कायमै छ विप्लवमा ‘वामपन्थी बालरोग’, प्रचण्ड आफ्नो खुट्टामा बञ्चरो हान्न तयार होलान् ?

हिजो धेरैलाई लागेको थियो कि प्रचण्ड गलत छन्, विप्लव अर्को प्रचण्ड हुन सक्दछन् । तर, आज विप्लव आफैले पुष्टि गर्दिएका छन् कि उनी अर्को प्रचण्ड हुने त कुरै छोडौं–बरु आफ्नो राजनीतिक भविष्यको व्यवस्थापनका लागि उनकै सामु कचौरा बोकेर भिख माग्दै छन् ।

कायमै छ विप्लवमा ‘वामपन्थी बालरोग’, प्रचण्ड आफ्नो खुट्टामा बञ्चरो हान्न तयार होलान् ?

कम्युनिस्ट आन्दोलनले समय-समयमा थरिथरिका पात्र र प्रवृत्ति जन्माउने गरेको छ। तिनैमध्ये एक हुन्– कमरेड विप्लव अर्थात् नेत्रविक्रम चन्द । देशका अन्य कम्युनिस्ट नेताजस्तो ‘स्थापित र ठूलै’ नमानिए पनि मझौला कदका एक ‘कम्युनिस्ट चरित्र’ भने उनी अवश्य हुन्।

माओवादी जनयुद्ध अवधिमा उनको भूमिका कमरेड प्रचण्डको एक कट्टरपन्थी समर्थकका रूपमा स्थापित थियो । कमरेड आलोक, रवीन्द्र श्रेष्ठकै हाराहारीमा उनको ‘क्रान्तिकारिता’ को चर्चा हुन्थ्यो । उनी युद्धकालमा नयाँ जनवादी क्रान्ति पूरा नभइकन जनयुद्ध रोकिन हुन्न भन्ने सोच राख्थे भनिन्छ। उनको युवाकालको सपना र जनयुद्धमा सामेल हुने कारण र प्रेरणा पनि सायद त्यही थियो होला ।

त्यो टिमले प्रचण्डलाई नेपालको माओ, चाओ, चारु, पोलपोट, गोन्जालो सबै ठानेको थियो होला, तर स्वयं प्रचण्ड त्यस्तो हुन चाहँदैनथे । प्रचण्ड खुद जे हुन चाहँदैनथे, त्यही हो भनेर प्रमाणित गर्न ‘आलोक प्रवृत्ति’ लागेको थियो । भनिन्छ–कमरेड विप्लव आलोक प्रवृत्तिका समर्थक थिए ।

माओवादी आन्दोलनभित्र ‘आलोक प्रवृत्ति’ को उत्थान र पतन किन र कसरी भयो ? त्यसको भिन्नै कथा छ । तर, वामपन्थी आन्दोलनभित्र पनि ‘चरम वामपन्थी’ हरूको हालत अन्ततः दूर्दशामै पुगेको देखिन्छ । आज कमरेड आलोकको चर्चासमेत कसैले गर्दैन, जसले माओवादी आन्दोलन सानो र जनयुद्ध कष्टसाध्य अवस्थामा रहेको बेला त्यसको विकास र फैलावटका लागि अथक परिश्रम, मेहनत गरेका थिए ।

अर्का कट्टरपन्थी रवीन्द्र श्रेष्ठ जो प्रचण्डलाई माओ र आफूलाई लिन प्याओ सिद्ध गर्न चहन्थे, अन्ततः एमाले प्रवेश हुँदै ‘यौन काण्ड’ पछि राजनीतिबाटै लापत्ता भए । बाँकी रहे कमरेड विप्लव । उनले अधुरो नयाँ जनवादी क्रान्ति पूरा गर्ने लफ्फाजी केही वर्ष छाँटिरहे। प्रचण्ड भन्दै थिए– मैले क्रान्तिलाई पेरुको हालतमा पुग्न दिइनँ । माओवादीभित्रको चरमपन्थी खेमा भन्दै थियो– गोन्जालो हुन डराउने प्रचण्ड के प्रचण्ड ?

यी तीनवटै घटनामा प्रचण्डलाई त्यस्ता गलत निर्णय लिन पार्टीभित्रको ‘चरम वामपन्थी’ समूहले बाध्य पारेको थियो । त्यही समूहका एक नेता थिए– विप्लव । जो बारम्बार आफ्नो कोटरीभित्र विना लज्जा ‘किरण दाइको काँधमा बन्दुक राखेर पड्काउने हो, प्रचण्डलाई तर्साउने हो, फेरि केही वर्ष हान्डहुन्ड गर्ने हो, फर्केर आएर अर्को प्रचण्ड हुने हो’ भन्ने गर्थे ।

शान्तिवार्तामा आए यता प्रचण्ड तीनवटा ठूलो गल्तीको पश्चाताप लिएर बाँचेका छन् । पहिलो–गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु । दोस्रो–अनावश्यक रूपमा प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरण सिर्जना गर्नु र आफ्नै सरकार आफैँले ९ महिनाभित्र ढाल्नु वा राजीनामा गर्न बाध्य हुनु ।

तेस्रो–शान्ति र संविधानको कार्यदिशाको महत्त्व बेलामै बुझ्न नसक्दा ‘६ दिने आमहडताल’ तिर लाग्नु र माओवादी शक्तिशाली रहेको पहिलो संविधानसभा संविधान नबन्दै विघठन हुन दिनु । त्यसपछि प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाएको अपजसको भारीसमेत माओवादीले बोक्नुपर्दा दोस्रो संविधानसभामा माओवादी उल्लेखनीय रूपमा कमजोर हुनु ।

भनिन्छ–यी तीनवटै घटनामा प्रचण्डलाई त्यस्ता गलत निर्णय लिन पार्टीभित्रको ‘चरम वामपन्थी’ समूहले बाध्य पारेको थियो । त्यही समूहका एक नेता थिए– विप्लव । जो बारम्बार आफ्नो कोटरीभित्र विना लज्जा ‘किरण दाइको काँधमा बन्दुक राखेर पड्काउने हो, प्रचण्डलाई तर्साउने हो, फेरि केही वर्ष हान्डहुन्ड गर्ने हो, फर्केर आएर अर्को प्रचण्ड हुने हो’ भन्ने गर्थे ।

विप्लवको यही मनोदशालाई चुनौती दिन प्रचण्ड आफैँले बारम्बार भन्न परेको थियो–‘इतिहासले बारम्बार प्रचण्ड जन्माउँदैन ।’ हिजो धेरैलाई लागेको थियो कि प्रचण्ड गलत छन्, विप्लव अर्को प्रचण्ड हुन सक्दछन्, आज विप्लव आफैँले पुष्टि गर्दिएका छन् कि उनी अर्को प्रचण्ड हुने त कुरै छोडौं–बरु आफ्नो राजनीतिक भविष्यको व्यवस्थापनका लागि उनकै सामु कचौरा बोकेर भिख माग्दै छन् ।

चरम वामपन्थी अवसरवादको चरित्र र नियति कस्तो हुन्छ भनेर बुझ्न नेपालमा ओली–मैनाली, प्रचण्ड–बाबुराम–किरण, आलोक–रवीन्द्र–विप्लवकै सम्बन्धन केलाउनुपर्ने हुन्छ ।

कमरेड किरणको काँधमा राखेर बन्दुुक पड्काउने उद्देश्यले विप्लवले करिब १ दशक अघि प्रचण्ड–बाबुरामलाई ‘महापतन’ लेखे । अरु सबै गद्दार भइसकेको, आफू मात्र सच्चा क्रान्तिकारी बाँकी रहेको दाबी गरे । कमरेड किरणलाई अध्यक्ष र बादललाई महासचिव बनाएर पार्टी फोड्नेदेखि गर्न सकिने सबै थोक गरे ।

यो माओवादी आन्दोलन र पार्टीको अर्को दुर्भाग्यबिन्दु थियो । माथि उल्लेखित तीन गल्तीले माओवादी कहाँ पुग्यो ? अझ यो विभाजनपछि माओवादी कहाँ पुग्यो ? यो समूहले दोस्रो संविधानसभा निर्वाचन बहिष्कार मात्र गरेन, ‘मौका परे प्रचण्डलाई नै आलोक बनाउने’ भन्दै प्रचण्डको बाटो छेक्दै बम पड्काउँदै हिँड्यो ।

माओवादीबाट भनौं वा प्रचण्डबाट आजसम्म जो-जो फुटे कसैले पनि आफ्नो वैचारिक मौलिकता, निष्ठा र राजनीतिक औचित्यसिद्ध गर्न सकेनन् । तर, माओवादी आन्दोलन र पार्टीलाई हुन सम्मको क्षति भने भयो । सँगसँगै देशमा प्रतिगामी र यथास्थितिवादी शक्ति पनि बलियो भए ।

अन्ततः विप्लव केही वर्ष ‘हान्डहुन्ड’ गर्न गए । रमेश सुनुवारको ‘समाजवादको बाटो’ पुस्तिकाबाट टिपेका केही लाइन र संश्लेषण पक्रेर ‘एकीकृत जनक्रान्ति’ को बेलुन फुके । करिब १ दर्जन मानिस मराए । केही तोडफोड गरे । पुग्दो चन्दा उठाए । अलिअलि चर्चामा आए ।

रमाइलो कुरा के छ भने–नेकपा (नेकपा) नामको पार्टी सत्तामा हुँदा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लाग्यो । २०७५ फाल्गुन २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवमाथि प्रतिबन्ध लगाएका थिए, जुन सरकार प्रचण्डको समेत समर्थनमा बनेको थियो । ओली सरकारकै पालामा २०७७ फाल्गुन २० गते गृहमन्त्री रामबहादुर थापा बादलसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरि २१ गते राष्ट्रिय सभागृहबाट विप्लव सार्वजनिक भएका थिए ।

यदि, निष्ठावान र इमान्दार मान्छे हो भने इतिहासको कठघरामा उभिएर उनले बक्नुपर्ने हो कि उनको ‘महापतन’ आज कहाँ पुग्यो ? तर, त्यस्तो अपेक्षा गर्नु नै बेकार हो । ‘चरम वामपन्थ’ लाई उहिल्यै लेनिनले त्यसै ‘बचकना रोग’ भनेका थिएनन् । आज कमरेड इतिहासको कठघरामा उभिएर दिनुपर्ने साक्षी बयानबाट अनेक बहानाबाजी गर्दै उम्किन खोज्दैछन् ।

राजनीतिक अर्थमा अब यो भन्न सकिन्छ कि विप्लव पनि सत्तारुढ मोर्चाका घटक हुन् । जुन दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्ति गर्न उनी हिँडेका थिए, एक चुनावसमेत नलडी उनी त्यही व्यवस्थाको ‘सत्तारुढ मान्छे’ भइसकेका छन् । प्रचण्ड सरकारको बचाउ गर्नु आज उनको सबैभन्दा ठूलो राजनीतिक कर्तव्य भएको छ ।

‘केही वर्ष हान्डहुन्ड गरेर फर्किने हो’ भन्ने उनको एक दशक अघिको अभिव्यक्ति अहिले आएर पुष्टि हुँदैछ। ‘दलाल संसदीय व्यवस्था’ का विरुद्धमा ‘एकीकृत जनक्रान्ति’ गर्न हिँडेका कमरेड विप्लव अहिले ‘सरकारी समाजवादी मोर्चा’ को सदस्य भएका छन्।

उनले मोर्चा बनाएका माओवादी, एकीकृत समाजवादी र जसपा तीनवटै सत्तारुढ दल हुन् । राजनीतिक अर्थमा अब यो भन्न सकिन्छ कि, विप्लव पनि सत्तारुढ मोर्चाका घटक हुन् । जुन दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्ति गर्न उनी हिँडेका थिए, एक चुनावसमेत नलडी उनी त्यही व्यवस्थाको ‘सत्तारुढ मान्छे’ भइसकेका छन् । प्रचण्ड सरकारको बचाउ गर्नु आज उनको सबैभन्दा ठूलो राजनीतिक कर्तव्य भएको छ ।

कुनै बेला आफ्नो अन्धभक्त रहेर भड्किएको, जनयुद्धका जोखिमपूर्ण दिनमा साथ दिएको कार्यकर्तालाई माया गर्नु र अभिभावकत्व दिनु सायद यतिखेर प्रचण्डको राजनीतिक कर्तव्य हो । तर, प्रचण्ड यति मात्र कारणले विप्लवप्रति नरम भएका हुन् भनेर पत्याउन सकिँदैन ।

प्रचण्ड सम्भवत: विप्लवलाई उपयोग गरेर पार्टीभित्रको शक्तिसन्तुलन अनुकूलन गर्न चाहन्छन् । अन्यथा अहिलेसम्म वर्षमान पुन र जनार्दन शर्मा महासचिव हुन नसकेको पार्टीमा विप्लवलाई महासचिव दिने चर्चा चल्ने थिएन ।

मानौं कि, कमरेड विप्लव माओवादी केन्द्रको महासचिव भए, संसदीय लोकतन्त्रमा सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको पार्टीको महासचिव भए, त्यसको राजनीतिक रूपमा दुईवटा अर्थ लाग्नेछ । या त त्यो पार्टीमा महासचिव भन्ने पदको कुनै अर्थ छैन, त्यो अध्यक्षको सहयोगी वा कठपुतली मात्रै हो । प्रचण्ड विप्लवप्रति व्यक्तिगत तहमा विश्वस्त भएपछि जे दिए पनि हुन्छ । विप्लवको व्यक्तिगत राजनीतिक जीवनको व्यवस्थापन हुन्छ ।

अर्को– यदि, महासचिव पदको कुनै अर्थ पनि छ भने माओवादी पार्टीको संगठन पुनश्च: अतिवामपन्थी लफ्फाजीतिर उदत्त हुनेछ । विप्लवले लोकतान्त्रिक मूल्यप्रणाली, सहिष्णुता र मर्यादाप्रति आक्रमण गर्न थाल्नेछन् । शान्ति प्रक्रियापछि किरण गुट बनेजस्तै अर्को चरम वामपन्थी गुटको निर्माण हुनेछ र त्यसले सबैभन्दा धेरै घाटा स्वयं प्रचण्डलाई पुर्‍याउने छ ।

‘वामपन्थी बालरोग’ लाई मलजल गरेर प्रचण्ड फेरि एकपटक आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्न तयार होलान् भनेर सजिलै पत्याउन सकिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved