कारबाहीबाट बच्न जग्गा फिर्ता दिने तयारीमा अरुण चौधरी, चाँदवाग स्कुलका लागि नयाँ भवन खोज्दै

जग्गा फिर्ता गर्दा अभियुक्तविरुद्धको मुद्दा कमजोर हुनेछ । यसो गर्दा ठगीमा संलग्नमाथि थप कारबाहीको सम्भावना कम हुने भएपछि सरकारले मुद्दा दायर हुनुअगावै जग्गा फिर्ता गराउने तयारी थालेको बताइएको छ ।

नेपालभ्युज

कारबाहीबाट बच्न जग्गा फिर्ता दिने तयारीमा अरुण चौधरी, चाँदवाग स्कुलका लागि नयाँ भवन खोज्दै

काठमाडौं । सीजी चाँदवाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारलाई फिर्ता दिएर उम्कने सेटिङमा रहेका अरुण चौधरीले नयाँ भवनको खोजी तीव्र बनाएका छन् । सीजी चाँदवाग रेसिडेन्सीका नाममा रहेको सो जग्गामा अहिले चाँदवाग स्कुल चलिरहेको छ । स्कुल स्थानान्तरणका लागि उनले भवन खोजी सुरु गरेका हुन् ।

बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि)लाई २१ दिनभित्र जग्गा छाड्न पत्राचार गरेपछि स्कुल सार्न चौधरीले नयाँ भवन खोजिरहेका हुन् ।

पहिले बाँसबारी छाला जुत्ता उद्योग रहेको ठाउँमा अहिले सञ्चालनमा रहेको चाँदवाग स्कुलको मुख्य ब्लक छ । त्यो भवन अब सरकारी स्वामित्वमै फर्किन लागेकोले छिट्टै सार्नुपर्ने दबाब छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाइसकेको छ ।

कब्जा गरिएको सरकारी जग्गा छाड्नुपर्ने परिस्थिति आएसँगै उनीहरूले विभिन्न ब्रोकरलाई नयाँ भवन खोजीको लागी मध्यस्थता गरिदिनु आग्रह गरेका छन् ।

बालुवाटारस्थित एक रियल स्टेट सञ्चालकले भने, ‘‘फराकिलो कम्पाउन्डसहितको भवन खोजी गरिदिन भन्दै फर्म भर्नुभएको छ । हामीले खोजी तीव्र बनाएका छौँ । सकेसम्म अहिलेकै ठाउँ वरपर भनिएको छ । तैपनि सम्भव भएसम्म कता हुन्छ खोज्दैछौँ ।’’

एकदिन पनि ‘हिरासत’ नबसी छुटे अरुण चौधरी, भीआईपी क्याबिनबाटै ‘डिस्चार्ज’ !

चाँदवाग रेसिडेन्सी प्रालिका एक अधिकारी भने जग्गा कागजी रूपमा सरकारी स्वामित्वमा गए पनि समय मागेर केही समय अझै स्कूल चलाउन प्रयास गरिने बताए ।

ती अधिकारीले भने, ‘‘भन्ने बित्तिकै ठाउँ नपाइन सक्छ । फेरि कानुनी प्रक्रिया अनुसार बसिरहेको ठाउँ छाड्न केही समय पाउनुपर्ने हुन्छ । यसैले जग्गा सरकारी स्वामित्वमा गए पनि केही समय माग गर्नेछौँ ।’’

जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदवाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा बुधबार हाजिर जमानीमा रिहा भएका थिए ।

सीजी चाँदवाग रेसिडेन्सीका सञ्चालक चौधरीले हडपिएको सरकारी जग्गा फिर्ता गरेको सीआईबीमै बताइसकेका छन् । उनीहरू जमानीमा छुटे पनि सीआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ ।

चौधरीको उद्देश्य जुत्ता कारखानामा शेयरअनुसार लगानी गर्नेभन्दा जग्गा हत्याउने !

जग्गा फिर्ताको प्रक्रिया सुरु

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ । दुई पटकमा ६ र ४ गरी १० रोपनी जग्गा चौधरी समूहले आफ्नो स्वामित्वमा ल्याएको थियो ।

डिल्लीबजार मालपोत कार्यालयका अधिकृत बोगराज कट्टेल भन्छन्, ‘‘सरकारी जग्गा बिक्री गर्ने बेला तत्कालीन श्री ५ को सरकारको निर्णय खोजिएको रहेनछ । मालपोत कार्यालयका तत्कालीन कर्मचारीले सोर्सफोर्स वा कुनै कारण पास गरिदिएछन् ।’’

जग्गा बिक्री गर्न तत्कालीन श्री ५ को सरकारबाट कुनै निर्णय भएको भए सञ्चालकले प्रमाण लिएर आउन सक्ने उनले बताए ।

भूमिसुधार कार्यालय काठमाडौंका अनुसार जग्गा फिर्ताको लागि टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाललाई रोहबरमा पत्राचार गरिएको छ । मालपोत अधिकृत बोगराज शर्मा कट्टेलका अनुसार कार्यालयका कर्मचारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधिले बिहीबार ग्रान्डी अस्पतालमा पुगी ठाकुरलाई बाटोको म्यादबाहेक २१ दिनभित्र उपस्थित हुन पत्र बुझाएका छन् ।

अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

जग्गा फिर्ता गरेर उन्मुक्तिको तयारी

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा सरकारले भने जग्गा फिर्ता गराएर मुद्दा कमजोर बनाउने र उन्मुक्ति दिने तयारी थालेको छ ।

जग्गा फिर्ता गर्दा अभियुक्तविरुद्धको मुद्दा कमजोर हुनेछ । यसो गर्दा ठगीमा संलग्नहरूमाथि थप कारवाहीको सम्भावना कम हुने भएपछि सरकारले मुद्दा दायर हुनुअगावै जग्गा फिर्ता गराउने तयारी थालेको बताइएको छ ।

‘पक्राउ परेका अरुण चौधरीले बयानका क्रममा आफूले जग्गा फिर्ता दिन तयार रहेको बताएका थिए । उनलाई बचाउने उद्देश्यले सरकारले जग्गा फिर्ताको तयारी गरेको बताइएको छ । त्यसो हुँदा चौधरी परिवारका सदस्य थुनामा जानुपर्ने छैन’ एक अधिवक्ता भन्छन् ।

यसअघि बालुवाटार जग्गा प्रकरणमा पनि एमाले नेता विष्णु पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गराएर उन्मुक्ति दिइएको थियो । सोही नजिर चौधरीका सन्दर्भमा पनि लागू गराउन खोजिएको छ ।

विनोद चौधरी तत्काल पक्राउ नपर्ने, जग्गा हिनामिना अनुसन्धान भने जारी रहने

०००

२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा च्याम्पियन फुटवेयर दर्ता भएको थियो ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्य थियो । उसले बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।

यसमा चौधरी परिवारका सदस्यसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको थियो ।

कम्पनी घाटामा गएको देखाएर सञ्चालक समितिले जग्गा बेच्ने निर्णय गरेको थियो । सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो ।

सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने थियो । तर पनि सञ्चालक समितिले नै निर्णय गरेको थियो । यसको लागि कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ  ।

सम्बन्धित समाचार-

हिरासत छल्न बिरामीको ‘बहाना’, तन्दुरुस्त अरुण चौधरी ग्रान्डीको भीआईपी क्याबिनमा

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved