बर्दिबास नगरपालिकाको मतगणना अवरुद्ध, धाँधली भएको एमालेको आरोप

बर्दिबास नगरपालिकाको मतगणना अवरुद्ध, धाँधली भएको एमालेको आरोप

जनकपुरधाम। महोत्तरीको बर्दिबास नगरपालिकाकाे वडा नं ८ मा मतगणना अवरुद्ध भएको छ। नेकपा (एमाले) ले धाँधली भएको भन्दै विवाद सिर्जना गरेपछि मतगणना कार्य अवरुद्ध भएको हो।

नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार रुद्र बहादुर किंगरिंगले शुरुआती अग्रता लिएका थिए। निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गर्दै नाै मतले नेकपा माओवादीका उम्मेदवार शमशेर लामा विजयी भएको घोषणा गरेपछि विवाद भएको हो।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादीका उम्मेदवारलाई धाँधली गरेर जिताएको एमाले नेता फाल्गुन सुशलिंगको आरोप छ। उनले भने, ‘‘निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले अनेक बहाना गरी मतपरिणाम घोषणा गर्न करिब तीन घण्टा आलटाल गरे। निर्वाचन अधिकृतले गलत नियतले एमालेलाई हराएका हुन्।’’

पुनः मतगणना गर्नुपर्ने माग राख्दै एमालेका नेता कार्यकर्ता प्रर्दशनमा उत्रिएका छन्। एमालेका बर्दिबास नगरपालिका उपप्रमुखकाे उम्मेदवार दुर्गा दाहालले पनि माओवादीले हार स्वीकार गरेर हिँडिसकेको अवस्थामा निर्वाचन अधिकृतले षडयन्त्रपूर्वक एमालेलाई हराएको आरोप लगाइन्। उनले भनिन्, ‘‘यहाँ षडयन्त्र भएको छ। हामी यो परिणामलाई मान्दैनौँ, पुनः मतगणना गर्नुपर्छ।’’

अहिले यहाँको माहोल निकै तनावपूर्ण बनेको छ। एमालेका नेता कार्यकर्ता, समर्थकहरुले नाराजुलुस लगाइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved