आलेख

नेसन बिल्डिङ्ग : एक अधुरो परियोजना

दुर्भाग्य यो छ कि, नेपाली राजनीतिले राष्ट्र निर्माणको युगीन अभिभारालाई कहिल्यै आत्मसात् गरेन । न त हिजो दरबारले यो कुरा बुझ्यो, न त कांग्रेस र कम्युनिस्टले । न त पछिल्लो राजनीतिक लहरले यो बिषयलाई समात्यो, न त लोकतान्त्रिक राज्यसत्ताले । सबै सजिलोमा रमाए । सबै लोकप्रियतामा रमाए । त्यसैले हाम्रो ‘नेसन बिल्डिङ्ग’ को परियोजना अधुरै रह्यो ।

नेसन बिल्डिङ्ग : एक अधुरो परियोजना

राजनीति गर्नेहरूका अगाडि सधैँ सजिला प्रश्नहरू मात्र आउँदैनन् । फ्यान (कार्यकर्ता) बीचमा, आफूलाई सजिलो लाग्ने प्रश्न र ती प्रश्नमा सबैलाई मनपर्ने जवाफ दिएर मात्र राजनीति हुँदैन । कहिलेकाहीँ समाजको पातलो पर्दाभित्र छोपिएर बसेका अप्ठ्यारा प्रश्नहरू अकस्मात जागृत हुन पुग्छन् । त्यसपछि तिनीहरूलाई लुकाउन सकिँदैन । अन्यथा, हेलचेक्र्याइँ गरे प्रश्नहरूले विद्रोह गर्दछन् ।

अवश्य नै सजिलो ठाउँमा बसेर, सजिला प्रश्नहरूमा रमाएर राजनीति गर्नु आनन्दको काम हो । तर, जब अप्ठ्यारा ठाउँमा, असजिला प्रश्नहरू उठ्छन् तब राजनीति जटिल बन्छ । जब प्रश्नहरूमा निहित ऐतिहासिक दुःखान्त थाहा हुन्छ, त्यसपछि राजनीति अझ गम्भीर बन्न पुग्छ । किनभने, पर्दाभित्रका सत्यहरूलाई देख्नु र त्यसलाई स्थापित गर्नु नै असली राजनीति हो ।

तर, अहिले हाम्रो राजनीति सजिला प्रश्नहरूमा रमाइरहेको छ । जस्तो, विकासका रंगीन सपना सुनायो र ताली खायो । एक वर्षमा भ्रष्टाचार अन्त्य गर्ने रोमाञ्चक कुरा सुनायो र रमायो । आफूले आफैँलाई सबैभन्दा जान्ने करार गर्‍यो र मगनमस्त हाँस्यो । आफूलाई स्वयं नायक घोषणा गर्‍यो र मुस्कुरायो । के राजनीति यति हल्काफुल्का काम हो, जहाँ आफूलाई मनपरेका प्रश्नहरू मात्र सुन्न र बोक्रे कुरा गरेर रमाउन पाइन्छ ?

सबैलाई थाहा छ, प्रश्नहरूको आफ्नै भूगोल हुन्छ । यो पनि थाहा छ, प्रश्नहरूको आफ्नै समाज हुन्छ । जस्तो कि, काठमाडौंमा सोधिने प्रश्न र मधेसमा सोधिने प्रश्न फरक हुनसक्छन् । लिम्बू वा मगर गाउँमा सोधिने प्रश्न र बाहुन वा दलित गाउँमा सोधिने प्रश्न फरक हुनसक्छन् ।

उदाहरणका लागि फरक प्रश्नहरूको सनातनी स्वरूप हेरौँ । जस्तो कि, मधेसको कुनै युवालाई लाग्न सक्छ, काठमाडौंले मधेसलाई अपमान गर्छ । त्यसैकारण उ सोध्छ, के यो देश हाम्रो पनि हो ? हो भने, नागरिकताको प्रसंग आउँदा मधेस माथि सधैँ आशंका किन ? यता काठमाडौंमा त्यसको प्रतिउत्तर दिँदै कसैले सनातनी शैलीमा भन्छ, हिजो भारतको बोर्डरमा बसेर नाकाबन्दीलाई सघाउने को हो ?

एक दिन एक मधेस कन्याले साहित्यको कुरा गर्दा मलाई सोधिन्, काठमाडौंले भानुभक्त वा लक्ष्मीप्रसादलाई जसरी सम्मान गर्छ, विद्यापति वा सिद्धिदाष महाजुलाई किन गर्दैन ? उनको थप प्रश्न थियो, के राज्यले वेद, त्रिपिटक र मुन्धुमलाई समान व्यवहार गर्छ ? के यो देशमा बाहुन, मधेसी, तामाङ, लिम्बू वा दलित हुनु एउटै कुरा हो ?

एक दिन एक मधेस कन्याले साहित्यको कुरा गर्दा मलाई सोधिन्, काठमाडौंले भानुभक्त वा लक्ष्मीप्रसादलाई जसरी सम्मान गर्छ, विद्यापति वा सिद्धिदाष महाजुलाई किन गर्दैन ? उनको थप प्रश्न थियो, के राज्यले वेद, त्रिपिटक र मुन्धुमलाई समान व्यवहार गर्छ ? के यो देशमा बाहुन, मधेसी, तामाङ, लिम्बू वा दलित हुनु एउटै कुरा हो ? मेरो मित्र रामेश्वर चौधरी पटक-पटक मलाई सोध्छ, राज्यसत्ताको रंग किन एउटै ? प्रश्नहरू यसकारण फरक छन् कि भूगोल फरक छ, समाज फरक छ र त्यसका दुःखहरू फरक छन् ।

यस्तै, भर्खर मात्र एउटा युवाले मलाई सोध्यो, के नेपालमा राष्ट्र निर्माणको (नेसन बिल्डिङ्ग) परियोजना सम्पन्न भयो ? उसको आशय देशको साझा स्वामित्वसँग सम्बन्धित थियो । ठीक यस्तै आशयको अर्को प्रश्न केही अगाडि झापाबाट एक युवाले सोधेको थियो । उसको प्रश्न थियो, प्रदेश एकमा चलिरहेको कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनबारे काठमाडौंको धारणा के होला ? स्पष्ट छ, प्रश्नहरू जीवित छन्, त्यसैले सोधिन्छन्।

माथिका प्रश्नहरू अवश्य नै निकै गम्भीर छन् । तर, प्रश्नभन्दा गम्भीर छन् ऐतिहासिक असन्तुष्टिहरू । जसले भन्छन्, नेपाल देश त बन्यो तर अझै साझा राष्ट्र बनेको छैन । देश त बन्यो, तर राज्य अझै साझा भएको छैन । मलाई लाग्छ, यी सबै मुख्यतः देश (country), राष्ट्र (Nation), राज्य (State) र त्यसमाथिको स्वामित्वसँग जोडिएका प्रश्नहरू हुन् ।

देश, राष्ट्र र राज्य अन्तरसम्बन्धित तर फरक कुरा हुन् । देश भनेको, मुख्यतः निश्चित भूगोल, त्यो भूगोलसँग जोडिएका नागरिक र उनीहरूको सरकार हो । देश बन्न भूगोल, नागरिक र सरकारको यथोचित स्वतन्त्रता, सार्वभौमिकता र स्विकार्यता चाहिन्छ । यी तीनवटा चिज जब विश्व राजनीतिक प्रणालीभित्र आबद्ध हुन्छन् तब देश बन्छ । देश एक स्वतन्त्र र अविच्छिन्न राजनीतिक तथा भौगोलिक अवधारणा हो ।

राष्ट्र भनेको के हो ? यो यस्तो अवधारणा हो जहाँ नागरिक ‘इतिहास, भाषा, संस्कृति, मनोविज्ञान, सपना र लक्ष्यभित्र’ एकीकृत हुन्छन् । राष्ट्र अनेक राष्ट्रियताहरूको साझा स्वरूप हो । नागरिकले मिलेर बनाएको इतिहास, भाषा, संस्कृति, सपना र लक्ष्यको एउटा माला । यो नागरिकको साझा सपना, साझा परिचय, साझा मनोविज्ञान र साझा अभिव्यक्ति हो।

जात भनेको के हो ? जात व्यक्तिको जन्मसिद्ध परिचय हो । यो माता र पिताको रक्तसम्बन्ध र वंशवृक्षका आधारमा बन्छ । र, त्यसैका आधारमा स्थापित हुन्छ ।

प्रश्न आउँछ, त्यसोभए जात र राष्ट्रमा के फरक छ ? राष्ट्र विशेषतः साझा भूगोल, साझा इतिहास, साझा भाषा र साझा संस्कृति सहितको राजनीतिक परिचय हो । यो साझा सामर्थ्य  हो । यो साझा शक्ति हो । यो मुख्यतः इतिहास, भूगोल, परम्परा, भाषा र संस्कृतिकको सम्मेलन हो । तर, जात भनेको पिता र माताबाट प्राप्त गर्ने जन्मसिद्ध परिचय हो । जात सामाजिक परिचय हो । राष्ट्र (राष्ट्रियता) राजनीति हो ।

जबसम्म देश र यसभित्र विद्यमान जातीय, सामाजिक तथा सांस्कृतिक समूहहरू मिलेर एउटै लयमा काम गर्दैनन् एकीकृत राष्ट्र बन्दैन । अनेक जात, अनेक राष्ट्रियता, अनेक विपरीत सपना, अनेक विपरीत महत्त्वाकांक्षा भएको देश सफल राष्ट्र हुँदैन । कुनै पनि देश एक सफल र पूर्ण राष्ट्र बन्न यिनीहरूबीच मजबुत एकता र सहकार्य चाहिन्छ ।

त्यसोभए राज्य के हो ? मूलतः राज्य भनेको देश, राष्ट्र, राष्ट्रियता र व्यक्तिको हितलाई प्रवर्द्धन गर्ने राजनीतिक संरचना हो । राज्यले देश, राष्ट्र, समुदाय र व्यक्तिको सार्वभौमिकता, अखण्डता र स्वाभिमानको रक्षा गर्छ । यसले सेवा दिन्छ, अधिकार प्रत्याभूत गर्छ र न्याय व्यवस्था मिलाउँछ । राज्यले सभ्यतालाई प्रवर्द्धन गर्छ र मानव जातिलाई अझ समुन्नत बनाउँछ । अर्थात्, राज्य ‘देश, राष्ट्र र जनता’ बीचको सम्बन्धलाई व्यवस्थित गर्ने एक कार्यकारी संरचना हो।

अब कुरा गरौं राष्ट्र निर्माणको । यो यस्तो राजनीतिक अवधारणा हो, जसले देश, राष्ट्र, राष्ट्रियता, जात र राज्यलाई एक ठाउँमा ल्याउँछ र ऊर्जा निकाल्छ । कथंकदाचित, यी पाँचवटा कुराको लय मिलेन भने ‘राष्ट्र निर्माण’ हुँदैन। अर्थात्, जबसम्म देश र यसभित्र विद्यमान जातीय, सामाजिक तथा सांस्कृतिक समूहहरू मिलेर एउटै लयमा काम गर्दैनन् एकीकृत राष्ट्र बन्दैन । अनेक जात, अनेक राष्ट्रियता, अनेक विपरीत सपना, अनेक विपरीत महत्त्वाकांक्षा भएको देश सफल राष्ट्र हुँदैन । कुनै पनि देश एक सफल र पूर्ण राष्ट्र बन्न यिनीहरूबीच मजबुत एकता र सहकार्य चाहिन्छ ।

के भूगोल बन्दैमा राष्ट्र बन्दैन ? कतिपय मान्छेहरू सोध्छन्, पृथ्वीनारायण शाहले आर्ज्याको देश छ त राष्ट्र बन्नलाई अब के चाहियो ? प्रायश: सजिलो ठाउँमा बसेर सोधिने प्रतिप्रश्न हो यो । तर, यही त मुख्य कुरा हो कि, भूगोल (देश) बन्दैमा राष्ट्रले पूर्णता पाउँदैन । राष्ट्र बन्न भूगोलबाहेक अरु पनि धेरै कुरा बन्नुपर्छ । जस्तो कि, घर बन्दैमा परिवार बन्दैन।

घरकै उदाहरणलाई थोरै व्याख्या गरौं । मानौं, केही मान्छेहरू एउटा घरमा बस्छन् । उनीहरूलाई बस्नका लागि कोठाहरू उपलब्ध छन् । उनीहरू एउटै ढोकाबाट छिर्छन् । एउटै बगैंचामा खेल्छन् । घरको छानो एउटै छ । तर, के एउटै घरमा बस्नासाथ परिवार बन्छ ? बन्दैन । किनभने घरमा बस्नु र परिवार बन्नु अलग कुरा हो । परिवार बन्न साझा इतिहास, साझा परिचय, साझा स्वामित्व र साझा सपना चाहिन्छ । एक अपूर्व एकता र मनोवैज्ञानिक सामिप्यता नभइ परिवार बन्दैन । किनभने परिवार भनेको इतिहास, वर्तमान र भविष्यलाई हेर्ने एउटै दृष्टि हो । यस्तो दृष्टि, जसमा परिवारका सबै सदस्यले गर्व गरून्।

यो अर्थमा मानौं देश भनेको घर हो। तर, जहिलेसम्म त्यहाँ बस्नेहरूको साझा सम्बन्ध, इतिहास, मनोविज्ञान र सपना बन्दैन, परिवार बन्दैन । अतः ‘नेसन बिल्डिङ्ग’ भनेको परिवार निर्माणजस्तै केही भावनात्मक र केही राजनीतिक कुरा हो । अर्थात्, देशभित्र बस्ने सबैलाई (राष्ट्रियताहरू) एकताबद्ध गरेर एउटै सपनामा आबद्ध गर्ने काम । मानौं, देशभित्र तिन करोड मान्छेको एउटा बृहत्तर परिवार निर्माणको काम । यस्तो काम, जहाँ कसैको परिचय नमरोस् र सबैको परिचय साझा बनोस् । कसैको सपना नमरोस् र सबैका सपनाहरू साझा बनून्।

त्यसोभए, के नेपालमा राष्ट्र निर्माणको काम अझै बाँकी छ त ? अवश्य नै । किनभने, अहिले हाम्रो सामाजिक तथा राजनीतिक मनोविज्ञान एउटै लयमा छैन । मान्छे आफ्नो परिचय खोजिरहेको छ । मान्छेले राज्यमा आफ्नो स्वामित्व खोजिरहेको छ । कोही इतिहाससँग असन्तुष्ट छ, कोही वर्तमानसँग । अर्थात्, सामाजिक र राजनीतिक तहमा अनेक असन्तुष्टिहरू विद्यमान छन् ।

त्यसैले त कतै लिम्बू रिसाएको छ, कतै मधेसी । कतै बाहुन, कतै क्षेत्री । कोही एकीकरणको कुरा गर्दा रिसाउँछन्, कोही भाषा, धर्म र संस्कृतिको कुरा गर्दा । कतै पृथ्वीनारायण शाहको जयजयकार हुन्छ, कतै उनैको नाममा मान्छे भड्किन्छ । कतै संविधान दिवस मनाइन्छ, कतै संविधान जलाइन्छ । कतै कोशी प्रदेशका नाममा जयजयकार हुन्छ, कसैलाई किरात प्रदेश चाहिएको छ ।

त्यसोभए एकीकृत राष्ट्र निर्माण (नेसन बिल्डिङ्ग) हुन्छ कसरी ? अथवा, इतिहास, वर्तमान र भविष्यका अनेक भाष्यहरूमाथि अलग अलग धारणा राखेर नागरिक समूहहरू विपरीत फर्किने हो भने, कसरी बन्छ राष्ट्र ? राष्ट्र निर्माणको (नेसन बिल्डिङ्ग) पहिलो जग हो, भूगोल । किनभने राष्ट्रलाई उभिन जमिन चाहिन्छ । यो अर्थमा एकीकृत राष्ट्र निर्माणको पहिलो र महत्त्वपूर्ण काम हो देशको चार किल्ला निर्माण ।

संसारका अलगअलग देशहरू आफ्नै विशिष्ट परिवेशमा बने । कुनै देशहरू युद्धबाट जोडिए । कुनै देशहरू युद्धबाट टुक्रिए । कतै षड्यन्त्र भयो, कतै स्वैच्छिक सम्मेलन । जहाँ-जहाँ युद्ध भए, ती आफैँमा निकै कष्टदायक थिए । अतः देश बन्ने प्रक्रियामा हिजो हजारौं वा लाखौं मान्छेहरू मारिए । जताततै अनगिन्ती अन्यायहरू भए । कसैको इतिहास लेखियो, कसैको इतिहास मेटियो । तर, जसरी भए पनि देश बन्यो।

यही प्रक्रियाबाट हामीले नेपाल पायौं । यो अर्थमा हामीसँग भूगोल छ । त्यसैले भन्न सकिन्छ, हाम्रोमा राष्ट्र निर्माणको पहिलो काम सम्पन्न भएको छ । हामीले माटो वा भूगोल खोज्दै युद्ध लड्नुपरेको छैन। तर, घर हुँदैमा परिवार बन्दैन । अतः राष्ट्र निर्माणको दोश्रो काम हो, मान्छेको साझा मनोविज्ञान, साझा परिचय, साझा सपना र साझा लक्ष्य निर्माण ।

हिजो पञ्चायतले एक जाति, एक भाषा र एक भेषको नीति लियो । वस्तुतः त्यो असफल भयो । पञ्चायतले यसका लागि, शाहवंशको विजयको इतिहास पढायो । त्यो पनि असफल भयो । किनभने, बहुलवादी समाजमा यहाँको अर्ग्यानिक सत्यलाई इन्कार गरेर लेखिने एकपक्षीय इतिहासले राष्ट्रलाई एकीकृत गर्ने सम्भावना थिएन । बरु त्यसले मान्छेलाई अझ असन्तुष्ट र विद्रोही पो बनायो ।

दोश्रो काम यहीँबाट सुरु हुन्छ । यो काम गर्न हिजो पञ्चायतले एक जाति, एक भाषा र एक भेषको नीति लियो । वस्तुतः त्यो असफल भयो । पञ्चायतले यसका लागि, शाहवंशको विजयको इतिहास पढायो । त्यो पनि असफल भयो । किनभने, बहुलवादी समाजमा यहाँको अर्ग्यानिक सत्यलाई इन्कार गरेर लेखिने एकपक्षीय इतिहासले राष्ट्रलाई एकीकृत गर्ने सम्भावना थिएन । बरु त्यसले मान्छेलाई अझ असन्तुष्ट र विद्रोही पो बनायो ।

त्यसैले, राष्ट्र निर्माणको दोश्रो काम सुरु गर्नुपर्छ इतिहासको पुनर्उत्खनन् र पुनर्व्याख्याबाट । सबैलाई थाहा छ, हामीले दरबारको प्रायोजित इतिहास पढ्दै आयौं । धेरैपछि बुझ्यौँ कि गोर्खाली (दरबार) आँखाबाट लेखिएको परम्परागत भाष्यले नेपालको सिंगो इतिहास, सभ्यता, संस्कृति र स्वाभिमानको प्रतिनिधित्व गर्दैन। कतिपय सन्दर्भमा हाम्रो परम्परागत इतिहास लेखन पूर्वाग्रही र एकांकी छ । अतः त्यसलाई फेर्नुपर्छ ।

इतिहासमा सबैलाई सम्मान र स्वामित्व दिएपछि मात्र राष्ट्र निर्माणको दोश्रो काम सुरु हुन्छ । अन्यथा, नागरिक नागरिक बीचमा ऊ भगौडा, त्यो आदिवासी, ऊ विजेता, त्यो हरुवा, ऊ बहुमत, त्यो अल्पमतको आरोप प्रत्यारोप रोकिँदैन । विशेषतः एकीकृत राष्ट्र निर्माण न त जातको राजनीति हो, न त संख्याको । बरु यो हो हाम्रो विविधताको स्वीकारोक्ति । यो विभाजनको राजनीति होइन । यो विविधता बीचको एकता, संमिलन र साझेदारीको राजनीति हो। यो अर्थमा इतिहासले सबैलाई जोड्नुपर्छ र वर्तमानले सबैलाई एउटै दिशामा परिलक्षित गर्नुपर्छ । किनभने, राष्ट्र निर्माण अल्पमत वा बहुमतको कुरा हैन । यो इतिहास, वर्तमान र भविष्यमाथि गरिने साझेदारी हो।

राष्ट्र निर्माणको तेश्रो काम हो, राज्यको समावेशीकरण । यो राष्ट्रको स्वामित्वलाई साझा बनाउने अर्को महत्त्वपूर्ण काम हो । जस्तो हाम्रोमा अनेक जाति, भाषा, भूगोल, लिंङ्ग र सम्प्रदायलाई अझै लाग्छ, देश त उस्को हो तर राज्य उस्को होइन । उनीहरूलाई लाग्छ, उ भाषामा ठगिएको छ । संस्कृतीमा ठगिएको छ । उ सभ्यताका अनेक उथलपुथलमा ठगिएको छ । उसलाई लाग्छ, उ ऐतिहासिक विभेदको सिकार छ । उसका लागि न्याय मरेको छ । उसलाई लाग्छ, राज्यसत्ता एकांकी छ ।

समावेशीकरण भनेको राज्यसत्ताको सम्पुर्ण पुनर्गठन हो । यो राजनीतिक कुरा त हो नै, यो राज्यसत्ताको चरित्र निर्धारण गर्ने र संस्कृतीक पुनर्उत्थान गर्ने युगिन अभियान पनि हो । जसले राज्यसत्तालाई अझ न्यायपुर्ण र समुन्नत बनाउँछ ।

पूर्ण समावेशीकरणको अर्थ हो, राजनीतिक दल, शासकीय संरचना, संविधान, कानुन, नीति नियम, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सेना, प्रहरी आदीमा सर्वत्र समावेशिकरण । यो विना ऐतिहासिक विभेदको क्षतिपूर्ति हुदैन । स्पष्ट छ, अन्यथा राष्ट्रिय एकता र स्वामित्व निर्माण हुँदैन । राष्ट्रिय एकता र स्वामित्व विना राष्ट्र निर्माणको कार्यभार पूरा हुँदैन ।

राष्ट्र निर्माणको चौथो काम हो, हाम्रो सभ्यताको पुनर्गठन । मुख्यतः नेपाल तिनवटा महान सभ्यताहरूको जगमा बनेको देश हो । सनातन वैदिक सभ्यता, बौद्ध सभ्यता र किरात सभ्यता । यी तीनवटा सभ्यतालाई राष्ट्र निर्माणमा कसरी जोड्ने ? यो खास प्रश्न हो ।

यसको अर्थ राज्यको धर्म हुनुपर्छ भनेको होइन । न त कर्मकाण्डी राज्य बनाउने भनिएको हो, न त धार्मिक रुढिवादी । यो परम्परादेखि चलिआएका अन्धता र विभेदहरूलाई जोगाउने भनेको होइन । यसको अर्थ हाम्रो सभ्यताका मानविय पक्ष र गरिमाहरूलाई संग्रहित र एकीकृत गर्ने भनिएको हो । यो सभ्यताको कुरा हो । यो ज्ञानपरम्पराको कुरा हो । यो देशको (राज्य) आफ्नै स्वचरित्र निर्माणको कुरा हो ।

किनभने संसारका अनेक राज्यहरूसँग आफ्नै मौलिक चरित्र, सभ्यता र परिचय छ । युरोप र अमेरिका फरक छन् । एसिया र अफ्रिका फरक छन् । चीन र भारत फरक छन् । ति देशहरू राजनीतिक प्रणालीमा मात्र फरक होइनन् । ति सभ्यता, चरित्र र जीवनपद्धतिमा पनि फरक छन् ।

जब यी चारवटा कामहरू पूरा हुन्छन्, राष्ट्र निर्माणको पाँचौं कामले गति लिन्छ । त्यो हो– सवलिकरण । अर्थात, राज्यसत्ताको सबलीकरण । राष्ट्रको सबलीकरण । जातिहरूको सबलीकरण । नागरिकको सवलिकरण । राज्यसंरचनाहरूको सबलीकरण । सबलीकरण भनेको राजनीतिक स्थिरताको प्रत्याभूति, स्वाधीन अर्थतन्त्र निर्माण, सामाजिक न्यायको सुनिश्चितता, विकास, शुसाशन, भूराजनीतिक सन्तुलन र एकीकृत आत्मगौरवको निर्माण हो । यी कामहरू नगर्दा पनि हामी राष्ट्र त बनौँला तर तन्नम, असफल र पत्रु बन्छौं । अन्यथा, निरन्तर कचिंगल, निरन्तर अविश्वास र निरन्तरको असन्तुष्टिले हामीलाई थला पार्छ ।

दुर्भाग्य यो छ कि, नेपाली राजनीतिले राष्ट्र निर्माणको युगीन अभिभारालाई कहिल्यै आत्मसात् गरेन । न त हिजो दरबारले यो कुरा बुझ्यो, न त कांग्रेस र कम्युनिस्टले । न त पछिल्लो राजनीतिक लहरले यो बिषयलाई समात्यो, न त लोकतान्त्रिक राज्यसत्ताले । सबै सजिलोमा रमाए । सबै लोकप्रियतामा रमाए । त्यसैले हाम्रो ‘नेसन बिल्डिङ्ग’ को परियोजना अधुरै रह्यो ।

जुन देशहरूले राष्ट्र निर्माणको गम्भिर अभिभारालाई बुझे । उनीहरू अहिले सफल छन् । जहाँ यो कुरा बुझिएन, त्यस्ता देशहरू निरन्तर कचिंगलमा फसेका छन् । अवश्य नै राजनीतिका नाममा लोकरिझ्याई गरेर रमाउन त सकिन्छ, तर राष्ट्र निर्माणको अभिभारा पूरा हुँदैन । एक्काइसौं शताब्दीमा पनि राष्ट्र निर्माणको मुद्दामै अल्झिनु, आफैँमा लाजमर्दो कुरा हो ।

राजनीति मुख्यतः दुईटा कुरा हो । पहिलो ‘नेसन बिल्डिङ्ग’ । दोश्रो ‘स्टेट क्राफ्टिंग’ । यि दुईटा कामलाई प्रगतिशिल र लोकतान्त्रिक दृष्टिबाट हेर्नु, बुझ्नु र सम्पादन गर्नु आजको महत्त्वपूर्ण राजनीतिक काम हो । यसका लागि तीनवटा कुरा स्विकार गर्नुपर्छ । पहिलो, हाम्रो समाजको बहुलवादी चरित्रलाई स्विकार गर्नुपर्छ । दोश्रो, बहुलवादी समाजमा राष्ट्र स्वयं सप्तरंगी हुन्छ, यो कुरा स्विकार गर्नुपर्छ । तेश्रो, सप्तरंगी राष्ट्रमा राज्यको रंग पनि सप्तरंगी हुन्छ, यो सत्यलाई पनि स्वीकार गर्नुपर्छ । जब राजनीतिमा यति कुरा स्वीकार गरिन्छ, त्यसले धेरै कुरामा फरक पार्दछ ।

अन्तिम कुरा के भने, जुन देशहरूले राष्ट्र निर्माणको गम्भिर अभिभारालाई बुझे । उनीहरू अहिले सफल छन् । जहाँ यो कुरा बुझिएन, त्यस्ता देशहरू निरन्तर कचिंगलमा फसेका छन् । अवश्य नै राजनीतिका नाममा लोकरिझ्याई गरेर रमाउन त सकिन्छ, तर राष्ट्र निर्माणको अभिभारा पूरा हुँदैन । एक्काइसौं शताब्दीमा पनि राष्ट्र निर्माणको मुद्दामै अल्झिनु, आफैँमा लाजमर्दो कुरा हो ।

[email protected]


Comment

One thought on “नेसन बिल्डिङ्ग : एक अधुरो परियोजना

  1. ए हौ ! बुद्धिजिविहरुको के सार्हो टाट पल्टाई हो ? खै त रचनात्मक लेखन ? के लेखेको यो ? ३ लाइनमा लेखेर ब्यानरमा राख्ने जस्तो छ जम्मा । कोदे गफको भारी भयो यो त । यहि बिषय पनि अलि अध्ययन गरेर लेखौ न यार । समय मात्रै नाश भयो हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved