अठार वर्षपछि फेरि ‘सुपरहिट’ : बादल, वर्षा, बिजुली, सञ्जालमा भाइरल

आफैँले बिर्सन लागेको गीत चर्चामा आउँदा सर्जकलाई रमाइलो झट्का

सर्जक तथा गायक गायिका आफैँले बिर्सेको एउटा पुरानो गीतलाई टिकटकले फेरि चर्चामा ल्याइदिएको छ। त्यो हो, ‘बादल वर्षा बिजुली’। गीत टिकटकमा ट्रेन्डिङमा आएको एक साता बढी भयो। यो अंश धेरैले मन पराएर भिडिओ क्लिप बनाएका हुन्। यो गीत टिकटकमा मात्रै देखिँदैन। टिकटकबाट भिडिओ डाउनलोड गरेर फेसबुक र इन्स्टाको रिलमा समेत धेरैले राखेका भेटिन्छन्।

अठार वर्षपछि फेरि ‘सुपरहिट’ : बादल, वर्षा, बिजुली, सञ्जालमा भाइरल

काठमाडौं। अचेल टिकटकले पुराना गीत हिट बनाइदिएर धेरै सर्जकलाई रमाइलो झट्का दिन थालेको छ। यस्तो झट्का पाउनेमध्ये प्रश्ना शाक्य र आनन्द कार्की पनि भाग्यमानी कलाकार हुन्।

सर्जक तथा गायक गायिका आफैँले बिर्सेको एउटा पुरानो गीतलाई टिकटकले फेरि चर्चामा ल्याइदिएको छ। त्यो हो, ‘बादल वर्षा बिजुली’। तपाईं भिडिओ शेयररिङ एप्स टिकटक चलाउनुहुन्छ भने ‘बादल वर्षा बिजुली, सावनको पानी, चिसो चिसो मौसम छ, तातो जवानी’ यो अंश पक्कै सुनेकै हुनुपर्छ।

यसमा धेरैले लिप्सिङ मिलाउँदै नाचेको भिडिओ देखेकै हुनुपर्छ। देख्नुभएको छैन भने टिकटक स्क्रोल गर्नुस् त, नभेट्ने कुरै छैन। अहिले पनि टिकटकमा ट्रेन्डिङमै छ।

हजारौंले यो गीतमा नाचेका छन्। गीतको क्लिप टिकटकमा ट्रेन्डिङमा आएपछि युट्युबमा खोजेरै सुन्न थालिएको छ। जमघटदेखि सार्वजनिक यातायातसम्म गीत बजिरहेका छन्। रेस्टुरेन्टदेखि घर-घरसम्म गीत बजिरहेको सुनिन्छ। बाटो हिँड्दै गर्दा पनि केहीले यो गीत गुनगुनाइरहेको देखिन्छ।

पछिल्लो समय रिलिजको केही समय ‘भाइरल’ भनिएका गीत नै केही महिनामै गुमनाम हुन्छन्। २० वर्षअघिको समय यस्तो थियो कि एकपटक लोकप्रिय भएर स्रोताले रुचाएपछि ती गीत कालजयी हुन्थे। दशकौंसम्म गुन्जिन्थे। अहिले त्यो असम्भवजस्तै छ। तर, १८ वर्षअघि रेकर्ड भएको गीत ‘बादल, वर्षा बिजुली’ त्यति बेला पनि चर्चामा थियो।

समयसँगै गीत बज्न छाड्यो। हजारौँ गीतहरू बजारमा आए। नयाँ नयाँ गीतहरू प्राय स्रोताको रोजाइमा पर्थ्यो गीतलाई बिर्सिइँदै गयो। अहिले झन्डै २ दशकपछि टिकटक प्रयोगकर्ताले पुन: उही गीतलाई पुनर्जन्म दिएका छन्।

दुई दशकपछि पुन: हिट

अहिलेको पुस्तामाझ ‘सुपरहिट’ बनिरहेको यो गीत २०६२ सालमा रेकर्ड भएको हो। गीत रेकर्ड हुँदा बखत जन्मिएकाहरूले नै अहिले गीत भाइरल बनाइरहेका छन्। गीत ‘कर्तव्य’ फिल्ममा समावेश थियो। निर्देशक थिए, नारायण पुरी।

फिल्ममा राजेश हमाल, दिलीप रायमाझी र निखिल उप्रेती तथा नायिकाहरू निरुता सिंह र सज्जा मैनाली फिचर्ड छन्। ‘बादल वर्षा बिजुली’ गीतमा दिलीप र सज्जाले अभिनय गरेका छन्। युट्युबमा राखिएको फिल्म हेर्नुभयो भने, घण्टा १० मिनेटपछि यो गीत आउँछ।

टिकटकमा धेरैले यो गीतमा एउटै शैलीमा नाच्दै भिडिओ क्लिप बनाए देखिन्छन्। धेरैलाई गीतको नृत्य र सङ्गीतले आकर्षित गरेको देखिन्छ। आधिकारिक भिडिओमा यो गीतका नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन्।

२२ वर्षपछि ‘पापी लर्के जोबन’ कसरी बन्यो भाइरल ?

गीतमा महिला र पुरुष दुवैले स्वर दिएका छन्। पुरुषको तुलनामा महिलाको क्लिप टिकटकमा बढी हिट छ। टिकटकमा गीत चल्दा र युट्युबसम्म दर्शकले गीत हेर्दा गायिका प्रश्ना शाक्य खुसी छिन्।

उनी भन्छिन्, ‘‘आफ्ना सिर्जना नयाँ पुस्ताले पनि मन पराउँदा खुसी लाग्छ। राम्रा सिर्जना भए पछिसम्म चल्नेरहेछ।’’

नयाँ जस्तै लाग्ने पुरानो गीत

गीत टिकटकमा ट्रेन्डिङमा आएको एक साता बढी भयो। यो अंश धेरैले मन पराएर भिडिओ क्लिप बनाएका हुन्। यो गीत टिकटकमा मात्रै देखिँदैन। टिकटकबाट भिडिओ डाउनलोड गरेर फेसबुक र इन्स्टाको रिलमा समेत धेरैले राखेका भेटिन्छन्।

यो गीतमा नाचेर र अभिनय गरेर टिकटक बनाउनेको सङ्ख्या अझै बढ्दो छ। हालसम्म यो गीतमा ६ लाख बढीले भिडिओ बनाइसकेका छन्। ‘वरिजिनल साउन्ड’ नामको एकाउन्टमा मात्रै ३ लाख २५ हजार जनाले भिडिओ बनाइसकेका छन्। अरू थुप्रै प्रयोगकर्ताले भिडिओ राखेका छन्।

टिकटकमा गीत भाइरल भएपछि मात्र युट्युबमा गीत खोजेर हेर्ने धेरै छन्। यो गीत ‘सर्च’ गर्दा धेरै दर्शकहरू अचम्ममा परेका छन्। किनकि युट्युबमा खोज्दा जब १८ वर्ष पुरानो गीत भन्ने थाहा पाए।

४ वर्षअघि युट्युबमा हाइटेक इन्टरटेन्मेन्ट च्यानलबाट टिकटकमा राखिएको ‘कर्तव्य’ फिल्म युट्युबमा झन्डै ३५ लाखले हेरेका छन्।

जाँदाजाँदै बन्दीपुर पुग्यो : ६७ वर्षे उमेरमा गायिका बनेकी नन्दा पन्त टिकटक ट्रेन्डिङमा

‘राजु दाइ’ नामको युट्युब च्यानलमा अपलोड गरिएको यो गीतलाई ३ राख ४० हजारले हेरेका छन्। पछिल्लो पटक युट्युबमा बढी भ्युज भएको फिल्म र गीत नयाँ पुस्ताका दर्शकसम्म पुगेको अनुमान लगाउन सकिन्छ।

टिकटकमै गीत देखेर धेरैले युट्युबमा गएर कमेन्ट गरेका छन्। फिल्ममा समेत कमेन्ट गरिएको छ। टिकटकमा हिट भएपछि यो गीतको र फिल्मको भ्युज पनि निरन्तर बढिरहेको छ।

गायिका भन्छिन् -राम्रो सिर्जना कहिल्यै मर्दैन

हामीले यो गीतकी गायिका प्रश्ना शाक्यलाई सोध्यौँ, ‘‘यो गीत झन्डै २ दशकपछि किन ट्रेन्डिङमा आएको होला?’’ उनको जवाफ छ, ‘‘पहिलेका राम्रा गीत नयाँ पुस्ताले खोजी–खोजी सुन्न थालेको जस्तो देखिन्छ। राम्रो सिर्जना तत्कालको नचलेपछि पनि कुनै समयमा चल्न सक्छ भन्ने हो। तर, यो गीत त्यति बेला पनि खुबै हिट भएको थियो। बीचमा कसैले सुनेनन्। अहिलेका पुस्ताले फेरि सुनेर मनपराएका हुन्।’’

प्रश्ना शाक्य, गायिका

गायिका प्रश्ना आफैंलाई गीत रेकर्ड गर्दाताकाका प्रसङ्गहरू धमिला भइसके। संगितकार सचिन सिंहले चक्कामा गीत रेकर्ड गरेर ‘यो गीत मज्जाले सुन है’ भनेर दिएको उनलाई स्मरण छ।

रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको भिडिओ यसरी भयो भाइरल

उनी सम्झिन्छन् ‘‘१८ वर्ष अगाडिको कुरा हो। सचिन सिंह दाइसँग भने यो मेरो दोस्रो सहकार्य थियो। यो गीत गाउनुअघि मलाई सचिन दाइले चलचित्र ‘फेरि अर्को साइनो’को टाइटल गीतको लागि अफर गर्नुभएको थियो। त्यति बेला उहाँसँग भेट्न म र मेरो हजुरबुवा गएका थियौँ। सचिन दाइले गीत रेकर्ड गरेर ‘यो गीत मज्जाले सुन है’ भनेर दिनुभयो। घर आएर खुब सुनेँ। प्राक्टिस गरेर गाएँ।’’

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

गीतका गायक आनन्द कार्की आफ्नो स्मृतिबाटै हराउन लागिसकेको गीत चर्चामा आउँदा मक्ख छन्। सयौँ गीत गाइसकेका उनका दर्जनौँ सुपरहिट गीत छन्।

यो गीत पनि फेरि चर्चामा आएपछि भन्छन्, ‘‘यो गीत मैले १८ वर्ष अगाडि गाएको थिए। र सँगसँगै गीत गाउने गायिका प्रश्ना शाक्य हुन्। संगीतकार सचिन सिंह हुनुहुन्थ्यो। गीतकार करुण थापाले लेख्नुभएको यो गीत टिकटकमा आजभोलि सारै भाइरल छ। टिकटक बनाउने भाइबैनीहरुलाई धेरै धन्यवाद। यो गीत गाउँदा मलाई पनि सम्झनुहोला।’’

टिकटकको प्रभाव

नयाँ होस् वा पुरानो जुनसुकै गीतलाई चर्चामा ल्याइदिन सक्नु टिकटकको विशेषता हो। पछिल्लो समय यो नेपालमा मात्र नभई विश्वव्यापी रूपमा गीत–सङ्गीत प्रचार गर्ने प्रभावकारी थलो बनिसकेको छ।

‘जाम न हो ड्राइभर दाइ स्टेरिङ घुमाउँदै’ पनि अहिले टिकटकमा ट्रेन्डिङमा छ। तये गीत पनि नयाँ होइन। यसअघि ‘पापी लर्के जोवनले’ गीत टिकटकमा हिट भएको थियो। गीत रेकर्ड भएको २३ वर्षपछि टिकटकमा चलेको हो। राजनराज सिवाकोटीको पछिल्लो भर्सन ‘फूलबुट्टे सारी’, टिकटकै कारण गीत चलेको थियो।

केही समयअघि भूपू पान्डेको ‘‘जाँदा जाँदै बन्दीपुर पुग्यो’ गीत टिकटकबाटै हिट भयो। ६७ वर्षीय नन्दा पन्तले गाएको गीत धेरैले सम्झिरहेका छन्। केही समयअघि मात्रै ‘बेसीतिर झरौँला नि यसो मिलाएर, भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर’ नयाँ गीत टिकटकै हिट भयो।

फिल्म छक्का पन्जा ४ को ‘घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजाम म’ गीत पनि टिकटकबाटै हिट भयो। यस्ता धेरै गीत रेकर्ड भएको धेरै वर्षअघि टिकटकमा हिट भए। कतिपय नयाँ गीतहरू टिकटकमै चर्चा भएकै कारण गीत चल्यो।

गीत युट्युबमा हेर्नका लागि-

https://www.youtube.com/watch?v=n7nAar77jhI

सम्बन्धित समाचार –

मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

रश्मिकाले भिडिओ सेयर गरेपछि हेटौंडाकी बरिसा भारतमा समेत चर्चामा, छाइन् मिडियामा

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

टिकटकबाट पैसा कमाउने ध्याउन्न – गिफ्ट माग्छन् नाम चलेका कलाकार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved