४७ जिल्लाका ३५० ठाउँमा डढेलो : निभाउने साधन छैन, आकाशे पानीको प्रतीक्षामा फैलिँदै आगो

आगो नियन्त्रणको अरू केही विकल्प नहुँदा वर्षा नै कुर्नुपर्ने छ । तर, तत्कालै वर्षाको सम्भावना नभएकाले जोखिम कायमै रहेको मौसमविद्हरू बताउँछन् । उनीहरु भन्छन्, ‘‘पछिल्लो तीनचार दिनसम्म पानी पर्ने सम्भावना छैन । वर्षा नभइकन प्राकृतिक आगलागी नियन्त्रण हुँदैन ।’’

नेपालभ्युज

४७ जिल्लाका ३५० ठाउँमा डढेलो : निभाउने साधन छैन, आकाशे पानीको प्रतीक्षामा फैलिँदै आगो

काठमाडौं । मंगलबार ललितपुरको गोदावरी जङ्गलमा लागेको डढेलो निभाउन गएका दुईजना युवा घाइते भए । उपचारको क्रममा दुवैजनाको ज्यान गयो ।

बुधबार धादिङको एउटा गाउँको घरमा आगो लाग्दा एक वृद्ध दम्पतीको पनि ज्यान गयो ।

यी दुई प्रकृतिका घटनाहरू अहिले देशभर विकराल बनिरहेको छ । यस्ता प्रकृतिका घटनामा वैशाख १ गतेदेखि अहिलेसम्म १८ जनाको ज्यान गइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सरदर दैनिक एक जनाको ज्यान आगलागी तथा डढेलोकै कारण गइरहेको छ ।

बिहीबार नासाको भूउपग्रहमा आधारित अनुगमन प्रणालीअनुसार नेपालमा अहिले ४७ जिल्लाका ३५० ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आगलागी तथा वातावरण शाखाका प्रमुख सुन्दरप्रसाद शर्माले भने, “अहिले भर्खरै देशभर ३५० ठाउँमा डढेलो लागिरहेको छ । हामीले विगतको भयावह अवस्थाको सामना गर्नुपरेको छ ।”

सबैभन्दा बढी गुल्मीसहित सल्यान, कैलाली, सुर्खेत, डोटी, दैलेख, पाल्पा, अर्घाखाँची बढी प्रभावित छन् । २ वर्षअघि माघदेखि वैशाखको यति बेलासम्म १ हजार २३६ वटा आगलागी तथा डढेलोको घटना भएका थिए । त्यही अवधिमा अघिल्लो साल २ हजार ५१९ वटा घटना भएका थिए । यो वर्ष ४ हजार ५१२ वटा डढेलोका घटना भएका छन् ।

आगलागी र डढेलोको कारण २०७८ सालमा ९५ जनाको ज्यान गएको थियो । २०७९ सालमा ११० जना र गत वर्ष २०८० सालमा ११५ जनाको मृत्यु भएको थियो । डढेलो नियन्त्रणका लागि पर्याप्त साधन स्रोत र जनशक्तिको अभाव भएकाले डढेलो फैलिएको हो ।

डढेलोको कारण पछिल्ला दिनहरूमा डढेलोले प्रदूषण निम्ताएपछि देशभरको आकाशमा तुवाँलो छ । पर्यटकीय नगरी पोखरामा तुवाँलोले गर्दा उडानहरू ठप्प भएका थिए ।

प्राय वन-जङ्गलमा डढेको लागेको कारण नियन्त्रणको लागि दमकल जान सकेको छैन । जान सक्ने ठाउँमा पनि दमकलहरू पर्याप्त नरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साढे सात सय स्थानीय तहहरूमध्ये अधिकांशमा अझै पनि आफ्नो दमकल छैन ।

देशभर कहाँ-कहाँ आगलागी र डढेलो ?

गृह मन्त्रालयको विपद् पोर्टलको अभिलेख अनुसार गत चैत १८ देखि बिहीबारसम्म एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी (वन डढेलो सहित) का घटना भएका छन् ।

सबैभन्दा बढी लुम्बिनीमा ३९९ भएका छन् । कोशीमा ३२६ र मधेश प्रदेशमा २८१ स्थानमा आगलागी भएको छ । बागमतीमा १३८ ठाउँमा आगलागी तथा डढेलो लाग्दा कर्णालीमा १०४ ठाउँमा लागेका छन् । गण्डकीमा ९३ र सुदूरपश्चिम प्रदेशमा ७० स्थानमा आगलागी भएको छ ।

रेसुङ्गा जलिरहेछ, काठमाडौंमा जनप्रतिनिधिको भोज चलिरहेछ ! (भिडिओसहित)

यस अवधिमा आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई सातादेखि तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ । लुम्बिनीको तराईका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

आगो नियन्त्रणको अरू केही विकल्प नहुँदा वर्षा नै कुर्नुपर्ने छ । तर तत्कालै वर्षाको सम्भावना नभएकाले जोखिम कायमै मौसमविद्हरू बताउँछन् । मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, “पछिल्लो तीनचारदिनसम्म पानी पर्ने सम्भावना छैन । वर्षा नभइकन प्राकृतिक आगलागी नियन्त्रण हुँदैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved