२२ वर्षपछि ‘पापी लर्के जोबन’ कसरी बन्यो भाइरल ?

दुई दशकसम्म यो गीत त्यति चर्चामा आएन जति अहिले छ। टिकटकले अहिलेको पुस्तामाझ चिनाएको यो गीत कर्णप्रिय त छँदै छ। त्यसमाथि लोकप्रियता ह्वात्तै चुलिएको छ।

२२ वर्षपछि ‘पापी लर्के जोबन’ कसरी बन्यो भाइरल ?

काठमाडाैं।  हिजोआज ‘टिकटक’मा एउटा गीत भाइरलझैं छ। तपाईं टिकटक चलाउनुहुन्छ भने प्रत्येक ४-५ वटा गीतपछि यो आउँछ। दुई दशकअघि बनेको फिल्म ‘हिरो’ मा समावेश यो गीत हो- ‘पापी लर्के जोबनले कहिले हँसायो, कहिले रुवायो।’

लगभग २२ वर्ष पुरानो यो गीतका शब्द संगीत र स्वर सर्जक बहुचर्चित संगीतकार शम्भुजीत बास्कोटा हुन्।

दुई दशकसम्म यो गीत त्यति चर्चामा आएन जति अहिले छ। टिकटकले अहिलेको पुस्तामाझ चिनाएको यो गीत कर्णप्रिय त छँदै छ। त्यसमाथि लोकप्रियता ह्वात्तै चुलिएको छ।

अहिले जबजब तपाईंका औंला टिकटकमा पुग्छन्, यो गीत बजिहाल्छ भन्दा फरक पर्दैन। टिकटकका प्रयोगकर्ताले झण्डै उस्तै शैलीमा उस्तै हाउभाउका साथ यो गीतमा अभिनय गरिहाल्छन्, के महिला, के पुरूष ?

तीन सातायता ट्रेन्डिङमा छ यो गीत। धेरैजसोले यो गीतमा बनाइएको टिकटकको भिडिओलाई फेसबुक स्टोरीमा पनि राख्ने गरेको भेटिन्छ। जहाँ टिकटक नचलाउनेका आँखा पनि पर्छन्।

धेरैलाई थाहा नभएको गीत कसरी बन्यो भाइरल ?

पापी लर्के जोबनले भन्ने क्लिप हिट भए पनि यो गीतको बोल ‘घट्ट जस्तो फनफनी’ हो। ‘घट्ट जस्तो फनफनी उसको मायाले मलाई घुमायो, पापी लर्के जोबनले कहिले हँसायो कहिले रुवायो’ यो नै गीतको स्थायी हो। गीतमा सँगै दीपा झाको स्वर पनि छ।

टिकटकमा भने दीपा झाको स्वरको ‘पानी लर्के जोबनले’ क्लिप भाइरल भएको हो। संगीतकार तथा गायक बास्कोटाले गायिका दीपा झासँग गाएको यो नै पहिलो गीत थियो। यो गीतको फिमेल पार्ट धेरैले सुने पनि अगाडिको ‘घट्ट जस्तो फनफनी उसको मायाले मलाई घुमायो,’ भन्ने भाग भने पूरा गीत नसुन्नेका लागि नयाँ हुनसक्छ।

जुन गीत चर्चित अभिनेत्री रेखा थापाको डेब्यू फिल्म ‘हिरो’ को हो। जुन गीत फिल्म ‘हिरो’ को हो। सो फिल्म निर्माता छवि ओझाले २०५६ सालमा निर्माण गरेका थिए। फिल्मका मुख्य पात्रहरूमा राजेश हमाल, रेखा थापा, गौरी मल्ल, निरुता सिंह, दीपा श्री निरौला र कृष्ण मल्ल छन्। यो फिल्मका निर्देशन भने नरेश पौडेल हुन्।

टिकटकपछि युट्युबमा खोजी

टिकटक र फेसबुकमा यो गीत हिट भएपछि युट्युबमा समेत यो गीतको खोजी हुन थालेको छ। टिकटकमा गीतको छोटो अंश मात्र सुन्न पाइन्छ। जसकारण पूरै गीत सुन्न धेरै जना युट्युबसम्म धाएका छन्।

युट्युबमा हाइटेक इन्टरटेन्मेन्टको च्यानलमा उपलब्ध यो गीतको भिडिओ तीन लाख ४० हजार पटक हेरिसकिएको छ। जबकि तीन साताअघि यो गीत टिकटकमा टेडिङमा नआउँदा युट्युब भिअर्स ३० हजार पनि थिएन।

यसरी भयो भाइरल

गीतको क्लिप टिकटकमा पहिलो पटक ‘पापी लर्के जोबनले’ २० अगस्टमा नरेन ओली नामको यूजर आइडीमा अपलोड भएको देखिन्छ। तर यो भिडिओ पोस्ट भएको तीन महिनासम्म कुनै चर्चा भएन। तीन महिनापछि अर्थात् नोभेम्बरको शुरुआतबाट मात्रै यो गीतमा धेरैले टिकटक बनाउन थालेको भेटिन्छ। नरेन ओली नामको यूजर आइडीमा अपलोड भएको गीतबाट मात्रै झण्डै तीन लाख जनाले भिडिओ बनाइसकेको देखिन्छ।

यस्तै यो गीत अरू धेरै युजरले समेत पोस्ट गरेका छन्। ती आइडीबाट पनि हजारौँ प्रयोगकर्ताले भिडिओ बनाएको देखिन्छ। यस्तै टिकटक भिडिओसमेत युट्युबमा पोस्ट भएका छन्।

डिजिटल जमानामा नआउँदै बनेको भिडिओ भएकाले युट्युबमा अपलोड भएको भिडिओको गुणस्तर खासै राम्रो छैन। जसकारण टेलिभिजनमा भने बजेको देखिँदैन। रेडिओमा भने यो बजिरहेको सुनिन्छ।

यो गीतको चर्चा चुलिएपछि अरूले समेत आफ्नै किसिमका भिडिओ (कभर संग)बनाएर युट्युबमा राख्न थालेका छन्। धेरैले यो गीतमा नाँचेको अभिनय गरेको टिकटक भिडिओसमेत युट्युबमा अपलोड गरेका छन्।
पाँच मिनेट पाँच सेकण्डको यो गीतको अफिसियल भिडिओमा मुख्य दुई जना र धेरै जना सहायक कलाकारहरूको नृत्य देखिन्छ। अभिनेत्री गौरी मल्ल र अभिनेता कृष्ण मल्ल मुख्य रूपमा छन्।

यसरी बनेको थियो ‘पापी लर्के जोबन’

मौलिक नेपाली धुनसहितको उक्त गीतमा जोकोहीले पनि कम्मर मर्काउन सक्ने भएकाले यति बेला भाइरल भएको अनुमान गर्न सकिन्छ। २०५६ सालताका मुम्बईमा रेकर्ड गरिएको गीत अहिले आएर भाइरल भएकोमा गीतका सर्जकदेखि सो फिल्मका निर्माता तथा कलाकारहरू आश्चर्यचकित छन्।

तर, यो गीत पहिल्यै हिट हुने सोचिए पनि दुई दशकपछि मात्रै हिट भएको देख्दा सर्जक शम्भुजित बास्कोटा आफैं अचम्मित भएको सुनाउँछन्। यसअघि पनि आफूले संगीतबद्ध गरेका तथा गाएका थुप्रै गीत टिकटकमा भाइरल भइसके पनि यो गीतको कथा भने फरक रहेको उनी सुनाउँछन्।

‘‘यो गीत मुम्बइमा रेकर्ड भएको हो। ‘तिम्रो मन त चक्कु छुरी यो मन सारङ्गी’ भन्ने गीत र ‘पापी लर्के जोबनले’ भन्ने गीत सँगसँगै रेकर्ड गरिएको हो। त्यो बेलामा मैले ‘पापी लर्के जोबनले’ गीतचाहिँ अझ बढी चल्ने अपेक्षा गरेको थिएँ’’ बास्कोटा सुनाउँछन्, ‘‘तर, अर्को गीत ‘मेरो मन त चक्कु छुरी यो मन सारङ्गी’ भन्ने गीत धेरै चल्यो। त्यो गीतमा पनि मेरै संगीत थियो। रेडिओ, टेलिभिजनमा र क्यासेट चक्कामा ‘चक्कु छुरी’ गीत धेरै हिट भयो। ‘पापी लर्के जोबनले’ गीत भने छायामा पर्‍यो। हलहरूमा भने दर्शकले ‘पापी लर्के जोबनले’ गीतमा पनि धेरै इन्जोय नै गरे।’’

शम्भुजित बास्कोटा, संगीतकार

तत्कालीन समयमा यो गीत लोकसेलोलाई थोरै आधुनिकता दिएर नौलो कामकाे प्रयास गरेको उनको अनुभव छ। ‘पापी लर्के जोबनले’ गीतबाटै तत्कालीन चलनचल्तीको शैलीको गीतलाई आधुनिकता दिन शुरु गरेको संगीतकार बास्कोटा दाबी गर्छन्।

‘‘यो गीत लोकसेलो अर्थात् सेलो लयलाई मोडनाईज गरेर मैले एरेन्ज गरेको हुँ। त्यो बेलामा जुन लयका गीतहरू थिए, त्यसलाई अलि फरक स्वाद दिन मैले प्रयास गरे। यो गीत त्यो बेलाको लागि नयाँ शैली थियो। यसमा भ्वाइलेन प्रयोग गरिएको छ। साथै हृदम प्रोगामिङ गरेर आधुनिक शैलीमा बनाइएको छ’’, उनी भन्छन्।

यो गीतसहित तीन वटा गीत तयार गर्न दुई लाख भारतीय रुपैयाँ खर्च भएको बास्कोटा सुनाउँछन्। नेपालमै गीत रेकर्ड हुने भए पनि गुणस्तरलाई ध्यान दिँदै मुम्बइमा रेकर्ड गरिएको उनी बताउँछन्।

‘‘हिरो फिल्ममा तीन वटा गीत थिए। सबै गीत मैले प्याकेजमै गर्ने जिम्मा लिएको थिएँ। मलाई पारिश्रमिक दुई लाख आइसी दिनुभएको थियो। मुम्बई जाने, बस्ने खाने र फर्कने कामको लागि मात्रै खर्चमा एक लाख आइसी खर्च भएको थियो। गीतको शब्द लेखेको र कम्पोज भने नेपालै गरिएको थियो। रेकडिङका लागि मात्रै मुम्बई गएका थियौं,’’ बास्कोटा विगत सम्झन्छन्।

हिरो फिल्मको ‘पापी लर्के जोबनले’ गीतको भिडिओ

रेखा भन्छिन्, “चाहना २२ वर्षपछि पूरा भयो”

आफ्नो करिअरको पहिलो फिल्मको गीत दुई दशकपछि हिट भएपछि नायिका रेखा थपासमेत दङ्ग छिन्। राम्रो कला तथा सिर्जना तत्काल भाइरल नभए पनि अवश्य दिन आउने रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ छ।

राम्रो प्रतिभा र सिर्जना एक दिन अवश्य कदर हुने रहेछ भन्ने पुष्टि भएको उनको तर्क छ। गीत ढिलै भए पनि हिट भएपछि उनलाई लागेको छ, ‘कुनै पनि सिर्जना हिट वा फ्लप हुन्न’ रहेछ। त्यो सही ठाउँ र समयमा पर्‍यो कि परेन भन्ने महत्त्वपूर्ण कुरा हुने देखिएको रेखा थापाको विश्लेषण छ।

‘राम्रो सिर्जनाको दिन अवश्य आउँदो रहेछ’

रेखा थापा, अभिनेत्री

‘‘फिल्म हिरोमा रहेको ‘तिम्रो मन त चक्कु छुरी यो मन सारङ्गी’ भन्ने गीतमा मेरो र राजेश हमालको प्रफम्स छ। तर यो गीतभन्दा ‘पापी लर्के जोबनले’ भन्ने गीत मलाई खुबै मन परेको थियो। र त्यो ‘पापी लर्के जोबनले’ भन्ने गीत धेरै चल्ला जस्तो लागेको थियो। तर अर्को गीत ‘चक्कु छुरी’ भन्ने गीत व्यापक चल्यो। मलाई भने मेरो अभिनय नभए पनि ‘पापी लर्के जोबनले’ भन्ने गीत असाध्यै मन पथ्र्याे। अनि मलाई लाग्यो किन ‘पापी लर्के जोबनले’ भन्ने गीत हिट भएन। किन ‘चक्कु छुरी’ भन्ने चाहिँ हिट भयो होला लागेको थियो। अहिले टिकटकमा यो गीत धेरै चल्दा मलाई आनन्द लाग्यो। आफ्नो टार्गेट बल्ल २२ बर्सपछि मिट भएको लाग्यो। कुनै पनि सिर्जना फ्लप वा हिट भनेर सर्जकलाई वा स्रोता दर्शकलाई दोष हुँदो रहेनछ। एक दिन अवश्य समय आउने रहेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved