कमल थापामा मुसा प्रवृति हटेन : अध्यक्ष राप्रपा नेपालको, उम्मेदवार एमालेको

पाँच पटक हराउने एमालेले नै दिँदैछ साथ

नेपालभ्युज

कमल थापामा मुसा प्रवृति हटेन : अध्यक्ष राप्रपा नेपालको, उम्मेदवार एमालेको

काठमाडौं। नेपाली राजनीतिमा सधैं चर्चित नाम हो कमल थापा। पञ्चायतकालदेखिका चर्चित नेता थापाको बहुदल कालमा पनि चर्चा कायमै रह्यो। ‘मण्डले’देखि ‘मुसा’सम्मका अनेक शब्दावलीले उनी निशाना बने तर पञ्चायतदेखि लोकतन्त्र कालसम्म उनी सधैं चर्चित भइरहे।

दुई सय वर्षभन्दा पुरानो राजसंस्था फाल्नका लागि ०६२/६३ मा भएको दोस्रो जनआन्दोलन दबाउन प्रमुख भूमिकामा रहेका (त्यो बेलाका गृहमन्त्री) थापा गणतन्त्रकालमा पनि दलहरूका त्यति नै प्यारा बनिरहे।

बहुदलकालका मन्त्री थापा, दोस्रो जनआन्दोलनताका गृहमन्त्री थिए। त्यतिबेला उनी आन्दोलनकारीको तीव्र आक्रोशको केन्द्रमा थिए। तर, गणतान्त्रिक सरकारमा पनि उनलाई सत्ता सहयात्री बनाउन दलहरू पछि परेनन्।

सधैं चर्चामा रहने थापाको संसदीय प्रतिस्पर्धा भने खासै सुखद छैन। २०४८ देखिका सबै निर्वाचनमा उनी उम्मेदवार बने। उनले अधिकांश निर्वाचनमा हार बेहोरेका छन्। दुईटा निर्वाचनमा भने उनी दुई निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए। यी निर्वाचनमा उनी पाँच पटक एमाले उम्मेदवारसँग पराजित भएका छन्। तर, यसपटक भने उनलाई एमाले नै काँध थापेको छ।

थापा एमालेकै चुनाव चिह्न सूर्यबाट मकवानपुर-१ बाट उम्मेदवार बनेका छन्। एमालेले सुरुमा मकवानपुर- १ का लागि मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णय लत्याउँदै राप्रपा नेपालका अध्यक्ष थापालाई सूर्य चिह्नमा प्रतिस्पर्धामा उत्रिन दिने गरी सहमति गरे।

२०६३ देखि नै राजतन्त्र र हिन्दू राज्यलाई आफ्नो मूल मुद्दा बनाउँदै हिँडेका थापाको पछिल्लो समय राजतन्त्र पुनःस्थापना अजेन्डामा छैन। एमालेले पार्टीको घोषित सिद्धान्तसँग मेल नखाने थापा जस्ता व्यक्तिलाई आफ्नै पार्टीबाट उम्मेदवार बनाएको भन्दै पार्टीभित्रै असन्तुष्टि छ।

डा. भीम रावल र घनश्याम भुसाललाई टिकट नदिइएको र थापालाई दिइएको भन्दै एमालेप्रति आफ्नै कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत् व्यंग्य र विरोध गरिरहेका छन्। थापालाई टिकट दिइएकोमा असन्तुष्ट बनेका मकवानपुरका एमालेका कार्यकर्ताले आइतबार पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। उनीहरुले हेटौँडा सानोपोखरामा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

थापाको प्रमुख प्रतिस्पर्धी नै एमाले

थापा २०४८ देखि चुनाव लडिरहेका छन्। मकवानपुर-१ मा थापाको मुख्य प्रतिस्पर्धा नै एमालेसँग भएको पाइन्छ। २०४८ मा उनी मकवानपुर- १ बाट प्रतिस्पर्धी बनेका थिए। एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले उनलाई करिब पाँच हजार मतान्तरले पराजित गरे। दाहालले १४ हजार १४८ मत पाएका थिए भने राप्रपा (थापा)का उम्मेदवार थापाले ९ हजार ८२५ मत मात्रै पाए।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा थापाले नयाँ जुक्ति लगाए। सो निर्वाचनमा उनी मकवानपुर- १ र मकवानपुर- २ गरी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार भए। १ बाट विजयी भए, २ मा पराजित भए। १ मा उनले २०४८ का विजेता दाहालसँग बदला लिन सफल भएका थिए।

मकवानपुर- १ मा राप्रपा उम्मेदवारको रुपमा थापाले १६ हजार ७५३ मत पाए। एमालेका कृष्णप्रसाद दाहालले १५ हजार ८२ मत पाए। सोही निर्वाचनमा मकवानपुर- २ मा भने थापा एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भए। खतिवडाले १६ हजार १५४ पाउँदा राप्रपाका उम्मेदवार थापाले ११ हजार ८७८ मत मात्रै पाए।

२०५६ को निर्वाचनमा पनि थापाले २०५१ कै रणनीति अपनाए। मकवानपुरकै दुई क्षेत्रबाट उम्मेदवार बनेका थापा दुवैमा पराजित भए। मकवानपुर- १ मा थापा पुरानै प्रतिस्पर्धी एमाले कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए। दाहालले २० हजार ४४२ मत पाउँदा राप्रपाका थापाले १५ हजार ९८५ मत पाएका थिए।

त्यस्तै, मकवानपुर- ३ मा पनि थापा एमाले उम्मेदवारसँगै पराजित भए। एमाले उम्मेदवार वीरबहादुर लामाले १४ हजार ४७४ मत पाउँदा राप्रपाका थापाले १२ हजार २९३ मत मात्रै पाए। २०६४ मा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा थापा मकवानपुर- ३ बाट प्रतिस्पर्धामा उत्रिए। तर, चौथो हुन पुगे। सो क्षेत्रमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार प्रह्लाद लामिछाने विजय भए। माओवादीका लामिछानेले १८ हजार ५१४, एमालेका अनन्त प्रसाद पौडेलले १३ हजार १६३, कांग्रेसका रामचन्द्र अर्यालले ७ हजार ६९९ र राप्रपा नेपालका थापाले ३ हजार ८५३ मत पाए।

२०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचन भने समानुपातिकतर्फबाट सभासद बनेका थिए। २०७४ मा थापा मकवानपुर- १ बाटै प्रतिस्पर्धामा उत्रिए। थापाका लागि प्रतिस्पर्धी थिए, परिचित कृष्णप्रसाद दाहाल। दाहाल नै विजयी भए। वाम गठबन्धनका साझा उम्मेदवार उनले ४० हजार ६३१ मत सहित जित निकालेका थिए। कांग्रेसको समर्थन पाएका राप्रपाका थापाले ३४ हजार ६५८ मत पाए।

अध्यक्ष राप्रपा नेपालको, उम्मेदवार एमालेको

गत वर्षको महाधिवेशनमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि आफ्नो हारमा निर्मल निवासलाई दोष दिँदै राप्रपा परित्याग गरेका थापाले पुरानै ‘राप्रपा नेपाल’लाई पुनर्गठन गरे। आगामी निर्वाचनका लागि ‘राप्रपा नेपाल’ ले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको छ। तर थापा आफै अध्यक्ष रहेको पार्टीलाई ‘धोका’ दिएर एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका छन्।

तीर चुनाव चिन्ह लिनेगरी देशैभरि उम्मेदवारी परेको छ। उम्मेदवारी दिने पार्टीका अन्य नेता-कार्यकर्ताले पार्टीको आधिकारिक चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दा अध्यक्ष थापाले भने सूर्य बाट प्रतिस्पर्धा गर्ने भएका छन्। सूर्य चिन्हबाट चुनाव लडेपछि थापा अब राप्रपा नेपालको अध्यक्ष नरहेर एमालेकै उम्मेदवार बनेका छन्।

थापाले पेस गरेको उम्मेदवारीको मनोनयन पत्रमा पनि आफू एमाले उम्मेदवार रहेको उल्लेख गरेका छन्। अध्यक्ष नै एमालेको उम्मेदवार बनेर चुनाव लडेपछि पार्टीका अरु उम्मेदवारलाई भोट माग्नै अफ्ठेरो भएको एक उम्मेदवारले बताए।

प्रत्यक्षतर्फ एमाले उम्मेदवार रहेकाले थापालाई मकवानपुर-१ मा समानुपातिकतर्फ ‘राप्रपा नेपाल’ को ‘तीर’ को पक्षमा मत माग्ने नैतिक हैसियत पनि नरहेको ती उम्मेदवारले सुनाए। ‘प्रत्यक्ष उम्मेदवार चाहिँ एमालेको बन्ने, समानुपातिकतर्फ चाहिँ राप्रपा नेपाललाई मत माग्न मिल्छ र?’ ती नेताले प्रश्न गरे, ‘एमाले उम्मेदवार बनेर राप्रपा नेपालको पक्ष (समानुपातिकतर्फ) मा मत माग्नुभयो भने एमालेका मतदाताले उहाँलाई मत देलान्?’

‘धोका’ दिन माहिर थापा यस पटक आफैले जन्माएको पार्टीलाई नै धोका दिन पछि परेनन्। आगामी मंसिर ४ मा हुने निर्वाचनमा मकवानपुर- १ मा थापाको मुख्य प्रतिस्पर्धा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनासँग हुने आकलन गरिएको छ। डिना सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। उनी मकवानपुरमा २०४८ सालदेखि प्रतिस्पर्धा गर्दै आएकी छिन्। अर्कोतर्फ, थापाकै कुनै बेलाका सहयात्री तथा राप्रपाका नेता दीपकबहादुर सिंह पनि यस क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन्।

के हो ‘मुसा प्रवृति’ ?

दोस्रो प्रतिनिधि सभाकाल (२०५१-२०५५) मा आफू नेतृत्वको सरकारविरुद्ध आएको अविश्वास प्रस्तावको जवाफ दिने क्रममा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाका केही नेताहरूलाई ‘मुसा’को संज्ञा दिएका थिए।

एमाले समर्थित आफू नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसको जवाफ दिने क्रममा चन्दले संसदमा भनेका थिए,’जहाज डुब्न लाग्यो भने सबैभन्दा पहिले मुसाहरू आफ्नो ज्यान जोगाउन समुद्रमा हाम्फाल्छन्। राप्रपामा पनि यस्ता केही मुसा छन्, जो सरकार अप्ठेरोमा परेको बुझेपछि अर्को जहाज चढ्न समुद्रमा हाम्फालिसकेका छन्।’

त्यो बेला चन्द नेतृत्वको सरकारमा कमल थापा पनि मन्त्री थिए। थापाले कांग्रेसको साथ पाएका सूर्यबहादुर थापालाई सहयोग गर्न थालेपछि चन्दले यस्तो अभिव्यक्ति दिएका थिए।

आइतबार उम्मेदवारी दर्तापछि थापाले जित सुनिश्चितताका लागि एमालेको सूर्य चिन्ह लिएको प्रतिक्रिया दिए। यसको अर्थ हो, अवसरका लागि राजनीतिक नैतिकताको हद पार गर्न तयार हुने उनको स्वभाव झन वृद्धि भएको रहेछ।

सम्बन्धित समाचार

राजसंस्था राप्रपा नेपालको एजेन्डा होइन : कमल थापा

नेपाललाई एक दिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छाड्छौँ : कमल थापा

अब राजतन्त्रको औचित्य समाप्त भइसकेको छ : कमल थापा (भिडिओ)

पछिल्ला पाँच वर्षयता बाटो बिराएँ : कमल थापा (भिडिओ)

कमल थापाले ‘सूर्य’ रोजेपछि भीम रावलको व्यंग्यः ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त?

कमल थापाले कार्यकर्तालाई भने, ‘सूर्य चिन्ह लिएर एमालेसँग तालमेल गर्नुस्’

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved