उपनिर्वाचन

के झलनाथ खनाल एमाले फर्किएर इलाम २ बाट चुनाव लड्दैछन् ?

के झलनाथ खनाल एमाले फर्किएर इलाम २ बाट चुनाव लड्दैछन् ?

काठमाडौं । उपनिर्वाचन (वैशाख १५) नजिकिँदै गर्दा इलाम २ मा आकाङ्क्षीहरू बढ्दै गएका छन् । त्यसमध्ये पर्छन्, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल ।

उनले सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने आकाङ्क्षा राखेका छन् । सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) छन् ।

ती सबै दलहरूले आफूलाई साझा उम्मेदवारका रूपमा स्वीकारून् भन्ने झलनाथ चाहन्छन् । उनले त्यहाँको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो उम्मेदवारीबारे एक चरण संवादसमेत गरिसकेका छन् । तर, जवाफमा ओलीले ‘पर्खिनु’ भनेका छन् ।

“मैले केपी कमरेडसँग कुरा गरेको छु । वाम एकताबारे पनि कुरा भएको छ, मेरो उम्मेदवारीको बारेमा पनि कुरा भएको छ । तर, केही दिनमा मात्रै निर्णय हुने उहाँले भन्नुभएको छ,” उनले नेपालभ्युजसँग भने ।

त्यसो त एमालेले यसअघि त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङसहित ६ जनालाई सिफारिस गरिसकेको छ । सिफारिस भएकामध्ये नै कुनै एकजना उम्मेदवार हुने बताउँछन् पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवाली । “सिफारिस भएकामध्ये नै एकजना उम्मेदवार हुन्छन्,” उनले नेपालभ्युजसँग भने, “एमालेका आफ्नै उम्मेदवार छन् ।”

इलाम २ मा पर्ला झलनाथलाई ‘चिट्ठा’ ? कस्तो छ मत-गणित ?

एमालेकै अर्का एकजना नेता भने झलनाथ पुन: एमालेमा फर्किए छलफल गर्न सकिने बताउँछन् । “उहाँ (झलनाथ खनाल) पुन: पार्टीमै फर्किएको खण्डमा उहाँको उम्मेदवारीबारे सकारात्मकरूपमा छलफल गर्न सकिन्छ,” ती नेताले भने ।

उनी थप्छन्, “पार्टी नेताले पनि त्यसरी छलफल गर्न सकिने औपचारिकरूपमा बताउनुभएको छ ।”

तर, झलनाथले भने आफू एकीकृत समाजवादीकै नेता हुने, उम्मेदवार मात्रै गठबन्धनको हुने चाहना राखेका हुन् । “मैले एकीकृत समाजवादीकै नेता भएर गठबन्धनको उम्मेदवार बन्न चाहेको हुँ,” उनले भनेका छन् ।

उसो त उनी यसअघि इलाम १ बाट पराजित नेता हुन् । २०७९ मंसिर ४ गते भएको पछिल्लो संसदीय निर्वाचनमा उनी उनकै पूर्वदल नेकपा (एमाले) का नेता महेश बस्नेतसँग ९०१ मतान्तरले पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved