जब कोठा खोज्न भन्दै सीआईबीको टोली बम्जनको बङ्गला पुग्यो…

घरभेटी महिलाले दिक्क मान्दै मानिसलाई बाहिर पठाउन खोजिन् । तर, ती मानिसले खल्तीबाट आईडीकार्ड निकालेर ‘सिआईबी’ भएको बताए । तुरुन्तै महिलाले ढोकाको स्वीच थिचिन् । केहीबेरमै घर पछाडिबाट केही खसेको जस्तो आवाज आयो । बम्जन भाग्न फाल हालेका रहेछन् ।

नेपालभ्युज

जब कोठा खोज्न भन्दै सीआईबीको टोली बम्जनको बङ्गला पुग्यो…

काठमाडौं । दुई सातायता बुढानिलकण्ठ हात्तीगौंडामा केही नयाँ मानिस ओहोरदोहोर गरिरहेका थिए। उनीहरू फ्ल्याट तथा कोठा खोज्नेहरू थिए । कोही विदेश जाने सिलसिलाले आएको बताउँथे, कोही जागिर यतै भएकाले पायक पर्ने ठाउँ परेको भन्थे ।

मंगलबार साँझ ती मानिस हात्तिगौंडाको एउटा ठूलो सेतो बङ्गलामा छिरे । अग्लो पर्खाल लगाइएको भीआईपी बस्ने जस्तो देखिने घर थियो । गेटभित्र छिरेपछि देखियो पार्किङ गरिएको अवस्थामा महँगा गाडी र मोटरसाइकल ।

तीन करोड रुपैयाँ पर्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत थुप्रै महँगा सवारी साधन थिए ।

घरको वातावरण हेर्दा भाडामा लगाउने खालको जस्तो देखिँदैनथ्यो । कुकुर कराएपछि ढोकाबाट एक महिला रिसाउँदै बाहिर निस्किइन् । अनुमतिबिना आफ्नो गेटभित्र किन छिरेको भन्दै हकारिन् ।

उनीहरूले ‘फ्ल्याट खोज्न आएको’ बताए । ती महिलाले आफ्नो घरमा खाली नभएको र अन्तै खोज्न सुझाव दिइन् ।

ती मानिसले अरू कहाँकहाँ छ भन्दै अलमलाइरहे । ती महिलाले दिक्क मान्दै उनीहरूलाई बाहिर पठाउन  खोजिन् । त्यसपछि ती मानिसले खल्तीबाट आइडीकार्ड निकालेर आफूहरू सीआईबीबाट आएको बताए । घरमा सर्च अपरेसन गर्न भित्र छिर्ने बताए ।

तुरुन्तै महिलाले घरको ढोकामा पुगेर एउटा स्वीच थिचिन् । माथिल्लो तलातिर एउटा घण्टी बजेको सुनियो । तुरुन्तै घर पछाडिबाट केही खसेको जस्तो आवाज आयो ।

घरको चौथौ तल्लाको झ्यालबाट रामबहादुर बम्जन हामफालेका रहेछन् । चौथौ तलाबाट फालहालेका उनी दोस्रो तल्लामा आइपुगे । पछाडिबाट सीआइबीको अर्को टोली गएर बम्जनलाई समातिहाल्यो । अर्को टोलीले घरको कोठाकोठा छापा मार्याे ।

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

‘अपरेसन ब्लु’ नाम दिएर थालेको कारबाहीमा कथित धर्मगुरु बम्जनलाई समात्न नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी गएका थिए । सीआईबीको टोलीले उनलाई झन्डै १५ दिनको रेकीपछि मंगलबार पक्राउ गरेको हो ।

बारा, सिन्धुली र सिन्धुपाल्चोकमा पटकपटकको प्रयासमा पनि बम्जनलाई सीआईबी पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यसपटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिए ।

सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालिसकेका थिए । तर, सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन ।

बम्जन चार व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार थिए । पक्राउपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार सार्वजनिक गरेको छ ।

सीआईबीले सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए । अब उनलाई सर्लाही पठाएर मुद्दा अघि बढाउने तयारी छ ।

बमजनको घरबाट तीन करोड नेपाली रुपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा भेटियो । १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको छ ।

सम्बन्धित समाचार-

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

बम्जनलाई पक्राउ गर्दा प्रहरीले के–के बरामद गर्यो ?

तस्वीरमा हेर्नुहोस् रामबहादुर बम्जनको घरबाट बरामद भएको पैसा

पछिल्लोसमय बम्जनले ध्यान गर्ने गरेको देखिएन : सीआईबी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved