बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

रामबहादुर बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको तथा कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोपमा उजुरी र मुद्दा परिसकेको छ । धेरै जिल्लामा जाहेरी परे पनि प्रहरीले बम्जनलाई अहिले सर्लाही लैजान लागेको भने बलात्कार मुद्दामा अदालतमा उपस्थित गराउनका लागि हो ।

नेपालभ्युज

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

काठमाडौं । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनविरुद्ध चारवटा जिल्लामा फरक-फरक जाहेरी परेका छन् । उनीविरुद्ध नुवाकोट, सर्लाही, मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा बलात्कार र बेपत्ता पारिएको भन्दै आफन्त र पीडितले जाहेरी दिएका छन् ।

बम्जनको आश्रम गएका आफ्ना बुबा खोजिदिन भन्दै मकवानपुरका महेन्द्र वाइवाले उजुरी दिएका छन् । यस्तै छोरा खोजिदिन भन्दै बाराका हस्तबहादुर आलेमगरले पनि जिल्ला प्रशासन कार्यालय (जिप्रका) मा जाहेरी दिएका छन् । दिदी खोजिदिन भन्दै मकवानपुरका विजय रूम्बा र बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङले प्रहरीमा निवेदन दिएका छन्।

यस्तै रामबहादुर बम्जनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २०७७ असारमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको थियो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ स्थित वनस्पति चोक बस्ने महेन्द्रले आफ्ना बुबा सञ्चलाल वाइवा बम्जनको आश्रमबाट ४ वर्षदेखि बेपत्ता भएको भन्दै चार वर्षअघि नै प्रहरीमा जाहेरी दिएका छन् ।

उनले जाहेरीमा बुबा सञ्चलालले २०७१, चैत १४ गते सिन्धुपाल्चोकको बडेगाउँस्थित बम्जनको आश्रमबाट फोन गरेर १७ गते घर आउने बताएका थिए । बुबा १० दिनसम्म नआएपछि महेन्द्रले त्यही बेला प्रहरीमा उजुरी दिए ।

उजुरी गरेको पर्सिपल्ट आफैँ बुबालाई खोज्दै बम्जनको सिन्धुपाल्चोक आश्रम पुगेका थिए । त्यहाँ पुगेपछि बुबा आश्रमबाट निस्किसकेको जवाफ पाएका थिए ।

आश्रममा बसेकाहरूले उनका बुबा सञ्चलालको हत्या भएको बताएको खबर सञ्चारमाध्यममा आएको थियो । त्यतिबेला आश्रममै बस्ने चेलाका अनुसार बम्जनले कुट्दाकुट्दै सञ्चलालको ज्यान गएको थियो ।

हेटौंडाका विजय रूम्बाले आफ्नी दिदी फूलमाया रूम्बाको खोजी गर्न भन्दै चार वर्षअघि नै प्रहरीमा जाहेरी दिएका छन् । बम्जनको आश्रममा डोल्मो नाम दिइएकी दिदी २०६८ देखि आश्रममा बस्दै आएकी थिइन् ।

विजयका अनुसार उनले पछिल्लोपटक २०७१, माघमा सिन्धुपाल्चोकको बडेगाउँस्थित आश्रमबाट घरमा सम्पर्क गरेकी थिइन् । त्यो बेला उनले आफूलाई छिट्टै भेट्न आउन आमाबुबालाई भनेकी थिइन् ।

असारमा छोरी भेट्न गएका आमाबाबुले उनी आश्रमबाट फागुनमै निस्किएको जवाफ पाएका थिए । त्यसपछि विजयको परिवारले डोल्मोलाई खोजेको खोज्यै छ तर, फेला पार्न सकेको छैन ।

डोल्मोसँगै उनकी साथी नुवाकोटकी कर्मा तामाङ पनि हराएकी छन् । बम्जनको आश्रममा उनको नाम चुन्मो थियो। चुन्मोकी दिदी गंगामायाले नुवाकोट प्रहरीमा आश्रमबाट बेपत्ता भएकी आफ्नी बहिनी खोजिदिन भन्दै जाहेरी दिएकी छन्।

जाहेरीमा ‘म निवेदिकाकी बहिनी, २०६८ मा सिन्धुलीस्थित बम्जन आश्रममा पढ्न भनी गएकी थिइन् । २०६९ मा एकपटक साथीसँगै घरमा आएर एक दिन बसेकी थिइन् । उनीहरू बम्जनकै आश्रम फर्केका थिए । त्यसपछि उनीहरू अहिलेसम्म सम्पर्कमा छैनन्,’ भनेर उल्लेख गर्दै खोज तलास गरिदिन अनुरोध गरेकी छन् ।

त्यसबेला बम्जन निकट व्यक्तिले चुन्मो ‘आश्रमबाट निस्किएर कहाँ गएको हो, आफूहरूलाई थाहा छैन’ भन्ने जवाफ दिएका थिए ।

यस्तै बाराका हस्तबहादुर आले मगरले पनि आफ्ना छोरा बेपत्ता भएको भन्दै प्रहरीमा खबर गरेका छन् । उनले तीन वर्षदेखि आफ्ना छोरा बम्जन आश्रमबाट बेपत्ता भएको भन्दै चार वर्ष अघि असारमै बारा प्रहरीमा जाहेरी दिएका छन् ।

उनका छोरा सुरेश आलेमगर लामो समयदेखि बम्जनसँगै बस्दै आएका थिए । बेलाबेला घर आउँथे । पछिल्लोपटक उनी २०७२ को भुइँचालोपछि आएका थिए । फेरि आश्रममा जाने/नजाने दोधारमै रहेका बेला बम्जनका विश्वासपात्र जशबहादुर वाइवाले छोरालाई मोटरसाइकलमा राखी लिएर गएको भन्दै बुबा हस्तबहादुरले जाहेरीमा उल्लेख गरेका छन् ।

उनले दिएको जाहेरीमा भनिएको छ, “छोरा बम्जनको आश्रममा फेरि जाउँ कि नजाउँ भन्ने दोधारमा थियो । त्यही बेला, बम्जनका विश्वासपात्र, जितपुर सिमरा उपमहानगरपालिका˗१६ पिलुवा घर भएका जशबहादुर वाइवाले छोरालाई फकाई घरबाट लिएर गएका थिए, रामबहादुर बम्जनकै आश्रय स्थलबाट हराएको हुँदा उसको वास्तविकता पत्ता लगाई सकुशल उद्धार गरिदिन अनुरोध गर्दछौँ ।”

बम्जनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको भन्दै गंगामायाले २०७७ माघमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले बम्जनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको हो ।

आफूमाथि २०७३ साल साउन २० गते बम्जनले बलात्कार गरेको गंगामायाले काठमाडौंमा पत्रकार सम्मेलन गरेरै आरोप लगाएकी थिइन् ।

रामबहादुर बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको तथा कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोपमा उजुरी र मुद्दा परिसकेको छ ।

बम्जनको आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् ।

बम्जनको आदेशमा वाइवालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ ।

धेरै जिल्लामा जाहेरी परे पनि प्रहरीले बम्जनलाई अहिले सर्लाही लैजान लागेको भने बलात्कार मुद्दामा अदालतमा उपस्थित गराउनका लागि हो । त्यहाँ गंगामायाले दिएको उजुरीका आधारमा प्रहरीले बलात्कार अभियोगमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।

सर्लाहीमा बम्जनविरुद्ध बाल यौन दूराचारको मुद्दा चलिरहेको छ । यस्तै प्रहरीले अवैध विदेशी रकमको मुद्दा पनि दायर गर्ने तयारी गरेको छ । त्यसबाहेक हत्या र बेपत्ताबारे अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved