डा. ह्यारीको कंग्रेसमेनमा उम्मेदवारी घोषणा

राजनीतिक यात्रालाई संघीय इकाईतर्फ अगाडि बढाएको भनाइ

मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संघीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उम्मेदवारीको घोषणा गरेका छन् ।

नेपालभ्युज

डा. ह्यारीको कंग्रेसमेनमा उम्मेदवारी घोषणा

वाशिङ्गटन डिसी (अमेरिका)। मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा. ह्यारी भण्डारीले अमेरिकी संघीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उम्मेदवारीको घोषणा गरेका छन् । उनको उम्मेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेश पाएको छ ।

भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताए । अमेरिकाको मूलधारको राजनीतिमा एक दशकदेखि सक्रिय रहेका डा. भण्डारीले आफ्नो राजनीतिक यात्रालाई संघीय इकाईतर्फ अगाडि बढाउनुभएको हो ।

कंग्रेसमेनको रुपमा उम्मेदवारी घोषणा गरेका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउनेछन् ।

यसपटक मेरिल्याण्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गरेकाले यसलाई खुला सिटको रुपमा लिइएको छ । ह्यारीले उमेदवारी दिन लागेको स्थान उनी डेलिगेटमा दुई पटक विजयी भइसकेको स्थानमा पर्दछ । तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसमेत हुन् ।

डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ । त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्नेछन् भन्ने विषय पनि पेचिलो रहने छ ।

‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ । नेपाली समुदायको आपत-विपतमा सदैव अग्रपङ्क्तिमा रहेर समूदायको हितमा अहोरात्र खटिने ह्यारीले भने, ‘विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्भाव प्राप्त गर्नेमा म विश्वस्त छु ।’

ह्यारीले डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीको योगदान महत्त्वपूर्ण थियो । कोराना महामारीको बेलामा दिवङ्गत भएका नेपालीको शव व्यवस्थापनमा ह्यारी र उनको टोली सक्रियरूपमा लागेको थियो ।

ह्यारीले नेपालीहरूको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याउनु भएको दशैं बिल मेरिल्याण्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोवर ५ तारिखलाई दशैं डे भनेर समेत मनाउन थालिएको छ ।

नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउँदै आएका छन् ।

नेपाली मूलका व्यक्तिले अहिलेसम्म सङ्घीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved