के फेरि वाम-गठबन्धनको सम्भावना छ ?

एमाले र माओवादी केन्द्रबीचको गठबन्धनको औचित्य अझै नसकिएको दोस्रो तहका नेताहरूले बताउने गरेका छन् । २०७४ सालमा बनेको वाम गठबन्धन दुई अध्यक्ष ओली–प्रचण्डकै इगोका कारण भताभुङ्ग भएको थियो ।

के फेरि वाम-गठबन्धनको सम्भावना छ ?

काठमाडौं । संघीय निर्वाचनको चुनावी परिणाम आउने क्रम जारी छ । बढीजसो निर्वाचन क्षेत्रका परिणाम आइसकेका छन् । एक हिसाबले भन्ने हो भने दलहरूले आ–आफ्नो राजनीतिक हैसियत र भविष्य देखिसकेका छन् ।

यससँगै दलहरू सरकार गठनको कसरतमा समेत जुटिसकेका छन् । बिहीबार (हिजो) साँझमात्रै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर ‘सकिन्छ भने मिलेर अगाडि बढौँ’ भन्ने प्रस्ताव गरिसकेको खबर बाहिरिएको छ ।

बधाई दिने बहानामा फोन गरेका ओलीले पुनः वाम गठबन्धनको सन्दर्भ जोडेको माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले पुष्टि गरे । ‘ओली कमरेडले अध्यक्ष कमरेडलाई फोन गर्नुभयो र बधाईसँगै सकिन्छ भने पुनः वाम गठबन्धनमार्फत अगाडि बढौँ भन्ने संकेत गर्नुभयो ।’

एमाले र माओवादी केन्द्रबीचको गठबन्धनको औचित्य अझै नसकिएको दोस्रो तहका नेताहरूले बताउने गरेका छन् । २०७४ सालमा बनेको वाम गठबन्धन दुई अध्यक्ष ओली–प्रचण्डकै इगोका कारण भताभुङ्ग भएको थियो । एमाले–माओवादी केन्द्रका दोस्रो तहका कतिपय नेताले पुनः वाम गठबन्धनको विकल्प नभएको बताउँछन् । एमाले महासचिव शंकर पोखरेल भन्छन्, ‘वाम गठबन्धन फुट्न हुँदैन थियो । गठबन्धन फुटाउनु गल्ती थियो ।’

माओवादी केन्द्रका महासविच देवप्रसाद गुरुङको भनाइ पनि पोखरेलकोसँग मिल्दोजुल्दो छ । ‘नफुटाउने नै भनेर हामीले गठबन्धन गरेका हौँ । तर, बचाउन सकेनौँ ।’ एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईसँगै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, सचिव लीलामणि पोखरेलहरुको भनाइ पनि उही छ, ‘वाम गठबन्धनको उपादेयता सकिएको छैन । पुनः प्रयास गरौँ ।’

उसो त माओवादी केन्द्रका लागि यसपटकको चुनावी परिणाम सन्तोषजनक छैन । एक हिसाबले भन्ने हो भने माओवादी केन्द्रको एमालेसँगको गठबन्धन स्वीकारेका जनताले कांग्रेससँगको गठबन्धन अस्वीकार गरेका छन् ।

वाम विश्लेषक झलक सुवेदीको बुझाइ पनि यस्तै छ । उनी भन्छन्, ‘सबै दलका सबै गठबन्धन जनताले स्वीकार्दैनन् । एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेका थिए । यसपटक माओवादी केन्द्र–कांग्रेसबीचको गठबन्धनलाई जनताले स्वीकारेनन् ।’ समग्रमा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन ‘प्रत्यूत्पादक’ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

यसपटकको गठबन्धनबाट आफूले केही नपाएको बुझाइ माओवादी केन्द्रको छ । माओवादी केन्द्रका एक नेताले भने, ‘यसपटकको गठबन्धनबाट माओवादी केन्द्रले केही पाएन । गठबन्धनको फाइदा कांग्रेसलाई भयो ।’ ती नेता माओवादी केन्द्रको मत कांग्रेसमा सजिलै ‘ट्रान्सफर’ भएपनि कांग्रेसको मत माओवादी केन्द्रमा नभएको विश्लेषण गर्छन् । ‘कांग्रेसले माओवादी केन्द्रलाई मत दिए । अहिलेको चुनावी परिणामले यही देखाउँछ ।’

तर माओवादी अहिले नै यो गठबन्धन तोड्ने अवस्थामा भने पुगेको छैन । महासचिव देवप्रसाद गुरुङ भन्छन्, ‘यही गठबन्धनबाटै अगाडि बढ्ने कि नबढ्ने भन्नेबारे पार्टीमा निर्णय होला । अहिल्यै केही भन्न सकिँदैन ।’

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने वर्तमान गठबन्धनलाई नै अगाडि बढाउन चाहन्छन् । त्यसैकारण उनी हदैसम्मको लचिलो बनिरहेका छन् । ओली–प्रचण्डबीच भएको फोन संवादलाई पनि उनले बधाई आदानप्रदानको रूपमा मात्रै लिएका छन् । देउवालाई उदृत गर्दै उनका स्वकीय सचिव भानू देउवाले भने, ‘त्यो बधाई तथा शुभकामना आदनप्रदान मात्रै हो ।’

फेरिएला समीकरण ?

माओवादी केन्द्रका नेता चुनावसँगै आफूहरूले भन्ने गरेको प्रतिगमन सच्चिएको बताउन थालेका छन् । सचिव लीलामणि पोखरेल भन्छन्, ‘उहाँ (ओली) ले चुनाव अगाडि नै तोक्नुभएको थियो । त्यसलाई सच्याएर हामीले संविधानअनुसार तोकिएको आवधिक समयमा निर्वाचन गरायौँ र ५ वर्षमा चुनाव भयो । योसँगै प्रतिगमन सच्चियो भन्ने हाम्रो बुझाइ छ ।’

महासचिव देवप्रसाद गुरुङ पनि राजनीति नयाँ शिराबाट अगाडि बढ्ने आकलन गर्छन् । ‘राजनीति हो । यही हुन्छ, त्यही रहन्छ भन्ने कहिल्यै हुँदैन । राजनीति नयाँ शिराबाट अगाडि बढ्न सक्छ,’ उनले भने ।

केही दिनअगाडि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि नयाँ राजनीतिक समीकरण बन्ने बताएका थिए । माओवादी केन्द्र–कांग्रेसबीचको समीकरण संविधान र मान्यविपरीत भएको भन्दै उनले गठबन्धन फट्नुपर्ने बताएका थिए ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि यही भन्छन् । ‘यो गठबन्धन भत्किनुपर्छ भनेर हामीले भन्दै आएका छौँ । सम्भवतः अब भत्किन्छ पनि । त्यसपछि नयाँ समीकरण बन्छ,’ नेम्वाङले नेपालभ्यूजसँग भने ।

राजनीतिक विश्लेषक डा. केपी शर्मा पनि यो सम्भावना देख्छन् । ‘यसको सम्भावना छैन भन्न सकिँदैन । अवस्था त यही देखिन्छ,’ उनले भने । माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गर्नुको पछाडि एमालेलाई ‘साइज’मा ल्याउने प्रचण्डको योजना भएको उनी ठान्छन् । ‘उहाँ (प्रचण्ड) ले ओलीलाई साइजमा ल्याउने र उहीसँग गठबन्धन गरेर नेतृत्व गर्न चाहन्थे । तर प्रचण्ड दोस्रो पार्टी बनेनन् । अब यसबाट फरकखाले राजनीतिक कोर्ष बढ्ला,’ शर्माले भने ।

हुनु त प्रचण्डले माओवादी नेपालको पहिलो वामपन्थी शक्ति बन्ने दाबी गर्दै आएका थिए । तर, उनको त्यो सपना पूरा भएन । पहिलो वामपन्थी शक्ति एमाले नै भयो । अब आफू प्रधानमन्त्री बन्ने शर्तमा प्रचण्डले एमालेसँग पनि गठबन्धन गर्न सक्ने आकलन भइरहेका छन् ।

तर यो सहज भने देखिदैन । किनकी एमाले, माओवादी र एकीकृत समाजवादी मिल्दा पनि सरकार बनाउन बहुमत भने पुग्दैन । बहुमत पुर्‍याउन अहिलेकै सत्ता गठबन्धनलाई सहज देखिन्छ । माओवादी तयार हुँदैमा एकीकृत समाजवादी नयाँ गठबन्धनका लागि तयार हुन्छ भन्ने पनि छैन । त्यसैले कुनै नेता विशेषले चाहँदैमा वाम गठबन्धन बनिहाल्ने सम्भावना तत्कालका लागि देखिदैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved