कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रुपमा जारी

नेपालभ्युज

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रुपमा जारी

काठमाडौं । देश भर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा जारी रहेको भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।

उत्साहका साथ विद्यार्थी परीक्षामा सहभागी भएको समाचार प्राप्त भएको छ ।

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९ सय १४ छात्रा र एक लाख ९३ हजार ९ सय ३३ छात्र गरी तीन लाख ९० हजार ८ सय ४७ परीक्षार्थी सहभागी भएका छन् ।

त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् ।

एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved