अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

त्यतिबेला चौधरी परिवारको तत्कालीन अधिराजकुमार धीरेन्द्रसँग व्यापारिक साझेदारी थियो । दरबारमा समेत पहुँच बनाएका चौधरीले त्यसकै आधारमा बाँसबारीको जग्गा हात पारेका थिए ।

नेपालभ्युज

अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

काठमाडौं । तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जमिन हडपेको विषयमा अख्तियारले छानबिन अघि नबढाएपछि सीआइबीले सक्रियता बढाएको छ ।

देशकै ठूलोमध्येको एक औद्योगिक-व्यापारिक घराना चौधरी ग्रूप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरीको प्रत्यक्ष संलग्नता देखिएपछि अख्तियार ‘ब्याक’ भएको थियो ।

अनुसन्धान सुरू गरेको १५ महिना पूरा भइसक्दा पनि अख्तियार नतातेपछि बिहीबार सीआइबीले अरुण चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

यो विषयमा अख्तियारमा उजुरी परेको थियो । तर, अख्तियारले खासै चासो नदेखाएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

नेकपा एमाले हुँदै कांग्रेसमा पसेर संविधानसभा सदस्य र सांसद बनेका विनोद चौधरी अध्यक्ष रहेको सीजी ग्रूपले बाँसबारीमा चाँदबाग स्कूल चलाइरहेको छ । त्यो १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाको हो ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रूपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे विभिन्न सञ्चारमाध्यमहरूमा खबर आएका छन् ।

यही प्रकरणमा अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उद्योगी/व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको हो । त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा कसरी पुग्यो भन्नेबारे पत्ता लगाउनै कठिन छ ।

किनकि त्यससम्बन्धी महत्त्वपूर्ण कागजात नै गायब पारिएका छ । यसको लागि मालपोतदेखि नापिसम्मका धेरै कागजात गायक पारिएको सीआईबीले जनाएको छ ।

अख्तियारका एक अनुसन्धान अधिकृतले भने मुलुककै ठूलो व्यापारिक घरानासँग जोडिएको विषय भएको र सरकारमा रहेको ठूलो दलका सांसद जोडिएकाले अनुसन्धानबाट पछि हटेको बताएका छन् ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

ती अधिकृत भन्छन्, “अख्तियारले सुरूमा त्यसबारे छानबिन थाल्यो । त्यो विषय त्यति सजिलो थिएन । पछि काम अघि नबढाउन माथिबाटै दबाब आयो ।”

त्यहीकारण अख्तियार पछि हटेपछि यसको अनुसन्धान सीआईबीले गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भने यो विषयमा अहिले पनि छानबिन गरिरहेको दाबी गरेका छन् ।

२०४३ सालतिरको व्यापारिक पृष्ठभूमिका चौधरी ग्रूपले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडको नाममा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा नामसारी गर्न सफल भएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने भनेर दर्ता भइनसकेको आफ्नो कम्पनीको स्वामित्वमा चौधरी परिवारले ल्याएको थियो ।

चौधरी परिवारको कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालगायत कारखानाका उच्चतहका कर्मचारीसँग बलियो साँठगाँठ थियो ।

त्यतिबेला चौधरी परिवारको तत्कालीन अधिराजकुमार धीरेन्द्रसँग व्यापारिक साझेदारी थियो । त्यही दरबारमा समेत पहुँच बनाएका चौधरीले त्यसकै आधारमा बाँसबारीको जग्गा हात पारेको कतिपयले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved