फिल्म समीक्षा

हामागुचीको चमत्कार, उदाङ्गो ढोका र जम्काभेट !

हामागुचीको चमत्कार, उदाङ्गो ढोका र जम्काभेट !

यो दुई घण्टा एक मिनेटको एउटा छोटो फिल्म हो जहाँ तीन भिन्नाभिन्नै कथाहरू बगेका छन्। दुई घण्टाको छोटो फिल्म? तीन भिन्नाभिन्नै कथा अनि एउटै फिल्म? कस्तो विरोधाभास है? तर, यी विरोधाभासलाई जब बुझ्नुहुनेछ तब तपाईँको जिज्ञासु मनलाई शान्ति मिल्नेछ।

तर, यो पूरै लेख पढिरहँदा भने तपाईँको शान्त मनले पुन: जिज्ञासा नै पछ्याउन भने सक्छ है! फिल्म हेरूँ हेरूँ लाग्न सक्दैन भन्न सकिन्न।

यो फिल्मको ओरिजिनल अर्थात् जापानी नाम रहेछ, ‘गुजेन तो सोजो’। जसको सिधा सिधा अङ्ग्रेजी अनुवाद ‘कोइन्सिडेन्स एन्ड इमाजिनेशन’ अर्थात् ‘संयोग र कल्पना’ हुन आउनेरहेछ। तर, जब अङ्ग्रेजीमा यसको काव्यिक अनुवाद भयो त्यसपछि यसको कायापलट भयो- ‘ह्विल अफ फर्चुन एन्ड फेन्टसी’ !

काया अर्थात् शीर्षक त पल्टियो, अब यसको गुदी नि? यसको गुदीमा पनि त्यस्ता पलटहरू पर्याप्त भेटिन्छन्। भन्ने नै हो भने त यो फिल्म नै पलटको कथावाचन हो। अब ढिलो नगरी विषय प्रवेश गरौँ।

फिल्म तीन भागमा विभक्त छ। पहिलो भागमा एउटा अप्रत्याशित लभ ट्राइंगलको कथा छ जसलाई म्याजिक नाम दिइएको छ। त्यसको नाम म्याजिक नै किन भयो? हामी त्यसको चर्चा गरौँला।

दोस्रो भागमा एउटा सेडक्सनको कथा छ जसलाई नाम दिइएको छ- डोर वाइड ओपन। त्यस्तै, तेस्रो भागमा एउटा जम्काभेटको कथा छ जसलाई नाम दिइएको छ- फेरि एकपटक ! ४०-४० मिनेटका यी कथाहरूमा संवाद प्रशस्त छन्।

तर, ती संवादहरू यस्ता छन् जसले हामीभित्रको मौनतालाई खोजी खोजी चलाइदिन्छन् र हामी स्तब्ध भइदिन्छौँ। तब हाम्रो आवाज मात्र होइन, हाम्रो सोचाइको कारखाना- हाम्रो मस्तिष्क समेत मौन बसिसकेको हुनेछ।

१. म्याजिक

फिल्मको पहिलो भाग ‘म्याजिक’ मा एउटी पात्र छे- मिको। ऊ मोडलिङ गर्छे। मिको र उसकी आर्ट डिरेक्टर ‘सुगुमी’बीचको घनिष्ठता सुरुवातको केही सेकेन्डभित्र नै हामीलाई स्पष्ट नजर हुन्छ। उनीहरूलाई एक-अर्काप्रति कति धेरै प्रेम छ, स्नेह छ त्यो अति प्रस्ट छ। यही दौरान उनीहरू सुटिङ सकेर घर फर्किने क्रममा एउटै ट्याक्सी सेयर गर्छन्।

ट्याक्सीको ब्याक्सिटमा बसेर उनीहरू गफ्फिरहेका छन्। सुगुमी मिकोलाई आफ्नो पछिल्लो प्रेम जीवनबारे उत्साहित मुद्रामा अपडेट गराइरहेकी छे।

साँच्चै, तपाईँको कोही त्यस्तो वेस्ट फ्रेण्ड छ, जसलाई तपाईँ आफ्ना केही कुरा सुनाउन बाँकी राख्नुहुन्न? अनि, तपाईँले आफ्नो वेस्ट फ्रेण्ड आफ्नो भूतपूर्व मायालुसँग प्रेममा भएको कुरा थाहा पाउनुभएको छ? कहिल्यै यस्तो कुरा थाहा पाउनुभयो भने?

हो, मिकोले थाहा पाई। उसकी वेस्ट फ्रेण्ड सुगुमी उसकै एक्स बोइफ्रेन्डसँग प्रेममा चुर्लुम्म डुबिसकी। यतिसम्म कि उसलाई केटोसँगको त्यो भेट बिलकुल जादुयी लाग्छ।

ऊ आफूलाई हरेक तरिकाबाट केटोप्रति समर्पित गर्न तयार छे। सुगुमीले आफ्नो पलाउँदै गरेको प्रेमबारे बयान गरिरहँदा मिको भने सोचिरहेकी हुन्छे कतै यसले जसबारे कुरा गरिरहिछे त्यो त्यही केटो त होइन, जसले कुनै समय उसलाई बेहिसाब प्रेम गर्थ्यो। सुगुमीबाट उसले यो पनि सुन्छे कि केटोलाई पनि यो नयाँ सम्बन्ध जादुयी त लाग्छ तर पहिला प्रेममा धोका भएको कारण यतिबेला पनि ऊ डराएको छ।

आफ्नो प्रेम कहानी सुनाएर सुगुमी छुट्छे। ट्याक्सीभित्र अब मिको मात्र छे। मिको त्यो मनस्थितिमा घर फर्किन सक्दिन। उसलाई अचानक केटोलाई भेटेर कुरा पक्का गर्ने सनक चढ्छ। ऊ ट्याक्सी फर्काएर केटोको अफिस पुग्छे। सबै स्टाफ निस्किसकेका हुन्छन्। तेरो बेड कहाँ छ ऊ सोध्छे।

केटो छोटो जवाफ दिन्छ- माथि! केटोको अफिस र बासस्थान एउटै रहेछ हामी यो अनुमान लगाउन सक्छौँ। साथै, मिकोलाई पुराना दिनहरूको, नजिक हुँदाका क्षणहरूको याद आइरहेको पनि यसले बुझाउँछ। मिको केटोसँग सिधासिधा सोध्छे सुगुमीसँगको चक्करबारे। ऊ जलेको प्रस्ट हुन्छ। तर, के प्रस्ट हुँदैन भने आखिर ऊ के चाहन्छे!

बस् केही मिनेटको समयभित्र ऊ आफूले दिएको धोका वास्तवमा धोका नभएको प्रस्ट्याउन खोज्छे। ऊ केटोलाई यो पनि महसुस गराउन खोज्छे कि – तँ अझै पनि मलाई नै प्रेम गर्छस्। दुईमध्ये एक रोज् भनिराखेर ऊ त्यहाँबाट अलप हुन्छे।

त्यसको तीन दिनपछि मिको र सुगुमी एउटा क्याफेमा कफी पिउँदै हुन्छन्। संयोगवश केटो भेटिन्छ। सुगुमी आफ्नो नयाँ प्रेमीलाई मिकोसँग भेटाउँछे। तर, मिको आफूभित्रका सारा लाभाहरू पड्किन छोडिदिन्छे। ऊ भनिदिन्छे कि यो केटो जसलाई त जादुयी प्रेमी भनिरहेकी छेस् यो मेरो एक्स बोइफ्रेण्ड हो।

जसलाई मैले अहिलेसम्म भुल्न सकेको छैन। जसलाई म अझै पनि उत्तिकै प्रेम गर्छु। मिकोको कुरा सुनेर सुगुमी छानोबाट खसेको फर्सीझैं हुन्छे। उसको उत्सुकताको पारो एकाएक माइनसमा ओर्लिन्छ। आफू आफ्नै वेस्ट फ्रेण्डको प्रेम बिथोल्न पुगिछु भन्ने जानेर ऊ चिसिन्छे। तब, उसलाई त्यहाँ बसिरहन मनासिब लाग्दैन।

ऊ जुरुक्क उट्गेर त्यहाँबाट अलप हुन्छे। सुगुमी निस्किएर हिँडेपछि केटो पनि त्यहाँ बसिरहन सक्दैन। केटो उसको पछिपछि भाग्छ। मिको माछो माछो भ्यागुतो हुन्छे! यो ज्वालामुखी विस्फोटले न उसलाई केही दिन्छ। न त उसको वेस्ट फ्रेण्डलाई। न उसले पुरानो प्रेम फिर्ता पाउँछे न त उसले नयाँ दोस्तीलाई कायम राखिरहन नै सक्छे! सबैथोक ध्वस्त हुन्छ!

तर, नआत्तिनुस्। यो ज्वालामुखी विस्फोट मिकोको कल्पनामा भएको हो। यो विध्वंसको दृश्य कल्पिसकेकी उसले म्याजिक बटन दबाइदिन्छे। त्यसपछि ऊ केटोलाई चिन्दिन।

केटो को थियो? उसलाई त बस् यत्ति थाहा छ- केटो आफ्नी वेस्ट फ्रेन्डको नयाँ प्रेमी हो। उनीहरूबीच प्रेमको पालुवा भर्खरै पलाउँदैछ। त्यसका लागि उनीहरूलाई फक्रिने, झांगिने ठाउँ उसले दिनुपर्नेछ। तब, सुगुमी र केटोलाई क्याफेमै छोडिराखेर मिको आफ्नो बाटो लाग्छे।

कहिलेकाहीँ ठिक ठाउँमा मौन हुन जान्नुले पनि ठूलै विपत्ति, ठूलै दुर्घटना हुनबाट रोक्नेरहेछ है? चमत्कार होइन त? जादुगरले गर्ने पनि त त्यस्तै होइन र? एउटा परेवा देखाउँछ।

अनि त्यसलाई निर्ममसँग मारेर देखाउँछ। अनि हामी दुःखी भइसक्दा त्यसलाई पुन: जीवित बनाइदिइसक्छ नि! साँच्चै, मिकोको ठाउँमा तपाईँ हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो नि?

२. डोर वाइड ओपन

डोर वाइड ओपन! शीर्षक सुन्दै इरोटिक लाग्दैन त?

खैर, यो प्रोफेसर सेगावाको सिद्धान्त हो। उनलाई आफ्नो क्याबिनको ढोका बन्द गर्न मन पर्दैन। हर हालमा ढोका पूर्ण उदाङ्गै हुनुपर्छ। उसको कोठाभित्र के भइरहेछ साराले देखुन्।

ऊ पारदर्शितामा विश्वास गर्छ। एउटा विद्यार्थी आफूलाई पास गर्दिन अनुनय विनय गर्दै भुईँमा पसारिएर बिन्ती गर्छ। यस्तो लाजमर्दो दृश्य हेरेर सबै विद्यार्थी कानेखुसी गर्छन्। यो जानेर कसैले ढोका ढप्काइदिन खोज्छ तर, प्रोफेसर सेगावाको कोठाको ढोका उदाङ्गै छोडिनुपर्छ। जुनै हालतमा पनि त्यसले सम्पूर्ण गोडाहरूलाई स्वागत गर्न छोड्नुहुँदैन।

त्यसले सम्पूर्ण आँखाहरूलाई पारदर्शिता चखाउनै पर्छ। फ्रेन्च भाषा पढाउने प्रोफेसर आफ्नो उपन्यासका कारण सम्मानित हुन्छ। तर, त्यो विद्यार्थी जो उसको कोठामा भुईँमा पसारिएर पनि पास हुन सकेन उसलाई प्रोफेसर सेगावाको सफलता कत्ति पनि पच्दैन। त्यहीबेला उसकी फ्रेण्ड विथ बेनिफिट अर्थात् पार्टनर भने प्रोफेसर सेगावाको उहीँ उपन्यास पढिरहेकी छे। ऊ प्रोफेसरकी फ्यान हो। आउनुस् एकछिन उसकै कुरा गरौँ।

उसको नाम नाओ हो। ऊ एउटी बच्चीकी आमा हो। जसको बूढो गुमनाम छ जसलाई हामी खोज्ने कोसिस नगरौँ। अँ, त्यसैले ऊ आफूभन्दा जुनियर केटोसँग लिभिङ टुगेदरमा छे। फ्रेन्च भाषा सँगै पढ्दा उनीहरूको भेट भएको हो। ऊ बाहिरबाट थकित मुद्रामा घर आइपुग्न पाएकी हुन्न केटो उसलाई जथाभाबी गिजोल्न थालिहाल्छ।

ऊ झिँजिन्छे केटोको यो काइदाले, ‘अल्लारे!’ भन्दै गाली पनि गर्छे। तर, रोक्दिन आखिर। किनभने, यौन सुख त उसलाई पनि चाहिएकै छ। तर, जतिबेलै यौनकै लागि मात्र भोकाइरहने केटोको अल्लारे चरित्रदेखि ऊ आजित छे। उसलाई पक्कै परिपक्व सम्बन्धमा बाँधिन मन छ। जसले उसको शरीरको पुष्टता मात्र नदेखोस् त्यसको थकानको पनि ख्याल गरोस्।

जसले उसमा मात्र ध्यान नदेओस् बरु उसकी छोरीको बारेमा पनि केही त सोचिदेओस्। जसले उसको शरीरको प्रयोग मात्र नगरोस् त्यसको प्रशंसा पनि गरिदेओस्।

शरीर छुँदै गर्दा उसको हृदय पनि छोइदेओस्। एउटा अल्लारे बैँसको उन्मादभन्दा एउटा परिपक्व सम्बन्धको मानौँ उसको अवचेतनलाई प्रतीक्षा छ।

उसको अल्लारे पार्टनर जो प्रोफेसर सेगावासँग आज पनि उस्तै चिढिएको छ, भन्छ- सम्मान पाएर फुरुङ्ग भएको हेर न त्यहाँ। यो बजिया प्रोफेसरलाई त उसकै किताब प्रयोग गरेर फसाइदिऊँ न। अपमान हुँदा कस्तो हुँदोरहेछ उसले पनि त बुझोस्!

त्यसपछि केटी प्रोफेसर सेगावाको अफिस पुग्छे। किताबको बीचमा अटोग्राफ गर्न लगाउँछे। ऊ भन्छे त्यहाँ जुन चित्र प्रोफेसर सेगावाका शब्दहरूले बनाएको छ त्यो चित्र उसलाई खुबै मनपर्छ।

ऊ आफूलाई मनपरेका ती लाइनहरू प्रोफेसरलाई सुनाउन थाल्छे। ती कामुक लाइनहरू निकै पढिसक्दा पनि प्रोफेसर सेगावामा कुनै किसिमको हलचल देखिँदैन।

उसले अपेक्षा गरेजस्तो प्रोफेसर रातोपिरो भइदिँदैन। बरु प्रोफेसरको कोठाको उदाङ्गो ढोकाले उसैलाई गाह्रो पर्छ। ऊ विस्तारै ढोका बन्द गर्छे। र त्यही ढोकामा अडेसिएर ऊ किताबका कामुक लाइनहरू पुन: पढ्न थाल्छे।

उसको आवाज यतिबेला सुरु गर्दाको जस्तो चर्को छैन। ऊ मन्द मन्द सुनिँदै गएकी छे। प्रोफेसर सेगावामा पनि अब हलचल देखिन्छ। ऊ बिस्तारै अघि बढ्छ र केटी भएतिर अघि बढ्छ। केटीको निकै नजिकै पुगेपछि मात्रै हामी बुझ्छौँ- ए! उसलाई त ढोका ढप्काउनै पो हुँदैन त! ऊ त ढोका खोल्न पो आएको रहेछ!

केटीले त्यसपछि पनि लाइन पढ्न जारी राख्छे। तर, सेगावालाई त्यसले केही असर गर्दैन। हामी स्पष्ट देखिसक्छौँ केटी भित्रभित्रै मैन जसरी पग्लिसकेकी छे।

सायद, प्रोफेसर आफ्नो सिद्धान्तप्रति मजबुतीसाथ न डगमगाई उभिरहेको देखेर पनि हुनसक्छ केटी ऊप्रति अझै आकर्षित भइदिन्छे। उसको अवचेतनले खोजेको पुरुष सायद यस्तै हो।

त्यसपछि हार खाएर केटी सत्य कुरा सबै भनिदिन्छे। स्क्याण्डल सिर्जना गरेर सेगावालाई फसाउन उसले अहिलेसम्मको सबै कुरा रेकर्ड गरिरहेकी थिई। प्रोफेसर सेगावा त उसले सोचेभन्दा परिपक्व निस्कियो।

यति थाहा पाउँदा पनि ऊ रिसाएको छैन। यौन मनोवैज्ञानिक उपन्यास लेख्ने उसले केटीले त्यसो गर्नुपछाडिको असली कारण सायद सजिलै बुझिदियो।

सेगावालाई रिस उठ्नुको साटो यो कुरा रोचक लागिदिन्छ। कोही उसलाई फसाउन भनेर, किताबका कामुक लाइन पढ्दै फेरि फेरि आइरहने थिएन।

यो दोहोरिनसक्ने कुनै सामान्य घटना नै होइन। यो त विशेष घटना हो। सेगावालाई यो घटनालाई जीवित राख्न मन हुन्छ। ऊ त्यो रेकर्डेड क्लिप्स केटीसँग माग्छ।

त्यसपछि, केटीले बल्ल आफ्नो सेगावाप्रतिको आकर्षणबारे थाहा पाउँछे। केटी प्रोफेसर सेगावासँग सर्त राख्छे। ऊ प्रोफेसरले आफूलाई आफ्नो यौन कल्पनामा राखोस् भन्ने सर्त लगाउँछे। प्रोफेसरलाई कसम खुवाएर मात्र ऊ त्यो रेकर्डेड क्लिप्स उसलाई पठाउन राजी हुन्छे।

तर, अर्को एउटा संयोग घटित हुन्छ। एउटा दुर्घटना घटित हुन्छ। सत्य नाङ्गो हुन्छ। ढोका उदाङ्गो हुन्छ।

३. फेरि एकपटक

पुन: हल्काराको युग सुरु भएको छ। कम्प्युटर भाइरसका कारण जमाना सयौँ वर्ष पछाडि धकेलिएको पनि पाँच वर्ष भइसकेको छ। नासुको स्कुल रियुनियनको चिठ्ठी पाएकोले सेन्डाई पुगेकी छे।

ऊ उतिबेला त भेटघाटहरूमा उत्ति चासो राख्ने मान्छे होइन। स्कुल रियुनियनमा उसको आगमन पक्कै पनि कसैलाई भेटिन्छ कि भन्ने अपेक्षाले प्रेरित हुनुपर्छ। ऊ पहिला स्कर्ट लगाउँदिनथिई।

ऊ टमबोई टाइपकी थिई। साथीहरू सोच्थे ऊ फरक थिई। केटाभन्दा केटीहरूमा उसको रुचि हुन्थ्यो। उसको केश भने अहिले पनि छोटो नै छ। तर, ऊ पहिलाभन्दा नरम भएकी छे।

उसले आफ्नो नरम रूप वा भनौँ फेमिनाइन पार्टलाई ढिलो गरी भए पनि चिनेकी छे। खैर, जसलाई भेटिन्छ भन्ने आशमा ऊ यहाँ आएकी थिई ऊ भेटिइन।

भोलिपल्ट ऊ पुन: आफ्नो टमबोई लुक्समै पुरानो क्याफे पुग्छे। पुरानो खाजा खान्छे। पुराना याद ताजा गराउँछे। त्यसपछि, टोकियो फर्किन भनी ऊ सेन्डाई स्टेसन हानिन्छे।

एलिभेटर चढ्दै गर्दा उसले अचानक तल ओर्लिँदै गरेकी उसकी साथी अर्थात् उसकी पूर्व प्रेमिकालाई देख्छे जसलाई भेट्ने अपेक्षाले ऊ त्यहाँ पुगेकी थिई।

दुवैजना एकअर्कालाई देखेर दङ्ग फुरुङ्ग पर्छन्। निकैबेर एकअर्काको हात समाएर एकोहोरो गफमा भुल्छन्। त्यसपछि एक्स गर्लफ्रेण्डको घरमा उसले निम्तो पाउँछे।

उसको विवाह भएको कुरा त उसले सुनेकी थिई तर विवाह भइकन छोरा र छोरी पनि पो रहेछन्। तर, उसलाई यस्तो लाग्छ, उसकी एक्स गर्लफ्रेन्डले विवाहपश्चात् आफूलाई कतै हराइदिएकी छ।

उसको आफ्नो अस्तित्व भन्ने कतै बाँकी छैन। परिवारको लागि बाँच्दाबाँच्दै उसले आफ्ना लागि बाँच्न बिर्सिएकी छ। तब ऊ उसलाई प्रश्न गर्छे- के तँ आफ्नो जीवनमा खुसी छेस्?

यो सामान्य प्रश्नले भने उसको मनमा एउटा गहिरो झस्को दिन्छ। ऊ झस्किन्छे। उसलाई बल्ल याद हुन्छ। जसलाई साथी सम्झिएर घरमा निम्तो दिएर ल्याई उसको परिचय त उसले सोध्नै भुलेकी रहिछे।

न त आफ्नो नै परिचय उसले दिएकी छे। त्यसपछि बल्ल नाम र बाँकी कुरा सोधासोध हुन्छ। उफ्! ऊ त नसुकोकी पूर्व प्रेमिका ‘मिका’ होइन रहिछे। ऊ त अया नामकी अर्कै स्वास्नी मान्छे पो रहिछे।

उनीहरू खाली बाटोमा अचानक भेटिएका बटुवा पो रहेछन्। अन्जान बटुवा! जो एकअर्कालाई साथी भन्ठानेर खाली झुक्किएका मात्रै पो हुन्।

तब नासुको अञ्जान मान्छेको घरमा आफूलाई पाएर अप्ठ्यारो महसुस गर्छे। ऊ त्यहाँबाट निस्किन खोज्छे। तर, बटुवा भए पनि घरसम्म आइपुगेपछि अतिथि भइसकेकोले उसलाई अयाले रोक्छे।

अया चाहन्न अपमानित महसुस गरेर, खिन्न मन लिएर कोही उसको घरबाट निस्कियोस्। पाकेको खाजा खाएरै जा भनेर रोकेपछि नासुको पनि रोकिन्छे।

अया नासुकोलाई आफ्नो लोग्नेसँग चलिरहेको जटिल सम्बन्धबारे अपडेट दिन्छे। कम्प्युटर भाइरसका कारण इन्फर्मेसन लिक हुँदा अयाले थाहा पाएकी रहिछे उसको लोग्ने आफ्नी पूर्व प्रेमिकासँग पुन: सम्पर्कमा रहेछ।

उनीहरूबीच मीठा मीठा भावनाहरू साटासाट भएका रहेछन्। त्यो परस्त्री उसको लोग्नेका लागि अहिलेसम्म पनि सबैभन्दा खास र महत्त्वपूर्ण रहिछे।

यस्तै, कुराकानी उनीहरूबिच चल्दै गर्दा नासुको भने यो तथ्यलाई स्वीकार गर्नै सक्दिन कि उसले आफ्नो अघि देखिरहेकी मान्छे उसकी पूर्व प्रेमिका होइन! ऊ मिका होइन,यो कुरा नासुकोले स्वीकार गर्नै सकिरहेकी छैन।

तब उनीहरू एउटा खेल खेल्छन्। त्यहाँ रहुन्जेल केही समयलाई भए पनि अया आफूलाई नासुकोकी मिका भएको अभिनय गर्नेछे। त्यो क्रममा नासुको आफ्नो हृदयको कुरा पूर्व प्रेमिका बनिदिएकी अपरिचितसँग खुलेर राखिदिन्छे। उतिबेला भन्न नसकेर लुकाएर राखेका कुराहरू पनि खुलस्त भनिदिन्छे।

उसलाई सजिलो पनि त भएको थियो- मिका रिसाउँछे कि भन्न परेको थिएन। किनभने, मिका बनिदिने त अया न हो। र अया उसका लागि एउटी अपरिचित न हो। जसले प्रतिवाद गर्नु थिएन। खाली प्रतिक्रिया मात्रै त गरिदिनु थियो।

त्यसपछि आतिथ्यताले अर्को एउटा रोचक मोड लिन्छ। नासुकोलाई स्टेसनसम्म छोड्न भनेर जाँदै गर्दा अयालाई पनि आफ्नो स्कुल हुँदाको साथीको याद आउँछ।

ऊ पनि नासुकोलाई देखेर यसै झुक्किएकी त होइन रहिछे। उसको पनि एउटी केटोजस्तै देखिने साथीसँग केही विशेष सम्झनाहरू रहेछन्। स्कुल हुँदा उनीहरू दुवै एकअर्काको लागि पियानो बजाउँदै सँगै खाजा खाने गर्दा रहेछन्। क्लासरुममा नबोले पनि उनीहरू म्युजिक रुममा बोल्दारहेछन्।

नाम सम्झिन नसके पनि अयालाई ऊसँगका अरू सबै पलहरू याद रहेछन्। र अब पालो नासुकोको थियो। ऊ अब अयाको हराएकी पियानिस्ट साथी बनिदिन्छे।

अया र पियानिस्ट केटीले एकअर्कासँग आफ्ना विशेष भावनाहरू साटासाट गर्छन्। दुवै एक-अर्काका लागि कति महत्त्वपूर्ण छन् भन्ने कुरा साटेपछि अया पनि आफूलाई हलुङ्गो महसुस गर्छे। यो खेल पनि सकिएपछि उनीहरू आआफ्नो बाटो लाग्छन्।

तर, केही सेकेन्डभित्रै अया दौडिँदै नासुकोलाई भेट्न आइपुग्छे। त्यस्तो महत्त्वपूर्ण के थियो? हस्याङफस्याङ हुँदै पुगेकी अयालाई नासुकोले सोध्छे।

सासै सासले अया भन्छे- “ठूलो कुरा त केही होइन। तर पनि म यो कुरा तँलाई बाहेक अरूलाई भन्न सक्दिनँ। र मैले यो भन्नैपर्छ।” उसले बस् आफ्नी केटाजस्तो देखिने त्यो पियानिस्ट साथीको नाम सम्झिएकी हुन्छे।

तर, त्यो नाम सम्झिँदाको जुन सुकुन छ त्यसलाई नासुकोले भन्दा राम्रोसँग कसले पो बुझ्न सक्दो हो?

अञ्जान बटुवाहरूबीच पनि कस्तो बन्डिङ! कस्तो सामीप्य! भाइब्स मिल्नु भनेको यस्तै पो हो कि? उनीहरूबीच बहिरहेको त्यो संवेदनाको तरङ्ग, त्यसले बोकेको ऊर्जा। वाह! कति लोभलाग्दो।

के तपाईंले कहिल्यै कुनै अञ्जान बटुवासँग यसरी वा कसैगरी आत्मीय अनुभव गर्नुभएको छ?

स्टोरीटेलिङ:

कतै पुराना मान्छेहरूसँग नयाँ सम्बन्ध निर्माण भएका छन्। कतै नयाँ मान्छेहरू भेटिँदा पुराना सम्बन्धहरू फेरि एकपटक ताजा भएका छन्। यो पृथकताबीच पनि कतै यस्ता उदाङ्गा ढोकाहरू छन् जसले संयोगको माध्यमबाट एउटा समानान्तर संसारमा पात्रलाई पुर्‍याउन सकेको छ।

फरक फरक कथालाई एउटै थिममा बाँध्न सकेको छ। यस हिसाबले हेर्दा फिल्ममा समेटिएका तीनवटा कथालाई एउटै रथका तीनवटा पाङ्ग्रा मान्न सकिन्छ। रथमा तीनवटा पाङ्ग्रा? रथलाई घोडाले होइन सायद साइकलले पो तान्दै थियो कि?

संयोग र काल्पनिकतालाई समेत बहुत सामान्य तरिकाले प्रस्तुत गर्न कोही यी जापानी निर्देशक र्युसुके हामागुचीबाट सिकोस्। तीनवटै भागमा कल्पना र संयोगका माध्यमबाट हामागुचीले ‘इफ एण्ड बट’ का कथा भनेका छन्।

बडो मिनिमलिस्टिक तौरमा खिचिएको यस फिल्ममा फ्रेमिङलाई पनि स्टोरीटेलिङको टुल बनाइएको छ। पात्रहरूको मनोदशाको उथलपुथल अनुसार कतै पात्रहरूलाई छुट्टाछुट्टै या त कतै एउटै फ्रेममा खिचिएको छ।

जस्तो दोस्रो भागमा जब नाओ प्रोफेसर सेगावाको अफिसमा पुग्छे, पहिलो चरणमा ती दुवैलाई अलग अलग फ्रेममा खिचिएको छ। तर, जब उनीहरूबीच एउटा इमोसनल फिक्सन सिर्जना भएको छ, त्यसपछि त्यसको जनाउको लागि पनि उनीहरूलाई एउटै फ्रेममा राखिएको छ।

यस्तै, पहिलो र दोस्रो भागको अन्त्यमा शहरको दृश्य खिचिए पनि अन्तिम भागको अन्तिम दृश्यमा पात्रहरूलाई देखाइरहनु योजित लाग्छ। यस्तो लाग्छ, हामागुची चाहन्छन् ती दुई पात्रहरूको संवेदनालाई दर्शकहरू आफ्नो हृदयभरि लिएर जाउन्।

पुनश्च:

जाँदाजाँदै फिल्ममा जस्तो जम्काभेट जीवनमा नहुनसक्छ। चमत्कार नहुनसक्छ। बरु तपाईँको स्वागतका खातिर ढोका पूर्णतः उदाङ्गो छ नहेर्नुभएको भए हामागुचीका फिल्महरू खोजी खोजी हेर्नुहोस्।

र त्यतिबेला के थाहा, जिन्दगीले फेरि एकपटक तपाईँलाई मौका दिन्छ कि दिँदैन! को जानोस्, कुन कम्प्युटर भाइरसको सङ्क्रमणले भोलि सिनेजगत कोल्याप्स पो भइहाल्ने हो कि?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved