धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ हिन्दू हो कि कृश्चियन हो थाहा छैन । तर, एकछिनका लागि उनलाई कृश्चियन नै हो भनेर मान्ने हो भने पनि यसमा गलत के छ ? यद्यपि हर्क साम्पाङले म कृश्चियन हुँ भनेका छैनन् । उनी आफूलाई किराती र प्रकृति पुजक भएको बताउँछन् । तर, कृश्चियन हुन् नै भने पनि कुनै अपराध हैन । नेपालको संविधानले हरेक व्यक्तिलाई धार्मिक स्वतन्त्रताको रुपमा मैलिक हक दिएको छ । स्वेच्छाले कुनै पनि धर्म मान्न हरेक व्यक्ति स्वतन्त्र छ ।
तर, केही दिनयता हर्क साम्पाङलाई कुनै खास धर्म र जात समुदायका मानिसले सामाजिक सञ्जालमा जे जसरी निशाना बनाइरहेका छन् त्यो आश्चर्यजनक छ । त्यो आपत्तिजनक पनि छ । यद्यपि यसमा हर्क साम्पाङका पनि अनेक कमजोरी होलान् । केही गलत निर्णय पनि गरिएको होला । केही काम गलत गरिएको हुनसक्ला । हर्क साम्पाङको बचाउ गर्नुपर्ने कुनै कारण छैन । गुण-दोषको आधारमा उनको समर्थन र आलोचना हुनुपर्छ । त्यो बेग्लै पाटो हो । तर, हर्क साम्पाङको कुनै खास पहिचान (जुन कि प्रष्ट छैन) कै कारणले उनको घनघोर आलोचना हुनु कति जायज हो ? त्यो पाटोमाथि बहस हुनु आवश्यक देखिन्छ ।
त्यो यस कारण कि कतिपय स्वनामधन्य व्यक्तित्वले पनि हर्क साम्पाङलाई ट्रोल गरेको, आलोचना गरेको, अर्ति उपदेश दिएको र यहाँसम्म कि धम्की दिएको पनि देखियो । भन्न सकिन्छ, हर्क साम्पाङको छुद्र बोली र हिन्दू धर्ममाथि गरिएको टिप्पणीको कारण उनको आलोचना भयो । तर, हर्क साम्पाङले कुनै पनि टिप्पणीमा हिन्दू धर्मलाई गाली गरेको, तल देखाएको वा साधारण आलोचना गरेको पनि भेटिँदैन । बरु उनले सबै धर्मलाई सम्मान गर्छु भनेको देखिन्छन् ।
उनको स्वभावजन्य आक्रामकता र भाषामा शालीनताको कमी देखिन्छ । तर, यतिकै कारणले उनलाई कृश्चियन भन्नु र हिन्दू धर्म विरोधी भएको ठप्पा लगाउनु उचित देखिँदैन । यही हर्क साम्पाङले दलहरूलाई गाली गर्दा प्रशंसा गर्ने र उचाल्ने जमात चर्च र मन्दिरको विषय आउँदा अचानक उनलाई गाली गर्न र खसाल्न लागिपर्छ ।
हो, उनले धर्मका ठेकेदार, धर्मभीरु, अन्धभक्तलाई बहस गर्न चुनौती दिएको चाहिँ पक्कै हो । उनको स्वभावजन्य आक्रामकता र भाषामा शालीनताको कमी देखिन्छ । तर, यतिकै कारणले उनलाई कृश्चियन भन्नु र हिन्दू धर्म विरोधी भएको ठप्पा लगाउनु उचित देखिँदैन । यही हर्क साम्पाङले दलहरूलाई गाली गर्दा प्रशंसा गर्ने र उचाल्ने जमात चर्च र मन्दिरको विषय आउँदा अचानक उनलाई गाली गर्न र खसाल्न लागिपर्छ । उनलाई नायकबाट खलनायक बनाउन पुग्छ । यसरी अचानक नायकबाट खलनायक बनाउने समूहको मनोविज्ञान के हो, त्यसको चिरफार हुनु आवश्यक देखिन्छ ।
नि:सन्देह सामाजिक सञ्जालमा सक्रिय यो समूह कुनै खास जात र धार्मिक समुदायका मानिसको देखिन्छ । यो समूहको वर्ग पनि लुकेको छैन । यी व्यक्ति उच्च, मध्यम र निम्न मध्यमवर्गीय पृष्ठभूमिका देखिन्छन् । यी व्यक्तिहरू राज्यसत्ता र सामाजिक-आर्थिक सत्ता चक्रका प्रमुख लाभार्थी नै देखिन्छन् । यी परम्परागत वर्चश्वशाली समुदायका मानिस निश्चितरूपमा प्रभावशाली छन् र मुखर पनि । यिनीहरू निकै चनाखो र संवेदनशील पनि छन् । अरु समुदाय जस्तो कि दलित, मधेशी, आदिवासी जनजाति, महिला र अन्य अल्पसंख्यक सुषुप्त अवस्थामा रहेको बेला सामाजिक सञ्जालमा यही वर्चश्वशाली समुदायको सक्रियता र पहरेदारी रहेको प्रष्ट देखिन्छ ।
सामाजिक सञ्जालको यो मुखरता खराब हैन । तर एकपक्षीय हुनुभएन । कुरा त्यति हो । विषयवस्तुलाई वस्तुवादिताको कसीमा हेर्नुपर्छ । तर सामाजिक सञ्जालमा अर्को नराम्रो पक्ष के हो भने सामुदायिक अन्धताको सम्भावनालाई इन्कार गर्न सकिन्न । यस्तोमा हरेक समुदायका अगुवा र गन्यमान्यको काम के हो भने संयमित र वस्तुवादी भएर विषयवस्तुलाई राखिदिनुपर्छ । तर, यदि अगुवा र गन्यमान्य नै विषयको पक्ष भएर उभिन थाल्यो भने त्यहाँबाट राजनीतिको सुरुवात हुनथाल्छ ।
हर्क साम्पाङ प्रकरण नितान्त राजनीतिक देखियो । यो वर्चश्वशालीको लागि एउटा भाष्य निर्माणतर्फ अग्रसर देखिन्छ । त्यो भाष्यले भन्छ कि, हिन्दु र हिन्दूत्व खतरामा छ । कृश्चियनले पैसा बाँड्छ । कृश्चियन जनसंख्या लगातार बढोत्तरीमा छ । हर्क साम्पाङ र यस्तै सयकडा पचास पालिका प्रमुख कृश्चियन धर्म फैलाउन काम गरिरहेका छन् । र यस्तै अनेक अनेक ।
यो खासमा वर्चश्वशालीले परम्परागतरूपमा गर्दै आएको नकारात्मक र निषेधको राजनीति हो । प्रतिद्वन्दीलाई कलंकित पारिदिने र यही मेसोमा आफ्नो दुनो सोझ्याउने । बाख्रा चोर्नको लागि स्याल कराएको नाटक गर्नु यिनीहरूको पुरानो खेल हो । पहिचानको जायज आकांक्षालाई दमन गर्न विषयवस्तुलाई धार्मिक आवरण दिने खेल हो यो ।
यो खासमा वर्चश्वशालीले परम्परागतरूपमा गर्दै आएको नकारात्मक र निषेधको राजनीति हो । प्रतिद्वन्दीलाई कलंकित पारिदिने र यही मेसोमा आफ्नो दुनो सोझ्याउने । बाख्रा चोर्नको लागि स्याल कराएको नाटक गर्नु यिनीहरूको पुरानो खेल हो । पहिचानको जायज आकांक्षालाई दमन गर्न विषयवस्तुलाई धार्मिक आवरण दिने खेल हो यो । हर्क साम्पाङ वा दयाहाङ राईलाई ट्रोल गर्नु पहिचानको आकांक्षा समन गर्ने मनोवैज्ञानिक खेल हो भनेर बुझ्नु वस्तुवादी हुन्छ होला ।
यसलाई दक्षिण एशियाली परिप्रेक्ष्यमा बुझ्दा अझ बढी प्रष्ट हुन्छ । भारतवर्ष र अखण्ड भारतको अवधारणा बहुसंख्यकवादको सुरक्षा र वर्चश्वसँग सम्बन्धित भएर आएको छ । यो अवधारणाले आदिवासी र अल्पसंख्यकको पहिचान स्वीकार गर्दैन । यो अवधारणाले सिधै हिन्दूराष्ट्रको एकमनावादी उद्देश्य भन्छ । यो अवधारणाले आदिवासी शब्दलाई पनि स्वीकार गर्दैन । बरु यसलाई वनवासी भन्न रुचाउँछ । भारतमा हिन्दू संघ-संगठनले वनवासी कल्याण आश्रम चलाउँछन् । यिनीहरूले वनवासीको लागि च्यारिटी गर्छन् बरु तर, आदिवासीको सशक्तिकरणको सवाललाई स्वीकार गर्दैनन् । नेपालका सम्वर्द्धनवादी पार्टी राप्रपा र रवीन्द्र मिश्रहरूले पनि कल्याणकारी लोकतन्त्र भन्छन् तर, पहिचानजन्य अधिकार र सशक्तिकरणको पाटोलाई स्वीकार गर्दैनन् ।
आदिवासी (ईन्डिजिनस) शब्दलाई हिन्दूराष्ट्रवादीले स्वीकार नगर्नुको पनि बृहत् आयाम छ । यिनीहरूको समझमा सनातन हिन्दूवादी मात्र अखण्ड भारतवर्षका पुरातन वासिन्दा हुन् । आदिवासी शब्दको अर्थ हो प्रथम वासिन्दा (फर्स्ट सेटलर अथवा फर्स्ट ल्याण्ड अकुपायर)। विभिन्न आधुनिक शोधहरूले पनि विभिन्न मानव समूहको भारतीय उपमहाद्वीपमा आगमन काललाई वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि गरेका छन् । तर आदिवासीलाई प्रथम वासिन्दाको सम्मान दिन नचाहेकैले भारतका हिन्दूवादीले यिनीहरूलाई वनवासी (ट्राईबल) भन्दा रहेछन् । आदिवासी र वनवासी शब्दको अन्तर्यमा आकाश-जमीनको अन्तर छ ।
अहिले भारतमा आदिवासीहरू हिन्दूवासी संघ-संगठनको पहिलो निशानामा छन् । चाहे त्यो मध्यप्रदेशमा प्रवेश शुक्लाले एकजना आदिवासी युवकमाथि पिसाब गरेको घट्ना होस् वा त्यस्तै प्रकारको आन्ध्र प्रदेशको अर्को घटना होस् वा मणिपुरको घटना । मणिपुरमा उत्तरी भारतबाट पलायन गरी पुगेका मैतेई हिन्दूको जनसंख्या बहुमत पुगिसकेको छ । तर, थोरै शहरी क्षेत्रको भूमिमा मात्रै वर्चश्व छ । तर त्यहीँका कुकी र नागा आदिवासी जनसंख्यामा अल्पसंख्यक भैसक्दा पनि ठूलो क्षेत्रमा वर्चश्व राख्दछन् ।
बहुसंख्यक मैतेईसँग बहुमतको भाजपा सरकार छ र यससँगै उनीहरूको नियन्त्रणमा प्रहरी, प्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग, रोजगार, पुँजी र व्यापार छ । तर अल्पसंख्यक कुकीहरूसँग ठूलो पहाडी जमीन भएको यथार्थ बहुसंख्यक मैतेई समुदायलाई स्वीकार्य छैन । वैभव र प्रगतिसँगै उनीहरूले जमीनमा पनि आँखा लगाए । त्यसकै लागि उनीहरूले सरकार र सत्ता प्रयोग गरी आफैँलाई आदिवासी (सेड्युल्ड ट्राईबल) घोषणा गरे र कुकीको जमीनमाथि आफ्नो पहुँच सुनिश्चित गरे । तीन महिनादेखि मणिपुरमा चलिरहेको घटना (अनरेस्ट) को जड यही हो ।
यी सबै तारतम्यमा भारतीय उपमहाद्वीपभरि नै एउटा भाष्य निर्माणको आकांक्षा देखिन्छ । र त्यो हो बहुसंख्यकवादको पक्षपोषण । बहुसंख्यकको अग्राधिकार सुरक्षाको ग्यारेण्टी । अमेरिका फर्स्ट भनेजस्तै हिन्दू फर्स्ट । र यसैको पछिल्लो कडी नेपालमा पनि सुरुवात भएको देखिन्छ । र त्यो हर्क साम्पाङमाथि अरिङ्गालको गोलो खनिएर परीक्षण (पाईलटिङ) भएको छ । धार्मिक अन्धताको आँधीबेहरी सिर्जना गर्ने यो परियोजना पूरा देशकै लागि खतरनाक छ ।
संसार बहुसंस्कृतिवादतिर गइरहेको छ । अमेरिका, बेलायत, क्यानाडा, फ्रान्सजस्ता एकल जातिय (होमोजेनस) देशहरू जनसंख्याको विविधीकरणमा गइरहेका छन् । डिभी लट्री गरेर संसारभरिका मानिसलाई बसोबासको आमन्त्रण गरिरहेका छन् । नेपाल स्वतः बहुसांस्कृतिक मुलुक हो । यहाँको बहुसंस्कृतिवादलाई बुलडोज गरेर एकल जातिय देश बनाउने यो कस्तो रहर चढेको होला केही मानिसमा ?
यही मेसोमा नेपालको संविधान २०७२ को प्रस्तावनाको यो भाग एकचोटी हेरौँ । “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै…. ।”
प्रष्ट छ, संविधानले कुनै एकल जातिय, धार्मिक, सांस्कृतिक वा भाषिक समूहलाई अग्राधिकार दिएको छैन । र, नेपालको सन्दर्भमा यो सम्भव पनि छैन अब । तर, हिन्दूराष्ट्रको आग्रहमा कुनै एक धार्मिक समुदायको अग्राधिकार मागिएको छ, जुन कि नेपालको यथार्थविपरीत हो । संविधानले नै बहुसंस्कृतिवाद आत्मसात गरिसकेपछि त्यसलाई स्वीकार गरेर जानुपर्ने हो । अब पनि एक राजा एक रानी, एकल जाति, एकल भाषा, एकल धर्म, एकल भेष, एकल संस्कृतिको रटान कति युगसापेक्ष हो, बुझ्नुपर्ने कुरा हो । पटक-पटकको चुनावमा सम्वर्द्धनवादी पार्टीहरू हारिसकेपछि पनि गनगन गरिरहनु अर्घेल्याइँ मात्रै हो ।
संसार बहुसंस्कृतिवादतिर गइरहेको छ । अमेरिका, बेलायत, क्यानाडा, फ्रान्सजस्ता एकल जातिय (होमोजेनस) देशहरू जनसंख्याको विविधीकरणमा गइरहेका छन् । डिभी लट्री गरेर संसारभरिका मानिसलाई बसोबासको आमन्त्रण गरिरहेका छन् । नेपाल स्वतः बहुसांस्कृतिक मुलुक हो । यहाँको बहुसंस्कृतिवादलाई बुलडोज गरेर एकल जातिय देश बनाउने यो कस्तो रहर चढेको होला केही मानिसमा ? तर, एक्काईसौं शताब्दीमा आएर मध्यकालमा फर्किने यो काम सम्भव छैन ।
गणतन्त्र आइसकेपछि सबै कुरा खराब नै भएको छ भन्ने हैन । केही राम्रा काम पनि भएका छन् । सीमित स्वायत्ताको उपभोग भएको छ र प्रत्येक सांस्कृतिक समुदाय सजग भएका छन् । तिनीहरूले स्थानीय तवरमा आफ्नो धर्म, संस्कृति, भाषा, रहनसहन, खानपानलाई संरक्षण र प्रवर्द्धन गर्न पाएका छन् । उनीहरूको यो सीमित स्वायत्ता र स्वतन्त्रता हरण हुने हो भने सह्य हुन्छ जस्तो लाग्दैन ।
ज्ञानेन्द्र शाहले २०५९-६२ मा शासनको एकल जातिय परियोजना चलाएकै हुन् । महेन्द्रपथको पुनःप्रयोग गरेकै हुन् । पंचायती व्यवस्थाका भाष्यकार तुलसी गिरी र कीर्तिनीधि विष्ट समेतलाई दायाँ बायाँ राखेर पञ्चायती खिचडी हाँडी (मेल्टिङ पट) लाई पुनः चुलोमा चढाएकै हुन् । तर त्यो खिचडी पाकेन । अब अहिले कथम् हिन्दूराष्ट्र र राजशाही कायम भयो भने कति दिन टिक्ला ? यो कोणबाट पनि विमर्श हुनु जरुरी छ । कुनै एकल जातिको अहंकार तुष्ट गर्न क्षणिक कुरामा लाग्नु देशको समय बर्बाद गर्नु मात्र हो ।
फेरि हर्क साम्पाङकै कुरामा फर्कौं । एकजना आलोचकले हर्क साम्पाङको तस्वीरलाई पादरी, मौलाना, लामा र पण्डितको अवतारमा राखेर पोष्ट गरेकोमा हर्कले “तिम्रो अपमानलाई मैले सम्मानस्वरुप लिएँ, हो म सबै धर्मको अगुवा नै हुँ, कसैलाई केही भन्नु छ अब ?” भनेर प्रत्यूत्तर गरेका छन् ।
भाषा शैलीलाई बिर्सने हो भने हर्क साम्पाङले कुनै खराब कुरा गरेका छैनन् । बरु उनले सही अर्थमा बहुधार्मिक र बहुसांस्कृतिक भावना अभिव्यक्त गरेका छन् ।
अन्तिम कुरो, हर्क साम्पाङले कहाँनेर हिन्दू धर्मको अपमान गरे, बुझिएन । हर्क साम्पाङलाई किन यति गाली गरियो सामाजिक सञ्जालमा, बुझिएन । जान्ने बुझ्ने हिन्दूराष्ट्रका वकालत गर्ने सम्वर्द्धनवादीले हर्क साम्पाङलाई किन धम्कीको भाषा प्रयोग गरे, बुझिएन । हर्क साम्पाङमाथि एउटै जात समुदायका मानिस किन खनिए, बुझिएन । हर्क साम्पाङले ओठे जवाफ फर्काएको मात्रै प्रष्ट बुझियो ।
Facebook Comment
Comment