मोरङको उखुबारीमा अर्को पनि भेटियो शव

‘‘घटनाको प्रकृति हेर्दा एउटै व्यक्तिले हत्या गरेर गाडेको देखिन्छ। बाँकी थप अनुसन्धान पछि खुल्छ।”

मोरङको उखुबारीमा अर्को पनि भेटियो शव

विराटनगर। मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखुबारीमा अर्को पनि शव भेटिएको छ।

बुधबार कमलपुरनजिकै रहेको उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको थियो। उखु काट्न गएका किसानले बारीमा खाल्डो खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त खाल्डोमा पुरुषको शव फेला परेको हो।

उक्त खाल्डोनजिकै रहेको अर्को खाल्डोमा पनि शव भेटिएको छ। बिहीबार दिउँसो १ जना पुरुषको शव फेला परेको हो। बुधबार उखु काट्न पुगेका किसानले उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्कालै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले खन्दा बुधबार अन्दाजी ३५ वर्षीय पुरुषको शव खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो। बिहीबारसम्म पहिचान खुल्न नसकेको उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले बिहीबार सोही ठाउँमा अर्का एक व्यक्तिको शव फेला पारेको हो।

घटनास्थलदेखि झण्डै ४० मिटरको फरकमा अन्दाजी २५ वर्षीय एक पुरुषको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका एसपी जर्नादन जीसीले बताए। उनले शंका लागेर उत्खनन गर्दा शव फेला परेको जानकारी दिए। उनले भने, ‘‘घटनाको प्रकृति हेर्दा एउटै व्यक्तिले हत्या गरेर गाडेको देखिन्छ। बाँकी थप अनुसन्धान पछि खुल्छ।”

गाडेको अवस्थामा भेटिएका १ जना पुरुषको गोजीबाट प्रहरीले सिमकार्ड र पर्स पनि फेला पारेको छ। धनपालथान ७ को उक्त उखुबारी स्थानीय गंगा सिंहको हो। शव केही दिन अगाडिको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले बरामद दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जना‍इएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved