सेनाबिनाका सेनापति माधव !

माधवकुमार नेपाल आफैँले बनाएको/सुदृढीकरण गरेको पार्टी नेकपा (एमाले) मा रहन सकेनन् र अन्ततोगत्वा: पार्टी फुटाए । त्यसपछि गठन भयो— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ।

नेपालभ्युज

सेनाबिनाका सेनापति माधव !

काठमाडौं । माधवकुमार नेपाल आफैँले बनाएको/सुदृढीकरण गरेको पार्टी नेकपा (एमाले) मा रहन सकेनन् र अन्ततोगत्वा: पार्टी फुटाए । त्यसपछि गठन भयो— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ।

एकीकृत समाजवादी गठन हुँदैगर्दा नेताहरूमा कमचाहिँ उत्साह थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको एकोहोरो पेलानमा परेका नेताहरूलाई लाग्यो— अब न्याय मिल्नेछ, कसैको पेलान भोग्नुपर्दैन ।

उनीहरू सही निस्के, कसैको पेलान खप्नु परेन । तर, पूर्ववत् राजनीतिक आशाअपेक्षा-सपना पनि भेटिएन । यसपछि उनीहरू एमालेमा फर्किने निर्णय गर्न बाध्य भए, अहिले नेता/कार्यकर्ताहरू क्रमश: एमालेमा फर्किरहेका छन्, त्यो क्रम जारी छ ।

जसकारण एकीकृत समाजवादीका नेतृत्व तहका नेताहरू मर्माहत भएका छन् । आइतबार बसेको स्थायी कमिटी बैठकमा दोस्रो वरीयताका नेता झलनाथ खनालले ‘विरही’ प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन हेर्दा खनाल कम बेचैनचाहिँ छैनन् ।

पार्टी गठन भएको झन्डै २ वर्षसम्म पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेकोप्रति खनाल सबैभन्दा धेरै दुखी छन् । “पार्टी विभाजन भएको झन्डै २ वर्ष पूरा हुन लाग्यो । तर, हामी एमालेभन्दा फरक हुन सकेनौँ, विभाजनको औचित्य पुष्टि गर्न सकेनौँ,” खनालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

एमालेबाट विद्रोह गर्ने बेलाको जस्तो उत्साह नभएको भन्दै उनले गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । हुन पनि अहिले लगभग धेरैजसो नेता/कार्यकर्ताहरू एमालेमै फर्किसकेका छन् । २०७८ भदौ २ गते निर्वाचन आयोगबाट वैद्यता पाएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले मझधारमा उभिन पुगेका छन् ।

स्थायी कमिटी बैठकमा झलनाथको प्रतिवेदन- पार्टी माओवादीको पुच्छर भयो, अब यसरी हुँदैन

पार्टी गठन हुँदा नेपाललाई ५८ जना एमालेका केन्द्रीय सदस्य र २२ जना प्रतिनिधिसभाका सदस्यले साथ दिएका थिए । यस्तै सात प्रदेशका एमालेका २३२ सांसदमध्ये ५४ सांसदले नेपाललाई साथ दिएका थिए । ५४ जना केन्द्रीय सदस्य र २९ सांसदको सनाखतबाट पार्टीले निर्वाचन आयोगबाट वैद्यता पाएको थियो । तर, पार्टी गठनको दुई वर्ष नपुग्दै पार्टी छाडेर एमालेमा मिसिने नेताहरूको सङ्ख्या बढ्दैगर्दा पार्टी नेतृत्वमाथि दबाब बढेको छ ।

पार्टीका केन्द्रीय पदाधिकारीदेखि जिल्ला अध्यक्षहरूसम्म एमाले फर्किने क्रम रोकिएको छैन । वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भावगत विश्वासीलगायतका नेताहरू मात्रै एमाले फर्किएका छैनन्, पूर्वसांसदद्वय तारालामा तामाङ र प्रेम महर्जनजस्ता नेताहरू पनि एमालेमै मिसिए ।

एमाले फर्किने केन्द्रीय सदस्यहरूको सङ्ख्या ३० भन्दा बढी छ । १४ जिल्लाका अध्यक्ष पनि एमालेमै फर्किएका छन् । उता जुम्ला र अछामको सिङ्गो कमिटी नै एमालेमा विलय भएको छ । यसले एकीकृत समाजवादीका पार्टी नेतृत्वमाथि ठूलो ब्रजपात परेको छ ।

केन्द्रीय सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरू पनि एमालेमा फर्किन तम्तयार रहेको समाचारहरू बाहिरिरहेका छन् । यस्तो अवस्थामा कतिपय दोस्रो तहका नेताहरूले भने अध्यक्ष नेपाल पनि दोषको भागीदार बन्नुपर्ने बताउँछन् ।

एकीकृत समाजवादीका एक नेता भन्छन्— उहाँ (माधवकुमार नेपाल) हाम्रो नेतृत्व हो । पार्टी यहाँसम्म पुग्नुको दोष उहाँले नै लिनुपर्छ । अहिले पनि नेता साथीहरू एमालेमा फर्किने क्रम रोकिएको छैन । त्यसमा पनि अध्यक्ष आफूले केही संवाद गर्नुभएको छैन । साथीहरूले असन्तुष्ट व्यक्त गरिरहनुभएको छ। त्यसको सम्बोधन पनि अध्यक्ष कमरेडबाट कमै भएको छ ।

पार्टी उपमहासचिव डा. गङ्गालाल तुलाधर भने मूलत: दुई कारणले नेताहरू एमाले फर्किने गरेको बताउँछन् ।

पहिलो— पार्टीमा बसेर नेताहरूले आफ्नो भविष्य नदेख्नू ।

धेरै नेताहरू पार्टीमा आफ्नो भविष्य नदेखेपछि एमाले फर्किएको बताउँछन् तुलाधर । “हमको क्या होगा भन्ने शैलीमा साथीहरू एमाले फर्किनुभएको छ । पार्टीमा बसेर मेरो भविष्य के होर  भनेर साथीहरू एमालेमा फर्किनुभएको छ । अर्को कुरा त साथीहरू बढी आकांक्षी पनि हुनुहुन्छ । त्यसले पनि साथीहरूलाई पार्टीमा बसिरहन दिएन र अन्तत: एमालेमै फर्किन बाध्य हुनुभयो,” उनले भने ।

दोस्रो— पार्टीभत्रका आन्तरिक अन्तरविरोध ।

तुलाधर दोस्रो कारणका रूपमा पार्टी कमिटीहरूभित्रका अन्तरविरोध भएको बताउँछन् । “पार्टी कमिटीहरूमा स्वाभाविकरूपमा अन्तरविरोधहरू हुन्छन् । यसलाई अस्वाभाविकरूपमा प्रस्तुत गर्नु हुँदैन । कतिपय साथीहरूले यसैलाई ठूलोरूपमा लिएर पुरानै घर फर्किनुभयो,” तुलाधरले भने ।

उसो त एमाले फर्किनेहरू पार्टी गठन हुँदाताका माधवकुमार नेपाललाई दह्रो साथ दिनेहरू नै छन् । सबै नेताहरू आफ्नो साथ छाडेर एमाले फर्किरहँदा नेपाल ‘सेनाबिनाका सेनापति’झैँ भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved