टिप्पणी

नातिनीको बिहे प्रचण्डका लागि राजनीतिक घाटा !

विवाह पारिवारिक तथा वैयक्तिक अधिकारको विषय भएपनि हिजो माओवादी आन्दोलनमा यसको समेत राजनीतिकरण भएको हुँदा आज प्रचण्डलाई अप्ठ्यारो परेको हो । माओवादी पार्टीले जनयुद्धको समयमा कार्यकर्ताबीच अन्तर्जातीय र मञ्च विवाहका लागि प्रेरित गर्थ्यो ।

नातिनीको बिहे प्रचण्डका लागि राजनीतिक घाटा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा भरतपुर महानगरपालिका मेयर रेनु दाहालकी छोरीको बिहेले सामाजिक सञ्जाल तताएको छ अहिले । कुनैबेला सर्वहारा वर्ग, वर्गीय प्रेम र संस्कृति, समाजवादी क्रान्ति र जनवादी विवाहको पैरवी गर्ने माओवादी पार्टीका सुप्रिमोकै साक्खे नातिनीको बिहे ‘बुर्जुवा पारा’ ले तामझामपूर्ण तरिकाले भएको भन्दै कतिपयले चर्को आलोचनासमेत गरिरहेका छन् ।

प्रधानमन्त्रीकी नातिनीको बिहे शुक्रबार देशकै असाध्यै महँगोमध्ये एक मानिने गोकर्ण फोरेष्ट रिसोर्टमा भएको थियो । भनिन्छ— यस रिसोर्टमा प्रतिअतिथि एक दिनको खर्च २५,००० भन्दा बढी आउँछ । लामो समय सशस्त्र आन्दोलनमा लागेको, कुनै पेशा व्यवसाय तथा पारदर्शी आय नभएको प्रचण्ड परिवारले यतिको महँगो विवाह गर्ने रकम कसरी जुटायो होला भनेर प्रश्न पनि भइरहेको छ ।

बिहेका जन्ती र निम्तालु गरेर सयौंको संख्यामा थिए । त्यसबाट सामाजिक सुधार तथा संहिता ऐनको उल्लङ्घन भएको समेत गुनासो छ । कानूनको पालना र सामाजिक सुधार गर्नु, गराउनु पर्नेहरूबाटै यस्तो व्यवहार हुनु निकै उदेकलाग्दो भएको भन्दै टिप्पणी गर्नेहरू पनि धेरै छन् ।

माओवादी पार्टीइतरले मात्र हैन, स्वयम् माओवादी कार्यकर्ता र समर्थकले समेत यसको विरोध गरेका छन् । माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नै अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई व्यङ्ग्य गर्दै लेखेका छन्— लुम्बिनी विकास कोषको नियुक्ति (ल्यार्केल लामा) बाट सुरू भएको पार्टी रूपान्तरण प्रक्रिया गोकर्ण रिसोर्टमा पुगेर समापन भएको छ ।

उनको पोस्टमा टिप्पणी गर्नेहरू अधिकांशले यो समापन नभइ निरन्तरतामै भएको बताइरहेका छन् । माओवादीमा अहिले ‘पार्टी रूपान्तरण अभियान’ चलिरहेको छ ।

विवाह पारिवारिक तथा वैयक्तिक अधिकारको विषय भएपनि हिजो माओवादी आन्दोलनमा यसको समेत राजनीतिकरण भएको हुँदा आज प्रचण्डलाई अप्ठ्यारो परेको हो । माओवादी पार्टीले जनयुद्धको समयमा कार्यकर्ताबीच अन्तर्जातीय र मञ्च विवाहका लागि प्रेरित गर्थ्यो । थोरै खर्चमा तामझाम बेगर गरिने त्यस्ता विवाहलाई ‘जनवादी विवाह’ भन्ने गरिन्थ्यो ।

माओवादीले ‘जनवादी विवाह’ लाई सामन्ती तथा बुर्जुवा संस्कृतिका विरुद्धमा सर्वहारा संस्कृतिको अभ्यास मान्ने गरेको थियो । माओवादी नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीबीचको त्यस्तै जनवादी विवाहको फोटोलाई सामाजिक सञ्जालमा व्यापक प्रयोग गरिएको छ ।

पुन-घर्तीबीचको ‘जनवादी विवाह’ को फोटोसँग तुलना गर्दै धेरैले प्रचण्डकी नातिनीको विवाहको फोटोलाई ‘धनवादी विवाह’ भनेका छन् । अर्थात् हिजोको ‘जनवादी विवाह’ आजको ‘धनवादी विवाह’ भन्दै फोटोको तुलना भएको छ ।

कतिपयले साम्यवादी सिद्धान्त र नेता कार्यकर्ताको नियत र नियतिमाथि नै प्रश्न उठाएका छन् । हिजो शक्तिहीन हुँदा उनीहरूले के भन्थे र आज के गर्दैछन् भन्ने प्रश्न उठाइएको छ । हिजो यस्ता क्रियाकलाप गर्नेलाई ‘बुर्जुवा, सामन्ती, शोषक’ भन्दै निन्दा मात्र हैन, निरुत्साहित र भाटे कारबाहीसमेत गरिन्थ्यो । महँगो खर्च, बडप्पन र शानको प्रदर्शनलाई गैरसर्वहारा संस्कृति मानिन्थ्यो । माओवादीले सांस्कृतिक रूपान्तरण र क्रान्ति गर्न चाहेको कुरा गरिन्थ्यो । माओवादी सर्वहारावादी पार्टी भएको दाबी गरिन्थ्यो ।

आज कम्युनिष्ट नेताकै व्यवहारले त्यो नारा धोका, बेइमानी र पाखण्डमा परिणत भएको छ । कार्यकर्ता र जनतालाई मितव्ययीता र सादा जीवनको शिक्षा दिने कम्युनिष्ट नेताहरूले नै महँगा गाडी, आलिसान महलको प्रयोग गरिरहेका हुन्छन् । उनीहरूको दैनिक खर्च मात्र पनि एक महिनाको तलब-भत्ताले नपुग्ने हुन्छ ।

कम्युनिष्ट नेताहरूको कुनै व्यवसाय वा पारदर्शी आयस्रोत देखिँदैन । उनीहरू आफूलाई ‘पूर्णकालीन राजनीतिककर्मी’ मान्ने गर्दछन् । उनीहरूको आयस्रोत पारदर्शी छैन । राज्यले दिने सीमित तलबभत्ताले त्यस्तो तामझाम र तडकभडकपूर्ण जीवन बाँच्न सम्भव हुँदैन ।

एक ट्वीटर प्रयोगकर्ता रञ्जित तामाङ लेख्छन्— पहिले जनवादी विवाहको ब्यानरमुनि मुट्ठी उचाल्न लगाएर कार्यकर्ताको विवाह गराए । अहिले कम्युनिष्ट नेताका सन्तानको विवाहले गोकर्ण रिसोर्टदेखि हायत होटलसम्म भरिभराउ । कम्युनिष्ट नेताहरूले जस्तो दुनियाँको बुद्धि भुटेर खान कसैले जानेको छैन ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडाको विवाह हायात होटलबाट भएको थियो । उनी नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाकी छोरी हुन् । एमालेले पनि कुनै बेला माओवादीले जस्तो जनवादी विवाह र सादगीपूर्ण जीवनको कुरा गर्थ्यो । एकीकृत समाजवादी एमालेबाट चोइटिएर बनेको कम्युनिष्ट समूह हो ।

प्रचण्डको नियतिलाई निकोलाई चाउचेस्कुसँग समेत जोडेर कतिपयले टिप्पणी गरेका छन् । चाउचेस्कु सन् १९६५ देखि सन् १९८९ सम्म रुमानियाँको कम्युनिष्ट शासक तथा पार्टी महासचिव थिए । उनको शासन पतन हुँदा उनको निवासमा पत्नी एलिना चाउचेस्कुको हजारभन्दा बढी नयाँ-नयाँ मोडेलका जुत्ताचप्पल राखेको पाइएको थियो ।

सर्वहारा क्रान्ति, समाजवादी राज्य र मितव्ययी संस्कृतिका कुरा गर्ने कम्युनिष्ट शासक भित्रभित्रै कतिसम्म सुविधाभोगी हुन सक्दछन् भन्ने उदाहरण दिन पर्‍यो भने चाउचेस्कु दम्पतीको नाम लिने गरिन्छ ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा लेख्छन्— एक बिहेले साम्यवादका सिद्धान्तको खण्डन गर्दिन्छ कि मान्छे कस्ताे प्राणी हाे सत्ता,शक्ति र धन नहुँदा त्यसले के भन्थ्याे, हुँदा के गर्छ ? गान्धी र माण्डेलाहरूकाे महत्त्व किन छ ? त्यागकाे मूल्य किन छ ? चाउचेस्कुले जस्तै प्रचण्डले पुष्टि गरे कि साम्यवाद माैका नपाउँदाकाे कुण्ठा मात्रै हाे ।

यद्यपि अर्को एउटा कोणबाट पनि टिप्पणी नभएको हैन । अहिले आफ्नै सन्तान त नियन्त्रणमा हुँदैनन् भने प्रचण्डले नातिनीको जिम्मा कसरी लिन सक्छन् ? भनेर केहीले प्रचण्डको बचाउ गरिरहेका छन् । यसमा पनि अर्काथरीको मत प्रचण्डले जिम्मा नलिए पनि आमा रेनु दाहालले भड्किलो बिहे गर्न हुँदैनथ्यो भन्ने छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्ड मात्र हैन, पुत्री रेनु दाहाल पनि अहिले महत्त्वपूर्ण राजकीय पदमा छन् । उनी भरतपुर महानगरपालिकाकी मेयर हुन् । अघिल्लो पटक उनलाई जसरी पनि जिताउन गरिएका कार्यले चितवनका जनतामा व्यापक वितृष्णा उत्पन्न भएको थियो । त्यसैले पनि चितवनको जनमत पुराना दल र नेताप्रति पूरै भाँडिएको छ ।

चितवन प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला हो, जहाँ चुनाव लड्ने आँट नभएर उनी गोर्खा-२ पुगे । गृह जिल्लाको मनोविज्ञानलाई समेट्दै लानुको साटो नातिनीको भड्किलो विवाहले प्रचण्ड र माओवादीलाई जनताबाट झनै टाढा बनाउने छ । प्रधानमन्त्री प्रचण्डलाई थप राजनीतिक घाटा हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved