उखरमाउलो गर्मीले आकुलव्याकुल बन्दै तराई-मधेस

उखरमाउलो गर्मीले आकुलव्याकुल बन्दै तराई-मधेस

जनकपुरधाम । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लू (हिट वेभ) चलिरहेको छ। तराई–मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

धेरै गर्मीका कारण खासगरी तराई–मधेशको जनजीवन प्रभावित छ। दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका एक किसान महिला रामपरी यादव  भन्छिन्, ‘खेतीपातीको काम त बिहान–बेलुका गर्छौं, हरेक वर्ष यो साल त साह्रै गर्मी भए जस्तो लाग्छ, तर त्यस्तो होइन होला।’

‘पहिला पो घाम भयो, यसो शीतलमा बसौं भन्दा ठूल्ठूला रूख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु ? बूढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बूढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु। यो घाम त वर्षौंदेखि छाता र सप्कोले छल्दै आएका छौं,’  रामपरीले भनिन्।

मिथिला नगरपालिका ६ ढल्केवरकी आरती कुमारीले भनिन्,’घरबाट निस्किँदा घामबाट जोगिन सनब्लकको प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो। छाताले पनि घाम छेक्दैन। अहिले चर्को घाम छ। एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु हुन्छ! घाम सहनुभन्दा अर्को विकल्प नै के हुन्छ र ?’

महेन्द्रनगरका युवा सोनु मण्डल भन्छन्, ‘जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्छ। गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नुपर्छ। सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो। स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ। अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनुपर्छ।’

 

जनकपुरधाम उपमहानगरपालिकामा अटोरिक्सा चलाउँदै आएका जगदीश पासवानले घरतिर आम्दानीको स्रोत केही नभएपछि यहाँ आएर अटोरिक्शा चलाउने गरेको बताए । ‘आजभोलि त असाध्यै गर्मी छ, बिहान–बेलुका मात्रै अटो चलाउँछु। दिउँसो त कोही बाहिर निस्कँदैन। दिउँसो अटो चलाउन पनि सकिंदैन’ उनले  भने, ‘बिहान–बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ। घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान–बेलुकाको छाक टार्न पनि अटो चलाउनै पर्‍यो ।’

बटेश्वर गाउँपालिका ५ शान्तिपुरका घुरन महतो भन्छन्, ‘एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ। सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु। गर्मीले परिवारका सदस्यका शरीरभरि घमौरा आएका छन्। मेरो पनि अलि अलि घमौरा आएको छ।’

अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ। जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको वर्दिवास ३ की दुर्गा परियार बताउँछिन्।

आफ्नै जग्गाजमिन नभएका कारण विगत १५ वर्षदेखि मजदुरी गर्दै आएकी उनी पछिल्ला वर्षहरूमा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउँछिन् । ‘बढ्दो गर्मीले होला मलाई एकदमै चक्कर आउलाजस्तो हुन्छ। तर यो काम नगरी सुखै छैन। मैले काम गर्नैपर्छ,’ घर निर्माणको काममा खटिएकी उनले भनिन् ।

गर्मी बढ्दै गएको भए पनि उनी र अन्य महिला कामदारहरू काममा व्यस्त छन्। गर्मी याममा दिन पनि लामो हुने भएकाले काम गर्न थप कठिन हुने उनी र उनका साथीहरू बताउँछन्। यसरी गर्मी बढ्दा काम गर्न समस्या भएर बिहानबेलुका छाक टार्न गाह्रो हुन थालेको मजदुरहरू बताउँछन्।

जनकपुरधामका जितेन्द्र महरा रिक्सा चालक हुन् । अहिले गर्मी बढ्दा यात्रु पाउन र चर्को घाममा रिक्सा चलाउन निकै कठिन भएको उनी बताउछन्। ‘अहिले घाम अनि तातो हावाले बिरामी नै पार्लाजस्तो भएको छ। तर पेट पाल्न काम त गर्नुपर्‍यो । मानिसहरू घरभित्रै बस्ने भएकाले आम्दानी पनि छैन’ उनले भने, ‘गर्मीले दुईछाक टार्न कठिन भएको छ तर जसरी पनि काम गरौँ भने यात्रु नै पाइँदैन।’

मानिसहरूको दैनिक जनजीवनमामात्रै नभई अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका कामहरू गर्न जान पनि कठिन भएको सेवाग्राही बताउँछन्। सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ। दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणहरूले बताएका छन्।

जनकपुरधाम कै कामनी चौधरीले कामका लागि बजार निस्कनु परे बिहान र बेलुका कै समय पर्खिनुपर्ने बताउँछिन्। ‘दिउँसो घर बाहिर निस्कँदा सिधै आगोले पोलेजस्तो हुन्छ। घरभित्र पनि भोल्टेज कम भएर होला, पंखाले राम्ररी हावा पनि दिँदैन।’

१० दिनदेखि गर्मी बढेपछि जनजीवन प्रभावित हुनुका साथै मधेश क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएका छन्। गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने स्थिति देखिएको भन्दै विद्यालय बन्द गरिएका हुन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अत्यधिक गर्मी भएकाले पालिकाहरूसँग समन्वय गरेर विद्यालयमा बिदा दिइएको बताए । ‘गर्मीबाट जोगिन सबैसँग आग्रह गरिएको छ’  दाहालले भने, ‘सरकारी निकायबाट थप के गर्न सकिन्छ भनेर छलफलमै छौं ।’

गर्मी बढिरहेकै बेला विद्युत् पनि छिनछिनमै आउने–जाने गरेकाले जनजीवन झन् कष्टकर बनेको छ । विद्युत् प्राधिकरण जनकपुर शाखाका अनुसार गर्मीमा विद्युतीय उपकरणको प्रयोग बढेकाले विद्युतलाई स्थिर राख्न सकिएको छैन । जनकपुर-९ का विमल मण्डलले प्राधिकरणले जानीजानी विद्युत् सेवा अवरुद्ध गरेर सर्वसाधारणलाई दुःख दिइरहको आरोप लगाए । ‘गर्मीले सीमा नाघिसकेको छ । भोल्टेज नहुँदा पंखा घिस्रीघिस्री घुम्छ,’ मण्डलले भने, ‘आपत्का बेला बिजुली सेवा सुचारु हुनुपर्थ्यो ।’

मौसम विज्ञान विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ। तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोश हुने, बान्ता हुने लगायत जोखिम निम्तन सक्ने विभागले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भैरहवादेखि पूर्व सप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका ८ वटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसोभरि सडक, बजार र सरकारी अड्डा सुनसान बनेको छ ।

मनसुनी वर्षा शुरू नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ। सामान्तया नेपालमा मनसुन ८ जुनमा शुरु हुन्छ। तर यसपटक मनसुन सुरु हुन सकेको छैन।

मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानेको छ । गत वर्ष एक साताअघि नेपालमा मनसुन भित्रिएको थियो । यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको मौसमविद् झा बताउँछन् ।  अहिलेको प्रणाली हेर्दा मनसुनी वर्षा सुरु हुन्छ भन्ने अवस्था नरहेको उनले बताए  ।

झाले भने, ‘अरू बेला भारतको केरेलामा जुन १ मा मनसुन सुरु भइसक्थ्यो । त्यहाँ अझै प्रणाली विकसित भइसकेको छैन । त्यसैले समयमा नै मनसुनी वर्षा हुने सम्भावना न्यून छ ।’

अहिले जेठ महिना सकिन लाग्यो उखरमाउलो गर्मी छ । गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्ने डा. नितेश मण्डलले बताए ।

डा. मण्डल भन्छन्,’गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो ।’

प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले गर्मीबाट जोगिन पर्याप्त पानी पिउनुपर्ने सुझाव दिए । ‘हावा चलेकाले लु रोकिएको हो’ उनले भने, ‘४० डिग्रीभन्दा माथिको तापक्रममा हावा तेज भए, लुको खतरा हुन्छ । त्यसपछि त बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्छ ।’

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अवकास प्राप्त निर्देशक विजय झाका अनुसार पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभई प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ ।

चिकित्सकहरुका अनुसार कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved