रामकुमारी झाँक्रीलाई एक एनआरएनको जवाफ- घुस खानुभन्दा रेस्टुराँमा काम गर्नु हजार गुणा उत्तम !

यदि गैरआवासीय नेपालीलाई नेपालको राजनीतिबारे टिप्पणी गर्ने अधिकार हुन्न भन्ने झाँक्रीको पार्टीलाई नेपालको भूमिमा बसेर जर्मनीका मार्क्स र रुसका लेनिनको फोटो पुज्ने अधिकार कहाँबाट र कसरी प्राप्त हुन्छ ?

रामकुमारी झाँक्रीलाई एक एनआरएनको जवाफ- घुस खानुभन्दा रेस्टुराँमा काम गर्नु हजार गुणा उत्तम !

काठमाडौं । कम्युनिष्ट नेतृ, पूर्वसांसद तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ (एनआरएन) को सम्मेलनमा दिएको चर्को अभिव्यक्तिले सामाजिक सञ्जाल तात्यो । सँगै उनका अभिव्यक्ति स्वाभाविक, आवश्यक, वस्तुगत र विवेकसम्मत हुन् कि अतिवादी, मर्यादाहीन र अव्यवहारिक भन्ने बहस पनि उठ्यो ।

स्वयम् गैरआवासीय नेपाली भने झाँक्रीको अभिव्यक्तिप्रति सन्तुष्ट छैनन् । झाँक्रीको अभिव्यक्तिलाई उनीहरूले एक प्रकारको अपमान ठानेका छन् । हुन पनि हो, नागरिकताको सैद्धान्तिक बहसलाई उनले अनावश्यकरूपमा ‘सिपाही र वेटर’ सँग जोडेर श्रमप्रति असम्मान प्रकट गरिन् । यो पाटोबाट हेर्दा उनको अभिव्यक्ति नि:सन्देह आपत्तिजनक लाग्दछ ।

भाषणका क्रममा उनले ‘सोल्जरको भन्दामाथि उठ्न नसकेको दिमाग’, ‘रेस्टुराँमा काम गर्दागर्दै पढ्न नभ्याएको’ र ‘बिहानै आँखाको चिप्रा नपुछ्दै देशलाई गाली गर्न थाल्ने’, ‘आफ्नो तरक्की देखाउन आएका’ जस्ता अपमानजनक शब्द र वाक्य प्रयोग गरेकी छन्, जसले श्रमिक र श्रमको गरिमा र मर्यादालाई होच्याउँछ ।

‘सोल्जर’ र ‘रेस्टुराँमा काम गर्ने’ मान्छे को बुद्धि-विकेक नै हुँदैन भन्ने अर्थ लाग्छ उनका यी अभिव्यक्तिबाट । श्रमको गरिमा र मर्यादा आफैँमा एक गम्भीर र अन्तर्राष्ट्रिय महत्त्वको प्रश्न हो । त्यसमाथि आफूलाई गरिब, श्रमिक, सर्वहारा र समाजवादी पार्टी दाबी गर्ने कम्युनिष्ट नेतृको मुखबाट यस्ता शब्द निस्कनै नसक्नु पर्ने हो ।

अमेरिकामा बस्दै आएका एक एनआरएन रुद्र पाण्डेले झाँक्रीको भनाइको चर्को आलोचना गरेका छन् । उनी ट्वीटरमा लेख्छन्, “रामकुमारी झाँक्रीले हरेक एनआरएनलाई रेस्टुराँमा काम गरेर बिहान आँखाको चिप्रा मिच्दै नेपालका नेताको विरोध गर्ने जमात भनेर झाँको झार्ने दुस्प्रयास गरिछन् । कामको सम्मान गर्न नसक्ने ढोंगी कम्युनिष्टले देश ध्वंस्त पारे । घुस खानुभन्दा रेस्टुराँमा काम गर्नु हजार गुणा उत्तम हो । मैले विद्यार्थी हुँदा चौकीदारी गरेको थिएँ । काम कहिले पनि सानो हुन्न ।’

उनी अगाडि लेख्छन्— नेपालमा प्राय: सबैजसो घरबाट एक जना एनआरएन छन् । कहिले पनि प्रत्यक्ष चुनाव नजितेकी यी झाँक्री बहिनीले अब चुनाव नलडेको बेस ।  विदेशमा बसेका नेपालीले वर्षेनी १२ खर्ब रूपैयाँ पठाउँछन् । त्यही पैसाले नेपाली नेता र कार्यकर्ता पालिएका छन् । यदि झाँक्रीले सार्वजनिकरूपमा माफी नमागे सम्पूर्ण विदेशमा बस्ने नेपालीले आफ्ना इष्टमित्रलाई फोन गरेर माधव नेपालको पार्टीलाई चुनावमा भोट नहाल्न सल्लाह दिन सक्दछन् । बालेनलाई एनआरएनले जिताएका हुन् । एनआरएनको शक्तिलाई स्वीकार गर ।’

झाँक्रीको यो अभिव्यक्तिमा अर्को असंगत दाबी छ । उनी विदेशिएका नेपालीले नेपालको राजनीतिबारे चर्चा, टिप्पणी वा आलोचना गर्ने अधिकार राख्दैनन् भन्ने ठान्दो रहेछिन् । नेताहरूको कमजोरीलाई औल्याउँनु वा आलोचना गर्नु विश्वव्यापी लोकतान्त्रिक अधिकार हो । त्यो नेपाली वा गैरआवासीय नेपालीलाई मात्र हैन, संसारभरिकै नागरिकलाई हुन्छ ।

हामी नेपालमै बसेर अमेरिकी वा रुसी वा अन्य कयौं देशको राजनीतिबारे टिप्पणी गरिरहेका हुन्छौं । पुटिन ठीक कि बेठीक, युक्रेन युद्ध ठीक कि बेठीक ? बाइडन ठीक कि ट्रम्प भनेर बहस गरिरकेका हुन्छौं, यसमा कुनै असंगति छैन । नेपाली राजनीतिबारे नेपाली मूलका मानिसले टिप्पणी गर्न नपाउँने भन्ने त हुनै सक्दैन ।

अझ झाँक्री आफूलाई कम्युनिष्ट भन्छिन् र आफूलाई अन्तर्राष्ट्रिवादी भन्छिन् । मार्क्सवाद, लेनिनवादजस्ता विदेशी नेताका सिद्धान्त र विचार बोकेर हिँड्छ । यदि गैरआवासीय नेपालीलाई नेपालको राजनीतिबारे टिप्पणी गर्ने अधिकार हुन्न भन्ने झाँक्रीलाई लाग्छ भने उनको पार्टीलाई नेपालको भूमिमा बसेर जर्मनीका मार्क्स र रुसका लेनिनको फोटो पुज्ने अधिकार कहाँबाट र कसरी प्राप्त हुन्छ ?

यति हुँदाहुँदै पनि लेखिका तथा स्तम्भकार मीना पौडेलले भने झाँक्रीको बचाउ गर्न खोजेकी छन् । पौडेलका विचारमा नेपाल भित्रिने रेमिटेन्समा एनआरएनको योगदान छैन । उनी लेख्छिन्, “भ्रम नरहोस् नेपालको अर्थतन्त्र थेग्ने रेमिट्यान्स भारतलगायत अन्य श्रम गन्तव्य मुलुकमा वैदेशिक रोजगारीको खाकाभित्र पर्ने आवधिक रोजगारीमा रहेका श्रमिक आप्रवासीले पठाएको पसिना हो । आफ्नो पैतृक अंशसमेत पोको पारेर पलायन भएका पूर्व नेपालीको हैन ।’

एनआरएनले नेपालमा रेमिट्यान्स पठाउँदैनन् भन्ने चाहिँ पुष्टि छैन । पूरै परिवार बसाइ सरेका उदाहरण थोरै छन् भने परिवार र नजिकका नातेदार नेपालमै छोडेर विदेशिएकाको संख्या ठूलो छ । नेपालले प्राप्त गर्ने रेमिट्यान्समा के कति वैदेशिक रोजगारमा गएका आप्रवासी श्रमिक र के-कति एनआरएनको योगदान हुन्छ ? यसको भिन्नाभिन्नै तथ्यांक भने राष्ट्र बैंकले प्रकाशित गर्ने गरेको छैन । यदि तयार गरेको छ भने पनि त्यो अहिलेसम्म सार्वजनिक बहस र सूचनामा छैन ।

पौडेलको दाबी त्यतिधेरै विश्वासनीय लाग्दैन किनकि विदेश जाँदा नेपालको सबै धनसम्पति बेचेर जाने प्रचलन एकदमै न्यून छ । प्रारम्भमा उनीहरू विद्यार्थी, श्रमिक वा अन्य कुनै तरिकाले गएका हुन्छन् । अधिकांशको तरक्की विदेशमै गएर भएको हुन्छ । विदेशमा गएर नेपालीले तरक्की गर्दा खुसी नै हुनुपर्ने हो । नेपालीको उन्नति, प्रगतिमा खुसी छौं वा हुन्छौं भन्ने ठानिँदै आएको थियो ।

तर, पहिलोपटक ‘तरक्की गर्नेहरू’ प्रतिको रिस र घृणा सार्वजनिक भएको छ । एनआरएनप्रति नेपालभित्र यति ठूलो मनोवैज्ञानिक दूरी बढ्दै गएको सार्वजनिक अभिव्यक्ति सायद यो पहिलो पटक भएको हो ।

विवादपछि सही तथ्यांक के हो ? नेपालको रेमिट्यान्समा कुन प्रकारले विदेश गएका नेपालीको योगादानको अंश के कति छ ? त्यो पनि कसैले न कसैले खोजीनीति गर्नुपर्ने भएको छ । अन्यथा नीतिगत बहस अवस्तुवादी र हावादारी हुने सम्भावना बढ्ने छ ।

‘नेपाली‘ र ‘पूर्वनेपाली’ को मनोवैज्ञानिक विभाजन किन यति बलियो हुँदैछ ? यो आफैँमा विचारणीय प्रश्न हो । नेपालको संविधानले कसैलाई ‘पूर्वनेपाली’ भन्दैन/मान्दैन । नेपाली मूलका मानिस संसारको जुनसुकै देशको नागरिक भए पनि उताको नागरिकता त्यागेर नेपाल फर्किएको सूचना दिनेबित्तिकै नेपालको नागरिकता सक्रिय हुन्छ ।

रास्वपा नेता तथा सांसद रवि लामिछानेको नागरिकता विवादमा यो कुरा सार्वजनिकरूपमै प्रष्ट भइसकेको थियो । ‘पूर्वनेपाली’ नभनेर ‘गैरआवासीय नेपाली’ भनिनुको अर्थ नै उनीहरू जुनकुनै बेला नेपाल फर्किने अधिकार राख्दछन् भन्ने हो ।

एनआरएनका पदाधिकारीले नेपाल आएर के कति शान झार्छन्, पोज देखाउँछन् वा नेपालभित्रै बसेकालाई ओल्चिन्छन्, त्यो भिन्नै कुरा हो । त्यो कुनै व्यक्तिको निजी चरित्र होला, आम गैरआवासीय नेपाली सबै त्यस्तै हुन्छन् भन्ने धारणा राख्नु उचित हैन । केही निश्चित व्यक्ति वा पदाधिकारीको कारणले लाखौं आफ्नै दाजुभाइ, दिदीबहिनीलाई अन्यथा देख्नु उचित हुनै सक्दैन ।

लेखिका पौडेलको स्टाटसबाट त्यसप्रकारको भावना प्रष्टै अनुमान गर्न सकिन्छ । उनी भन्छिन्— स्वघोषित सभ्य, सुकिला, दक्ष र धनी सदस्यले दुई दशकमा कति रूपैयाँ रेमिट गरे राष्ट्रिय ढुकुटीमा ?

यसबाट प्रष्ट हुन्छ कि गैरआवासीय नेपालीप्रति झाँक्रीको जस्तो धारणा राख्ने जनमत छ । त्यो कति र कत्रो छ यसै भन्न नसकिएला तर छ । पौडेलले प्रयोग गरेका ‘सभ्य’, ‘सुकिला’, ‘दक्ष’ र ‘धनी’ शब्द स्वयम् लेखिकाको हीनताभाष हो वा एनआरएन पदाधिकारीहरूले यसप्रकारको अनुचित शान झर्ने काम पनि गर्दछन् ? त्यो भिन्नै बहसको विषय हो । किनकि सबै नेपालीले एनआरएन पदाधिकारीलाई चिनेका पनि हुँदैनन् र यो वैयक्तिक सरोकारको विषय पनि हैन ।

तर, अर्थशास्त्रीय दृष्टिकोणले सक्षम एनआरएनबाट गरिने अपेक्षा भने रेमिट्यान्स हैन, प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि तथा सीप हस्तान्तरण र निर्यात व्यापारमा पहुँचको सहजता हो भन्ने यथार्थ बिर्सन मिल्दैन । नि:सन्देह यस प्रकारको योगदान सीमित नै होला वा के कस्तो छ, अब त्यसको अनि औपचारिक तथ्यांक सार्वजनिक हुनुपर्ने देखिन्छ । किनकि एनआरएनसम्बन्धी बहसलाई वस्तुगत बनाउने हो भने भावनामा उडेर वा एकअर्कालाई अनुचित गालीगलौज गरेर मात्र हुँदैन, नेपाली अर्थतन्त्र, समाज र राष्ट्रको लागि त्यसको योगदानको प्रवृति के कस्तो छ वा छैन ? त्यो प्रष्ट हुन जरुरी हुन्छ ।

स्वयम् गैरआवासीय नेपाली नै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन इच्छुक छैनन् भने अन्य देशका नागरिक र लगानीकर्ताले त्यो झनै गर्ने छैनन् । आफ्नै देशका लाई त गाली र निरुत्साहित गरिन्छ भने अन्य देशका नागरिक कसरी प्रेरित होलान र आउलान् ? के बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी यतिखेर नेपालको आवश्यकता हैन ?

रामकुमारी झाँक्रीको आक्रोशपूर्ण अभिव्यक्तिले ‘नागरिकताको हैसियत’ बारेको सैद्धान्तिक सवाललाई मात्र आकर्षित गर्दैन । नेपाली र गैरआवासीय नेपालीबीचको सम्बन्ध र नेपालको अर्थतन्त्रसँग जोडिएका गम्भीर प्रश्नलाई पनि आकर्षित गर्दछ । तसर्थ यो बहसलाई हल्का ढंगले लिन मिल्दैन ।

आजसम्म हामी विदेसिएकालाई ‘बाध्यता’ भन्दै करुणापूर्ण ढंगले हेरिरहेका थियौं । देशभित्रको न्यून रोजगार, कमजोर उद्यमशीलता तथा न्यून आय अवस्थालाई हेर्दा त्यो बुझाइ अहिले पनि ठीकै हो । करिब १ तिहाई जनसंख्या विदेशिँदा पनि देशभित्र बस्नेका लागि राम्रो रोजगार र उद्यमशीलताका अवसर अझै छैनन् । मानौं कि ती सबै देशभित्रै हुन्थे, देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था कस्तो हुन्थ्यो होला ? देशको अर्थतन्त्रले आयात धान्ने वैदेशिक मुद्राको पर्याप्त संचिती कसरी गर्थ्यो होला ?

झाँक्रीको अभिव्यक्तिपछि यो प्रष्ट भयो कि विदेशिएकाप्रति घृणा र वैरभावपूर्ण मनोविज्ञान पाल्ने जनमत पनि निक्कै ठूलो भइसके छ । निक्कै गन्ने मान्ने, नाम चलेका र सार्वजनिक बहसमा निष्पक्ष तथा तटस्थ धारणा राख्ने हुँ भन्नेहरूले पनि झाँक्रीको भनाइप्रति समर्थन जनाएका छन् । यो एनआरएन भन्ने संगठन र त्यसका प्रचलन तथा पदाधिकारीप्रतिको घृणा हो कि आम गैरआवासीय नेपालीप्रतिको ? यो उत्तिकै महत्त्वपूर्ण सवाल हो ।

जे होस् झाँक्रीको झारफुकले एक नयाँ सार्वजनिक विमर्श भने सृजना गरेकै छ । आजसम्म सतहमा नआएका कयौं पक्षहरूलाई खोतल्न त्यसले प्रेरित गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved