बहस

हामी कहाँ चुक्यौँ ?

खाँचो अग्रगामी वैकल्पिक शक्तिको

लामो समयदेखि वैकल्पिक शक्तिको वकालत गरिरहेका डा. बाबुराम भट्टराईले एकपटक फेरि त्यही विषयमा बहस उठान गरेका छन् । यही सेरोफेरोमा रहेर हामीले भट्टराईका कम्तीमा तीनवटा आलेख शृङ्खलाबद्धरूपमा प्रकाशित गर्नेछौं । बहसको निम्तो दिँदै पहिलो आलेखमा भट्टराई सोध्छन्, “यो साँच्चै नै ठूलो विडम्बनाको विषय हो कि हिजो त्यत्रो युगान्तकारी क्रान्तिको नेतृत्व गर्ने र असम्भवलाई सम्भव बनाउने राजनीतिक नेतृत्व आज किन यसरी स्खलित भयो ?”

हामी कहाँ चुक्यौँ ?

हालैको घटना हो । पश्चिम तराईमा राति दश बजेतिर एकजना साथीको घरमा खाना खाएर सुत्ने तरखरमा थिएँ । पल्लो घरका एकजना युवा आएर फोटो खिच्ने इच्छा गरे । मैले भने– ‘भोलि बिहान उज्यालोमा खिच्दा हुन्न ?’ उनले भने–‘म अहिल्यै विदेशतिर हिँड्न लागेको ।’ फोटो खिचिसकेपछि मैले पुनः सोधेँ– ‘बाबु फर्किएर त आउनुहोला नि !’ उनले विनाहिच्किचाहट भने– ‘म अव कहिल्यै यो देश फर्किन्न !’ म स्तब्ध भएँ ।

पछि बुझेँ– ती २२ वर्षीय शिक्षित युवा क्रोएशिया हुँदै यूरोप जान लागेका रहेछन् । राति अबेरसम्म निद्रा लागेन । मनमा कुरा खेलिरहे – हामी ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्छौं । तर त्यो युवालाई आफ्नै मातृभूमिप्रति त्यति धेरै वितृष्णा किन भयो ? मसँग उनले किन फोटो खिचे ? सायद ‘पूर्व प्रधानमन्त्री’ भनेर होला ! तर, भोलि सीमा कटेपछि उनले डिलिट गर्लान् कि राख्लान् ? आफ्ना देशका नागरिकलाई देशभित्रै रोजगारी दिन नसक्ने कस्तो नालायक प्रधानमन्त्री भनेर डिलिट पो गर्लान् कि ? इत्यादि इत्यादि ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । मानिसहरू राम्रो अवसरको खोजीमा एउटा ठाउँबाट अर्को ठाउँमा वा एउटा देशबाट अर्को देशमा जानु सामाजिक–आर्थिक उदविकासको स्वाभाविक प्रक्रिया हो । अहिले विश्वभर २८ करोड (३.६ प्रतिशत) आप्रवासी जनसंख्या छ । नेपालबाट पनि लाखौँ मानिस विदेश जाने आउने गर्छन् । त्यसले देशको विकासमा नोक्सान मात्र हैन, कतिपय लाभ पनि पुर्‍याएको छ र यो प्रक्रिया लामो समयसम्म चलिरहने छ ।

तर, यहाँ गम्भीर र बढी चिन्ताजनक कुरा अर्कै छ । ती युवाले किन ‘यो देश फर्किन्न’ भने ? ती युवा मात्र हैन किन हाम्रा घर-घरबाट हाम्रै छोराछोरी र नातिनातिनीहरू रोजगारी निम्ति मात्र हैन प्लस टु पछि उच्च शिक्षानिम्ति समेत हूलका हूल देश छोडेर बाहिर जाँदैछन् ? किन युवाहरूले हामी देशमा युगान्तकारी राजनीतिक परिवर्तन ल्याउन ज्यान फालेर हिँडेका मानिसलाई समेत सामाजिक सञ्जालबाट मात्र हैन घरका चोटाकोठा र चियापसलमा समेत मुख छाडेर गाली गर्दैछन् ? किन जनता सात सालको क्रान्तिदेखि झापा आन्दोलन हुँदै माओवादी जनक्रान्तिसम्मको जगमा स्थापित पार्टी र नेतृत्वलाई छोडेर कुनै सामाजिक परीक्षा पार नगरेका स्वतन्त्र व्यक्ति र पार्टीलाई भोट हाल्न उद्यत भइरहेछन् ? आखिर जनता र मूलतः युवाले किन यो देश र राज्यमा उज्ज्वल भविष्यको सपना देख्न छोडे ? अथवा हामी हिजो राजनीतिक क्रान्तिको नेतृत्व गर्नेहरूले किन उनीहरूलाई त्यो सपना देखाउन सकेनौं ?

प्रसिद्ध कूटनीतिज्ञ तथा लेखक हेनरी किसिंजर आफ्नो चर्चित बुक “लिडरसिप” मा लेख्छन्– ‘कुनै पनि समाज महान् बनिरहन सक्दैन यदि उसले आफैँप्रति विश्वास गुमाउँछ, अथवा उसले प्रणालीगत रूपमा आफैँप्रतिको धारणामाथि प्रश्न उठाउँछ ।’ हो, नेपाल बन्दैछ, बन्छ र अझै राम्रो बनाउन सकिन्छ भन्ने विश्वास नेतादेखि जनतासम्ममा गुम्दै जानु, अथवा नेतृत्वको ज्ञान चक्षुमा स्वार्थको फुलो परेर वास्तविक धरातलीय यथार्थ देख्न बुझ्न छाड्नु र नयाँ युगको नयाँ नेपालको नक्सा कोर्नै नसक्नु हाम्रो अहिलेको परिस्थितिको एउटा प्रमुख कारण हो ।

यो साच्चै नै ठूलो विडम्वनाको विषय हो कि हिजो त्यत्रो युगान्तकारी क्रान्तिको नेतृत्व गर्ने र असम्भवलाई सम्भव वनाउने राजनीतिक नेतृत्व आज किन यसरी स्खलित भयो ? यसको सही जवाफ नपाउँदा नयाँ युवा पुस्ता कतै हिजोका जनक्रान्ति नै वेठिक त थिएन ? भन्ने भ्रममा पनि परेको छ । भित्री र वाहिरी प्रतिगामी शक्तिहरूले त्यो शंकाको आगोमा कट्टरपन्थको घिउ थप्ने दुष्प्रयास पनि गरिरहेछन् ।

तर, देशको ऊर्जाशील र नयाँ सञ्चार प्रविधिले पहुँचमा सहजता पुर्‍याएको ज्ञानविज्ञानवाट प्रशिक्षित युवा पुस्ताले बुझ्नैपर्दछ–२००७ सालमा वी.पी.कोइराला र पुष्पलाल श्रेष्ठहरूले शुरु गरेको लोकतान्त्रीकरण र आधुनिकीकरणको प्रक्रियालाई हाम्रो पुस्ताले मूलतः माओवादी जनक्रान्ति र त्यसका पूरक आन्दोलन मार्फत् सापेक्ष पूर्णतामा पुर्‍याएकै हो । जननिर्वाचित संविधानसभा मार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ सालमा जारी गर्नु एउटा महान् अग्रगामी फड्को नै हो । अठारौँ शताब्दीको अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली क्रान्तिदेखि रुसी र चिनियाँ क्रान्ति हुँदै नेपालको जनक्रान्तिसम्मका परिघटनाहरू मानव समाजको अग्रगमन र उन्नयनका महान् कोशेढुंगा हुन् । ती कोशे ढुंगामा उभिएर नै हामी अघि बढ्ने हो । जसरी न्युटनले भनेका थिए– ‘मैले अलि परसम्म देख्न सक्छु, किनकि म महामानवहरूको काँधमा चढेको छु ।’

तै पनि हामी कहाँ चुक्यौँ त ?

हामी तीन प्रमुख ठाउँमा चुक्यौँ ।

पहिलो, आन्तरिक आर्थिक–सामाजिक पछौटेपन र जटिल भारत–वेष्ठित भू–राजनीतिका कारणले हाम्रो जनक्रान्ति छिनाल क्रान्ति नभएर हलाल क्रान्ति भयो । पटक-पटकका आन्दोलन र क्रान्तिलाई हामीले एउटै झट्कामा पूरा नगरी पुरानै सत्ताधारी शक्तिहरूसँग सम्झौता गरेर टुंग्याउन बाध्य भयौँ ।

२००७ सालमा कांग्रेसले राणाहरूसँग सम्झौता गर्नुपर्‍यो । २०४६-०४७ मा कांग्रेस र वाम मोर्चा (मूलतः एमाले) ले राजासँग सम्झौता गरे । २०६२-०६३ मा माओवादीले कांग्रेस र एमालेसँग सम्झौता गर्नुपर्‍यो । पछिल्लोपटक संविधानसभाबाट संविधान जारी गर्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पहिचानमा आधारित संघीयता, संवैधानिक अदालत र जनलोकपालको व्यवस्था आदि कायम गर्न नसक्नु त्यही बाध्यात्मक सम्झौता नै प्रमुख कारण थियो । अहिले देशमा राजनीतिक अस्थीरता कायम रहनु र जनताको सुशासन र समृद्धिका आकांक्षा पूरा हुन नसक्नु मुख्य रूपमा यो त्रुटिपूर्ण शासकीय प्रणालीकै परिणाम हो ।

साथै, विश्वका क्रान्तिहरूको इतिहासले भन्छ कि क्रान्तिपछि निश्चित अवधिसम्म क्रान्तिकारीहरूको नेतृत्व नयाँ वा रूपान्तरित सत्तामा भयो भने मात्रै राज्यका विभिन्न अंगहरूको अग्रगामी रूपान्तरण हुन्छ, लोकतान्त्रिक संस्था र ऐन–नियमहरू बन्छन् र क्रान्तिको प्रतिफल आम जनताले प्राप्त गर्न सक्छन् । तर, नेपालको हलाल क्रान्तिपछि सत्तामा पुरानै शक्ति हावी हुँदै गए, संविधानमा लेखिएका कुरा समेत कार्यान्वयन् भएनन् र जनतालाई व्यावहारिक रूपमा खासै परिवर्तनको प्रत्याभूति हुन सकेन ।

दोश्रो, झनै गम्भीर कुरा, जनक्रान्तिपछि क्रान्तिकारी नेतृत्वको वैचारिक र नैतिक रुपमा क्रमशः स्खलन, भ्रष्टीकरण र समग्र परिवर्तनकारी आन्दोलन विपरीत दिशान्तरण हो । इतिहासको नियमै हो कि बेलैमा उपयुक्त विधि अपनाएन भने क्रान्तिपछिको संक्रमण र शान्तिकालमा क्रान्तिको रापताप, हिजोका उदात्त विचार तथा त्याग उत्सर्गको भावना सेलाउँदै गएर क्रान्तिकारीहरूको यथास्थितिवादी र प्रतिक्रान्तिकारी रूपान्तरण हुन थाल्दछ ।

कम्युनिस्ट देशहरूमा क्रान्तिपछि पार्टी भित्रैबाट नयाँ नोकरशाही पुँजीपति वर्ग जन्मेको कटु अनुभवबाट सिकेर माओले चीनमा पार्टी र नेतृत्वलाई जनताको निगरानीमा राख्ने नयाँ विधिहरू विकास गर्ने प्रयास गरेका थिए तर त्यो सफल हुनसकेको थिएन । हामीले पनि जनयुद्ध कालमा नै त्यस्तो खतराको पुनरावृत्ति हुने देखेर ‘एक्काइसौँ शताब्दीमा जनवादको विकास’ भन्ने प्रस्ताव मार्फत् नेतृत्वलाई कार्यकर्ता र जनताको निगरानीमा राख्ने केही विधि विकास गर्न खोजेका थियौं । तर, नेपालमा जे नहुनु थियो त्यही भयो । कांग्रेस र एमालेको नेतृत्व त पहिले नै विभिन्न भ्रष्टाचार काण्डमा मुछिइसकेको थियो तर, पछिल्लो क्रान्तिकारी शक्ति माओवादी र मधेस आन्दोलनका नेताहरू पनि त्यसबाट अछुतो रहन सकेनन् । मूल नै धमिलिएपछि राज्य र समाजका सबै महत्त्वपूर्ण अंगहरूको भ्रष्टीकरणले देशको स्थिति भयावह बन्नु स्वाभाविक भयो । अहिले देशमा उद्घाटित भइरहेका र अझै सतहमा लुकेर बसेका ठूला भ्रष्टाचार प्रकरणहरूले त्यसैको संकेत गर्छन् ।

तेश्रो, लोकतन्त्रमा देशको नेतृत्व राजनीतिक दलहरूले गर्ने हुनाले कि त स्थापित प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीले बेलैमा आफूलाई रूपान्तरण गरेर देशका ज्वलन्त समस्या समाधान गर्न योग्य बनाउनु पर्दथ्यो कि तिनको विकल्पमा युग सापेक्ष नयाँ दलहरूको उदय हुनुपर्दथ्यो । एक्काइसौँ शताब्दीको सुरुवात र डिजिटल क्रान्ति सहितको चौथो औद्योगिक क्रान्ति सँगसँगै पुराना सम्वर्द्धनवादी, उदार लोकतन्त्रवादी र साम्यवादी दलहरूका विचार, नीति कार्यक्रम, संगठनात्मक ढाँचा, नेतृत्व प्रणाली विश्वव्यापी रूपमै संकटग्रस्त बन्दै गइरहेका थिए । नेपाल जस्तो ढिलो लोकतान्त्रीकरण भएको देशका पार्टीहरूले त झन समयको वेगसँग ताल मिलाउन सक्ने कुरै थिएन । पछिल्लो क्रान्तिकारी शक्ति माओवादीलाई शान्ति प्रक्रियामा आएदेखि नै नयाँ लोकतान्त्रिक ढंगले रूपान्तरण गर्ने हाम्रो प्रयास सफल भएको थिएन । यो युगीन चेतना र आवश्यकताकै आधारमा हामीले २०७० फागुन २५ को ‘नेपाल साप्ताहिक’मा प्रकाशित आलेख “खाँचो नयाँ शक्तिको” मार्फत् वैकल्पिक राजनीतिक शक्तिको निर्माणबारे सार्वजनिक विमर्श सुरु गरेका थियौँ ।

पहिले स्थानीयरूपमा केही पहल भए पनि त्यसले नै देशमा राष्ट्रिय रुपमा नयाँ वैकल्पिक पार्टी निर्माणको प्रयासलाई गति दिएको थियो । ‘नयाँ शक्ति’ देखि ‘सपा’, ‘जसपा’ हुँदै ‘नेसपा’ सम्मको हाम्रो प्रयासको परिणाम मिश्रित रहे पनि पछिल्लो चरणमा ‘रास्वपा’ र ‘स्वतन्त्र’ हरूको उदय तीव्र तर अनिश्चित प्रकृतिको रहेको छ । यसरी पुराना शक्तिहरूको ऐतिहासिक गतिहीनता र नयाँ शक्तिहरूको अनिश्चितता वीचमा देशको राजनीति डोलायमान भइरहेको अवस्थाले आम जनता र विशेषतः ऊर्जावान् युवाहरूलाई उद्वेलित गर्नु स्वाभाविक छ ।

यो ऐतिहासिक गतिरोधलाई चिर्दै देशको राजनीतिलाई वैज्ञानिक विचार, ठोस नीति तथा कार्यक्रम र सक्षम नेतृत्वसहित अग्रगामी निकास दिनु आजको प्रमुख कार्यभार हो ।

१४ साउन २०८०


Comment

One thought on “हामी कहाँ चुक्यौँ ?

  1. यो एउट आ ठुलो बिडम्बना हो देशको! डा बाबुराम भट्टराई जस्ता निस्वार्थ देश र जनताकालागि सार्थक राजनीति गर्ने दुई चार जना अरु पार्टिमापनि भैदिए सायद यो देशको राजनीतिले समाजबादी मोड लिनेथियो! अहिले त सत्ता र शक्तिको लागि मात्र भो राजनीति अनि मौकापाउदा कसरिहुन्छा कमाउने कुम्ल्याउने आफ्नो परिवार को अर्थतन्त्र सुद्रिण बनाउने, यो कुरो भनेको सिमित व्यक्तिमा हुने हुदा देश सधै भडखालोमा!
    जनता निरास छन् र भाइरस बाट क्षणिक मजालिना झुम्मिएकाछन जसको देश र समाजले अनि भविष्यले ठुलो मूल्य चुकाउनुपर्ने निश्चित छ तर यहाका नेताहु भन्नेहरु लाई जसरिहोस आफ्नो दुनो सोध्याउनुछ आफ्नै भय मात्र राम्रो नत्र अरु सब अक्षम!
    बिसौ बर्क्षसम्मपनि पार्टिहरुले परानो नेताहरुलाई बिस्थापित वा परिवर्तित गर्न नसक्नु र एउटा निष्ठावान गहत नेत्रित्वो स्थापित गर्न नसक्नु राजनैतिक नालायकी को हद हो भने दशकौ एकछत्र नेता भयर पटक पटक असफल भैसक्दापनि कनिकुती कुर्ची नछोडी टासिएर क्षणयन्त्र गरि बसिरहनु पागल पाना नै हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved