आलेख

अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ?

विश्वको नयाँ चेतनाको जगमा उभिएर र आगामी दिनको परिवर्तनको दिशा र देशको आवश्यकतालाई बुझेर नयाँ ढंगले अघि बढ्ने साहस गर्ने हो भने तलैसम्म फैलिएको प्रगतिशील–वामपन्थी जनमतलाई नयाँ समाजवादी बाटोमा डोर्‍याउन र मध्य–वाम (लेफ्ट अफ सेन्टर) वैकल्पिक शक्ति निर्माण गर्न असम्भव छैन । तर, त्यसले अत्यन्तै दूरदर्शी, साहसी नेतृत्व र गम्भीर पहलको माग गर्छ ।

अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ?

नयाँ वैकल्पिक विचार, नीति, कार्यक्रम कार्यान्वयन गर्नकोनिम्ति नयाँ ढाँचाकै वैकल्पिक संगठन र जनआधार निर्माण जरुरी हुन्छ । नेपालमा र विश्वमा पछिल्लो चरणमा बनेका र बन्दै गरेका वैकल्पिक शक्तिहरुको निर्माण प्रक्रिया एउटै प्रकृतिको छैन र हुन पनि सक्दैन । हामीकहाँ गत एक दशकमा भएका विभिन्न अनुभवहरुबाट सिकेर अघि वढ्नु नै वुद्धिमानी हुन्छ । फेरि नयाँ अग्रगामी राजनीतिक शक्ति त्यत्तिकै आकाशबाट टप्किएर रातारात बनिहाल्छ भन्ने पनि हैन । त्यसले निकै परिश्रम, धैर्य र सुझबुझको माग गर्दछ ।

यस सन्दर्भमा क्वान्टम सिद्धान्तका जनक म्याक्स प्लांक र सापेक्षतावाद सिद्धान्तका जनक अल्बर्ट आइन्सटाइन बीचको यो संवाद रोचक र उपयोगी हुनसक्छ– “एउटा नयाँ वैज्ञानिक सत्य त्यसका विरोधीहरुलाई मनाएर र तिनीहरुको घैँटोमा घाम लगाएर विजयी बन्दैन, बरु ती विरोधीहरुको अन्ततः मृत्यु र सत्यलाई बुझ्ने नयाँ पुस्ताको आगमनपछि मात्र विजयी हुन्छ ।”

नेपालमा पनि नयाँ युगको नेतृत्व गर्ने अग्रगामी वैकल्पिक शक्ति डाँडा काट्दै गरेका पुराना राजनीतिक शक्तिहरु र तिनीहरुका थकित, गलित र भ्रष्टीकृत नेताहरुलाई मनाएर, हारगुहार गरेर बन्दैन । मैले यहीँनेर व्यक्तिगत रुपमा केही आत्मालोचना सहित सार्वजनिक स्पष्टीकरण दिनैपर्छ । यति बुझ्दाबुझ्दै पनि ठूलो जनसहभागिता र उत्साहका साथ ‘नयाँ शक्ति’को स्थापनापछि किन पटकपटक पुरानै शक्तिहरु र नेताहरुसँग नजिकिने र सहकार्य गर्ने गल्ती गरेँ ? के मलाई कुनै निजी स्वार्थ वा भयत्रासले बाध्य पारेको थियो ? अहँ पटक्कै थिएन । मेरो एउटै चिन्ता थियो– देशको जटिल भू–राजनीतिक स्थिति र जनतामा बढ्दै गएको असन्तुष्टिले कतै त्यति ठूलो जनवलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने त होइन ? कतै भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने त होइन ? त्यसैले मैले आफू वैकल्पिक राजनीतिक अभियन्ता हुँदाहुँदै पनि वेलावेलामा पुराना शक्तिहरुसँग जोडिएर प्राप्त उपलब्धिहरु जोगाउन सहकार्य गर्दै गरेँ । अहिले फर्किएर हेर्दा त्यो मेरो एउटा भावनात्मक, आदर्शवादी सोचाइ मात्र रहेछ । जोसँग मैले सहकार्य गर्दै थिएँ, तिनीहरु नै स्खलित भइसकेका रहेछन् र तिनीहरु मार्फत नै संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउने र सिद्धिने खतरा रहेछ ।

मैले आफू वैकल्पिक राजनीतिक अभियन्ता हुँदाहुँदै पनि वेलावेलामा पुराना शक्तिहरुसँग जोडिएर प्राप्त उपलब्धिहरु जोगाउन सहकार्य गर्दै गरेँ । अहिले फर्किएर हेर्दा त्यो मेरो एउटा भावनात्मक, आदर्शवादी सोचाइ मात्र रहेछ । जोसँग मैले सहकार्य गर्दै थिएँ, तिनीहरु नै स्खलित भइसकेका रहेछन् र तिनीहरु मार्फत नै संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउने र सिद्धिने खतरा रहेछ ।

तर, इतिहासको चक्र आफ्नो गतिमा अगाडि बढिरहन्छ । केही समययता पुराना शक्तिहरुप्रतिको जनवितृष्णा ह्वात्तै बढेर गएको छ । नयाँ वैकल्पिक शक्तिहरुप्रति जनआकर्षण थपिँदै छ । पुराना शक्तिहरुभित्रैबाट विद्रोह र विघटनका स्वरहरु उठ्दै छन् । नयाँ शिराबाट राजनीतिक ध्रुवीकरणका सम्भावनाहरु बढ्दै छन् । यही वस्तुगत परिवेशमा वैकल्पिक शक्ति निर्माणका लागि आत्मगत प्रयासहरु अघि बढाउने परिस्थिति बन्दै छ ।

यहाँनेर प्रस्ट हुनुपर्ने अर्को कुरा के हो भने वैकल्पिक शक्ति भनेको कुनै एउटा दल, समूह, व्यक्ति मात्र होइन । लोकतान्त्रिक प्रणालीमा एकैसाथ धेरै वैकल्पिक शक्तिहरु जन्मन सक्छन् र तिनीहरुको पुनर्गठन, ध्रुवीकरण भएर कालान्तरमा स्थीर प्रकृतिको वैकल्पिक शक्ति बन्न सक्छ । साथै भेल छोप्ने मनसायले प्रतिगामी शक्तिहरु पनि ‘वैकल्पिक शक्ति’को खोल ओढेर आउन सक्छन् । यो स्थितिमा समकालीन नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट बनेको संविधानको रक्षालाई वैकल्पिक शक्तिको अनुल्लंघनीय लक्ष्मण रेखा बनाउनैपर्छ । यसलाई कुनै पनि बहानामा तोडियो भने त्यो वैकल्पिक शक्ति हुनै सक्दैन । त्यो प्रकारान्तरले प्रतिगमनको मतियार हुन पुग्छ । अतः वैकल्पिक शक्ति बन्न त्यो अग्रगामी चरित्रको हुनैपर्छ । हालै बनेका र अब बन्ने वैकल्पिक शक्तिहरुले यो अनिवार्य अग्निपरीक्षा पार गर्नैपर्छ ।

अब अग्रगामी वैकल्पिक शक्ति निर्माणको केके सम्भावना छन् त ?

पहिलो, माथिबाट तल जाने बाटो अर्थात् सुधारवादी बाटो ।

तीव्र गतिले बदलिँदो परिस्थितिको चापमा पुराना शक्तिहरुमध्ये कुनै रुपान्तरित भएर वैकल्पिक शक्ति बन्ने सम्भावनालाई सैद्धान्तिक रुपमा नकार्न सकिन्न तर, व्यावहारिक रुपमा असम्भवप्रायः छ । देशको सबभन्दा पुरानो र ठूलो पार्टी नेपाली कांग्रेस सोलोडोलो रुपान्तरित भएर वैकल्पिक राजनीतिको एजेण्डा आत्मसात गर्न निकै कठीन छ । भलै उदार लोकतन्त्र उसको जन्मजात राजनीतिक डि.एन्.ए. हुनाले उसले निकै चोला फेर्दै आएको छ र कठीन परिस्थितिमा पनि टिकेर बसेको छ ।

उदीयमान रा.स्व.पा.ले मध्य–दक्षिण स्पेस बढाउँदै लग्यो भने बढी घाटा कांग्रेसलाई नै पर्न सक्छ । त्यसको दबाबले कांग्रेस सुध्रिन्छ कि सकिन्छ भविष्यले बताउने कुरा हो ।

नेपालमा अर्को तलैसम्म जनआधार भएको बलियो शक्ति कम्युनिस्ट धार हो । यो धारका प्रगतिशील, वामपन्थी, कम्युनिस्ट घटकहरु संयुक्त वा एक्लाएक्लै रुपान्तरित भएर अग्रगामी विकल्प बन्ने सम्भावना सैद्धान्तिक रुपमा भए पनि व्यावहारिक रुपमा उत्तिकै कठीन छ । स्वयं म आफैँले ‘समाजवादी केन्द्र’को अवधारणा अघि सारेर केही समय प्रयत्न गरेको कटुअनुभवका आधारमा भन्न सकिन्छ– ढुंगो पग्लेर नौनी बन्ला तर स्टालिनवादी केन्द्रीकृत नोकरशाही ढाँचामा बनेका कम्युनिस्ट पार्टीहरु सोलोडोलो कहिल्यै रुपान्तरित हुने छैनन् ।

यसको वैचारिक र ऐतिहासिक कारण छ । स्टालिनले जसरी द्वन्द्ववादको नियमलाई निषेधको निषेधका रुपमा परिभाषित गरेर प्रतिपक्षीहरुलाई भौतिक रुपमै सफाया गर्ने नीति लिए । त्यही चिन्तन र विरासत बोकेका नेपालका कम्युनिस्ट नेताहरु आफ्नो जीवनकालमा रुपान्तरित होलान् भन्नु कोराकल्पना मात्र हुनेछ । तैपनि नयाँ पुस्ताका नेताहरुले माओको सांस्कृतिक क्रान्तिबाट प्रेरणा लिएर ‘हेडक्वार्टरमा बम बर्साउने’ दुर्लभ साहस गरे भने त्यो नयाँ इतिहास बन्नेछ ।

देशको संकटग्रस्त अर्थतन्त्र, छिमेकबाट सांस्कृतिक-धार्मिक आडमा भइरहेको सामरिक अतिक्रमण, समग्र कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरण र तीव्र गतिको ओरालो यात्रालाई बेलैमा पर्गेलेर नयाँ पुस्ताका नेताहरुले आवश्यक पहल लिनुचाहिँ ऐतिहासिक आवश्यकता बनिसकेको छ । असम्भवलाई सम्भव बनाउनु नै क्रान्तिकारिता हो भन्ने तथ्यलाई सम्झेर वाम खेमाका युवाहरुले साहसिलो पहल लिए भनेचाहिँ त्यो मध्य–वाम (लेफ्ट अफ सेन्टर) कोणबाट वैकल्पिक शक्ति निर्माणको नयाँ मोडेल हुनसक्छ । 

देशको संकटग्रस्त अर्थतन्त्र, छिमेकबाट सांस्कृतिक-धार्मिक आडमा भइरहेको सामरिक अतिक्रमण, समग्र कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरण र तीव्र गतिको ओरालो यात्रालाई बेलैमा पर्गेलेर नयाँ पुस्ताका नेताहरुले आवश्यक पहल लिनुचाहिँ ऐतिहासिक आवश्यकता बनिसकेको छ । असम्भवलाई सम्भव बनाउनु नै क्रान्तिकारिता हो भन्ने तथ्यलाई सम्झेर वाम खेमाका युवाहरुले साहसिलो पहल लिए भनेचाहिँ त्यो मध्य–वाम (लेफ्ट अफ सेन्टर) कोणबाट वैकल्पिक शक्ति निर्माणको नयाँ मोडेल हुनसक्छ ।

यसमा ठूलो तगारो तलसम्म फैलिएको ‘कम्युनिस्ट’ ब्राण्डमोह हुनसक्छ । ‘कम्युनिस्ट’ नभनौँ हिजो जनवादी केन्द्रीयताको नाउँमा माथिदेखि तलसम्म आफ्नै जीवनकालमा ‘साम्यवाद’को सपना बाँडिएको छ, ती कार्यकर्ता र समर्थकलाई कसरी सम्झाउने ? ‘कम्युनिस्ट’ मन्त्र जपिराखौँ विश्व, क्षेत्रीय र राष्ट्रिय अर्थ–राजनीतिक परिस्थिति बदलिएको छ, छिट्टै पश्चिम बंगालको नियति भोग्नुपर्ने खतराले सुरसाको झैँ मुख बाइरहेछ ! तर भौतिकवादी द्वन्द्वात्मक चिन्तन पद्धति भनेकै हिजोलाई आजसँग र आजलाई भोलिसँग जोडेर हेर्न सिकाउने वैज्ञानिक पद्धति हो । त्यो विज्ञानलाई विज्ञानकै रुपमा थप विकास गर्नुसट्टा नयाँ ‘धर्मशास्त्र’मा बदलेकाले विश्वबाट ‘कम्युनिस्ट’हरु हराउँदै गएका हुन् । चीनको अपवाद अर्कै हो, त्यसबारे अहिले यहाँ थप चर्चा सम्भव र आवश्यक छैन । अहिलेको विश्वको नयाँ चेतनाको जगमा उभिएर र आगामी दिनको परिवर्तनको दिशा र देशको आवश्यकतालाई बुझेर नयाँ ढंगले अघि बढ्ने साहस गर्ने हो भने तलैसम्म फैलिएको प्रगतिशील–वामपन्थी जनमतलाई नयाँ समाजवादी बाटोमा डोर्‍याउन र मध्य–वाम (लेफ्ट अफ सेन्टर) वैकल्पिक शक्ति निर्माण गर्न असम्भव छैन । तर, त्यसले अत्यन्तै दूरदर्शी, साहसी नेतृत्व र गम्भीर पहलको माग गर्छ ।

अरु समबर्द्धनवादी र जातीय–क्षेत्रीय पहिचानवादी शक्तिहरु रुपान्तरित हुने र निर्णायक राष्ट्रिय शक्ति बन्ने सम्भावना करिब शून्य नै छ भन्दा अत्युक्ति हुन्न ।

दोस्रो, तलबाट माथि जाने बाटो, अर्थात् क्रान्तिकारी बाटो ।

भइरहेका पुराना दलमध्ये कुनै रुपान्तरित भएर नयाँ युगको नयाँ आवश्यकता पूरा गर्ने वैकल्पिक शक्ति बन्ने सम्भावना नभएको स्थितिमा पुरानै दलहरुबाट बाहिर निस्केका व्यक्ति (हरु) वा विल्कुलै नयाँ व्यक्ति (हरु)को पहल र नेतृत्वमा तलैबाट नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने अर्को बाटोलाई ‘क्रान्तिकारी बाटो’ भन्न सकिन्छ । केही समययता फ्रान्स लगायत युरोपका विभिन्न देशमा, भारतमा र नेपालमा यो बाटोको सफल र असफल दुवै प्रयोग भइरहेका छन् ।

माओवादी जनक्रान्ति र २०६२-०६३ को आन्दोलनपछि जन्मेको-हुर्केको र पछिल्लो डिजिटल प्रविधिले विश्वसँग जोडिएको नयाँ पुस्ताका अपेक्षा र आकांक्षा हाम्रो पुस्ताका भन्दा धेरै उच्च भइसकेको छ । छिमेकमा भइरहेको तीव्र परिवर्तनले पनि हाम्रा जनता र विशेषतः युवाहरुलाई अधैर्य बनाउनु स्वाभाविक छ । लाखौँको संख्यामा वैदेशिक रोजगारीमा गएको र त्यहाँको समृद्धिको दृश्य नजिकबाट हेरेर फर्केको युवा जमातले असन्तुष्टि पोख्नु र आ-आफ्नै पाराले विद्रोहको सुरुवात गर्नुलाई अन्यथा भन्न मिल्दैन ।

नेपालमा नयाँ शक्ति, विवेकशील–साझादेखि रा.स्व.पा. र अन्यसम्मको प्रयोग दोस्रो बाटो हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिसँग पदचाप मिलाएर सफल पार्न सक्दा यो बाटो नै उत्तम हो । किनकि नयाँ विचार, नयाँ नीति कार्यक्रम, नयाँ संगठनात्मक प्रणाली, नयाँ नेतृत्व र नयाँ कार्यशैलीसहितको नयाँ दलले दिगो र दीर्घकालीन ढंगले देश र समाजका समस्या हल गर्न सक्छ ।

नेपाल पहिले नै आर्थिक विकास र समृद्धिको सोपानमा धेरै पछि परिसकेको अवस्थामा अब हामीलाई पुरानै ढंगले र टालटुल पाराले कछुवा गतिमा घस्रने छुट छैन । माओवादी जनक्रान्ति र २०६२-०६३ को आन्दोलनपछि जन्मेको-हुर्केको र पछिल्लो डिजिटल प्रविधिले विश्वसँग जोडिएको नयाँ पुस्ताका अपेक्षा र आकांक्षा हाम्रो पुस्ताका भन्दा धेरै उच्च भइसकेको छ । छिमेकमा भइरहेको तीव्र परिवर्तनले पनि हाम्रा जनता र विशेषतः युवाहरुलाई अधैर्य बनाउनु स्वाभाविक छ । लाखौँको संख्यामा वैदेशिक रोजगारीमा गएको र त्यहाँको समृद्धिको दृश्य नजिकबाट हेरेर फर्केको युवा जमातले असन्तुष्टि पोख्नु र आ-आफ्नै पाराले विद्रोहको सुरुवात गर्नुलाई अन्यथा भन्न मिल्दैन ।

गत स्थानीय निर्वाचनदेखि संघ र प्रदेशको निर्वाचन हुँदै पछिल्लो संसदीय उपनिर्वाचनसम्म आउँदा जनताले त्यसको स्पष्ट संकेत गरिसकेका छन् । पुराना दल-नेता र गठबन्धन सरकारको अहिलेसम्मको (संघ र प्रदेश दुवैको) कार्यसम्पादन हेर्दा देशको आवश्यकता र जनताको अपेक्षाको तुलनामा पटक्कै सन्तोष मान्न सक्ने अवस्था छैन । यही स्थिति रहेमा आगामी निर्वाचनसम्म देशको राजनीतिक परिदृश्य कसैले अहिले कल्पना गरेको भन्दा विल्कुलै भिन्न नहोला भन्न सकिन्न ।

परन्तु इतिहासको बाटो सरल रेखामा नगएर समुद्रको छालझैँ उतारचढावसहित वांगोटिंगो तरिकाले अघि बढ्छ । अन्तर्राष्ट्रिय परिस्थिति, देशको भू–राजनीति, आर्थिक–सामाजिक विकासको स्तर, जातीय–क्षेत्रीय बनोट, जनताको औसत चेतनास्तर, नेतृत्वको दूरदृष्टि र क्षमता आदि विविध आयामहरुको योगफलमा इतिहासको दिशा निर्धारण हुन्छ । त्यस हिसाबले नेपालको तीव्र गतिले बदलिएको भू–राजनीतिक परिवेश, अति कम विकसित आर्थिक–सामाजिक अवस्था, भौगोलिक–जातीय–भाषिक–सांस्कृतिक विविधता, लोकतान्त्रीकरणको शिशु अवस्था आदिलाई मध्यनजर गर्दा यहाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको बाटो पनि सरल नभएर घुम्तीपूर्ण हुने र ‘तल’ र ‘माथि’को सम्मिश्रण सहितको मौलिक बाटो हुने सम्भावनालाई नकार्नु हुँदैन ।

जेहोस्, जुन बाटोबाट होस् नेपाली इतिहासको यो विशिष्ट चरणमा यहाँका राष्ट्रिय र सामाजिक–आर्थिक–राजनीतिक अन्तरविरोध हल गर्दै छोटोभन्दा छोटो अवधिमा देशलाई समतामूलक समृद्धिको शिखरमा पुर्‍याउन अग्रगामी वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छँदैछैन । त्यसनिम्ति विभिन्न कोणबाट अहिले जुन प्रयास भइरहेका छन्, तिनलाई तिव्रता दिऊँ । विचार, नीति, कार्यक्रम मिल्नेहरु बीच संवाद, सहकार्य, मोर्चा कायम गर्दै ध्रुवीकरणको पहल गरौँ । राष्ट्रिय र जनताका मुद्दामा सडक, सदन र सरकारका मञ्चबाट निरन्तर संयुक्त वा एकल रुपमा पैरवी र संघर्ष गरौँ । असम्भवलाई सम्भव बनाएर नै मानव इतिहास यहाँसम्म आएको छ र निरन्तर अघि बढिरहनेछ भन्ने सत्यलाई आत्मसात गरौँ ।

अन्त्यमा, गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताको यो अंश मनन गरौँ :

‘हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछ्याउनेछौ ।’

 

(पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक शक्तिबारेको बहसका क्रममा नेपालभ्युजमा शृंखलावद्ध रुपमा लेखिरहेका छन् । यो उनको तेस्रो आलेख हो । उनले उठाएका विषयमाथि हामी अन्य लेखकका विचार पनि क्रमैसँग प्रकाशित गर्नेछौं । यसअघिका दुई आलेख तलको लिंक खोलेर पढ्न सक्नुहुन्छ ) 

अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?

हामी कहाँ चुक्यौँ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved