उपनिर्वाचन वैशाख १५

इलाम २ मा पर्ला झलनाथलाई ‘चिट्ठा’ ? कस्तो छ मत-गणित ?

पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट उपनिर्वाचन लड्ने रहर छ ।

इलाम २ मा पर्ला झलनाथलाई ‘चिट्ठा’ ? कस्तो छ मत-गणित ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट उपनिर्वाचन लड्ने रहर छ ।

इलाम २ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । झलनाथ चाहन्छन्— सत्ता गठबन्धनले आफूलाई साझा उम्मेदवार बनाओस् । गठबन्धनले चुन्ला वा नचुन्ला, त्यो हेर्न बाँकी नै छ । तर, उनले आकाङ्क्षा भने देखाएकै छन् ।

नयाँ सत्ता गठबन्धन बनेपछि हौसिएका उनले नेपालभ्युजसँगको अन्तर्वार्ताका क्रममा भनेका थिए— सत्ता गठबन्धनले साझारूपमा उम्मेदवार बनायो भने चुनाव लड्छु । त्यहाँका साथीहरूले मेरो नाम लिइरहनुभएको छ ।

त्यसो त २०७९ मंसिर ४ गते भएको पछिल्लो संसदीय निर्वाचनमा उनी इलाम १ बाट पराजित भएका थिए । त्यसबेला उनी उनकै पूर्वदल नेकपा (एमाले) का नेता महेश बस्नेतसँग ९०१ मतान्तरले पराजित भएका थिए । यसपछि पार्टीको सम्मानित नेताकै रूपमा राजनीतिक काम/कारबाहीमा सक्रिय झलनाथ उपनिर्वाचन भने एमालेसहितको समर्थनमा लड्न चाहन्छन् ।

तर, एमालेले भने यसअघि इलाम २ बाट निर्वाचित पार्टीका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङसहित ६ जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिस हुने अन्य नेताहरूमा रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल छन् ।

एमाले नेताहरू उनीहरूमध्ये नै कुनै एकजना उम्मेदवार बन्ने बताउँछन् । एमालेका एक नेता सुहाङको बढी सम्भावना भएको बताउँछन् । त्यसो त इलाम २ एमालेको पकड रहेको क्षेत्र मानिन्छ । जहाँ, खनालको दल एकीकृत समाजवादीको मत ५ सयभन्दा धेरै छैन ।

एमालेका ती नेता भन्छन्, “एउटै गठबन्धनमा भएपछि विभिन्न विकल्पमा छलफल हुन्छ । तर, एमालेले पनि उहाँ (झलनाथ खनाल) लाई समर्थन गर्ने कुराचाहिँ नहोला कि !”

त्यसो त अरु दलले उम्मेदवार सिफारिस गरिसकेका छैनन् । तर, खनाललाई उम्मेदवार बनाउनेबारे छलफल गर्न सकिने बताउँछन् माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ । “कसलाई उम्मेदवार बनाउने भन्नेबारे गठबन्धनमा छलफल हुन्छ, सबै विकल्पबारे छलफल गर्छौँ र उपयुक्त पात्र छान्छौँ,” उनले भने ।

कस्तो छ मत-गणित ?

यो क्षेत्रमा इलाम नगरपालिकाको १० नं. बाहेक सबै वडा, देउमाई नगरपालिका, फाकफोकथुम नगरपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका वडा नं. ६, ७ र ८ वडा पर्दछन् ।

गत निर्वाचनलाई आधार मान्दा त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो । गत निर्वाचनमा त्यहाँबाट नेकपा (एमाले) नेता स्व. सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएर जितेका थिए, समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आएको थियो । नेम्वाङले पार्टीको भन्दा करिब ३५ सय मत बढी पाएका थिए ।

यस्तै समानुपातिकतर्फ दोस्रो कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । उम्मेदवार डम्बरबहादुर खड्काले भने २९ हजार ९०६ मत पाएका थिए । उनले पार्टीको भन्दा ६ हजार बढी मत पाएका थिए । त्यसको कारण भने गठबन्धन थियो । उनलाई प्रत्यक्षतर्फ माओवादी र एकीकृत समाजावदीले समर्थन गरेका थिए ।

यसपछि ०४८ पछिका सबै निर्वाचन जितिरहेका नेम्वाङ केवल ११४ मतले विजयी भएका थिए । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको मङ्गोल नेश्नल अर्गनाइजेशनले १ हजार २८० र चौथो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ हजार ३६३ मत पाएको थियो ।

यस्तै समानुपातिकमा तेस्रो रहेको माओवादी केन्द्रको मत ५ हजार १५३ थियो भने रास्वपाले ४ हजार ६८६ मत प्राप्त गरेको थियो । यहाँ रास्वपाले प्रत्यक्षभन्दा समानुपातिकमा निकै धेरै मत पाएको थियो ।

उपचुनावमा के होला ?

अहिले अवस्था फेरिएको छ । नयाँ गठबन्धन बनेको छ । माओवादी-एमालेबीच गठबन्धन भएको छ । त्यसैले नयाँ गठबन्धनका लागि अवस्था सहज देखिन्छ ।

झलनाथ वा अरु कुनै गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने सहजरूपमै जित निकाल्न सक्छन् । अहिले सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् । रास्वपाले भने छुट्टै उम्मेदवारी दिने बताएको छ ।

यो क्षेत्रमा जातीय समीकरण पनि चुनावलाई प्रभावित पार्ने मुख्य ‘फ्याक्टर’ हो । अघिल्लोपटक नेम्वाङले समानुपातिकभन्दा ३५ सय बढी मत ल्याउनुको मुख्य कारण पनि त्यही थियो । त्यसैले कुन दलले कस्तो उम्मेदवार खडा गर्छन् भन्ने कुराले पनि परिणाम तल-माथि हुने सम्भावना छ ।

जे होस्, उपनिर्वाचन गठबन्धन भर्सेस कांग्रेस हुने निश्चितप्राय: छ । यो अवस्थामा विगतको गणित हेरेर गठबन्धन बलियो देखिए पनि जातीय मतले गणित बिग्रन सक्छ । गठबन्धनबाट झलनाथ र कांग्रेसबाट जनजाति उम्मेदवार बनेको अवस्थामा भने निकै टक्कर हुन सक्नेछ । यहाँ रास्वापाको उम्मेदवारले पनि ठूला दललाई प्रभाव पर्नेछ ।

एमालेले सुहाङलाई उम्मेदवार बनाउने र माओवादी लगायतका दलले समर्थन गर्ने अवस्थामा भने कांग्रेसका लागि चुनाव ‘फलामको चिउरा’ सावित हुनसक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved