मेयर विष्णुकुमार भाम, हर्क साम्पाङजस्तै काम

'मुगुमा पनि छन् हर्कजस्तै जनप्रतिनिधि, जो श्रम गर्छन् सेवा-सुविधा लिँदैनन्'

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ चर्चामा छन् । तर, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले गरेको श्रमदान पनि कम छैन । तर यसबारे भने प्राय:लाई थाहा छैन । उनी पनि हर्ककै शैलीमा श्रमदान गर्छन् । भामका कामबारे जानौं ।

मेयर विष्णुकुमार भाम, हर्क साम्पाङजस्तै काम

सुर्खेत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्राय: श्रमदान गरिरहेकै भेटिन्छन्, यो सबैलाई थाहा छ । तर, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले गरेको श्रमदान भने प्राय:लाई थाहा छैन । उनी पनि हर्ककै शैलीमा श्रमदान गर्छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा सोही नगरपालिका वडा नं. ४ को वडाध्यक्ष बनेका भाम २०७९ सालको निर्वाचनमा मेयरमै बाजी मारे । वडाध्यक्ष हुँदादेखि नै जनश्रमदानबाट काम गर्न सुरू गरेका उनले ढुङ्गा बोकेरै विद्यालयदेखि धारासम्मका संरचना बनाएका छन् ।

श्रमदानबाटै उनले नगरपालिकाभित्र बसपार्क, चैनाखोला वैकल्पिक नाला र गोरेटो बाटो, खानेपानी धारा, जिल्ला अस्पताल मुगुमा खानेपानी धारा, अल्का साँगु काठे पुल, बोटुधारा चौतारालगायतका संरचना बनाएका छन् । “मैले साना-तिना काम श्रमदानले पनि गर्न सकिन्छ भनेर बजेटको व्यवस्थापन गरिनँ,” मेयर भाम भन्छन्, “टुक्रे योजनामा बजेट हाल्नुभन्दा श्रमदान गरेर नै विकास गर्छु भन्ने सोचेको छु ।”

साना टुक्रे योजना वितरणमुखी बजेट बन्द गरेको र साना योजना श्रमदानबाट प्रत्येक शनिवार काम गर्ने गरेको मेयर भाम बताउँछन् । यद्यपि उनी सञ्चारमाध्यममा खासै आउनै चाहँदैनन् ।

‘मैले पाउने सुविधाबाट एम्बुलेन्स किन्छु, पाहुना बोलाएर खादा ओढाउँदिनँ’

भाम पाहुना बोलाएर खादा-माला लगाउने प्रचलन आफूले हटाएको बताउँछन् । “म आफू पनि कुनै कार्यक्रममा जाँदा खादा-माला लगाउँदिनँ । अरुलाई बोलाएर पनि लगाउने पराम्पराको विकास गर्दिनँ,” उनले भनेका छन् । उनी यो परम्परामा एक प्रकारको चाकडीबाज देख्छन् ।

त्यसो त १ वर्षसम्म उनले नगरबाट कुनै सेवा-सुविधा लिएका छैनन् । अझै थप सेवा-सुविधा नलिने उनी उद्घोष गर्छन् । “नगरबाट अतिरिक्त सेवा-सुविधा लिन्नँ,” उनले भनेका छन् । उनले आफूले मिनिरल वाटरसमेत नखाने प्रण गर्छन् । “अहिले नगरपालिकामा आउने चैन धारोबाट पानी ल्याएर प्यास मेटाइरहेको छु । नागरिकसामु गरेका बचनलाई आत्मसाथ गर्दे सानो रकम मौज्दात रहे गरिब-दुःखीलाई केही राहत पुग्ने हेतुले काम गरिरहेको छु,” उनले भने ।

उनले नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासनलगायतका खर्च लिएका छैनन् । त्यो रकम जम्मा गरेर एम्बुलेन्स किन्ने योजना छ भामको । “५ वर्षसम्म आउने सेवा-सुविधाबाट एम्बुलेन्स किन्ने योजना छ,” उनी सुनाउँछन् ।

‘राजनीति विशुद्ध सेवा हो’

कार्यालयीय समय सकिएपछि भाम आफ्नै करेसाबारीतिर भेटिन्छन् । “कहिलेकाहीँ राजनीतिक भेटघाटका लागि हिँड्नैपर्ने हुन्छ । त्यसबाहेक कार्यालयबाट बचेको समय म आफ्नै बारी/करेसाबारीमा लगाउँछु,” उनले भनेका छन्, “मैले नगरपालिकाको काम सकिएपछि बिहान-बेलुकी बारीमा तरकारी फलाउने गर्छु । बिहान-बेलुका त्यसैले छाक टार्छु ।”

राजनीतिलाई विशुद्ध सेवाको रूपमा अर्थ्याउँछन् मेयर भाम । जनप्रतिनिधिहरूले तलब-भत्ता लिन नहुने मान्यता छ उनको । “वडा सदस्यदेखि राष्ट्रपतिसम्मको सबै जनप्रतिनिधिहरूको सेवा-सुविधा (तलब ) हुनुहुँदैन,” उनको मान्यता छ, “राजनीतिक सेवा हो, पेसा होइन ।”

२०७४ सालको स्थानीय निर्वाचनमा वडा नं. ४ को वडाध्यक्ष बनेका भाम २०७९ मा भएको निर्वाचनमा मेयर बनेका हुन् ।

थप तस्वीरहरू हेर्नुस् :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved