विचार

आफैँले सृजना गरेको दुर्भाग्यको परिणाम भोग्दैछन् केजरीवाल

केजरीवाल राजनीतिक दलको नेताभन्दा पनि कुनै कम्पनीको सिईयोको जस्तो व्यवहार गर्थे, जो आफ्ना प्रतिभाशाली सहकर्मीसँग सधैँ असुरक्षित महसुस गर्थे । तिनलाई निकाल्दै जान्थे । व्यक्ति केन्द्रित राजनीति आपको मात्रै समस्या हैन । भारतीय जनता पार्टी (भाजपा) मा पनि यही भइरहेको छ । कांग्रेसको दुखान्त त व्यक्ति हैन, परिवार केन्द्रित नेतृत्व हो । यसका आफ्नै जटिलता हुन्छन् ।

आफैँले सृजना गरेको दुर्भाग्यको परिणाम भोग्दैछन् केजरीवाल

आम आद्‌मी पार्टी (आप) स्थापनापछिका केही वर्षभित्र ५/६ जना त्यसका निकै सक्षम नेतालाई बाहिर निकालियो । यो काम अरविन्द केजरीवालको समूहले गरेको थियो । आज यो समूहका करिब यति नै सङ्ख्यामा नेताहरू जेल गएका छन् । अब त स्वयम् केजरीवाल पनि जेलमा छन् । पार्टीमा डरलाग्दो सान्नाटा छाएको छ ।

देशको इतिहासमै बहालवाला मुख्यमन्त्री पहिलोपटक जेल परेको छ । यसका बाबजुद पार्टीले जनसहानुभूतिको लहर ठूलो मात्रामा सृजना गर्न सकेको छैन । त्यो पनि यस्तो बेला जब चुनाव सामुन्ने खडा छ ।

एकाध अपवादलाई छोड्ने हो भने केजरीवालले दोस्रो पङ्क्तिको नेतृत्व बन्नै दिएनन् । एक व्यक्ति प्रदर्शन (वान मेन सो) गरिरहे ।

केजरीवाल राजनीतिक दलको नेताभन्दा पनि कुनै कम्पनीको सिईयोको जस्तो व्यवहार गर्थे, जो आफ्ना प्रतिभाशाली सहकर्मीसँग सधैँ असुरक्षित महसुस गर्थे । तिनलाई निकाल्दै जान्थे । यो कुरा बुझ्दैनथे कि कुनै सहकर्मीले राम्रो काम गर्‍यो भने त्यो मूल नेता र पार्टीकै जस लिने विषय बन्छ । उनकै नाम चम्किन्छ ।

व्यक्ति केन्द्रित राजनीति आपको मात्रै समस्या हैन । भारतीय जनता पार्टी (भाजपा) मा पनि यही भइरहेको छ । कांग्रेसको दुखान्त त व्यक्ति हैन, परिवार केन्द्रित नेतृत्व हो । यसका आफ्नै जटिलता हुन्छन् ।

के व्यक्ति केन्द्रित नेतृत्व प्रणाली कुनै एक नेताको अवसानपछि आउने रिक्तताको कारण नराम्रो मानिन्छ ? त्यसो हैन । भारत नायकप्रधान देश हो । यहाँ विलक्षण प्रतिभा, नेतृत्व क्षमता र आम जनताबीच ‘कनेक्ट’ गर्नसक्ने अनुहारले चमत्कार गर्दै आएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा अगाडि पनि यसको लामो सूची छ । इन्दिरा गान्धी, जयललिता, लालु यादव, ममता बेनर्जी, मायावती, बाल ठाकरेआदि । यही सूचीमा अरविन्द केजरीवाल थपिएका थिए ।

केजरीवालको स्थिति के हो भने आज उनी यी सबै नेताभन्दा धेरै ठूलो मात्रामा पार्टीको भावी नेतृत्व पङ्क्ति तयार नगरेको दुर्भाग्य भोग्दैछन् ।

जसले भावी नेतृत्व तयार गरे त्यसमा पनि रगतको नाता मुख्य बनेर देखा पर्‍यो । जसको उत्तराधिकार योग्य थियो, ती पार्टी अहिले पनि उभिएका छन् । जसका उत्तराधिकार गतिला परेनन्, त्यसको गाडी घिस्रिरहेको छ ।

यहाँ यही त भइरहेको छ । संसारको सबैभन्दा ठूलो पार्टी एक व्यक्तिले दिने ग्यारेन्टीमा आधारित भएर चुनाव लड्दैछ— मोदी ग्यारेन्टी । जस्तो कि अभिनेतृ तथा भाजपा उम्मेदवार कंगना रनौतले भनिदिइन्— कामले हैन, मोदीको नामले जित्छु ।

यो एक प्रकारको अति निर्भरता हो । ठीक छ, आज मोदीको नाममा भाजापाले चुनाव जित्ला । तर, भविष्यमा ठीक यस्तै सामर्थ्यवान् अनुहार पार्टीले पाएन भने ? के यसो गर्नु पर्दैन कि मोदीको अनुहारसँगगै एक सशक्त समूहलाई प्रोजेक्ट गरियोस् ?

राजनीतिक दल मात्र हैन, भारतको क्रिकेट टिम पनि सधैँ यस्तै हुन्छ । केही स्टार खेलाडीको वरिपरि घुमिरहेको हुन्छ । जस्तो कि सचिन, लक्ष्मण, द्रविड, गांगुली आदि । तर, अष्ट्रेलियाको टिममा ११ जना सक्षम खेलाडी हुन्छन् । यही कारण हो कि जब मैदानमा भारत र अष्ट्रेलियाको भेट हुन्छ, सधैँ अष्ट्रेलियाले जित्दै आएको छ ।

आज भाजपा र आरएसएसलाई मोदीपछिको मार्गचित्र तयार गर्नुपर्ने चुनौती छ । कांग्रेसमा एक परिवारले पार्टीको पुनरुत्थानको सम्भावनालाई रोकेर राखेको छ ।

कांग्रेसलाई नयाँ नेतृत्व, विचारधारामा आमूल परिवर्तन र चौतर्फी नयाँ एप्रोचको आवश्यकता छ । यस्तो परिवर्तन परिवार बाहिरको व्यक्तिलाई कर्मकाण्डी तरिकाले अध्यक्ष बनाइदिँदैमा हुनेवाला छैन । कांग्रेस लोकतन्त्रको दुहाइ दिने पार्टी हो । तर, यसको आन्तरिक लोकतन्त्र समाप्तप्रायः छ ।

एआईडीएमकेमा सन् २०१४ मा जयललितालाई निर्विरोध चुनिएको थियो । तर्क थियो— कसैले नामाङ्कन नै गरेन त के गर्ने ?

परिणाम के आयो सबैले देखेकै छन् । विडम्बना हेर्नुस्, जयललिताको निधनपछि त्यहाँ भयावह राजनीतिक शून्यता उत्पन्न भयो ।

बहुजन समाजवादी पार्टीमा त्यही भयो । सुप्रिमो मायावतीले भतिजा आकासलाई उत्तराधिकार घोषणा गर्दिइन् । मायावतीले परिवार बाहिरबाट कुनै अनुभवी नेताले पार्टीको गुम्न लागेको जनाधार फिर्ता गर्न सक्छ भन्ने विश्वास नै गरिनन् । उनले आफ्नो स्वर्णिमकाल रहँदै कुनै कुशल व्यक्तिलाई नेतृत्वमा ल्याउँथिन् त आज पार्टीको यो हालत हुने थिएन ।

आप र केजरीवालको हकमा पनि त्यही भयो । राजस्थान चुनावमा आपको विस्तार हुनसक्ने सम्भवना थियो । तर, जनताका बीचमा जाने नेता कोही थिएन । एक्ला केजरीवाललाई फुर्सद नै थिएन ।

दलहरूले चुनावका बेला स्टार प्रचारकको सूची बनाउने गर्दछन् । कुनै बेला भाजपाको सूचीमा अटलबिहारी बाजपेयी, लालकृष्ण अड्वानी, मुरलीमनोहर जोशीसहित कैयन् नक्षत्र हुने गर्दथे । प्रत्येकको सभामा एक जबर्जस्त भीड लाग्थ्यो ।

आज मोदी, राहुल गान्धी र केजरीवाललाई छोडिदिने हो भने अरु कसैको नाममा त्यस्तो भीड जुट्दैन । कथित स्टार प्रचारक जताततैबाट खाली कुर्सी हेरेर फर्किन बाध्य हुन्छन् ।

जब कुनै राजनीतिक दल सङ्कटको आँधी-बेहरीले घेरिन्छ, त्यहाँ नयाँ नेतृत्वको प्रवेश हुने सम्भावना पनि हुन्छ । तर, आम आद्‌मी पार्टीमा त्यस्तो गुन्जायस अहिले निकै कम छ ।

आपको यो दुर्दशाबाट अरु पार्टीले पनि सिक्नु राम्रो हुन्छ । कुनै एक चमत्कारिक चेहरामा अति निर्भर गर्ने राजनीतिका केही राम्रा कुरा पनि हुन्छन् । तर, नराम्रा पक्ष धेरै हुन्छन् । केही अपवादलाई छोडेर केजरीवालले दोस्रो पङ्क्तिको नेतृत्व बन्नै दिएनन् । केजरीवाल आज आफैँले सृजना गरेको यो दुर्भाग्यको परिणाम भोग्दैछन् ।

(भाष्कर दैनिकबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved