स्मृति शेष

अस्ताए स्याक्सोफोनका पर्याय

स्याक्सोफोन बजाउँदा उनी यति तन्मयतापूर्वक बजाउँथे, ‘भरे आउँछु सपनीमा पर्खी बसे है…’ मा उनी यति खुलेर आएका छन्, यस्तो समर्पणभाव कमै सङ्गीत साधकमा मात्र देख्न सकिन्छन्।

नेपालभ्युज

अस्ताए स्याक्सोफोनका पर्याय

स्याक्सोफोनको मोहक ध्वनिले मोहित नहुने को होलान् र ? अझ त्यसको अतल गहिराइ छाम्ने हो भने संगीतको वृहत् क्षितिज बुझ्न कुनै कसरत गरिरहनु नै पर्दैन।

नेपाली साङ्गीतिक जगत्मा स्याक्सोफोनबाट हजारौँका मन–मस्तिष्कमा घुस्न र भिज्न सफल एउटा नाम थियो– शुभबहादुर सुनाम। उनले स्याक्सोफोन बजाउन थालेपछि रातको बेला कुनै निर्जन मरुभूमिमा पोखिएजस्तै सन्नाटा छाउँथ्यो। पाँच दशकभन्दा लामो समयदेखि उनले स्याक्सोफोनलाई नै आफ्नो सङ्गीत सिर्जनाको आधार बनाए।

बितेको सोमबार (२०७९ असोज ३) बिहानीपख स्याक्सोफोनलाई अलपत्र छाडेर सदाका निम्ति तमाम सङ्गीत–पारखीहरूलाई ‘अलबिदा’ गरे, उनले। अस्ताए नेपाली स्याक्सोफोनका पर्यायजस्तै भइसकेका सुनाम। नेपाली सेनाको उच्च पद (सहायक रथी) मा पुगेर अवकाश पाएका सुनामले नेपाली सङ्गीत संसारमा स्याक्सोफोनलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए।

जसरी, भारतीय उस्ताद बिस्मिल्ला खाँ, पण्डित अनन्त लाल, पण्डित दयाशंकरले सहनाईलाई भारतीय सङ्गीत जगत्मा स्थापित तुल्याउन भगीरथ प्रयत्न गरेका थिए र अन्ततः स्थापित भयो पनि। सुनामले पनि स्याक्सोफोनलाई त्यसरी नै स्थापित गराए, नेपाली सङ्गीत जगत्मा। बाँचिरहेको पुस्ताले मात्र होइन, आगामी पुस्ताले पनि उनको यो योगदानलाई बिर्सने छैन।

स्याक्सोफोन वादनको आयामलाई फैलाउन सुनामले गरेका प्रयत्नलाई नेपाली सङ्गीत क्षेत्रले सदासर्वदा स्मरण गर्नेमा कुनै सन्देह देखिँदैन। उनले स्याक्सोफोनको धुनलाई कर्णप्रिय बनाए। स्याक्सोफोन बजाउँदा उनी यति तन्मयतापूर्वक बजाउँथे, ‘भरे आउँछु सपनीमा पर्खी बसे है…’ मा उनी यति खुलेर आएका छन्, यस्तो समर्पणभाव कमै सङ्गीत साधकमा मात्र देख्न सकिन्छन्।

भद्र, शालीन र क्षमतावान् हुनहुन्थ्यो

–मोहितमर्दन थापा
सन् २०२२ मार्च ६ तारिखका दिन मैले रचेको गीत ‘बिहानीको नौलो किरण…’ को रेकर्डिङका लागि समय तोकिएको थियो। जुन गीतमा सङ्गीत सुनिल सिंहले दिनुभएको थियो भने गायनचाहिँ दिपेशकिशोर भट्टराईको रहेको थियो।
सो दिन सङ्गीतकार सुनिल सिंह र म निर्धारित समयमै स्टुडियोमा पुगिसकेका थियौँ। केही समयपछि आदरणीय शुभबहादुर सुनाम सर आफ्नो स्याक्सोफोनको बक्ससहित आउनुभयो। मैले उहाँलाई ढोग गरेँ। केही समय भलाकुसारी भयो।
मेरा पिता जगतमर्दन थापा (दिवङ्गत) को उहाँसँग राम्रो सम्बन्ध थियो। बुबाका केही गीतमा उहाँले स्याक्सोफोन बजाउनुभएको थियो। बुबासँगको घनिष्ठताको कारण उहाँले मलाई ‘मोहित बाबु’ भन्नु हुन्थ्यो। त्यो दिन गीत हेरेपछि उहाँले भन्नुभयो, ‘मोहित बाबु, गीतको शब्द राम्रो छ। म्युजिक कम्पोजिसन पनि राम्रो छ। एरेञ्जमेन्ट गर्दा धेरै धुनहरू समेटिएको छ।’


त्यसपछि उहाँले डी–स्टुडियोभित्र आफ्नो अति सुन्दर स्याक्सोफोनबाट धुन निकालेर मेरो गीतमा सजाउनुभयो। करिब आधा घण्टामा उहाँले सुन्दर धुन निकाल्नुभयो। हामीबीच केही समय कुराकानी भयो र फेरि उहाँले थप्नुभयो, ‘गीत राम्रो छ, मोहित बाबु !’ हाम्रो कामको प्रशंसा गर्दै उहाँ स्टुडियोबाट बाहिरिनुभयो।
उहाँको एकदमै भद्र, शालीन, मीठो बोली–वचनले जोकोहीलाई प्रभावित तुल्याउँथ्यो। अझ, उहाँले आफ्नै शैलीमा स्टुडियोमा स्याक्सोफोनको मीठो धुन जुनसुकै बेला पनि निकाल्न सक्ने उच्च क्षमता थियो।
उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु।
(थापा, गीतकार हुनुहुन्छ।)

एक सफल वाद्यवादक त थिए नै उनी। थिए एक सफल संगीतसर्जक पनि। स्वरसम्राट नारायणगोपालको चर्चित गीत ‘तिमीले भनेका सारा देव छोएर…’ होस् वा ‘पर्खिबसे आउँला भनी….’ लाई कालजयी तुल्याउन सुनामकै सङ्गीत सिर्जनाले अहम् भूमिका खेल्यो। तीसको दशकमै चर्चित यो गीतलाई साङ्गीतिक सिँगारपटार गरेर आजको पुस्तालाई समेत प्रिय बनाउनमा उनकै भूमिका रह्यो।
संगीतप्रति उनको लगाव ११ वर्षकै कलिलो उमेरदेखि रह्यो। तत्कालीन समय नेपाली सेनाको व्वाइज तहमा भर्ना भई लामो समय सेनाको सैनिक ब्यान्डमा रहेका उनले स्याक्सोफोनबाटै आफ्नो साङ्गीतिक पहिचान बनाए।
००
समयान्तरसँगै सङ्गीतमा पनि अनेक आरोह–अवरोह देखिए। कसैले दीर्घकालीन सङ्गीतलाई पछ्याए, कसैले अल्पकालीन। शास्त्रीय सङ्गीतलाई पछ्याएका सुनामलाई त्यसका राग, ताल र शानदार संसारले कहाँ पछ्याउन छाड्थ्यो र ! आफ्नो ज्ञान–संसारलाई पछ्याउने क्रममा उनी दीर्घकालसम्मै जनजीवनमा भिज्ने र मन–मुटुमा सजिने संगीतकर्मप्रति सजग रहे।

सुनामले केही सुन्दर सङ्गीत दिए तर कालजयी। उनले ‘बिकाउ संगीतकर्म’ लाई पछ्याएनन् कहिल्यै। चाहेका भए गर्न सक्थे होलान्। संगीतको मर्मज्ञ उनले सस्ता र कमसल सङ्गीत–सिर्जनामा आफूलाई अलमल्याएनन्। नभए ‘फूलैफूलको मौसम तिमीलाई’, ‘हुँ यात्री एउटा’, ‘मेरो सपनीमा को आयो’ जस्ता सबै पुस्तालाई प्रिय लाग्ने सिर्जना उनीबाट हुने थिएनन्।

भारतका प्रख्यात सन्तुरवादक सतीश व्यासले केही दशकपूर्व भनेका थिए, ‘मलाई लाग्दछ, हामीले लामो समयसम्म टिक्ने खालका राम्रो सङ्गीत दिनेतिर ध्यान दिनुपर्छ, त्यो यस्तो सङ्गीत होस् जसको कुनै प्रभाव होस् र स्रोताले पनि त्यसलाई बारम्बार सुनिरहोस्।’
प्रातःस्मरणीय सङ्गीत–सर्जक सुनामको संगीतकर्मलाई बुझ्दा उनी पनि व्यासकै जस्तै चिन्तनबाट उत्प्रेरित थिए भन्ने सहज अनुमान लगाउन सकिन्छ।

अन्ततः दिवङ्गत सुनामप्रति हार्दिक श्रद्धा अर्चनसहित संगीतसर्जक आभासको सुनामप्रति लघु–स्मृति शब्द ः ‘उहिले निजी स्कुलमा सङ्गीत शिक्षक हुँदा शुभबहादुर दाइसँग कार्यक्रमकै क्रममा भेट भएथ्यो। कुनै एउटा कार्यक्रममा मैले बालबालिकाका निम्ति सृजना गरेको गीत ‘हिउँखोलाको पानी’ को धुनलाई चलचित्रमा राखौँ भन्ने प्रस्ताव गर्नुभएको थियो।

मैले ‘दाइ ! यो धुनलाई बालगीतकै रुपमा रहन दिऊँ’ भन्दा उहाँले मुस्काउनु भएको क्षण झलझली सम्झनामा आइरहेछ। कालान्तरमा फत्तेमान दाइसँग ‘फत्तेमान ७०मा’ एल्बम रेकर्ड गर्ने क्रममा उहाँलाई एउटा गीतमा ‘स्याक्सोफोन’ बजाउन निम्त्याएको थिएँ। सैनिक पोशाकमै आएर उहाँले बजाउनु भएको त्यो क्षण र धुनको झझल्को पनि बारम्बार आइरहेछ। पलेँटीमा आउने तपाईँको इच्छा र हाम्रो चाहना कहिल्यै पूरा नहुने भयो… भावपूर्ण श्रद्धाञ्जली दाइ !’

००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved