एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

नेपालभ्युज

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्‍याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।

इन्जिनियरिङ क्षेत्रमा करियर सुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रूपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढी प्राविधिक कर्मचारीहरूको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रूपमा कार्यरत छिन् ।

असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुँदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।

एनसेलमा कार्यरत रही उनले टुजी, थ्रिजी, फोरजीको व्यापक विस्तार लगायत विभिन्न महत्त्वपूर्ण काम गरेकी छिन् । कंसाकारले ग्रामीण क्षेत्रमा दूरसञ्चारको पहुँच, भीओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौँ प्रोजेक्टहरूको लागि नेतृत्व लिएर कार्य गरेकी छिन् ।

काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, जर्मनीबाट इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर र पोखरा विश्व विद्यालयबाट इएमबिए अध्ययन गरेकी कंसाकारले आफ्नो पेशा र क्षेत्रमा लगनशील रही एनसेललाई देशको एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा स्थापित गराउन अतुलनीय योगदान दिएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved