मकवानपुर-१ : कमल थापालाई कांग्रेसकी डीना र पूर्व सहकर्मी दीपकको चुनौती

सम्भवत: आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव लड्दै गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई यसपटक पूर्वसहकर्मी राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह र नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना मुख्य चुनौती हुनेछन् । यो क्षेत्रबाट यी तीनजना नै उम्मेदवार हुने लगभग निश्चित देखिएको छ । 

मकवानपुर-१ : कमल थापालाई कांग्रेसकी डीना र पूर्व सहकर्मी दीपकको चुनौती

हेटौंडा । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणा भएसँगै मकवानपुरमा सम्भावित उम्मेदवार लगभग छिनोफानो भएको छ । सिफारिस हेर्दा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को चुनावी भिडन्त रोचक हुने देखिएको छ ।

सम्भवत आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव लड्दै गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई यसपटक राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह र नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय डीना मुख्य चुनौती हुनेछन् । यो क्षेत्रबाट यी तीनजना नै उम्मेदवार हुने लगभग निश्चित देखिएको छ ।

कमल थापाको हारको इतिहास र नयाँ दौडाहा 

राप्रपा नेपालबाट क्षेत्र नम्बर १ मा एकल सिफारिस भएका कमल थापाले सार्वजनिक कार्यक्रममै आउँदो चुनाव आफ्नो अन्तिम भएको बताइसकेका छन् । उनलाई चुनावमा गठबन्धनबाहेक चार दशक भन्दा बढी समय एक अर्काको सहयोगी र सारथी बनेका राप्रपाका दीपकबहादुर सिंह पनि प्रतिस्पर्धी हुनेछन् ।

राप्रपा नेपाल गठन गरेसँगै थापा र सिंहको धार अलग भएको हो । सिंहले लिङ्देनलाई साथ दिँदै लामो समयको थापासँगको साथलाई तोडेका थिए । थापालाई पार्टी परिवर्तनको समेत असर समेत पर्ने देखिन्छ । त्यसैले, उनी पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रको गाउँ दौडाहामा निस्किएका छन् । हेटौँडा आएर उनले आफ्ना पुराना कार्यकर्ता, शुभचिन्तकसँग भेटघाट तीव्र बनाएका छन् ।

आफ्नै भाई तथा पूर्वसांसद गणेश थापाको टोली बनाएर अवस्थाको जानकारी लिन गाउँसम्म खटाइरहेका छन् । बिहीबार एमालेको चियापानमा समेत थापा सहभागी भए । यसलाई पनि चुनावी रणनीतिकै रूपमा हेरिएको छ । यो क्षेत्रमा उनले एमालेबाट साथ पाउने आश गरेका छन् ।

२०५१ देखि हालसम्म ९ पटक मन्त्री बनिसकेका थापाले सत्ता र शक्तिको मोह अझै त्याग्न सकेका छैनन् । तर, जहिल्यै शक्तिमा बस्न रुचाइरहने थापाले आफ्नै गृहजिल्लामा पाँचपटक उठ्दा चारपटक भने हार व्यहोर्नुपरेको छ । प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा थापा उनी मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग करिब ५ हजार मतान्तरले हारेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा भने थापा जित हात पार्न सफल भए । २०५६ को आम निर्वाचनमा थापालाई फेरि दाहालले करिब ५ हजार मतान्तरले नै हराए । २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (जुन पछि क्षेत्र नम्बर २ मा गाभिएको थियो) बाट उम्मेदवार बनेका थापा तेस्रो भए ।

निर्वाचन क्षेत्र फेरेर मकवानपुर–२ बाट उठ्दा उनी तत्कालीन एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भए । राप्रपा अध्यक्ष भएकै बेला कांग्रेसको साथमा २०७४ मा प्रतिनिधिसभा निर्वाचन लडेका थापा पुनः एमालेका दाहालसँग नै हारेका थिए । थापा अहिले आफ्नो अन्तिम निर्वाचन भन्दै मतदातालाई भेटिइरहेका छन् ।

ओली-थापा सहकार्य 

थापा यसपटक एमालेसँग सहकार्य गरेर जाने योजनामा छन् । केही दिन अघि काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि हेटौँडा झरेका थापाले ओलीबाट ‘ग्रिन सिग्नल’ पाएको ठानिएको छ । त्यसैले उनले एमालेको प्रशंसा गर्न थालेका छन् । उनका पछिल्लो समयका भाषण र सामाजिक सञ्जालमा आएका विचारले समेत त्यसलाई नै पुष्टि गर्छन् ।

राप्रपा नेपालका एकजना जिल्ला नेता भन्छन् ‘लिङ्देनसँग ओलीको सहकार्य झापामा मात्र हुने कुरा छ, यो पटक मकवानपुरमा थापासँग नै सहकार्य गर्ने बचन ओलीले दिनुभएको बुझेको छु ।’ ति नेताले अहिले नाम सार्वजनिक नगर्न आग्रह गर्दै भने ‘बाहिर जेसुकै हल्ला भए पनि अन्तिममा ओलीको साथ थापालाई नै हुने निश्चित छ ।’

डिनालाई हार्ने छुट छैन’ 

नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएकी डीनालाई महिला संघले २२ र २३ भदौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘टिकट लैजानुस् तर, हारेर नआउनुस्, अब पनि हारेर आउनुभयो भने आफ्नो मुख पनि नदेखाउनुस् ।’

देउवाको यो भनाइबाट पनि डिना उम्मेदवार बन्ने पक्कापक्की देखिन्छ । तर, उनलाई हार्ने छुट नभएको स्वयं सभापतिले नै भनेका छन् । यसअघि, एउटै निर्वाचन क्षेत्रबाट पटक–पटक हारेकी डिनाले आगामी निर्वाचनका लागि क्षेत्र परिवर्तन गरेकी छन् ।

उनको निर्वाचन क्षेत्र मकवानपुर–२ मा गठबन्धनकै विरोध खतिवडालाई छोडेर डिनाले १ नम्बरमा दाउ लगाएकी हुन् ।

हारैहारको विगत

मकवानपुरमा डिनाले कम्युनिष्ट नेता विरोध खतिवडासँगै तीनपटक प्रत्यक्ष निर्वाचन हारेकी छन् । स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्व सभापति डिनाले विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन् । जलस्रोत राज्यमन्त्रीसमेत भइसकेकी उनी २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट खतिवडासँग हारिन् ।

२०५१ सालको मध्यावधि निर्वाचनमा पनि डीनाले फेरि खतिवडासँगै हार व्यहोरिन् । २०५६ मा भएको आमनिर्वाचनमा उनले उम्मेदवारी दिइनन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डिना पुनः उम्मेदवार बनिन् ।

तर, खतिवडा नै यो पटक पनि उनका लागि बाधक बने । प्रत्यक्ष चुनाव नजितेकी उनी २०६४ को निर्वाचनमा समानुपातिक कोटाबाट संसद प्रवेश गरेकी थिइन् ।

कहिल्यै नजितेका दीपक

मेयरमा हारेपछि सांसद बन्न रहर गरेका व्यक्ति हुन् राप्रपाका दीपक सिंह । हालसम्म लडेका सबै निर्वाचन हारेका सिंहलाई पनि योपटक जित्नै पर्ने दबाब छ । पटक–पटक निर्वाचन हारेका उनले यसपटक जसरी पनि जित्ने गरी लागेको दाबी गरेका छन् ।

विगतका निर्वाचनमा राप्रपाबाट राजनीति गर्दै आएका उनलाई कम्युनिस्टको गढ मकवानपुरमा राजनीतिक सफलता हासिल गर्न मुस्किल पर्‍यो । सिंहको पनि थापा र डिनाको जस्तै राजनीतिक कथा छ । उनलाई हालसम्म उठेका सबै निर्वाचनमा हार मात्रै हात लागेको छ ।

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष बनेका दीपक अनवरत रूपमा राजनीतिक यात्रामा छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार बनेका उनी एमालेका प्रत्यासी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित भए ।

त्यस्तै, २०५६ सालको संविधान सभा निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए । २०७० सालको निर्वाचनमा पनि उनी नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका पराजित हुन परेको थियो ।

त्यस्तै, २०६३ र ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ सूचीमा भए पनि सांसद बन्न पाएनन् । गत स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरको मेयरमा उम्मेदवारी दिएका सिंहले अप्रत्याशित मत ल्याए । तर, जित निकाल्न भने सकेनन् ।

स्थानीय तह निर्वाचनमा सिंहले हैटौंडा उपमहानगरमा २० हजार मत ल्याएका थिए  । एमाले र राप्रपाबीच देशभर तालमेल गर्ने सहमति भए मात्रै सिंहलाई केही राहत मिल्ने छ । नत्र योपटक पनि उनलाई पराजय नै हात पर्ने सम्भावना छ ।

यो क्षेत्रमा नेकपा एमालेको उम्मेदवारबारे भने अहिलेसम्म खासै चर्चा छैन । एमालेले राप्रपा वा राप्रपा नेपालसँग तालमेल गर्ने सम्भावना बढेपछि उक्त पार्टीका नेता कार्यकर्ता खासै उत्साहित देखिँदैनन् । त्यसैले डीना, कमल र दीपकबीच घमासान हुने सम्भावना छ । अहिलेसम्मको अवस्था र गठबन्धन हेर्दा डिनालाई चुनावमा केही सहज हुने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved