मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

नेपालभ्युज

मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनःस्थापनाका लागि एक टोली परिचालन गरिएको छ ।

यही वैशाख १२ गते भएको उक्त घटनाबारे सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा टोली परिचालन गरिएको छ । उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा रहेका छन‍‍् ।

टोलीले क्षतिको पहिचानका साथै पीडितलाई राहत तथा पुनःस्थापनाका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनेछ । टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरणसमेत गर्ने प्राधिकरणले जनाएको छ ।

जरलहवा टोलमा बुधबार भएको आगलागीबाट एक सय घर जलेका थिए । सो आगलागीबाट चार सय ५५ जना प्रभावित भएका छन् । आगलागीबाट पाँच बाख्रा र दुई सुँगुर जलेर मरेका छन् । प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न सङ्घ–संस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङ्गले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved