लागेको नडराई बोल्ने ताना शर्मा

आफूलाई कुनै कुरा लागेको छ भने निर्धक्क भएर कसैले के भन्ला भन्ने नसोची स्पष्ट शब्दमा व्यक्त गर्ने ताारानाथ शर्माको गुण अहिलेको पुस्ताले सिक्नुपर्छ।

लागेको नडराई बोल्ने ताना शर्मा
शरच्चन्द्र वस्ती

२०३९/२०४० सालतिरको कुरा हो।

पद्म कन्या क्याम्पसमा एकदिन अधवैंशेले मलाई सोध्नुभयो, “बनारसको संस्कृत विश्वविद्यालयबाट गोल्डमेडल लिएर डिग्री गरेको मान्छे तपाईं नै हो ?”

मैले भनेँ, “हो किन र सर ?”

मैले जवाफ दिएपछि उहाँले संकोच नमानी ‘मलाई संस्कृतका विषयमा जान्नु छ, सिकाउ’ भन्नुभयो।

उहाँको अनुभव र उमेर पाक्दै गएको मान्छे। म भर्खर पढाइ सकेर प्राध्यापनमा छिरेको फुच्चे। मलाई सोध्दा अनौठो लागिरहेको थियो।

अनि मैले उहाँलाई भनेँ, “म त फुच्चे फुच्चे नै छु तपाईंका अघि, कसरी सिकाउन सक्छु ?”

“संस्कृतका अरू गुरुसँग सोधेँ भने उनीहरूले मेरो कुरा बुझ्दैनन्। उनीहरूले आफ्नै मात्रै कुरा एकोहोरो भनिरहन्छन्, दोहोरो संवाद नै हुँदैन,” उहाँले भन्नुभयो।

मैले उहाँको कुरा टार्न सकिनँ। त्यसपछि मैले जानेका संस्कृतका केही कुरा उहाँलाई पनि जानकारी दिएँ।

डा. तारानाथ शर्मासँगकोे पहिलो भेट यस्तै थियो। त्यो भेट अझै मलाई याद छ। मुहार उज्यालो थियो उहाँको। हेर्दै रसिलो देखिनुहुन्थ्यो। अद्भूत साहित्यकार हुनुहुन्थ्यो उहाँ। उहाँ जस्तो लेख्ने मानिस पाइँदैन। उहाँको लेखाइ आकर्षक, मानक र उदाहरणीय थियो।

त्यतिबेला उहाँ अमेरिकाबाट फर्किनुभएको थियो। संस्कृतको अध्ययन पनि गर्न पाएको भए राम्रो हुने थियो भनेर उहाँलाई लागेको रहेछ। त्यसले भाषामा थप गहिराइ दिन्थ्यो भन्ने लागेको रहेछ। म बनारसको संस्कृत विश्वविद्यालयबाट गोल्डमेडल लिएर डिग्री गरेर आएकोले पनि उहाँलाई विश्वास लागेछ कि के हो। मलाई खोज्दै आइपुग्नुभयो। त्यतिबेला म क्याम्पसमा पढाउँथेँ। त्यही सिलसिलामा संस्कृतको कारक प्रकरण कस्तो छ भनेर उहाँले सोध्नुभयो। केही समय हाम्रो त्यसमै छलफल भयो। मैले जानेको कुरा उहाँलाई भनिदिएँ। किताब पल्टाउँदै बताएँ।

म पनि पूर्वतिरको र उहाँ पनि पूर्वको भएर हाम्रो भाषा र बोल्ने तरिका, ठट्टा गर्ने शैली मिल्ने भयो। त्यसपछि त सम्बन्ध झनै गहिरियो। त्यसको अलिपछि २०४१/२०४२ सालतिर गोरखापत्रको परिशिष्टाङ्कको संयोजक थिएँ। उहाँले हत्तपत्त गोरखापत्रलाई लेखहरू नदिने सोचाइ राख्नुभएको थियो। मैले ‘त्यसरी हुँदैन, छाप्नुपर्छ’ भनेपछि उहाँले लेख्न थाल्नुभयो।

स्तम्भकारको रूपमा उहाँले लेख्नुहुन्थ्यो। महत्त्वपूर्ण लेखहरू उहाँले लेख्नुभयो। उहाँले लेख्नुभएको लेखहरूलाई कहिलेकाहिँ घटाउने बढाउने गर्नुपथ्र्यो। त्यतिबेला उहाँसँग रमाइलो नोकझोक, घम्साघम्सी पनि भयो। तर त्यो सबै मिठो किसिमको थियो।

त्यसकै आसपास ‘साप्ताहिक मञ्च’ भन्ने पत्रिका निस्कन्थ्यो। त्यसपछि त्यसले म्यागेजिनको रूपमा निकाल्न थाल्यो। त्यसको तीनचार अंक निस्किएर बन्द भयो। तर त्यसमा संयोगवश डा. तारानाथ शर्मा, गणेशबहादुर प्रसाईं र म तीन जना सम्पादन मण्डलमा सँगै बसेर काम गर्ने मौका पाएँ। त्यो पनि रमाइलो थियो। त्यसबेला मिठा कुराहरू लेख्नुभयो। डा. तारानाथ शर्मा, गणेशबहादुर प्रसाईं सानै बेलादेखिको साथी हुनुहुन्थ्यो। सँगै हुँदा बाल्यकालका रमाइला किस्साहरू सिकाउनुहुन्थ्यो। डा. तारानाथ शर्माले लेखेका विषय छापिनुभन्दा पहिले रोचक ढंगले सुनाउनुहुन्थ्यो। सुनाउने तरिका पनि राम्रो थियो।

२०४३/०४४ सालतिर मैले सगरमाथा शृंखला लेखेको थिएँ। त्यो नेपाली विषयको कक्षागत हिसाबले पहिलो शृंखला थियो। त्यो पाठ्यपुस्तक जस्तो थियो। मैले कक्षा १ देखि ८ सम्मको मैले लेखेको थिएँ। त्यो लेखेर छाडेको थिएँ र छापिँदै वितरण हुँदै आएको थियो। त्यो पछि गएर २०५०/२०५१ तिर प्रकाशकले उहाँलाई सम्पर्क गर्नुभएछ। मलाई पनि खबर गर्नुभयो। डा. तारानाथ शर्माले शृंखलामा व्याकरणको अंश र अभ्यासको अंश थपिदिनुभयो। त्यसको नयाँ संस्करण निकालिदिनुभयो। हरेक किताबमा पाठ पनि थप्यौँ।

बीचबीचमा भेट भइरहन्थ्यो। हाम्रो कुराकानी इलाम वा कोशी पारिको बोलीचालीको शैलीमै हुन्थ्यो। हाम्रो कुराकानी हुँदा वरपरका मानिस छक्क पर्थे। किनकि त्यस्तो कसैले बोल्दैनथ्यो।

पछिल्लो समयमा नेपाली भाषा बिग्रियो। नेपाल प्रज्ञा प्रतिष्ठान र विश्व विद्यालयले नेपाली भाषालाई खत्तम पार्न आँटे, यसरी हुँदैन भनेर २०६८ को चैतमा ‘ललितपुर घोषणापत्र’ जारी गर्‍यौं। त्यसमा अन्य पनि केही साथी थिए हामीसँग। त्यसको एक महीनापछि ‘नेपाली कसरी शुद्ध लेख्ने’ भनेर २०६९ जारी भयो। पहिलो र दोस्रोमा धेरै फरक थियो। पहिलोमा केही साथीले लहडबाजीमा गरेका थियौँ। दोस्रोमा विद्वानहरू जोडिनुभयो। प्रा. बालकृष्ण पोखरेल, डा. तारानाथ शर्मा, कृष्णप्रसाद पराजुली, मुकुन्दशरण उपाध्याय, कमल दीक्षित, प्रा.डा. कुमार बहादुर जोशीजस्ता नेपालीका उत्कृष्ट विद्वान जोडिन आइपुग्नुभयो। लामो छलफलपश्चात नेपाली भाषा शुद्ध हुनुपर्छ, सही र मूल रूपमै जानुपर्छ भनेर जोड दिन थाल्यौँ। पहिले कवि, महाकविले लेखेका कुरा बिगार्न हुँदैन भनेर सहमति गरेर जारी भयो। पाटनमा आयोजना गरिएको ठूलो सभामा जारी भएको थियो। यो अगाडि बढाएको आन्दोलनमा म सक्रिय थिएँ। मप्रतिको स्नेहले गर्दा होला डा. तारानाथले सहयोग गर्नुभयो र नेतृत्व लिइदिनुभयो।

अरूलाई अन्तर्वार्ता दिँदा भाषा जान्ने, बुझ्ने मानिस भनेर मेरोबारे भनिदिनुभएको थियो। मेरै अगाडि पनि सभामा भन्नुभयो। उहाँको जति जनासँग सम्बन्ध थियो, सबैसँग सुमधुर सम्बन्ध थियो। उहाँको बानीव्यहोरा नै त्यस्तै थियो। मेरो किताबमा पनि उहाँले काम गरिदिनुभयो।

२०१३ सालतिर उहाँहरूले झर्रोवादी आन्दोलन शुरुआत गर्नुभएको थियो। २२/२३ वर्षको उमेरमा उहाँहरूले झर्रोवादलाई विश्लेषण गर्नुभयो। नेपाली भाषाका विद्वानले पनि यो होइन भन्न सकेनन्। प्रखर रूपमा उहाँले प्रस्तुत गर्नुभएको थियो। झर्रोवादमा विवाद र विमति हुनुपर्ने कुरा थिएन। झर्रोवादले नेपाली भाषालाई संस्कृत र अंग्रेजीको अत्याधिक प्रभावबाट मुक्त पार्नुपर्छ भन्थ्यो। हामीले पनि त्यसलाई स्वीकार गर्नुपर्छ। झर्रो भनेको शुद्ध हो र उहाँहरूको आन्दोलनले नेपाली शब्द शुद्ध हुनुपर्छ भन्ने मुद्दा बोकेको थियो। खाँटी नेपाली शब्द प्रयोग गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यसले नेपाली भाषालाई अरूभन्दा विशिष्ट बनाएको थियो।

कहिलेकाहिँ कुनै कुनै विषयमा चर्को किसिमले बहस पनि हुन्थ्यो। हामीले कुराहरू सम्झाउनै सक्दैनथ्यौँ। तर पछि उहाँहरू आफैले बुझ्नुभयो। अनि पछि तारानाथ शर्मा र बालकृष्ण पोखरलले झर्रोवाद त्यतिबेला एककिसिमको युद्धकाल थियो, युद्धकालमा अलिकति अतिवाद हुन्छ, उग्रता पनि हुन्थ्यो। तर त्यो चर्कोपन त्याग्नुपर्छ भन्नुभयो। त्यो हामी सबैलाई स्वीकार्य थियो। झर्रोवादले स्वीकार गरेको कुराहरूलाई पनि सबैले सम्मान गर्नुपर्छ भनेर नियम पनि बनेको थियो र पाटनमा जारी भएको घोषणापत्रमा त्यो उल्लेख गरिएको थियो।

मोटो श र पातलो स कसरी लेख्ने भन्ने विषयमा छलफल हुन्थ्यो। शंकर, शम्भू, पशुपति, शब्दकोश लेख्नेमा कसैको विमति थिएन। तर शहर, खुशी लेख्दा मोटो श लेख्ने कि पातलो स लेख्ने भन्ने विषयमा दृष्टिकोण फरकफरक थियो। एउटाले शुद्ध रूपमा शहर र खुशीको श मोटो हुनुपर्छ भन्ने थियो, अर्कोमा नेपालीमा पातलो स लेख्दा पनि हुन्छ भन्ने थियो। मोटो श अर्को भाषाको हो भन्ने दृष्टिकोण थियो।

झर्रोवादले मोटो श लेख्दै नलेख्ने पुरै बन्द गर्ने कुरा उठाएको थियो। त्यो चल्यो पनि। झर्रोवादभन्दा पछि आएको कवि महाकविले पनि मोटो श नै लेखेर गए। यो दुनियाँले नमानेको कुरामा धेरै गलफत्ती गर्नु ठिक हुँदो रहेनछ भन्ने कुरा पछि आयो। पातलो स लेख्छ भने त्यो पनि ठीक हो, नेपालीपन त्यसमा पनि आउँछ र मोटो श लेख्नेलाई निषेध गर्ने काम गर्नुहुँदैन भन्नेमा उहाँहरूले मान्नुभयो। आजसम्म हामीले गरेको अनुसन्धानलाई आफ्नो आफ्नो सिरानीमा राखेर एकेडेमिक विश्लेषण गर्न राखेर अहिले गर्नुपर्ने काम यो हो भनेर उहाँहरूले पाटनमा घोषणापत्र जारी गर्नुभएको थियो। हाम्रो आफ्नो आफ्नो कुरालाई अगाडि बढाएर किचलो गर्यो भने नेपाली भाषा बिग्रन्छ भनेर उहाँहरूले निष्कर्ष निकाल्नुभयो।

झर्रोवादमा लागेर पहिले उहाँले ‘ताना सर्मा’ लेख्नुहुन्थ्यो। पछि आएर तारानाथ शर्मा लेख्न थाल्नुभयो। त्यसको रहस्य २०६९ बैशाख ११ गते पाटनको घोषणापत्र जारी गर्ने समारोहमा उहाँले खोल्नुभयो, “म बडो बाठो छु, बडो विद्वान भएँ, बडो झर्रोवादी भएँ भनेर जान्ने भइ टोपलेर ताना सर्मामा पातलो स लेख्दै आएँ। लामो समयसम्म लेखेँ। तर पछि पो मैले थाहा पाएँ, कत्रो गल्ती गरेको रहेछु मैले। पातलो स भएको सर्माको अर्थ त कुकुरनी भन्ने पो हुँदो रहेछ। त्यो थाहा पाएपछि त मैले छोडिहाले नि। तारानाथ शर्मामा मोटो श नै लेख्न थालेँ नि।’

सबै विद्वानको सामु आफैले आफ्नो गल्ती स्वीकार्न पछि पर्नुभएन। उहाँबाट सिक्नुपर्ने कुरा नै यही हो। उहाँ सरल हुनुहुन्थ्यो। सरल भएकै कारण दुःख पनि पाउनुभयो। ठीक लागेको कुरालाई ठीक र बेठीकलाई बेठीक भनिदिँदा दुःख पनि पाउनुभयो। तर त्यसो भने पनि बानी छाड्नुभएन। आफूलाई कुनै कुरा लागेको छ भने निर्धक्क भएर कसैले के भन्ला भन्ने नसोची स्पष्ट शब्दमा व्यक्त गर्ने गुण अहिलेको पुस्ताले सिक्नुपर्छ।

(डा. तारानाथ शर्माबारे भाषाविद् शरच्चन्द्र वस्तीसँग नेपालभ्यूजकी सुनीता साखकर्मीले गरेको कुराकानीमा आधारित।)


Comment

One thought on “लागेको नडराई बोल्ने ताना शर्मा

  1. स्वर्गीय शर्माका सम्बन्धमा शरच्चन्द्र वस्तीको श्रद्धांजलि ।
    हो, विद्वान् मित्र वस्तीले भन्नुभएझैं स्पष्ट शब्दमा निर्धक्क भएर लेख्न र बोल्न स्व. शर्माका कृतिले हौसला प्रदान गर्छन् । उहॅापछिका पुस्ताको लागि प्रेरणादायक सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved