कसरी देलान् ‘सबै पुराना’ एकठाउँ भएर ‘नयाँ दल’लाई जवाफ ?

ठूला पुुराना दलका शीर्ष नेताको भनाइबाट यो प्रष्ट हुन्छ कि नयाँ दललाई उनीहरूले ‘साझा चुनौती’ का रूपमा लिएका छन् । तर, नयाँ दललाई ‘मिलेर यथोचित जवाफ’ चाहिँ कसरी देलान् ? के पुराना तीन दल एकठाँउ हुने कुनै सम्भावना हुनेछ ? भए कुन मोडालिटीमा, कुन सवाल र वैचारिकीमा कसरी एक होलान् ?

कसरी देलान् ‘सबै पुराना’ एकठाउँ भएर ‘नयाँ दल’लाई जवाफ ?

काठमाडौं । दशैं समाप्त भएसँगै राजनीतिक सरगर्मी पुनश्च बढ्न थालेको छ । दशैंको अन्तिम दिन नेपाली कांग्रेसको चियापान कार्यक्रममा दलका नेता, कार्यकर्ताको ठूलो जमघट मात्र भएन, ‘शुभकामना’ सँगै हल्काफुल्का ‘राजनीतिक घोचपेच’ पनि चल्यो । कार्यक्रममा तीनवटै ठूला पुराना दलका नेताले नयाँ दलको भाष्य र औचित्यमाथि शंका गर्दै ‘मिलेर’ त्यसको यथोचित जवाफ दिने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, “हामीमाथि प्रश्न उठेको हैन, उठाउने कोसिस भएको छ । यसको जवाफ सही समयमा यथोचित ढङ्गले दिइने छ ।”

ओलीको यस्तो प्रतिक्रियाले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत निकै ठूलो आडभरोसा मिलेजस्तो देखिन्थ्यो । सभापति देउवामाथि ‘कांग्रेस सिध्याउन लागेको’ व्यापक जनगुनासो र आमआलोचना छ, त्यो पनि स्वयं कांग्रेसभित्रबाटै । कांग्रेस समर्थकको ठूलो तप्काले ठान्छ कि देउवाले ‘कांग्रेसको माओवादीकरण’ गर्दैछन् ।

देउवाको नेतत्वकालमा कांग्रेस निरन्तर कमजोर, विवादास्पद र अविश्वसनीय हुँदै गएको चर्को जनधारणाबाट आफ्नो प्रतिरक्षा गर्न उनले पनि एमाले अध्यक्ष ओलीजस्तै नयाँ दलको भाष्यलाई नै दोष दिए । उनको बुझाइमा पुराना दल अलोकप्रिय, असान्दर्भिक र औचित्यहीन हुँदै गएका हैनन्, भ्रम छर्न खोजिएको मात्र हो ।

तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि ओली र देउवासँग मिल्दोजुल्दो धारणा व्यक्त गरे । प्रचण्डले पुराना दलको औचित्य समाप्त नभएको बरु त्यस्तो गलत भाष्य बनाएर अराजकता सृजना गर्न खोजिएको दाबी गर्दै ‘मिलेर त्यसको जवाफ दिने’ बताए । प्रचण्डले ओलीसँग केही गम्भीर भेटघाट र सार्थक संवाद हुँदै गएको संकेतसमेत गरे ।

यी तीनवटै ठूला पुराना दलका शीर्ष नेताको भनाइबाट यो प्रष्ट हुन्छ कि नयाँ दललाई उनीहरूले ‘साझा चुनौती’ का रूपमा लिएका छन् । तर, नयाँ दललाई ‘मिलेर यथोचित जवाफ’ चाहिँ कसरी देलान् ? के पुराना तीन दल एकठाँउ हुने कुनै सम्भावना बन्छ ? भए कुन मोडालिटीमा, कुन सवाल र वैचारिकीमा कसरी एक होलान् ? त्यो भने अस्पष्ट छ ।

सहज छैन मिल्न

उपरोक्त अभिव्यक्तिबाट यो प्रष्ट हुन्छ कि एमाले, कांग्रेस र माओवादी केन्द्र; तीनवटै ठूला दललाई ‘नयाँ दल’ को चुनौती र बदलिँदो राजनीतिक तथा मतदान प्रवृतिले सताउन थालेको छ । हिजो यी दल एक अर्काका विकल्प मानिन्थे । एकअर्काको आलोचना गरेर त्यसको जनमतलाई आफूतिर आकर्षित गर्न खोज्थे ।

आज तीनवटै पुराना दललाई एकअर्काको विकल्प मानिन छोड्नु, उस्तै ठानिनु र एउटै बाँस्केटमा हालेर हेरिन थाल्नु अनौठो भएको छ । एमाले र कांग्रेस त दशकौंदेखि एकअर्कालाई ‘देश नबन्नुको दोष’ लगाउँदै आएका थिए, यहाँसम्म कि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल भएर उदाएपछि माओवादीले एमाले र कांग्रेस सधैँका लागि सकिने दाबी गरेको थियो ।

नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका आ-आफ्ना वैचारिक पृष्ठभूमि, इतिहासको विरासत र राजनीतिक स्वार्थ छन् । एमाले र माओवादी दुवै कम्युनिष्ट आन्दोलनभित्रका घटक दल भएको हुँदा यी मिल्न वा फेरि एकीकृत हुन सक्दछन् । तर, नेपाली कांग्रेस कम्युनिष्ट घटकसँग ‘मर्ज’ हुन त सक्दैन । त्यसोभए कांग्रेसले एमाले र माओवादीसँग मिलेर नयाँ दलहरूलाई दिने जवाफ के कस्तो हो ? स्वाभाविक जिज्ञासा उत्पन्न भए पनि त्यसको राजनीतिक उत्तर प्राप्त गर्न अहिले नै सकिँदैन ।

के फेरि कम्युनिष्ट एकता हुन्छ ?

कतिपय वाम बुद्धिजीवी ठान्दछन् कि पछिल्लो राजनीतिक वितृष्णा, आम निराशा र नयाँ राजनीतिक दलहरूको लहर सिर्जना हुनुमा २०७४ को वाम गठबन्धनको सरकार र नेकपा (नेकपा) को अभ्यास असफल हुनु मुख्य कारण हो ।

कम्युनिष्ट एकता र कम्युनिष्ट पार्टीको बहुमतको एकल सरकार वामपन्थी रुझान राख्ने मतदाताको लामो समयदेखिको सपना थियो । कम्युनिष्टहरू एकीकृत भएको क्षण देशले एक बलियो तथा भरपर्दो राजनीतिक शक्ति प्राप्त गर्दछ र देशले अपेक्षित उपलब्धि हासिल गर्न सक्नेछ भन्ने कम्युनिष्ट समर्थकको बुझाइ र विश्वास रहँदै आएको थियो । तसर्थ, त्यो पङ्क्तिले नयाँ राजनीतिक विचार, आन्दोलन र शक्तिलाई साथ दिने गरेको थिएन । कम्युनिष्ट एकताको आशा गरेर बसेको थियो ।

२०१९ सालको तेस्रो महाधिवेशनबाट विभाजित नेपाल कम्युनिष्ट पार्टीका मुख्य दुई धार छन् । पूर्वकोशी प्रान्तीय कमिटी र झापा विद्रोह हुँदै विकसित भएको माले धार । यसको मुख्य घटक अहिले पनि एमाले नै हो भने एकीकृत समाजवादी र सीपी मैनाली नेतृत्वको माले उपघटक हुन् ।

त्यसै गरी केन्द्रीय न्यूक्लियस, चौम, मसाल हुँदै विकसित भएको माओवादी धार । यसको मूल घटक भनेको अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र हो । मोहनविक्रम सिंह नेतृत्वको मसाल र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी यसका उपघटक हुन् । तसर्थ कम्युनिष्ट आन्दोलनको एकता मूलतः एमाले र माओवादी केन्द्रको एकता नै थियो ।

कम्युनिष्ट एकताबाट देशले सही राजनीतिक शक्ति प्राप्त गर्न सक्दछ भन्ने बुझाइ र अपेक्षालाई २०७४ को कम्युनिष्ट गठबन्धन र पार्टी एकताले गलतसिद्ध गर्दियो । त्यसपछि जनमतको एउटा हिस्सा बिथोलिएर नयाँ विकल्प खोज्न सहज भएको विश्लेषणलाई अस्वीकार गर्न सकिँदैन।

तर, दर्जनौं समूहमा विभाजित कम्युनिष्ट समूहबीच फेरि एकता आफैँमा जटिल छ भने एकता नै भए पनि त्यसबाट देशले निकास पाउने जनविश्वास नितान्त कमजोर भइसकेको छ । विश्लेषक ठान्दछन् कि फेरि कम्युनिष्ट एकता नै भए पनि २०७४ को जस्तो माहोल अब उनीहरूको पक्षमा बन्दैन । किनकी उनीहरूको अवसरवाद, गुटबन्दी, नेतृत्व भोक, व्यक्तिगत स्वार्थ र महत्वकांक्षाको नग्न प्रदर्शन र गैरजम्मेवार चरित्र जनताका सामु प्रष्ट भइसकेको छ ।

के आगामी चुनावमा सबै ‘पुराना दल’ एउटै गठबन्धनमा हुन सम्भव छ ?

कम्युनिष्ट घटकबीच एकता र विभाजनको सम्भावना सधैँ रहने हुँदा २०८४ को आम चुनावभन्दा अघि एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) वा अन्य कम्युनिष्ट घटकबीच पार्टी एकता वा चुनावी गठबन्धनको सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

तर, नेपाली कांग्रेसले चाहिँ ‘मिलेर नयाँ दललाई जवाफ’ कसरी दिन्छ ? कांग्रेस र कम्युनिष्ट बीच पार्टी एकता हुने हैन । संयुक्त सरकार अहिले पनि छ जसले नयाँ राजनीतिक दल र प्रवृतिको आकर्षणलाई रोक्न कुनै साथर्क काम गर्न सकेको छैन ।

त्यसो भए नेपाली कांग्रेससंग नयाँ दललाई ‘मिलेर जवाफ दिन’ के विकल्प बाँकी छ ? नेपाली कांगेसका लागि एक मात्र बाँकी विकल्प एमाले, माओवादीसहितको चुनावी गठबन्धन बनाउनु हो । के कांग्रेस त्यहाँसम्म जान भित्रभित्रै तयार हुँदै गएको हो ? नत्र सबै मिलेर नयाँ दललाई जवाफ दिने अरु के उपाय छ ?

सबै पुराना दलको एउटै चुनावी गठबन्धनको कल्पना अहिले नै निक्कै हतारो हुन्छ । कम्युनिष्ट र समाजवादी समूहरूको लागि यो सामान्य हो तर, कांग्रेस पनि यही गठबन्धनमा मिसियो भने सायद नेपाली कांग्रेसको औचित्य झनै कमजोर हुने छ ।

सबै पुराना दलको एउटै चुनावी गठबन्धन बने– त्यो नयाँ दलका लागि प्रतिकूल हैन, झनै बढीअनुकूल हुन सक्दछ । किनकि पुराना सबै दल एउटै हुन् भन्ने भावना बलियो मात्र हैन, पुष्टि हुने छ । पुराना दल बीचको लोकतान्त्रिक छनोटको विकल्प सीमित हुने छ । कि नयाँ कि पुरानामध्ये एक छनोट गर्नु पर्ने स्थिति मतदाता सामु आउनेछ ।

आगामी चुनावमा एमालेसहितको कम्युनिष्ट एकता, सबै कम्युनिष्ट र समाजवादीसहितको नेपाली कांग्रेससँग गठबन्धन भएमा त्यसले नयाँ दलहरूको विकासक्रमलाई रोक्ने छैन, बरु झनै अनुकूलता थप्ने छ । सायद चाहेर पनि कांग्रेस यसका लागि तयार हुने छैन । त्यसो भए नेपाली कांग्रेससँग सबै मिलेर नयाँ दललाई जवाफ दिने कुनै उपाय नै बाँकी रहँदैन ।

कति परसम्म जान सक्दछ समाजवादी मोर्चा ?

एमाले बाहेकका केही कम्युनिष्ट र समाजवादी घटक मिलेर अहिले नै समाजवादी मोर्चा बनाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा (विप्लव) र जसपा सामेल यो समूहको राजनीतिक औचित्य र भविष्य अझै प्रष्ट छैन ।

भविष्यमा आउन सक्ने अधिकांश राजनीतिक घटनाक्रमले यो मोर्चाको सम्भावनालाई सीमित गर्दछ, उज्यालो देखाउँदैन । जस्तो कि एमाले र माओवादीबीच कम्युनिष्ट एकता भयो भने समाजवादी मोर्चाको कुनै औचित्य रहँदैन । मानौं कि मोर्चाका तीन कम्युनिष्ट दल माओवादी, नेकपा (एस) र विप्लव मिलेर एमालेलाई चुनौती दिने मनसायले अर्को कम्युनिष्ट पार्टी बनाए भने पनि जसपा त्यसबाट बाहिरिन पर्ने छ ।

आगामी चुनावमा एमाले र नेपाली कांग्रेस दुवै दलतिरको गठबन्धमा नगएर भिन्नै तेस्रो चुनावी मोर्चा बनाउने आँट र क्षमता यसमा छैन । नयाँ दलसँग एकता र सहकार्य पनि यो मोर्चाले गर्न सक्दैन ।

त्यसोभए मोर्चाको सार्थकता के ? कसरी नयाँ दललाई जवाफ दिन सक्छ यसले ? यो मोर्चाको उद्देश्य एमाले र कांग्रेसबीच सत्ता समीकरणको सन्तुलन गर्नुबाहेक अरु केही देखिन्न । तसर्थ, समाजवादी मोर्चाले नयाँ दलप्रतिको जनआकर्षणमा कुनै प्रतिकुल असर गर्दैन । नयाँ दलहरूको बाटो जताबाट हेरे-नापे पनि खुल्लै देखिन्छ ।

भाष्य कि सत्य ?

पुराना दल र ती दलप्रति रुझान राख्ने विश्लेषक नयाँ दलप्रतिको आकर्षणलाई ‘सत्य’ हैन, ‘भाष्य’ मात्रै हो भन्ने ठान्दछन् । नेपाली कांग्रेसको चियापान कार्यक्रममा तीन शीर्ष नेताले व्यक्त गरेका उपरोक्त भनाइबाट पनि त्यही पुष्टि हुन्छ ।

उनीहरूको विचारमा पुराना दल र नेताप्रति जनता असन्तुष्ट भएको, ती दल र नेता असान्दर्भिक असफल र असक्षम भएको कथन सत्य हैन, संकथन मात्र हो । प्रचण्डका शब्दमा पुराना दल र नेताप्रति ‘प्रश्न उठेको हैन, उठाइएको’ हो ।

पुराना दलका शीर्ष नेतामात्र हैन, कतिपय विश्लेषक पनि ठीक यस्तै धारणा राख्दछन् । जस्तो कि नेपाली कांग्रेस निकट गेजा शर्मा वाग्लेले एक ट्वीटमा भनेका छन्, “नेपाल बन्दैन, यसको भविष्य छैन, सबै पार्टी खराब, सबै नेता असफल, सबै सरकार भ्रष्ट भन्ने भ्रामक भाष्य बहुप्रचारित छ । देशमा समस्या नभएको हैन छन, खराब पार्टी पनि छन, असफल र असान्दिर्भक नेता पनि छन । भ्रष्ट सरकार पनि छ । तर, सबै पार्टी, खराब, सबै नेता असफल र सबै सरकार भ्रष्ट छैनन् । यस्तो भ्रामक भाष्यले पपुलिस्ट, प्रतिगामी र अनुदारवादी सलबलाई रहेको, सरकार असफल भइरहेको, मूलधारका पार्टी र शीर्ष नेतृत्व पंक्ति अलोकप्रिय भएको कारणले मौन बसेको देखिन्छ ।”

शर्मा यो स्थितिको प्रतिरक्षा गर्न मूलधारका दल र शीर्ष नेता असक्षम भएको हुँदा बौद्धिक वर्गले यो भूमिका गर्नु पर्ने आग्रह समेत गर्दछन । उनी अगाडि भन्छन्– ‘बौद्धिक समुदायको घातक मौनताको कारणले प्रणाली नै दुर्घटना नहोस् ।’

‘पपुलिज्म’ मात्रै कि ‘गम्भीर विकल्प’ पनि ?

पुराना दलका शीर्ष नेताहरूको असफलता र असान्दर्भिकता भाष्य मात्रै हो भन्न सकिँदैन । त्यसको कुनै आधार छैन । कुनै कथन ‘भाष्य’ हो कि ‘सत्य’ ? त्यसको पुष्ट्याई तथ्यले गर्ने हो । तथ्य हेर्दा कुनै कोणबाट पनि देशको स्थिति राम्रै देखिन्न, जबकी दशकौंदेखि यिनै दल र नेताले शासन प्रशासन चलाइरहेका छन् ।

पुराना दल र नेताले न देशको आर्थिक विकास र समृद्धिमा योगदान गर्न सकेको देखिन्छ न भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा पर्याप्त प्रतिबद्धता र कारबाही गरेको पाइन्छ । न नैतिक राजनीतिक संस्कृतिलाई प्रवर्द्धन गर्न सकेको देखिन्छ न देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न । भूराजनीतिक सन्तुलन र देशको हित रक्षा गर्न समेत पुराना दल र नेताहरू चुकिरहेका छन् ।

देशमा आर्थिक संकट र मन्दी चरम भइसक्दा, बेरोजगारी र गरिबी झनै विस्तार हुँदै जाँदा, प्रतिवर्ष ९ लाखभन्दा बढी युवा जनशक्ति विदेशिन लाग्दा, भ्रष्टाचारका दर्जनौं घटनामा स्वयं तिनै दलका नेता र कार्यकर्ताको व्यापक संलग्नता पुष्टि भइसक्दा पनि पुराना दल र नेताको असफलता, असक्षमता, नालायकी, भ्रष्टता, असान्दर्भिकता र औचित्यहीनतालाई सत्य हैन, भाष्य मात्रै हो भन्न सकिँदैन ।

सत्यको उद्बोदनबाट पपुलिस्ट, प्रतिगामी र अनुदारवादीले मात्र सल्बलाउने अवसर पाउँछन् भन्न सकिँदैन । त्यसले युगिन परिवर्तन र गम्भीर विकल्प निर्माणका लागि सम्भावनाको ढोका पनि खोल्न सक्दछ । जस्तो कि अर्का एक विश्लेषक डम्बर खतिवडा एक ट्वीटमा भन्दछन्, “पुरानाहरूको चरम असक्षमता, भ्रष्टता, नालायकी र असफलताले लोकप्रियतावाद फस्टाउँछ । तसर्थ पुराना ठीकै, राम्रै छन् भन्दिनपर्छ भन्ने भाष्य झनै भ्रामक हो । एक त, त्यस्तो झुठ कसरी बोल्न सकिन्छ ? दोस्रो, पुरानाको असान्दर्भिकताले पपुलिज्मको मात्रै हैन, गम्भीर विकल्पको पनि बाटो खोल्छ ।”

अर्थात् पुरानाको असफलता भाष्य मात्र हैन, सत्य पनि हो । तर, त्यसबाट पपुलिज्म जन्मिन्छ कि गम्भीर विकल्प ? त्यो अर्को महत्त्वपूर्ण प्रश्न हो ।

सबै पुराना मिले पनि नयाँलाई जवाफ दिन त्यति सजिलो छैन । किनकी संकथनको जवाफ फर्काउन सकिन्छ सत्यको सकिँदैन । सत्य स्वयं जवाफ हो, त्यसको कुनै उत्तर नै हुँदैन ।

तसर्थ ‘सबै पुराना’ एक ठाउँ भएर ‘नयाँ दल’ लाई जवाफ फर्काउन सजिलो भने छैन । बरु त्यस्तो जवाफ झनै प्रतिउत्पादक हुन सक्दछ । बरु सबैका लागि हितकर हुन्छ सत्य स्वीकार गर्नु । खासमा पुराना दलले नयाँ दललाई कुनै राजनीतिक जवाफ दिइरहनु पर्दैन, स्वयं आफ्नै सोच, चरित्र, कार्यशैली र नैतिकस्तर सुधार गरेर राष्ट्रको कार्यभार पूरा गरे पर्याप्त हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved