आलेख

पश्चिम नेपालतिरको पछिल्लो मुड

बुटवलसम्म हो, काठमाडौं मनोविज्ञानको प्रभाव देखिने । काठमाडौंमा राम्रो उपलब्धि हासिल गरेको रास्वपाले बुटवल क्षेत्रमा राम्रै भोट ल्याएको थियो । बुटवल पश्चिमको नेपाल आज पनि काठमाडौंबाट कम प्रभावित छ । आफ्नै मौलिक पीडा र मनोदशामा बाँचेको छ ।

पश्चिम नेपालतिरको पछिल्लो मुड

भाद्र २२ गते साँझ । टिकापुरको भेटघाट र अन्तरक्रिया सकेर हामी बास बस्ने ठाउँतिर लाग्यौं । टिकापुरबाट करिब ८ किमी पश्चिममा छ झबही गाउँ । कैलालीका गाउँ पहिलोपटक म २०५० को मंसिरमा घुमेको थिएँ ३० वर्षअघि ।

त्यो बेलाका गाउँको कुरै छोडौं । कर्णालीपारि राजमार्गमै २२ वटा पुल बन्न बाँकी थिए । कर्णाली पुल भर्खरै सकिएको थियो । नत्र त्यहाँ फेरीबाट गाडी तारिन्थ्यो । कर्णालीपारिका प्रत्येक खोलामा मान्छे उत्रेर गाडी खोलाभित्रैबाट पार गर्नुपर्थ्यो । खोला कम गहिरो वा छिपछिपे भएका विन्दुबाट । अस्थायी डाइभर्सन पनि कमै थिए।

टिकापुरबाट झबहीसम्म कालोपत्रे सडक रहेछ अहिले । साँझ ‘थारू फुडल्याड रिसोर्ट’मा हाम्रा गाडी के रोकिएका थिए, झमझम पानी पर्न थाल्यो । यसका मालिक रहेछन्– रामजनम चौधरी । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबाट बारम्बार सांसद र मन्त्री भएका राष्ट्रिय राजनीतिकै चिरपरिचित व्यक्तित्व ।

२०४८ सालपछिका सबैजसो चुनाव जित्दै आएका रामजनमले पछिल्ला दुई चुनाव भने नराम्ररी हारे । कारण–टिकापुर घटना । टिकापुर जनविद्रोहपछि स्थानीय जनमत जसरी रेशम चौधरी र नागरिक उन्मुक्ति पार्टीतिर सोहोरियो, रामजनमको जोर नचल्नु स्वाभाविक थियो ।

रामजनमले अहिले गाउँ र थारू संस्कृतिलाई व्यवसायसँग जोड्ने अथक प्रयत्न गरेका छन् । घुंगी, गंगटा, महुवाको रक्सीलगायत स्थानीय खानपानका परिकार पाइन्छन् त्यहाँ । प्लस टु पढ्ने विद्यार्थीलाई सिप्ट–वाइज काम दिएर उनले स्थानीयलाई रोजगारसँग जोडेका पनि छन्।

हामीले सोध्यौं– जीवनभरि सांसद मन्त्री भएको मान्छे गाउँमा ‘फुडल्याल्ड’ चलाएर बस्न गाह्रो- सजिलो के रहेछ ? उनी हाँसे–‘चुनाव हारिहालियो, केही न केही त गर्नुपर्‍यो ।’ सरल उत्तर दिए उनले, बिना लप्पनछप्पन ।

त्यसपछि उनैले सोधे–‘तपाईंहरूको मिसनचाहिँ के हो ? किन र कसरी आइपुग्नुभयो यहाँ ?’ हामीले हाम्रो उद्देश्य भन्यौं । नयाँ संविधानपछि पनि देश राम्रो बाटोमा लागेन । आर्थिक संकट बढ्दो छ । विदेसिने क्रम बढ्दो छ । भ्रष्टाचार र कुशासन बढ्दो छ । छानबिन र कारबाही विश्वसनीय छैनन् । अवसरवाद, पदलोलुपता र स्खलन बढ्दो छ । कर्मचारीतन्त्रमा कुनै सुधार आएन । चालु खर्च र ऋण व्यापक भयो, पुँजीगत खर्च नै शून्यजस्तो भयो । विकास निर्माण ठप्प होलान् जस्तो छ । पुराना दल र नेताहरू देशको समस्याप्रति गम्भीर र संवेदनशील छैनन् । यस्तो बेला नागरिक कर्तव्य के हो ? देशको मुड बुझ्न हिँडेको । संवाद, अन्तर्क्रिया चलाउँदै ।– हामीले भन्यौं ।

उनले कुनै वैचारिक तथा सैद्धान्तिक प्रतिवाद गरेनन् । सबै कुरा स्वीकार गरे । आर्थिक संटकको मार उनी आफैँले व्यवसायमा भोगिरहेका रहेछन् । त्यसको तीतो अनुभूति सुनाए । र अन्त्यमा भने–‘हामी नेपालीको विचित्रको स्वभाव छ । सुरुवातमा सबैले राम्रै कुरा गर्छन् । म पनि तपाईंहरूकै जस्तो कुराले प्रभावित भएर युवा उमेरमै नेविसंघ र कांग्रेसमा लागेको थिएँ । सांसद मन्त्री सबै थोक भइयो, तर खै देश बनेन । शक्तिमा पुगेपछि बिग्रिने लामो परम्परा छ हाम्रो, तपाईंहरू जोगिन सक्नुहोला ? निकै ठूलो संकल्प, प्रतिबद्धता र समूहकार्य चहिन्छ यो देश बनाउन ।’

मनमनै गमेँ मैले–‘देशमा राजनीतिक तथा आर्थिक संकट जे-जति छ, त्योभन्दा ठूलो विश्वासको संकट छ ।’ रामजनम चौधरीको भनाइमा त्यही अविश्वास झल्किन्थ्यो, हामीप्रति मात्र हैन, सिंगो देश, इतिहास र हाम्रो आम मानवीय प्रवृत्तिप्रति ।

भर्खरै जन्मिएको नागरिक उन्मुक्ति पार्टीबारे पनि ठीक त्यही धारणा थियो, टिकापुर वरिपरि । यो पनि बिग्रिन थालिसक्यो । टिकापुर जनविद्रोहका राजबन्दीको न्यायका लागि भनेर मान्छेले यो पार्टीलाई भोट दिए । जन्मकैद पाएका अरु साथीलाई जेलमै छोडेर रेशम चौधरीले एक्लै आममाफी स्वीकार गरे । पार्टी तुरुन्तै सत्तामा गयो । पुरानैहरूको गठबन्धनमा । खै कसको विश्वास गर्ने ?

नागरिक उन्मुक्तिले मात्र हैन, नयाँ भनिएका रास्वपा र जनमत पार्टीले पनि त्यही बाटो रोजेको बुझाइ व्याप्त थियो जनतामा । ‘नयाँ भन्छन्, विकल्प दिने भन्छन् । एक अवधि सत्ताबाहिर बस्ने धैर्यता छैन । तिनै पुरानाको चाकरी गर्नु छ । उस्तै, सरकार र गठबन्धनमा सामेल हुनु छ । त्यसरी पनि कुनै विकल्प बन्छ ?’ लम्की बजारमा भेटघाट भएका युवा र बुद्धिजीवी शंका व्यक्त गर्दछन्।

२३ गते राति धनगढी बस्यौं । पहिले-पहिले नेपाली कांग्रेस निकै बलियो थियो यता । देउवा–आरजूको हस्तक्षेप स्थानीय राजनीतिमा जति बढ्दै गयो, कांग्रेस त्यति नै कमजोर हुँदै गयो । पाँच दलीय गठबन्धनबाट कांग्रेसका वीरबहादुर बलायरले चुनाव त जिते, तर, एक्लै लडेको भए कांग्रेसको जित सुनिश्चित थिएन । गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार गोपी हमालको जितपछि सबै पार्टीको निदहराम भएको छ । सबैले आफूलाई असुरक्षित ठान्दा रहेछन् ।

धनगढी–अत्तरिया क्षेत्रमा सबैभन्दा ठूलो निराशा र छटपटी कांग्रेस कार्यकर्तामा देखिन्थ्यो । जनयुद्धपछि माओवादीले बलियो पकड बनाएको क्षेत्र थियो यो । तर, अहिले कसैले गणनायोग्य पार्टीसमेत ठान्दैन माओवादीलाई । माओवादीका लेखराज भट्ट एमालेमा बसाइँ सरेपछि बरु थोरबहुत एमालैकै संगठन बलियो जस्तो छ । तर, समग्र सुदूर पश्चिममा भने एमाले उल्लेखनीय रूपमा कमजोर भएको छ ।

कतिपयलाई भीम रावलको चासो छ । भीम रावल के गर्छन् ? के एमालेमै बस्छन् ? के ओली र रावलबीच फेरि कुरा मिल्न सम्भव छ ? भीम रावलले छोडे सुदूरपश्चिममा एमालेले धेरै ठूलो नोक्सानी व्यहोर्नुपर्ने बताउँछन् बौनिया चोकमा भेटिएका एक युवा । उनी स्वयं रावल समर्थक रहेछन् । भन्दै थिए–‘दाइले अहिले नै हतार नगर्नु भन्नुभएको छ । हामीले छोड्यौं भने अरु ४० प्रतिशत एमाले सकिन्छ सुदूरपश्चिममा ।’

भाद्र १७ गते परासीको बर्दघाटबाट हामीले पश्चिमतिरको भेटघाट सुरु गरेका थियौं । गिरिराज रेग्मीको घरमा थियो भेटघाट। रेग्मीको घरको बनोट अनौठो लागेर सोधें मैले– ‘के प्रयोजनले यस्तो घर बनाउनुभएको ?’ खासमा उनले कुखुरा पालनको उद्देश्यले खुल्ला तला भएको घर बनाएका थिए, निकै ठूलो । तर, कुखुरापालन व्यवसाय निकै कमजोर भएकाले परित्याग गरेर नर्सरी व्यापार सुरु गरे । गिरिराजजीका छोरा डा. विवेक रेग्मीसँग पछि कपिलवस्तुको शिवपुरी चोकमा भेट भयो । उनका अनुसार कुखुरापालन व्यवसायमा केही वर्षयता भयानक मन्दी र शिथिलता छ ।

उनले देशभरिकै समग्र तथ्यांक बताउँदै भने– दुई वर्षअघि देशभरि ३४८ ह्याचरी थिए, अहिले करिब १५० मात्र बाँकी छन् । हप्ताको ५० लाख चल्ला उत्पादन हुन्थे, अहिले १५ लाख मात्रै हुन्छ । कुखुरापालन व्यवसायमा आएको शिथिलताले ह्याचरी र फिड उद्योग निकै ठूलो संकटमा छन् । केही वर्ष अघिसम्म नेपाल कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको बताइन्थ्यो । एकाएक यस्तो मन्दी र ह्रास कसरी आयो ?

हाम्रा मित्र तथा पूर्वमन्त्री मोहम्मद इस्तायाक राईसमेत छन् यो व्यवसायमा । नेपालगञ्जमा उनीसँग भेट हुँदा उनले भने– नेपाल र भारत बीचको लागतस्तरको भिन्नता यसको मुख्य कारण हो । नेपालमा सबैथोक भारतबाट ल्याउनुपर्छ । भन्सार र ढुवानीको कारण उत्पादन लागत धेरै पर्छ । भारतमा किसानलाई राम्रै अनुदान पनि छ । नेपालको कुखुराले भारतको कुखुरासँग बजारमा मूल्य प्रतिस्पर्धा गर्न सक्दैन । सरकारले कि त अनुदान बढाउनुपर्‍यो कि त भारतीय कुखुरा आयात रोक्ने आँट गर्नुपर्‍यो । यी दुवै कुरा नहुँदा यो क्षेत्र संकटग्रस्त हुँदै गएको छ।

अचेल औसत मान्छे राजनीतिकभन्दा बढी आर्थिक संकटको कुरा गर्न रुचाउँछन् । पश्चिम नेपालतिरको मुड पनि त्यस्तै देखिन्छ । हरेक व्यवसायमा मन्दी छ । नेपालको कृषि उत्पादनले भारतको लागतस्तर र बजार मूल्यसँग प्रतिस्पर्धा गर्नसक्ने विश्वास कसैमा छैन । तुलनात्मक लाभको दृष्टिले धेरैले वैदेशिक रोजगारलाई नै मनपराउँछन् ।

पश्चिम नेपालको वैदेशिक रोजगार प्राथमिकता पूर्व नेपालको जस्तो तेस्रो देश लक्षित हुँदैन । थोरैले खाडी वा अन्य समुन्द्रपार देश रोज्छन् । अधिकांशले भारत । अत्तरियाका एक युवा भन्छन्– त्यसो हुनुको कारण छ । भारत जाँदा पासपोर्ट भिसाको झन्झट हुँदैन । विदेश जान लाग्ने १–२ लाख पनि खर्च गर्न पर्दैन । म्यानपावर कम्पनीको चक्करमा पनि पर्नु पर्दैन ।

भारतको कुनै नजिकको शहरसम्म पुग्ने बाटो खर्च बोकेर जान सकिन्छ । भारतमा पनि आ-आफ्नो ब्लकजस्तो हुन्छ । कुन जिल्लाका मान्छे कुन शहर जाने भन्ने प्रवृत्ति वा लहरो हुन्छ । गाउँको कोही न कोही आफन्त वा चिनचानको गाउँले हुन्छन् त्यहाँ । तसर्थ, केही दिन काम नपाए खान बस्नको समस्या हुँदैन । दु:खसुख एडजस्ट गर्छन् । नेपालमा २० हजारको जागिर पाए २० हजार नै भयो । भारतमा २० हजारको जागिर गर्दा ३२ हजार त भयो । त्यसमाथि चाडपर्व र भरअभर पर्दा घर फर्किन पनि सजिलो ।

नेपालगञ्ज, धनगढी, महेन्द्रनगरजस्ता शहरबाट भारतका विभिन्न शहर जाने यातायात सेवामा समेत नेपालीले लगानी गर्दैछन् अचेल । केही सामान्य मजदुरीबाट उक्सेर ‘गाडी साहु’ हुँदैछन्। सुदूरपश्चिम र कर्णालीको श्रम शक्ति र श्रम बजारको सरल अर्थशास्त्र यही हो । तर, रोजीरोटी भारततिर भए पनि मन भने नेपालतिरै हुन्छ उनीहरूको । नेपालका पार्टी, नेता र राजनीतिबारे गहिरो रुचि हुन्छ । भारतमा पनि नेपालका दलहरूको मातृसंगठन बनाएका हुन्छन् ।

अनौठो कुरा कि, उनीहरू भारतमा एक खाले विचारको दललाई समर्थन गर्छन्, नेपालमा अर्कै। भारतमा भाजपा र शिव सेनाका समर्थक रहेकाहरू नेपालमा कांग्रेस र माओवादीका समर्थक भेटिए भने आश्चर्यजनक हुँदैन । अझ भारतमा आरएसएसका समर्थक र प्रचारक रहेकाहरू समेत नेपाल आएर ‘कांग्रेस–कम्युनिस्ट’ हुन्छन् ।

पश्चिम नेपाल र भारतको सम्बन्ध ‘ट्रान्स–बोर्डर’ मात्र हैन ‘ट्रान्स–आइडिओलजिकल’ पनि छ । टिकापुरमा भेटिएका हर्क स्वाँर आफै भन्दै थिए कि उनी भारतमा हुँदा आरएसएसको प्रचारक थिए । अझ उनले त अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी आरएसएसको प्रचारक हुँदा ८ वर्ष सँगसँगै प्रचारमा हिँडेको समेत दाबी गरे । तर, नेपालमा भने उनी अब ‘वैकल्पिक राजनीति’ लाई सहयोग गर्ने मनस्थितिमा छन, भलैकी निर्णयमा पुगेका छैनन्, तर अब ‘पुराना पार्टी पछ्याएर केही हुँदैन’ भन्ने निष्कर्षमा पुगेका छन् ।

दाङ–कञ्चनपुरसम्मको थारू समुदाय बहुल क्षेत्रको मनोविज्ञान भने नितान्त भिन्न छ । उनीहरू अझै पनि टिकापुर घटनामा राज्यको व्यवहारलाई आधुनिक लोकतान्त्रिक राज्यले आफ्नो समुदायमाथि गरेको एक ठूलो अत्याचार मान्दछन् । काठमाडौंको मिडिया र बौद्धिक जमातसँग पनि धेरै ठूलो गुनासो छ उनीहरूको । टिकापुर विद्रोहमा अवाञ्छित हिंसात्मक घटना हुनुमा थरुहट प्रदर्शनकारीभन्दा बढी अखण्ड सुदूरपश्चिमवालाको घुसपैठ जिम्मेवार थियो भन्ने कोणबाट कहिल्यै नहेरिएको भावना व्याप्त छ सिंगो समुदायको मनमा ।

अखण्ड सुदूरपश्चिमवालाले त्यो बेला पहाड र मधेस भिन्नै प्रदेश भए गोदावरीमा ढाँट लाग्ने र पहाडतिर नुनतेल, दालचामल नै बन्द हुने भाषण गरेका थिए । बहस एउटै देशभित्रको प्रदेश रचना नभएर ‘भिन्नै देश बनाउने हो’ भन्ने प्रकृतिको थियो । त्यसले पनि सुदूरपश्चिममा धेरै ठूलो भ्रम सिर्जना गर्‍यो । अन्यथा, समुदायगत भिन्नता अहिले धेरै कम भएको छ । एक पहाडी मूलका युवा भन्छन्–‘कैलाली–२ मा ७० प्रतिशत बढी पहाडी मतदाता छन् । तर, यहाँ नागरिक उन्मुक्तिका अरुण चौधरीले जिते । समस्या समुदाय वा जनस्तरको हैन । राजनीति गर्नेहरूले अनेक प्रकारका भ्रमको खेती गरे, त्यसको मार दुवै समुदायलाई पर्‍यो ।’

दाङ तुलसीपुरका रामप्रसाद चौधरी भन्छन्–‘थारूहरू पनि हिजो सबैखाले आन्दोलन र क्रान्तिमा लागेकै हुन् । जनयुद्धमा पनि लागियो । त्यतिखेर कमरेड भइयो । पहिचानको मुद्दा कमरेडहरूले नै सिकाए । तर, जब टोपबहादुर रायमाझी र लेखराज भट्टले त्यसको विरुद्धमा माहोल बनाउन थाले, प्रचण्डले तिनलाई कारबाही गर्लान् भनेको उनी पनि उतै लागे । राजनीति भनेको विचार र मुद्दामा हुन्छ भन्ने ठानेका थियौं, जब शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्ट एकै ठाउँ उभिए, अनि कुरा बुझियो, राजनीति विचार र मुद्दा मात्र हैन रहेछ ।’

पश्चिम नेपालको बिट मर्न नसकेको संघीयताको बहस, भाषिक–सांस्कृतिक अधिकारको प्रश्न, टिकापुर घटनामा राज्य, र ठूला, पुराना राजनीतिक दलहरूको भूमिका, नेताहरूको दहिचिउरे अवसरवादी चरित्र र त्यसपछिका घटनाक्रमले थारू समुदायलाई एक प्रकारको ‘आम–अभिघात’ दिइरहेको छ । उनी थप्छन्–‘पार्टी बनेको ३ महिना नपुग्दै नागरिक उन्मुक्तिको त्यति धेरै सिट र भोट आएको त्यसै हैन नि तर, यसको कारण कसले बुझ्दिने ? अहिलेको युगमा पनि ‘जातीय पार्टी’ बनाएर बस्ने मन कसलाई छ र ?’

कमैया र कम्लरी प्रथाको अन्त्यपछि तिनीहरूको पुनर्संरचनामा राज्यको पर्याप्त ध्यान नदिनु त्यो क्षेत्रको अर्को ठूलो सवाल हो । समग्रमा पश्चिम नेपाल कुनै एक कारणले हैन, अनेक कारणले भित्रभित्रै गुम्सिएर बाँचेजस्तो लाग्छ । त्यसको विष्फोट कहिले र कसरी हुन्छ ? सिंगो देशसँग त्यसको तादाम्यता हुन्छ कि हुँदैन, यसै भन्न सकिन्न । तर, त्यसले कुनै न कुनै निकास भने अवश्य खोज्ने छ ।

बुटवलसम्म हो, काठमाडौं मनोविज्ञानको प्रभाव देखिने । काठमाडौंमा राम्रो उपलब्धि हासिल गरेको रास्वपाले बुटवल क्षेत्रमा राम्रै भोट ल्याएको थियो । बुटवल पश्चिमको नेपाल आज पनि काठमाडौंबाट कम प्रभावित छ । आफ्नै मौलिक पीडा र मनोदशामा बाँचेको छ । भौतिक विकास भएन भन्ने ठाउँमा छैनन् मान्छे । यद्यपि, त्यसको गति वा गुणस्तर कमजोर होला । जनताको चित्तदुखाइ अर्कै ठाउँमा छ । भौतिक विकास र मानवीय विकासबीच तालमेल नै छैन । जस्तो कि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । भौतिक विकास त भयो । तर, त्यहाँबाट अन्तर्राष्ट्रिय उडान नै हुँदैनन, त्यत्रो ठूलो संरचना के गर्ने अब ?

अल जजिराले कुवेत उडानको प्रत्यत्न गर्‍यो । असफल भयो र फिर्ता भयो । नेपाल वायु सेवा नियमले १४ वटा उडान भर्‍यो– क्वालालम्पुर–भैरहवा । त्यसमा सबैभन्दा बढी २८ जना यात्रु आए, ती पनि सबै नेपाली । पर्यटक एकजना पनि आएनन् । भैरहवा विमानस्थलबारे व्यापक जनगुनासो छ मान्छेमा । विष्णु पौडेलले आफ्नो राजनीतिक शाखका लागि आवश्यकताभन्दा बढी जग्गा अधिग्रहण गराएको गुनासो छ । यो विमानस्थलको भविष्य के हो भन्ने चिन्ता छ । अर्थात् जनअसन्तुष्टिको जगमा भौतिक विकास कम, भ्रष्टाचार, कुशासन, आर्थिक संकट, गरिबी, बेरोजगारी, नैतिकताहीन र अवसरवादी राजनीति तथा सामाजिक न्याय र समावेशिताको अभाव बढी जिम्मेवार छन्।

मान्छे खुलेआम भन्न थालेका छन्– बजारमा जतिसुकै वस्तु र भौतिक विकास होस्, मान्छेको हातमा उद्यमशीलता, रोजगारी र गोजीमा पैसा छैन भने त्यो के गर्ने ? टुलुटुलु हेर्ने ? दाङ अन्तर्क्रियाका एक सहभागी रणेन्द्र विक्रम केसीले बढो जोडदार प्रश्न उठाएका थिए–‘मान्छे बेच्ने र वस्तु किन्ने देश समृद्ध भएको संसारमा कुनै उदाहरण छ ?’

यो भनाइमा उनको मनसाय ‘मान्छे बेच्ने’ भन्या वैदेशिक रोजगार र रेमिटेन्स प्रधान, ‘वस्तु किन्ने’ को अर्थ आयात र उपभोगमुखी अर्थतन्त्र हो भन्ने बुझ्न कुनै गाह्रो छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved