प्रिय पात्र

मानवीय संचेतना प्रवाह गर्ने पात्रहरू

‘खट्टर काकाको तरंग’ तत्कालीन समयका निम्ति क्रान्तिकारी कृति थियो। पुस्तक लेखेपछि उहाँलाई आफ्नै समाजले पनि आलोचना गर्‍यो, ‘हाम्रै समाजमा रहेर हाम्रै विरोध गर्ने ?’ खट्टर काका समाजको कालजयी चरित्र हो, जुन चरित्र आज पनि आवश्यक छ।

मानवीय संचेतना प्रवाह गर्ने पात्रहरू

मैले विभिन्न कालखण्डमा आख्यान/गैरआख्यान दुवै विधाका कृतिहरू पढ्दै आएँ। मूलतः मैले नेपाली, हिन्दी र मैथिली भाषाका उपन्यास र कथाहरू पढ्दै आएको छु। पढेका कृतिहरूमध्ये केही कृतिका पात्रहरू स्मरण हुन्छन्, केही विस्मृत हुन्छ। मैले पढेका कृतिहरूका पात्रहरू सम्झिनुपर्दा मलाई निम्न पात्रहरूको चरित्रको याद आउँछ।

१. सुम्निमा

कुनै समय जगदीश घिमिरे र हामी सँगसँगै थियौँ। त्यो बेला मैले उहाँको ‘लिलाम’ उपन्यास पढेँ। त्यो उपन्यास राम्रो लागेको थियो मलाई। तर, चरित्रका हिसाबले भन्ने हो भने बीपी कोइरालाको तराई क्षेत्रको प्रतिनिधित्व गर्ने केही आख्यानको मलाई गहिरो स्मरण हुन्छ। जसमा एउटा ‘मोदिआइन’ र अर्को ‘सुम्निमा’ हो। संयोगबस यी दुवै उपन्यास मैथिली भाषामा समेत अनुवाद भएका छन्।

बीपी कोइरालाको उपन्यास ‘सुम्निमा’को मुख्य पात्र सुम्निमा मलाई मन परेको पात्र हो। सो उपन्यास आर्य र अनार्यबीचको संघर्षमा आधारित छ। मेरो विचारमा यो वैचारिक संघर्ष हो। प्रेम वा विवाहले उब्जाउने भौतिक संघर्ष हाम्रो समाजमा छ। सो उपन्यासमा त्यसभन्दा बेग्लै सामाजिक र आध्यात्मिक समिश्रणको कुरा छ।

हामीले प्रेमलाई रोक्न सक्दैनौं। स्नेहलाई रोक्न सक्दैनौं। उपन्यासको अन्तिममा उपन्यासकारले धेरै राम्रो तरिकाले पात्रहरूलाई एकाकार गर्ने कुशलता देखाएका छन्। मूलतः यो उपन्यासमा पौराणिक कालको कोसी क्षेत्रको आर्य र अनार्यबीचको द्वन्द्वलाई राम्ररी केलाइएको छ। तसर्थ मलाई ‘सुम्निमा’को चरित्र राम्रो लागेको हो। सुम्निमाको संघर्षपूर्ण निर्णयहरूले मलाई प्रभावित तुल्याएको थियो।

२. खट्टर काका

मैथिली साहित्य फाँटमा हरिमोहन झाको नाम नसुन्ने शायदै होलान्। उहाँ समाजसुधारक लेखक हुनुहुन्थ्यो। उहाँको उपन्यास ‘कन्यादान’ र कथासंग्रह ‘खट्टर काकाको तरंग’ कालजयी कृतिमा गनिन्छन्। ‘खट्टर काकाको तरंग’ त अद्भूतै कृति हो। खट्टर काका यस्ता चरित्र थिए, जसले समाजमा परिवर्तन चाहन्थे। हाम्रो समाजमा परम्परावादी र रुढिवादी सोच व्याप्त छ। स्रष्टा झा ब्राम्हण समुदायको हुनुहुन्थ्यो। पूर्ववर्ती समयमा ब्राम्हणहरूले वेद र शास्त्रसम्मत काम गरे पनि त्यसमा सामाजिक र सांस्कृतिक सहजताको भने अभाव थियो। त्यो अभावप्रति उहाँले व्यंग्य गर्नुभयो। समाजमा बसेपछि धेरै कुरालाई समेटेर जानुपर्छ भन्ने कुरा उहाँले खट्टर काकाको चरित्रमार्फत स्थापित तुल्याउनुभयो।

उहाँको ‘खट्टर काकाको तरंग’ तत्कालीन समयका निम्ति क्रान्तिकारी कृति थियो। पुस्तक लेखेपछि उहाँलाई आफ्नै समाजले पनि आलोचना गर्‍यो, ‘हाम्रै समाजमा रहेर हाम्रै विरोध गर्ने ?’ खट्टर काका समाजको कालजयी चरित्र हो, जुन चरित्र आज पनि आवश्यक छ। त्यो चरित्रसँग ज्युँनका निम्ति र उसको व्यक्तित्वलाई आत्मसात गर्नका निम्ति अरू भाषाभाषीका मानिसले पनि मैथिली भाषा सिके। यो कृति अनेकौं भाषामा अनुवाद भएको छ। भारतमा त अनेकौं भाषामा अनुवाद भएका छन् भने नेपालीमा पनि अनुवाद भएको छ।

लेखक झाकै उपन्यास ‘कन्यादान’ पनि बेजोड कृति हो। उक्त उपन्यासमा सिसी मिश्र र बुच्ची मिश्र दुइटा चरित्र छन्। सिसी मिश्र पढेलेखेका छन् भने बुच्ची चाहिँ अनपढ। उनीहरूबीचका संवाद रोचक र व्यंग्यात्मक छ। एक जनाले एक थोक भन्छन्, अर्कोले अर्कै बुझ्छन्। पतिले वातावरणबारे सोध्छन्, पत्नीले भने के भनेका हुन् भनेर बुझ्दै बुझ्दिनन्।

उक्त उपन्यासले संकेत गरेको कुरा हो, ‘छोरीलाई पनि पढाऊ।’ तत्कालीन समयमा समाजमा छोरीलाई पढाउने चलन थिएन। सीमित परिवारका मानिसले मात्र छोरीलाई पढाउँथे। प्रकारान्तरमा के देखिन्छ भने, समाजमा सामाजिक दृष्टिकोणबाट सहजताका निमित्त, सामाजिक र सांस्कृतिक सुदृढताका निमित्त, आपसी सम्बन्धको निमित्त र प्रेम र सद्भावको निमित्त पनि छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश सो उपन्यासले दिएको छ।

मैथिली स्रष्टा डा. धीरेश्वर झा ‘धीरेन्द्र’को उपन्यास ‘रुपा’लाई मैथिली भाषाको पहिलो आञ्चलिक उपन्यास मानिन्छ। उहाँले चौठी कामत जस्तो निम्न वर्गीय पात्रलाई उभ्याउनुभएको छ। जो मजदुर वर्गका रुपमा चिनिन्छन् र आर्थिक, जातीय रुपले पिछडिएकामा गनिन्छन्। उहाँले त्यस्तो चरित्रलाई उपन्यासमा उभ्याउनुभएको छ।

उक्त चरित्रले मानवीय संचेतनाको प्रवाह गरेको छ। हामी समाजमा आफ्नो अस्तित्व बोकेर बसेका छौँ। समाजप्रति हाम्रो पनि केही दायित्व छ र समाजका निम्ति केही गर्नुपर्छ र गरेका पनि छौँ। हाम्रा जीवन पनि यहीँ सांस्कृतिक परिवेशमा फल्ने, फुल्ने हो। त्यसैले हाम्रो जीवनलाई, हाम्रो अस्तित्वलाई र हाम्रो क्रियाकलापलाई उपेक्षित नगर भन्ने सन्देश यो उपन्यासमा दिइएको छ। जसले सिंगो समाजमा आफ्नो उपस्थितिबाट, आफ्नो क्रियाकलापबाट र आफ्नो कर्मबाट सामाजिक ऐक्यवद्धताको वातावरण बनाउने काम गर्छन्, त्यस्ता पात्रहरू स्मरणीय हुन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved