर्डिनेसन केन्द्र (कोके) बनाउँदाकै संस्थापक नेता उनीहरूबीच निरन्तर मतभेदपछि सहकार्य र सहकार्यपछि मतभेद देखिँदै आएको छ ।

सीपी मैनालीलाई नेतृत्वबाट हटाउनका लागि माधवले २०३७ सालमै झलनाथलाई अगाडि बढाएका थिए । तर, त्यसपछि नेतृत्वमा मदन भण्डारी आए । पार्टीभित्रको सैद्धान्तिक र साङ्गठनिक मतभेदमा माधव झलनाथभन्दा बढी मदनकै नजिक हुन्थे । त्यसपछि पाँचौं महाधिवेशनमा मदनले जबज ल्याए, जहाँ माधव मदनकै निकट थिए भने झलनाथ निकै टाढा !

त्यसबीचमा दासढुङ्गा प्रकरण भयो, त्यसपछि पार्टी नेतृत्वमा माधव आए । पार्टीभित्र हुने कैयन् निर्णयमा माधव र केपी शर्मा ओली नजिक बन्दा झलनाथ अलग्गै नै हुन्थे । तर, २०५४ मा सीपी मैनाली, वामदेव गौतम, राधाकृष्ण मैनालीलगायतले पार्टी फुटाउँदा उनी तत्कालीन महासचिव माधवसँगै रहे ।

०६४ को चुनावमा एमाले पराजित भएपछि माधवले राजीनामा दिए । त्यसपछि झलनाथ फेरि नेतृत्वमा आए । त्यसबेला माधवको साथ झलनालाई नभएर ओलीलाई थियो । डेढ वर्ष अगाडि एमालेबाट अलग भएर एकीकृत समाजवादी बनाउँदा भने फेरि झलनाथको साथ माधवलाई नै भयो । भारतमा उपचाररत उनले विज्ञप्ति नै जारी गरेर माधवलाई पार्टी विभाजन गर्न सल्लाह दिएका थिए । तर, अहिले फेरि उनीहरूबीच मतभेद देखिन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved