ज्ञानेन्द्रको पुनरागमनले नेपाली क्रिकेटलाई दिएको राहत

मल्लको ब्याटिङ चलेको खेल मात्रै नेपालले जित्यो

मल्लको पुनरागमले नेपाली क्रिकेटलाई राहत दिएको छ । तर उनी अझै पूर्ण रुपमा फर्ममा भने आइसकेका छैनन् । यो सिरिजमा अवस्था यस्तो देखियो कि उनले राम्रो ब्याटिङ गरेको खेल मात्रै नेपालले जित्न सक्यो । यसबाट टिममा आफ्नो जिम्मेवारी कस्तो छ भनेर मल्लले नै बुझ्नुपर्ने भएको छ । अब केन्यासँगै नेपालले एकदिवसीय सिरिज खेल्दैछ । यसमा उनबाट अहिले भन्दा राम्रो प्रदर्शनको अपेक्षा नेपाली टिम र शुभचिन्तकले गरेका छन् ।  

ज्ञानेन्द्रको पुनरागमनले नेपाली क्रिकेटलाई दिएको राहत

काठमाडौं । क्रिकेट टिम–वर्कमा आधारित खेल हो । हरेक खेलाडीको निजी शक्तिलाई एकीकृत गर्दै सही रणनीति परिचालन गरे टोलीले जित निकाल्न सक्छ । एक खेलाडी हुनु र नहुनुले टोलीको प्रदर्शनमा ठूलो फरक पार्छ । नयाँ र अनुभवी खेलाडीको सन्तुलनले खेल जित्न सकिन्छ भन्ने उदाहरण पछिल्लोपटक नेपाल क्रिकेटमा पनि देखिएको छ । नेपालले त्यसकै बलमा केन्याविरुद्धको टी–ट्वान्टी सिरिजको उपाधि जित्न सफलता पाएको छ ।

सो सिरिज अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको लागि पुनरागमनको राम्रो मौका बन्न पुग्यो । नेपालका पूर्वकप्तान मल्लले यसै सिरिजमार्फत आफूलाई भरपर्दो ब्याट्सम्यानका रूपमा एकपटक फेरि सावित गरे ।  सिरिजका २ खेलमा ‘प्लेयर अफ द म्याच’ बन्न सफल मल्लले आफूमाथिका आरोपको ब्याटबाटै जवाफ दिएका छन् ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लको योगदान

सिरिजअन्तर्गत नेपालले केन्यासँग ५ वटा टी–ट्वान्टी खेल खेलेको थियो । नेपालले पहिलो र तेस्रो खेलमा जित तथा दोस्रो र चौथो खेलमा हार व्यहोरेपछि सिरिज २-२ को अवस्थामा पुगेको थियो । पाँचौँ तथा निर्णायक म्याच आफ्नो पक्षमा पार्दै नेपालले सिरिज जित्यो ।

उल्लेखनीय यो छ कि मल्लको ब्याटिङ चलेका तीनवटै खेल नेपालले जित्यो । पहिलो खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको थियो । १ ओभर २ बलमा पवन सर्राफ आउट भएपछि मल्ल मैदानमा प्रवेश गरेका थिए । ११ ओभर ४ बलमा पेभिलियन फर्कनुअघि उनले २३ रन बनाए । ३३ रन बनाएका दीपेन्द्र सिंह ऐरीलाई पनि प्रेरित गरे ।

दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । केन्याको कसिलो बलिङको अगाडि नेपालको जवाफी ब्याटिङ कमजोर देखियो । २ ओभर ३ बलमा आसिफ शेख आउट भएपछि आएका मल्ल १ रन बनाएर आउट भए ।

तेस्रो खेलमा नेपालले केन्यालाई ४ रनले हराएको थियो । ३ ओभर २ बलमा पवन क्रिजबाट बाहिरिएपश्चात् आएका मल्लले गतिलो ब्याटिङ गरे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे । यो खेल रोमाञ्चक तरिकाले नेपालले आफ्नो पक्षमा पारेको थियो ।

चौथो खेलमा भने केन्याको कसिलो बलिङका कारण नेपाल ७ रनले पराजित भयो । यो खेलमा पनि मल्ल चलेनन् । उनी ११ बलमा ६ रन बनाएर आउट भए । सिरिज जित्न  पाँचौँ खेल निर्णायक थियो । यो खेलमा मल्लले ओपनिङ ब्याट्सम्यानको जिम्मेवारी पाए । उनले यो जिम्मेवारीलाई कुशलतापूर्वक निभाए । मल्लको ७ ओभर ६ बल सम्म अर्जुन साउदसँग साझेदारी हुँदा नेपालको खातामा ६५ रन जोडिएको थियो ।

यसपश्चात मल्ल र दिपेन्द्र सिंह ऐरीको साझेदारी १२ ओभर ५ बल सम्म टिक्यो । त्यतिबेलासम्म १ सय ५ रन बनिसकेको थियो । मल्लले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । जसले जितको मुख्य आधार तयार पार्‍यो । सिरिजमा यो नेपालकै पहिलो अर्धशतक थियो ।

उनले दोस्रो ‘म्यान अफ द म्याच’ को उपाधी पनि प्राप्त गरे । यस प्रदर्शनबाट मल्लले टोलीमा पार्न सक्ने प्रभाव पनि देखियो । निर्धारित ओभरमा नेपालले १ सय ७६ रनको लक्ष्य दियो । र केन्यालाई ३१ रनले हराउँदै सिरिज पनि जित्यो ।

सन् २०२१ मार्च महिनामा भएको विश्वकप लिग टूअन्तर्गत त्रिदेशीय सिरिजपछि मल्ल टोलीमा थिएनन् । गत वर्ष ओमानमा आयोजना भएको विश्वकप छनोट मल्लको अन्तिम टी–ट्वान्टी खेल थियो । लामो समय मैदानबाहिर राखिएका मल्लको यही सिरिजबाट पुनरागमन भएको हो ।

सन् २०२१ डिसेम्बर १५ मा नेपाल क्रिकेट संघ क्यानले उनलाई कप्तानबाट हटाएको थियो । खेलाडीको वरियता निर्धारणमा उनले असन्तुष्टि जनाएका थिए । मल्ललगायत उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोम्पाल कामी र कमल सिंह ऐरीले विरोध जनाएपछि क्यान कारबाहीमा उत्रिएको थियो ।

क्यानले ज्ञानेन्द्रसहित दिपेन्द्र, कमल र सोमपाललाई जनवरी, सन् २०२२ देखि केन्द्रीय अनुवन्धबाट पनि ६ महिनाको लागि निलम्बित गरेको थियो । प्रशिक्षक पुबुदु दासानायकेको नियुक्तिपश्चात बोलाइएको पहिलो प्रशिक्षण क्याम्प पनि मल्लसहित अन्य १० खेलाडी सहभागी भएनन् । सन् २०२२ को सुरुवातमा क्यान र मल्लबीच भएको सम्झौतापछि निलम्बन फुकुवा गरिएको थियो ।

विगत लामो समयको अनुभव र यो सिरिज हेर्दा दबाबमा परेपछि नेपाली खेलाडीले धैर्यता गुमाउने गरेको देखिन्छ । त्यस्तो बेला मल्ल जस्ता अनुभवी खेलाडीले जितको जग बसाल्नुपर्ने हुन्छ । पूर्व कप्तान पारस खड्काले क्रिकेटलाई बाई बाई गरेपछि नेपाली टोलीमा भरपर्दो ब्याटस्म्यानको अभाव देखिन्छ । खड्काको अभाव पूर्ति गर्न पनि मल्ल नेपाली टिममा आवस्यक थियो ।

सीडब्लुसी लिगमा नेपालको खराब प्रदर्शनको निन्दा पश्चात मल्लको पुनरागमले नेपाली क्रिकेटलाई राहत दिएको छ । तर उनी अझै पूर्ण रुपमा फर्ममा भने आइसकेका छैनन् । यो सिरिजमा अवस्था यस्तो देखियो कि उनले राम्रो ब्याटिङ गरेको खेल मात्रै नेपालले जित्न सक्यो । यसबाट टिममा आफ्नो जिम्मेवारी कस्तो छ भनेर मल्लले नै बुझ्नुपर्ने भएको छ ।

अब केन्यासँगै नेपालले एकदिवसीय सिरिज खेल्दैछ । यसमा उनबाट अहिले भन्दा राम्रो प्रदर्शनको अपेक्षा नेपाली टिम र शुभचिन्तकले गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved